Skip to main content

आठ आठघण्टा बन्द उपहार



भवसागर घिमिरे 

पोखराबाट काठमाडौं तिर हुँइकिएको माइक्रोबस आइतबार चितवनको फिस्लिङमा झयाप्प रोकिएपछि हाम्रो दुखद दिन सुरू भयो । एकीकृत माओवादीको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाले अप्रत्यासित बन्द आयोजना गरेको रहेछ । त्यो पनि बिहान सात बजे देखि साँझ ६ बजे सम्म । प्राय यात्रुले यात्रा अगावै बिहान दश बजेबाट दुइघण्टा नेपालबन्द हुँदैछ भन्ने सुनेका रहेछन् । जहाँ बन्द होला त्यहीँ दर्ुइघण्टा बिताउने योजनामा बिहान सात बजे निस्केका हामीले थप ६ घण्टाको गणतान्त्रिक बोनस पायौं । बिहान पाँचै बजे काठमाडौंका लागि छुटेका गाडीले भने फिस्लिङमा 'दश घण्टा बन्द' उपहार पाए ।

सबैलाई सकेसम्म चाँडो गन्तव्यमा पुग्नको हतारो थियो । बिहानी खानाको कुरै नगरौं धेरै यात्रुले चिया पनि पिउन पाएका थिएनन् । फिस्लिङको फलफुल तथा तरकारी संकलन केन्द्र नजिकै रूखका मुढा तर्ेसाएर आन्दोलनकारीको झण्डा गाडिएको थियो । चार पाँच आन्दोलनकारी सडक छेउ चौतारोमा सुस्ताएर आँखा ठूला ठूला पार्दै थिए । बन्दगर्न राखिएका ढुङ्गामुढा भन्दा केही मिटर पर काठमाडौं कुद्न तम्सिएका गाडीहरूको एकतफिर् लस्कर सुरू भएको थियो । काठमाडौंबाट बाहिरी जिल्ला निस्किएका गाडीहरूलाई मलेखु नेरै रोकेर राखिएको आयोजक बताउथे । बन्दगर्न सडकमा राखिएका साना साना ढुङ्गापनि गाडीका निम्ति पहाड झै खडा भएका थिए ।

'आठ आठघण्टा सम्म के गरेर बस्ने ?,' आक्रोशित यात्रुको गन्थन सुरू भयो । 




'चुप बस्यो भने सधै यस्तै हो, सबै मिलेर कराउन जाउँ,' एक हुल मै तिर तेर्सियो । बन्दकर्ताको नजिकै सम्म पुग्दा बाक्लो हुल पातलीसकेको थियो । 'बोल्यो कि पोल्योको' को स्थितिमा अगाडी पुगेर ओठ खोल्ने आँट भने कसैले गरेनन् । बरू छेउछाउ लागेर सरकार र पार्टीलाई भने धेरैले गाली गर्न भ्याए । मोटरसाइकलमा आएका पर्यटक र बिरामी चढेको एक गाडी छुटाउने मेरो ताकेतामा त्यहाँ खटिएका 'धेरै जान्ने भएर नबोल्नु, हामीले मिलाउँछौं' भन्दै कड्कीसकेका थिए ।

यता एकाएक मान्छेको ओइरो देखेपछि वरपरका साना चियापसलमा चहलपहल सुरू भयो । भोका यात्रुहरू खानेकुरा खोज्दै पसल चाहर्न थाले । अघि सम्म पन्ध्रमा बेचिने चाउचाउको मोल बीस पुग्यो । चिसोको पच्चिस् । केही बेर अघि सम्म निरन्तर आइरहेको र्सार्वजनिक पानीको धारो एकाएक बन्द भयो । पच्चिस रूपैयाँ तिरेरै भएपनि मिनलर वाटर किन्न गर्मीले काकाकुल यात्रुको लाम लाग्यो । त्यहाँ रहेका ८/१० पसलहरूमा हेर्न लायकको घुँइचो थियो । 

'यस्तो आपद नपरे हुन्थ्यो भन्ने हामीलाई पनि लाग्छ,' पसलकी एक साहुनीले रेडिमेड हाँसो हाँसिन्, 'अब बीचमा पर्नुनै भएको छ भने यहाँहरूलाई खानपान गराउनु हाम्रो कर्तव्य हो नी, हैन भन्नुस् त -' यति के भनेकी थिइन्, उनलाई खानाको दोस्रो बाहान बसाल्न हतार भैहाल्यो । 

हुँइकिएर आएका गाडी रोक्कीएर लाइन लाउने क्रम ११ बजे पछि पनि बढ्दैथियो । बन्द छल्न नसकेकाहरू चर्केको घाम छल्न रूखका काखमा ढेप्पिन पुगेे । त्रिशुलीमा झरेर पौडी खेल्ने मात्र हैन झोलुङ्गेबाट खोलो तरेर पारी गाउँपनि जान भ्याए केही । दिक्क परेका केही यात्रु गाडीमै उँग्न सुरूगर्दैथे त केही बस, ट्रकको छेलपारेर निन्द्रामा झुमलिँदै थिए । 'यस्तो तालले के नयाँ नेपाल बनाउँलान खै' बाग्लुङ्गका प्रेमनाराण कार्की भन्दैथे, 'दिनै पिच्छे बन्द, हड्ताल छ, मर्ने आखिर हामी नै रैछौं ।' एक हुल मान्छे जम्मा गरेर उनले दुइ घण्टा मज्जैले गफ जमाए । 

सोमबार विदेश उडन लागेका छोरी ज्वाइँलाई भेट्न राजधानी हिडेकी बेलुमाया गर्बुजापनि दिक्क परेकी थिइन । 'कति खेर पुइर कति खेर भेट्नी हो, साह्रै बित्यास पो पर्यो नी,' तनहुँकी ६४ वर्षो गर्बुजा भन्दैथिइन्, 'हाम्लाई दुख दिन किन बन्द अर्नु पर्ने होला ?'

गुनासो गर्ने धेरै थिए । सुन्ने कस्ले ? प्रहरी प्रसाशनको उपस्थिति सुन्य थियो त्यहाँ । राजमार्गमा अलपत्र परेकाहरू आ-आफ्नै तालमा व्यस्त । गर्मी बढेपछि तिर्खाएका यात्रुहरू पानीको खोजीमा फिस्लिङ् चोक भन्दा निक्कै पर पुगिसकेका थिए । बल्ल तल्ल भेटिएको एउटा सानो मुहानमा पानी भर्न मान्छेको घम्साघम्सीनै चलेको थियो ।

सडकका ठाउँठाउँमा जमेका पप्लु, कलब्रेक र म्यारिजका खालमा पुरूषसँगै महिला पनि तासका पत्ती घुमाउँदै थिए । आमा बिमारी भएको खबर पाएपछि धादीङ मुलपानी जान लागि हिडेका राजु अधिकारी होस् या काठमाडौंका लागि हिडेका लेखनाथ कास्कीका हस्त बहादुर गुरूङ दुवै निराश देखिन्थे । 'कैले पुगेर कहिले र्फकने ?' राजु भन्दैथे, 'भोलि पोखरा बन्द भन्ने सुनेको छु, र्फकन पाइदैन्, आपदै हुने भो ।'

राजु जस्ता धेरै यात्रु थिए बाटोमा । सबैका आ-आफ्नै गुनासा । नेताहरूले जनता चुसेर मूढा बनाइसकेका दमौलीका कृष्ण सापकोटाको तर्क थियो । 'तोरी पेल्नु साटो बुद्धी नभएका नेता मूढा पेलेर तेल निकाल्न खोज्छन्' जनतालाई दुख दिने नेतालाई उनको व्याङ्ग्य थियो यो । 

घाम ढलेपछि त्रिशुली ओर्लेका र वरपरगाउँ पसेका सबै सडकमा भेला भए । साग झै पाकेका अनुहारहरू मकैका पातझै झोलिएका देखिन्थे । ६ बजे खुल्ने भनिएको बन्द ५ बजे नै खुल्यो भन्ने हल्ला आयो । हुरीझै आएको यो खबरले पातपतीङ्गर झै यत्रतत्र बसेका यात्रुलाई गाडीमा हुल्यो ।

जुनसुकै राजनीतिक दलले 'जनताको लागि आयोजना गरिएको' भन्ने गरे पनि बन्द जनताकै लागि निक्कै असहज भएको धेरैको तर्क थियो । जाँदा जाँदै भेटिएका सबैलेे एउटै कामना गरे, 'यस्तो सास्ती कसैले भोग्न नपरोस् ।' 

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...