Saturday, January 4, 2014

मोबाइल खोस्दै उनले भने, "खिच्न पाइदैन ।"

अंग्रेजी नयाँ वर्षको दिन । साथीभाइसँगको भेटघाटको लागि दरबार मार्ग गएको थिएँ । भेटघाट र चिया गफमा धेरै दिनपछि सम्बन्ध रिन्यु गर्ने मौंका मिलेको थियो ।
साँझ चार बजे । बजारमा बिस्तारै चहलपहल बढ्दै थियो । दरबार मार्ग पुग्ने बित्तिकै ठूलो समस्या आइहाल्यो, बाइक कहाँ पार्किङ गर्ने ?
संयोग सोहि दिन बिहान पत्रकार साथी मेघराज रसाइलीको ब्लग पढेको थिएँ, ‘निशुल्क पार्किङको नाममा लाखौं उठाउने धन्दा ।’ Blog Link त्यसले मनमा चिसो पसिसकेको थियो ।
पार्कीङ कहाँ गर्न हुने, कहाँ नहुने भन्दै अलमलको बेला । सूचना पनि नदेखेपछि अनि धेरै बाइक पार्क) गरिराखेको देखेपछि । उनले पनि आफ्नो बाइक सोही हुलमा पार्किङ गरेको उल्लेख गरेका थिए । नगरप्रहरीको कर्के नजर परेपछि उनको एक हजार चुनालाग्यो । उनको ब्लग सोहि दिनमा पढेकोले मेरो दिमाग झनै घुम्यो । अनधिकृत ठाउँमा पार्किङमा राखिएको सवारी साधनबाट उठेको जरिवाना रकम (प्रति मोटरसाइक एक हजार) को २० प्रतिशत (दुई सय रुपैयाँ) त्यहाँ खटिएका नगर सुरक्षाकर्मी र ट्राफिक प्रहरीले प्रोत्साहन स्वरुप पाउने भन्ने पनि नियम बसाइ सकेका रहेछन ।
यस्तो अवस्थामा भिडभाडको दरबारमार्ग पुगेपछि टाउको किन नदुखोस ? शेर्पा मल पारिपट्टी  बाइकहरू कतै एक लाइन त कतै दुई लाइन । पार्किङ भएको थियो । भर्खरै आइपुगेका केही मान्छेहरू बाइकमै बसेर कहाँ पार्किङ गर्ने भन्दै अलमलमा आँखा नचाउँदै थिए ।
पहिलो लाइन सबै प्याक । दोस्रोलाइनमा राख्नु कि नराख्नु ? अब उपाए कसले बताइदिने ? म पनि एकैछिन बाइकमै बसेर घोत्लिँदै थिएँ । पहिलो लाइनमा राखेको बाइकहरूका माझ केही सानो ठाउँ देखेँ । सरासर गएर त्यहीँ पार्किङ गरिहालेँ ।
केही बेरमा नगर प्रहरीले भरिएको गाडी आयो । फटाफट झरेका उनीहरूले दोस्रो लाइनमा रहेका बाइकहरूलाई केटाकेटीले फ्रिमा पाएको चकलेट उठाए झै उठाउन थाले । यस्तो लाग्थ्यो कि उनीहरू बाइक गाडीभित्र हैन दुई दुई सयको नोठ खल्तिभित्र हालिरहेका छन् ।
केही दिन अघि सम्म पैसा लिएरै दुई लाइन पार्किङ गरिन्थ्यो त्यहाँ । सायद त्यहाँ आएकाले अनभिज्ञतामा त्यही सोचेर बाइक त्यहाँ राखेको हुनुपर्छ । ती बाइकहरू भटाभट लैजाँदा मेरो मनमा अमिलो पस्यो ।
न त्यहाँ सबैले देख्ने गरि कुनै बोर्ड लगाएको थियो । न कुनै मान्छे खटाएर यहाँ यसरी पार्किङ गर्ने बारेमा बताइएको थियो । पार्किङ गर्ने ठाउँ खोज्न पनि म ६ मिनेट त्यस्सै आँखा टहलाएको थिएँ । त्यती बेलासम्म सघाउन कोहि आएको थिएन ।
यस्तो लाग्थ्यो कि महानगरपालिकाले पहिला बिहेको दिन छिनेको थियो अनि दुलही खोज्न हिड्दै थियो । हुन त बाइक होस् या अन्य सवारी साधन । जथाभावी पार्किङले काठमाडौंमा टाउको दुखाइको विषय नबनेको होइन । पार्किङलाई व्यवस्थीत गर्ने, दलालहरूको हातबाट पार्किङको व्यवस्था कामनपाको हातभित्र पार्ने कामनपाको अभियान स्वागत योग्य छ । दलाल मोटाउनु भन्दा सरकार मोटाउनु राम्रो हो । बरु थोरै भए पनि शुल्क तिरेर झनै व्यवस्थित हुन सक्छ भने त्यो अझ राम्रो हो । तर नियम लगाउनु अघि तयारी चाहिन्छ । पहिला ठूलो सूचना बोर्ड लगाएर अनि केही दिन जनचेतनाका कार्यक्रम गरेरमात्र नियम लागु गर्न पनि त सकिन्थ्यो । पैसा तिरून्जेल दुई लाइन पार्किङ, फ्रि भएपछि चाहि एकलाइन ? के भएको हो, एक्कासी कसरी बुझ्ने ? यस्तो अवस्थामा भट्टाभट बाइक उठाउँदै लैजादा एकाएक मनको पारो नतात्ने कुरै भएन ।
अझ पत्रकार साथी रसाइलिले यसै सम्बन्धी रिपोर्टको लागि अन्तवार्ता लिँदा काठमाडौं महानगरका राजश्व प्रमुख महेश काफ्लेले भनेका थिए, ‘हामीले बिलबोर्ड राखेर जनतालाई सूसुचित गछौं, त्यहाँ नगर प्रहरी र ट्राफिक प्रहरी हुन्छन् । उनीहरूले कहाँ पार्किङ गर्ने नगर्ने भनेर सम्झाउन्छन र व्यवस्थित गर्छन् ।’
त्यहाँ त्यस्तो केही थिएन । सोही दिनमा झोलामा क्यामेरा राख्न छुटेछ । मैले झटपट मोबाइल झिकेर फोटो खिच्न थालेँ । भिडियो पनि लिन खोज्दै गर्दा त्यहाँ खटिएका नगर सुरक्षा प्रमुखसँग घम्साघम्सीको स्थिति भयो ।

‘मैले यहाँ कुनै सूचना पनि छैन, कुनै बोर्ड पनि लगाएको छैन । तपाइहरू भट्टाभट बाइक उठाउँदै हुनुहुन्छ । तपाइहरूलाई सोझै बाइक उठाउने निर्देशन आएको हो ?’ भनेर सोध्न खोज्दैथेँ । उनले मेरो मोबाइल खोसिहालेँ । एकैछिन बिबाद भयो । उनले यसरी खिच्न पाइन्छ भन्दै उल्टै मलाई पो थर्काउन थालेँ । आफू पत्रकार भएको कुरा बताएपछि उनले ‘सबैठाउँमा सूचना गरेको छ । पत्रकारलाई नै थाहा छैन ? यसरी खिच्न पाइन्छ ?’ भन्दै झोक्किए । त्यहाँ भएका एक ट्राफिकले ‘पत्रकार भए क्यामेराले पो खिच्नु पर्छ’ भन्ने जस्तो जवाफ दिए ।
सार्वजनिक स्थलमा भएका क्रियाक्लाप । अझ त्यो भन्दा पनि जनसरोकारको विषयलाई हामीले रेकर्ड गर्न किन नपाउने ? के यो दादागिरी भएन ? बिबाद बढ्दै गयो । वरपर मान्छे झुम्मिन थाले । ती खटिएका नगर प्रहरीले मेरो मोबाइल दरबार मार्ग प्रहरीलाई बुझाउने भन्दै लिएर हिडे ।
मोबाइल खोस्ने नगरप्रहरी
पहिलो लाइनमा पार्किङ गरेकाले मेरो बाइक त सुरक्षित नै थियो । तर यहाँ नियम बनाउनेहरू नै नियम मिच्ने काम गर्दैछन् । मनले मान्दैन्थ्यो । भिडियो पनि खिच्न नपाउने ? प्रश्न पनि सोध्न नपाउने ? मनमा आक्रोश झनै बढ्दै थियो ।
म पनि के के हुन्छ हेरौं भन्दै मेरो मोबाइल लिएर हिड्ने नगरप्रहरीकैपछि लागेँ । ती नगर प्रहरीले नारायणहिटी अघिल्तिर उभिएका एक ट्राफिक प्रहरीलाई सलाम ठोके अनि केही भनेको जस्तो गरे । मोबाइल उनकै हातमा दिएर फर्के ।
न बिराउनु न डराउनु । म ट्राफिक प्रहरी नजिकै पुगेँ । उनी दरबारमार्ग ट्राफिक प्रहरीका सिताराम हाच्छेथु रहेछन्, उनको पोशाकमा नाम प्रष्टै देखिन्थ्यो । नजिक पुग्ने बित्तकै उनले सोझै हात मिलाए । उनको अनपेक्षित व्यवहारले मेरो रिसको पारो स्वाट्टै तल झर्यो । अझ् मेरो हातमा मोबाइल दिँदै सोधेँ, ‘खास के भएको हो ?’
मैले छोटकरीमा कुरा टुंगाए । ती नगर प्रहरीको नाम पनि सोधेँ । उनले भने, ‘खै थाहा भएन । छाड्दिनुस् यिनीहरू यस्तै हुन ।’
मन दिक्क भयो । अब हामीले कहिले सम्म सबै कुरा यस्तै हुन भनेर छाड्ने होला ?
sagarbhaba@gmail.com

2 comments:

  1. भनेपछि सिताराम हाछेथुसँग सरको राम्रो चिनजान रहेछ ! हात पनि मिलाएछन् । Anyway very interestingly boring blog. Never Mind.

    ReplyDelete
  2. कसरी चिनजान हुनु सर । त्यो पहिलो भेट थियो । सबै कुरा अचम्मैसँग भए ।

    ReplyDelete