Skip to main content

मैले भोगेको जिन्दगी

विहानी पख । गोठका गाई बाच्छा चरनमा गइसकेका थिए । पाठापाठी घरि खोरमा आमासँगै लुटपुटिन पुग्दथे त घरि आँगनमा ब्रुक ब्रुक उफ्रदै थिए । चराहरू चारा जुटाउने दाउमा करेसाबारीको वल्लो पल्लो गर्दैथिए । हेटौंडा मकवानपुरको एक गाउँ । प्राय मोटर नकुद्ने कच्चीबाटोको छेवैमा उनको बास थियो । काठले बारेको घर । ढुंगाको छानो । माटोले पोतेको भुइँ । भान्छाकोठामा उनी तरकारी केलाउँदै थिइन् । ‘बस्नुस् भात पाकीसकेको छ,’ मेरो उपस्थितिलाई उनले खुसीसाथ स्वागत गरिन् ।
@lalitkala.wordpress.com

सिमीका रेशा जस्तै । जिन्दगी पनि उनले धेरै केलाइसकेकी थिइन् । विमला थापा (नाम परिवर्तन) लाई थाहा थिएन, यो यति जटिल हुन्छ भन्ने । सिसाकलम झैं, ताछिएर तिखारीनु पर्ने । सुन झै पोलिएर चम्कनु पर्ने । ‘मैले सोचेकै थिइन्, यति गाह्रो हुन्छ जिवन,’ तरकारी केलाउँदै गरेकी थापाका औला टक्क अडिए, ‘दुःखसँग ठोक्किएर जिउन पर्ने ।’

***
पहिला दाई जन्मे, अनि दिदी । त्यसपछि उनी अनि भाइ । ६ जनाको परिवारमा आफ्ना सबै केटाकेटीलाई खुवाइ पिलाइ गर्न उनका बाबाआमालाई निक्कै गाह्रो पर्यो । दाई अर्कैको घरमा बसेर काम गर्दै पढ्न थाले । उनी दिदीसँगै घरआँगन दकुर्दै हुर्कन थालिन् ।

बाँसको पुतली बनाएर खेल्थिन् रे दिदीसँग । ‘पुतलीको बिहे हुन्थ्यो, हामीहरू रमाउँथ्यौं,’ उनको मुहारमा खुसीको छाँया देखियो, ‘गोट्टा र चुंङीसँग रम्दा जिन्दगीसँग छुट्टै रंग लागेको थियो ।’ चाडवाड आउँदा भने उनीहरूलाई खल्लो लाग्थ्यो । सबका घरमा मिठो पाक्दा उनको घर डालोमा पिठो सम्म हुँदैन्थ्यो ।

‘मैले नपढे’नि तिमीहरूले पढ्न पर्छ,’ उनकी आमै यसै भन्थिन् । त्यसैले उनीहरू पञ्चकन्या माविमा भर्ना हुन पाए । मेलापातबाट फर्केकि आमै । मजदुरीबाट फर्केका बाबै । घरमा छ्याल्लब्याल्ल हुने गरि अन्न जुटाउन सक्दैनथे । पेटभरि खान पाउनु निक्कै भाग्यको कुरा थियो । ‘मिठो मसिनो । चुल्होमा जे पाक्छ त्यही खानु पथ्र्यो,’ उनले भनिन् ।

‘भोकले हो वा मिठो मानेर थाहा छैन,’ थापाले भनिन् ,‘सानैमा माटो खाने बानी थियो ।’.......
वरपर कोहि देखिनन् भने उनी माटो कोपरेर खाइहाल्थिन् । खान हुन्न भन्ने थाहा थियो । तर पनि ७ वर्ष सम्म पनि उनको यो बानी हटेन । हुन त उनका स्कुले दिन पनि सहज भने थिएनन् । कहिले भोकै स्कुल जानु पथ्र्यो त कहिले आधा पेट ।
उनका साथीहरू खेल्दा खेल्दा खल्तिबाट भुटेका मकै भुइँमा झरेको पत्तो पाउँदैन्थे रे । ‘तिनै भुँइका मकैका गेडा टिप्दै खाँदै हिडेको पनि याद छ,’ यति भन्दै उनी अब आलु काट्न थालिन् । सानै उमेर देखि उनका दिदी बहिनी आमासँग मेला हिड्थे । मल बोक्ने । मकै गोड्ने । भाँडा मोल्ने । यस्तै काममा खट्टीन्थे उनीहरू । बिहान घाँस दाउरा । दिउँसो स्कुल । साँझ एक्कैछिन भएपनि मेलापात । राती ११, १२ बजे सम्म उनीहरू आमासँगै बसेर ऊन काट्ने गर्थे । हप्ताको सात केजी सम्म ऊन तयार हुन्थ्यो । केजीको ३० रुपैयाँ आउँथ्यो । ‘आमा मिठाइ किनेर ल्याउनुहुन्थ्यो,’ थापाले सम्झन् ि,‘हामी लुछाचुँडी गरेर खान्थ्यौं ।’
उनलाई अझै याद छ । उनकी एउटा मिल्ने साथी थिइन, सरिता । साथमा पैसा नभाकोले सरिताले झै राम्रो स्कुलमा पढन् पाइनन् उनले । कापी किताब जुटाउनुको समस्या सधैं रहन्थ्यो । अरूले पढेर पुराना बनाएका र खोलको ज्याकेट नओढेका किताब मात्र उनीहरूका भागमा पथ्र्यो । ‘कापी किन्ने पैसा हुन्थेन,’ उनले भनिन्, ‘एउटै कापीमा पाना छुट्टाएर धेरै विषयको होमवोर्क गर्थेँ ।’

घरमा केही न केही कुरामा बाबाले किचलो निकालीहाल्थे । आमा र बाबा बीच चर्काचर्की भएपछि कुटाकुट सुरु हुन्थ्यो । त्यसपछि रुवाबासी । आमा रुन थालेपछि उनका दिदीबहिनी र भाइ पनि रुन थाल्थे । ४ कक्षा पढ्दाको बेला । बाउआमाको झगडाले उग्र रुप लियो । आमा रुँदै माइत गइन् । अब भने उनीहरू आफूलाई एक्लो महसुस गर्न थाले । पढ्ने किताब छैन् । बोक्ने झोला छैन । आमा थिइन्, तिनी पनि गइन् । ‘हामी स्कुलै जान छाड्यौं,’ उनले भनिन् ।

आमा नहुँदाको एक दिन् । भोकले रन्थनीयकी विमला आफन्तको घरमा गइन् । त्यही नामका मात्र आफन्त जसले उनको बाबाको सम्पत्ती हडपेका थिए । त्यस्ता आफन्तको मन कपास जस्तो कमलो के हुन्थ्यो । ‘के घिच्न आइस भन्दै भोकै लखेटे,’ उनले भनिन् । उनको मनमा त्यो तितो पल खिल बनेर गढ्यो । ९ महिना पछि आमा घर फर्किन् । उनीहरूका लागि किताब कापी जु¥यो । अर्को वर्ष फेरि उहि कक्षामा उनीहरूले भर्ना पाए ।
 स्कुल भर्ना भएपनि आर्थिक अवस्था उही थियो । साथीहरू पकौंडा खान्थे । पुस्टकारी खाएर जिब्रो पड्काउँथे । विमला मुख मात्र मिठ्याउँथिन् । एक छाक मिठो खान पाए कस्तो हुन्थ्यो होला झै लाग्ने दिन पनि आए उनको जीवनमा । ‘मकैको ढिडो पानीसँग मुछेर खाएकी छु,’ उनले भनिन्, ‘ धन्न त्यती भएनि पाइयो, भोक लागेपछि मिठो नमिठोको केइ पत्तो हुँदोरैन्छ ।’
‘धन देखेसी मन कालो’ भन्छन् । ‘बाबाको जग्गा आफन्तले नै झुक्काएर खाइदिएका थिए,’ थापाले चुल्होमा कराइ बसालिन्, ‘त्यसैबेला देखि बाबा झोक्की हुन थाल्नुभाथ्यो ।’ यस्तै बेला बेलाँ रिसाइराख्ने र बेसुरे हुने बाबाको उपचार पनि होला भनेर आफन्तसँग उनीहरूले ५५ सालमा भारत पठाए । बाबा गएपछि भने घरमा अल्लि आनन्द भयो । ‘कमसेकम काम गरेसी सुखले खान पाइन्थ्यो,’ थापाले निधार फुकाइन् । ५५ सालमा दिदीको बिहे भो ।

***
बल्ल बल्ल एसएलसी परिक्षा दिइन् । पास भएपनि क्याम्पस पढ्नका लागि पैसै चाहिने । साथमा कौडी थिएन् । उनी जागिर खोज्न थालिन् । बिरगञ्जको एक संस्थामा जागिरको लागि आवेदन दिइन् । अन्तर्वाता भयो । नाम निस्कीयो । तर जागिर खान पाइनन् । कारण, राजधानीमा संघर्ष गर्दै गरेका उनका दाईले उतै बोलाएछन् । ‘यतै काम गर, यतै पढ् जान्ने सुन्ने भइन्छ,’ दाइले यति भनेपछि उनले कुरा काट्न सकिनन् । आमाले पनि दाइकै कुरा मान्न भनिन् । उनी सरासर राजधानी आइन् । ढुंगा र इँट्टाका घर । घरैघरको जंगल । उने धेरै पछि बुझिन्, यहाँ मान्छेको घरमात्र हैन मन पनि ढुंगाले बनेको हुन्छ ।
डिग्रीका खातहरू बेरोजगार पल्टेका शहरमा एसएलसी पनि नसकेकाले जागिर खोज्नु चानचुने कुरो थिएन् । बल्ल तल्ल पाएको जागिरमा पनि मासिक ३ हजारमा चित्त बुझाउनु पर्यो उनले । ८ देखि ५ बजेको समय । दिनहुँ खाना खाजा र गाडीभाडाको खर्च । उनलाई त्यो जागिर निल्नु न ओकल्नु भो ।
‘मैले त्यो छाडेर एक होटलमा काम गर्न थालेँ,’ तरकारी चलाउँदै उनले भनिन् । एक त भर्खरकी केटी मान्छे, त्यो पनि होटलमा वेटरको काम । ‘यौन पेशामा लाग थुप्रो पैसा कमाइन्छ भन्न थाले,’ उनी टक्क अडिइन्,‘बरू नाङलोमा मिठाइ बेचेर खान्छु तर यस्तो काम अर्दिन भने ।’
यहाँको कोलहालमा कस्ले सुखको सास फेर्न सक्थ्यो र ? उनी दिनानुदिन निस्सासीदै गइन् । ‘भाइसाब आज एक रातके लिए ओ लडेकीको मनादेना’ होटलका गेष्टको मुखबाट यस्तो सुन्नु त सामान्य कुरा थियो । मेरो पालो होटलको जागिर छाडेर स्कुल तिर लागेँ । बोर्डिङ स्कुलमा मासिक २ हजार । संघर्ष चल्दैथियो बाबा भारतबाट घर आइपुगेका र सिकिस्त बिरामी भ’का खबर उनले पाइन् ।
‘यो तासको महल बनाउने ठाउँ भन्दा गाउँ नै ठिक,’ उनी बाबालाई सम्झेर हटिया हानिइन् ।
***
२०६३ वैषाखको बेला । दिदीको बिहे भैसकेको थियो । बाबा सिकीस्त भएर भारतबाट घर आएका थिए । उनी पुगेको केही समय मै, बाबा बिते । दाजुभाइको आफ्नै सुर थियो । एसएलसीमा सेकेण्ड डिभीजन आउँदा पनि खुसी हुने ठाउँ थिएन् । उनको पढाइ त्यसै रोक्किएको थियो ।
२०६३ साल असोज महिनामा । आमा बिरामी परेर थलिइन् । कसरी उपचार गर्ने ? कहाँ गर्ने ? उनी निक्कै अन्योलमा परिन् । २२ हजारमा भैसी, १० हजारमा गाइ, १० हजारमा बाख्रा, बोका बेचेर आमाको उपचारमा खर्चिन उनले । जताततै उपचारका लागि भौतारिँदा पनि भएन । धेरैपछि आमालाई चितवनको क्यान्सर अस्पताल पु¥याउन भ्याइन उनले । जतिठाउँमा पुगेपछि अन्तत उनले आमाबाट आश मार्नु प¥यो ।
‘आमा मरिन भने म पनिसँगै मर्छु भन्दै डाक्टरसँग रुन्थेँ’, उनले भनिन्, ‘तर काल नआइ कोही अघि जाँदो रहेनछ ।’ रगतको नाता भन्दा भावनाको नाता ठूलो भन्ने कुरा उनले चितवन पुगेपछिमात्र बुझिन् । एक जना केटीसाथी र उनको दाइले उपचारका क्रममा गरेको सहयोग उनी सधैं सम्झिरहन्छीन् । बिभिन्न संस्थाहरूमा गरेको सानो सानो कामले उनले आमा उपचार गर्दाको ऋण पनि तिरीन् । आमा बितेपछि भाइको बिहे भो । सबैले आफ्नो बाटो समाते ।

***
आमाले भैसी किन्छु, दुध बेचेर तेरो लागि घर बनाउँछु । यसले दुःख पाउँछे । चार कठ्ठा यसका नाममा दिनु है, भन्थिन । मेरो माया लागेर त्यसो भन्थिन होला, तर उनको सपना पुरा भएन । आमा मरेपछि आफै पनि मरौं झै लाग्थ्यो । तर बिस्तारै मेरा सपनाका टुसाहरूपनि अंकुराउँदै गए । नेपाल परिवार नियोजन संघले व्युटीपार्लर सिक्नको लागि १० हजार दिएको थियो । हातमा सिप भएपछि केही गरिन्छ भनेर त्यसमा लागेँ । तालिमबाट बचेको पैसाले लागको ऋणको ब्याज तिरेँ । इक्वेल एक्सेस भन्ने उत्पादन संस्थाले रेडियो कार्यक्रमबारे उत्पादन सिकायो । रेकर्ड गर्ने । अन्तर्वाता लिने । अनि बिस्तारै मैले काम पाउन थाले । मेरा नाम एफएमबाट बज्न थाले ।

यसले सामाजिक छविमा मात्र राम्रो असर पारेन मेरो आत्मविश्वास पनि बढायो । हातमा सिप भएपछि, दुइचार पैसा हाता पर्दो रैछ । हातमा पैसा भयो भने नयाँ आत्मबद आउँदो रैछ । मैले ५९ मा एसलसी दिए पनि ६६ को वैशाखमा नयाँ कक्षा ज्वाइ गरेँ ।

अहिले आत्मबल बढेको छ । जिल्ला बन कार्यलयमा मान्छे चाहिएको सामाजिक परिचालकको रूपमा पनि केही समय काम गरेँ । त्यसले मेरो पकेट केही भएपनि दह्रो बनाउँथ्यो ।

फाटेको कपडा टाल्दै गएपछि सिलाउन आउँछरे । जिन्दगी पनि लड्दै गएपछि जिउन आउँदो रहेछ, मैले यहि सिकेँ । आँट नै सबै भन्दा ठूलो कुरा रहेछ । अहिले त बाख्रै पालेर भएपनि धेरै कमाउन सक्छु झै लाग्छ । मेरो बिचार यहि हो, जगिर खोज्दै हिड्न नपरोस्, जागिरले खोज्दै आवोस् ।
(Wrote after meeting with her in 2010 @Bhabasagar)

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...