Skip to main content

को ड्राइभर, को खलासी ?


नेपालमा जहाज पुगेन बाहिरबाट किन्ने भन्दैछन बरु पोखरा काठमाडौं कुद्ने माइक्रोलाई पखेँटा हाल्दिए त भैहाल्यो नी । ती कुनै हवाइजहाज भन्दा कम छन् त ?

बाफ रे यस्तो बत्ताउँछन् कि आफू त सुकेका पातझै उडेजस्तो लाग्छ । सुकेका पात जस्ता हामी यात्रुका ज्यान अब उडेर आँगोको भुंग्रोमा परेर खरानी हुन बेर छैन । जिन्दगीनै खरानी बनाउने गरेर गाडी कुदाउने फुच्चे केटाहरूको चुरिफुरी हेरिसक्नु हुन्न ।

अब किन यसरी जमिनमै नटेक्ने गरि कुदाको भनुम भने मुख भरिका जवाफ फर्काउलान भन्ने डर ।
हुन पनि बीचराहरूले कसरी चलाउन त बाटोमा बाटो पनि चलाउन लायकको भए हो हुन्छ । चारवटा भैसी पुर्न मिल्ने, १२ बोरा बर्डफ्लुले मरेका कुखुरा पुर्न मिल्ने खाल्डाखुल्डी पाइलै पिच्छे भेटिन्छन् । त्यो माथि आइसक्रिम जस्तै सम्झेर बालुवा पनि ट्रकमा चुलि बनाएर पानी चुहाउँदै ल्याउँछन्, काठमाडौंमा जो घर ठड्याउनु छ । बाटो च्यात्तिएर आपद ।

त्यस्तो बाटोमा ‘अत्तिन पत्ति पिंङमा बत्ति’ भनेझै गरि माइक्रो कुदाउँदा त आंङै सिरीङ हुने ।

एक पटक अचम्म भो । काठमाडौंबाट माइक्रो चढेको । आडैमा मोडामा पनि मान्छे राख्याथ्यो । ड्राइभरले खुब कुदाए गाडी । लडाउला, खसाल्ला, ठोक्ला भन्दा भन्दै अलिकति बित्तोले भित्तो जोगिन्छ ।

अब त अत्ति भो, सबका आँखा एक अर्कालाई को कति डराएछ भनेर हेर्न थाले । म पनि मुटु कमाए पनि आँखा भने नकमाइ बस्छु भनेको काँसक्नु, झ्यापकी झ्याप ब्रेक हानेको छ, कुदाको छ । हैरानै खेलायो । आजै रैछ अन्तिम दिन भन्दै सम्झनु पर्ने सबैलाई सम्झन थालेँ ।

‘ए बाबु माछौं क्या ?’ आमैले मुख खोलिन ।
हुन त आमैको उमेर भन्दा हाम्रो उमेर अझ धेरै बाँकी थियो होला, बाँच्दै गए मर्न लाइ । तर पनि उनलाई चाहि मान्नु पर्छ । उनले मुख खोलेर ठिक भो । हामी जस्ता आला काँचाले मुख खोलेको भए ती ड्राइभरले के भनेर मुख फर्काउँथे थाहा भएन । राम्रो चाइ हुन्थेन ।
आमै बोले पनि ड्राइभरले त वास्तै गर्दैनन् । झण्डै बाइकलाई हानेर मारेका । बीचरो बाटो छाडेर भित्तो भित्तो ढुलमुल गर्दे फेरी बाटोमा आएर पछाडी लाग्यो ।

अब त अरु पनि कराउन थाले, ‘बिस्तारै चलाउन ।’

‘चलाइत राख्याछु त, त्यस्सै हाम्लाई सिकाउने ?’ बल्ल उसको स्वर सुनियो, त्यो पनि खस्रो । ‘लौ हरि जोगाउ तिम्रै सन्तान हुँम’ आमैले गुनगुन गरिन । मैले पनि ‘मःम’ भनेँ मनमनै । क्यार्नु त, भनेको मान्दैन । झर्न सकिन्न । बरु लेख्या रछ भने आजै चैट भन्यो मनबाँधेर बस्यो । हरेक पटक मान्छेहरू कराउँदा, जगल्टे खलासी बीच बीचमा प्वाक्क प्वाक्क बोल्छ बा, ‘ नकराउनुस् न कसरी चलाउने तपाइलाई था हुन्च कि हाम्लाई ?’
‘त्यसका जगल्टा केलाउन पाका भए खुब मज्जा आउने थियो’ मनमनै सोच्यो बस्यो । के निहुँ खोज्नु खै । फेरी मुख खोल्न हुन्न, कति ले त आन्द्रा भुडिभित्रकै बाहिर आउने गरेर फोहोरी फोहोरी कुरा बोल्दिन्छन् । भैगो । सरकार उस्तै, जनता उस्तै । हामी उस्तै तिमी उस्तै । त्यो बेलामा पनि चुप लाइयो ।
खाजा खाने बेला आइपुग्यो कुरिनघाट हो कि के जाती ठाउँमा रोक्याथ्यो । खासै बाटोमा खाजा खाने बानी त्यती थिएन । झन त्यसबेला सरकारले कतै झिंगा समात्याथ्यो, कतै डेट एक्सपाएर भएको तेल । राजमार्गमा अल्लि छाडै भएका छन होटलवालाहरू भन्ने हल्ला थियो, स्वाथ्यका मामलामा । फलफुल किनेर खाइयो । खाजापान गर्ने होटल पनि गजपकै थियो । ज्वाइ आए झै गाडीको ढोकैमा लिन आउँथे । भित्र गएर खाना अर्डर गरेर जुठो नहालुन्जेल सम्म सबै ग्राहक ज्वाँइ नै हुन्थे । जुठोहालेपछि सबै मान्छे च्वाँइ हुन्थे, महंगीले । सफा त त्यस्तै हो । भनेको कसले पो मान्छ र यो देशाँ । धेरै बेर रोक्यो, साहुनीसँग गफैमा व्यस्त । उनकै टाइममा हिड्नु पर्ने भो । यति बेला सम्म म केही बोलिन ।

जब खाजा खाइसकेपछि गाडी चल्न थाल्यो, खलासीमा बसेको केटोलेपो गाडी चलाउन थाल्या रछ बा । ए हरि । यस्तो बेजोड पारामा स्टार्ट गरेर हुँइकायो नी, अब गइयो भन्ने भो । डरले सबै थरथर । अचाक्ली भो । सबै एकाएक कोकोहोलो गर्न थाले । मेरो त पारो छुट्यो । अब त नबोली भएन, ‘खलासीलाई गाडी चलाउन दिने ? मार्न खोज्या हो ?’

यस्तो सुन्ने बित्तिकै ड्राइभरको सिटमा भर्खरै बस्न पुगेको केटो रिसाउँदै भन्यो, ‘के भन्ठानेको, ड्राइभर त मै हो । के निधारा लेखेको छ म ड्राइभर हैन भनेर ?’

उसको कुरोले सबै झनै अचम्ममा परे । म चार छक (तिन प्लस एक थप), पाँच बल्ड्याङ । बल्ल बल्ल बोलेको झनै अलमल पो भो । अघि ड्राइभर बन्ने केटो अब ढोकातिर आएर बसेको थियो । ‘उहाँ नै हो यो गाडीको ड्राइभर, के कुरा गर्नु भाको ?’ उसले अल्लि चर्को स्वरले बोल्यो ।
‘ल अघि आफूले किन चलाको त गाडी ?’ आडैका दाईले मुख खोले ।
‘के चलाउनै हुन्न, म अर्को गाडीको ड्राइभर हो,’ उसले नयाँ कुरो निकाल्यो ।
ल अब जता जता पण्डित बाजे उतै उतै स्वाह । सबै जना गुनगुन गर्न थाले ।
‘मान्छे चिनेरे बोल्नु पर्छ नी’ भर्खर गाडी चलाउने मानहानीको मुद्धा हालुँला झै अझै रिसाइराखेको थियो ।

उसले आफ्नो मान हानी भएको ठान्यो कि क्या हो, त्यहाँबाट पोखारा आउँदा सम्म यति हाक्यो की, कुरै नगरौं । उस्तै मुटु भएका मान्छे भएका भए पोखरा रामघाटमा सोझै लगे हुने ।
झण्डै बाँचियो र यी कुरा लेख्न पाइयो ।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...