Skip to main content

ज्यानको माया सबैलाई हुन्छ !

एक महिना अघिको कुरा । बिजुली बजार, काठमाडौंको पुल पार गरेर नयाँ बानेश्वर चोक तिर म स्कुटर अघि बढाउँदै थिएँ । नयाँ बनेको देब्रे तर्फको पिच तिर अघि बढेँ । औषधि व्यवस्था विभागको अघिल्तिर पुगेपछि ठूलो खाल्डो खुल्लै रैछ, हेर्दै खंग्रङै भएँ । यसै त नयाँ सडक भनेर स्पिड धेरै नै हुन्छ साधनको । त्यसमाथि सडककै बीचमा यस्तो ठूलो खाल्डो ! खाल्डो भित्र फलामे छडहरू मान्छेको भुँडी उनुँला झै गरेर मुख आँ गरेर बसिरहेका छन् । खाल्डो कुर्न आडैमा जम्मा एउटो ढुंगो छ, त्यो पनि हात्तिको मुख जिराले छेकेजस्तो । मनै त्यस्सै अमिलो भयो । त्यस दिन सडक विभागलाई सराप्दै बाटो लागेँ ।

***

गएको हप्ता म केही इलेक्ट्रोनिक सामान किन्ने शिलशिलामा त्यही आसपासका पसल चाहर्दै थिएँ । फर्केर आउँदा सोही खाल्डो नेरैबाट कुद्नु पर्यो । त्यहाँ कुनै संकेत थिएन । जो कोही पनि सुरै सुरमा आउँदा बेसुरमा खसेर घाइते हुन सक्थ्यो । ज्यानै जान सक्थ्यो । मनै अमिलो भयो । स्कुटर एकैछिन साइड लगाएँ । यताउता हेरेँ । औषधी व्यवस्था विभागभित्र ठूलो रूख देखेँ ।

‘त्यहाँको रुखको केही हाँगा काटेर यसमा गाड्दिनु पर्यो दाई,’  व्यवस्था विभागका गार्डलाई भने, ‘तपाइकै आँखा अगाडी कोही ऐलै नै दुर्घटना सिध्दिन सक्छ ।’ गार्ड मुसुक्क हाँसे मात्र । लाग्यो, उनले कुरो बुझे, केही गर्नेछन् । म फेरी आफ्नै काममा हिडेँ ।

***

आज पनि त्यही बाटो आउँदै थिएँ । खाल्डो ज्यूँ को त्यू नै थियो । बस एउटा ढुंगोले खाल्डो कुरिरहेको थियो । पहिला त खाल्डोका वरपर अलिकति झार उम्रेको झै लागेको थियो । सफा गर्ने नाममा त्यो पनि उप्काएछन् । अब भएन भनेर स्कुटर साइड लगाएँ । वरपरका ढुंगाहरू बटुलेर घेरा बनाउन थालेँ । सडक खनेर थुप्राइएका ढुंगाहरू वरपर नै धेरै थिए । एक एक गर्दै ढुंगा ल्याएर घेरा बनाउन थालेँ । केही बेरमै कमसेकम केही देखिने गरेर घेरा बन्यो । व्यवस्था विभागकै पर्खाल छोएर उम्रेका केही झार उप्काएर खाल्डो आडमा अड्डाएँ पनि । मैले त्यस्तो गर्दा बाटोमा हिडेकाहरूले एकपटक अडिएर हेर्न थाले । केहीले के गर्नु भएको भनेर सोधे पनि । यहाँ यस्तै छ के गर्ने भनेर बाटो पनि लागे । केहीले पर पर सम्म पुगेर फर्केर केही कुरा गरेको जस्तो गरे । जे होस् दश मिनेट भित्र नै केही ढुंगाहरू उठाएर घेरा बनाएँ । सडक छेवैको पान, मिठाइ बेच्न बसेका दाईसँग पानी मागेर हात धोएँ । एकैछिन सडक छेउबाट नियाँले पनि । अघि सम्म तिब्र गतिमा आउने ट्याक्सी, बाइकहरू अब भने परैबाट बिस्तारै छेउ लगाएर आउन थाले । सोचेँ, यति भएपछि दुर्घटना हुने सम्भावना पनि केही टर्नेछ । आज भने मन खुसी बनाएर फेरि बाटो लागेँ ।

अब त्यहाँ ढाक्ने ढकनी बन्नु अघि, सडक विभागको कुनै मान्छे आएर सफा गर्ने नाउँमा त्यहाँका ढुंगा नउठाउन ! बुझुन, सबैलाई ज्यानको माया हुन्छ ।

Comments

  1. Thanks Bhabasagarji! Now, at least people passing by will get to know that there's a hole ahead.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...