Sunday, March 31, 2013

बा बाँचेका भए कति खुशी हुन्थे


भवसागर घिमिरे

'खुशीको आँशु के हो केहि थाहा थिएन' यसपाली एसएलसी पास गरेका घरेलु श्रमिक कविराज लामाले सोमबार भने, 'आजै बिहान झर्यो ।'

डुकुछाप ललितपुरका १७ वर्षो लामा घरको कमजोर आर्थिक अवस्थाका कारण ८ वर्षअघि राजधानी झरे । कुपण्डोलको एक घरमा काम गर्दै नजिकैको प्रगति शिक्षा सदन माविमा पढ्न थाले । २०५८ मा बाबा बितेपछि उनलाई थप ठूलो चोट पर्यो ।

'गाउँमा खानलाउन गाह्रो भएपछि आमा र भाइबहिनी पनि यही आए' लामाले भने, 'सबैले फरक फरक घरमा काम गर्न थाल्यौं ।' उनकी कान्छी बहिनी भोटेबहालको घरमा काम गर्छन। मानसिक अवस्था कमजोर भएकी माइली दिदी र भाई आमासँगै सानेपा, काठमाडौं बस्छन् । राजधानीमा नै रहेका आफ्ना परिवारका सदस्यबाट टाढा बस्नुपर्ने उनको बाध्यता हो । बाध्यताकाबीच पढ्नु र बढनु उनको रहर । 


आइतबार प्रकाशित एसएलसीको नतिजामा प्रथम श्रेणीमा पासभएपछि लामामा खुशीको सिमा रहेन । सात दाजुभाइ र तीन दिदीबहिनीबीचका काइला छोरा उनी परिवारभरिमा एसएलसी पास गर्ने एक्ला ठहरिए । पास भएको खबर सोमबार बिहान मात्र आमा, भाइ र बहिनीलाई फोन गरेर सुनाउन भ्याएछन् । छोराको प्रगतिमा आमाको मन खुशी नहुने कुरै भएन । 'भेट्न कहिले आउँछस भन्नु भाथ्यो' आमालाई सम्झदै उनले भने, 'छिट्टै आउँछु भनेँ ।'

गाउँ छँदा केटाकेटीले पढ्न सकेनन भनेर उनका बा सधैं दुखी हुन्थे रे । 
'आज बा भएका भए कति खुशी हुन्थे होला,' लामाका गला एक्कासी अवरूद्ध भयो, 'माथिबाटै भएपनि हेरिरहेका होलान नी ।'

उनका बाबा दमका रोगि थिए । बालाई जति दमले पोलेको रहेछ त्यो भन्दा बढी उपचार गर्न नसक्नुको पिडाले उनलाई पोल्यो रे त्यो बेला । 'गरिबका हातमा कौडी नहुँदा कस्तो हुन्छ मैले भोगेको छु' लामा भन्छन्, 'त्यही भएरै पढन् लागेँ, अझ धेरै पढ्नु छ ।'

काठमाडौंका घरबेटीले पढाइदिन्छु भनेपछिमात्र बाबाले लामालाई राजधानी पठाएका थिए । 'पढाइदिनुको सट्टामा बाबाले मासिक पैसा मागेका भए कसरी पढ्न पाउँथे -' लामा भन्छन्, 'बाबाले गर्दा नै यहाँ सम्म आइपुगेँ ।'
आफूले एसएलसी पास गर्नुमा उनी घरबेटी दाइभाउजुलाई पनि सम्झन चाहन्छ । सँगै विद्यालयका शिक्षक दामोदर शिलवाललाई पनि । अब के पढ्ने - 'व्यवस्थापन पढ्छु' लामाले भने, 'पढेर धेरै काम गर्न मन छ ।'

उनीसँगै पढेका अर्का घरेलु श्रमिक बुद्धीमान तामाङपनि प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । ललितपुर लेले घर भएका १९ वर्षो तामाङ कुपण्डोलकै एक घरमा दशवर्षदेखि काम गरिरहेका छन् । पाँच दाजुभाइ र दुइ दिदी बहिनीबीचका साइला छोरा उनको घरायसी आर्थिक अवस्था निक्कै कमजोर छ । लामा जस्तै तामाङपनि परिवार भरिमा एसएलसी पास गर्ने एक्ला सन्तान भएका छन् । 

तामाङ र लामा जस्ता कमैले मात्र पढ्न र माया पाउने गर्छन । आफू जस्ता धेरै साथीहरूले पढ्न पाए हुन्थ्यो झै उनीहरूलाई लाग्छ । 'मजदुरलाइ कामसँगै पढाइ र सिप सिकाइदिनु पर्छ' लामा भन्छन्, 'सक्षम बनाइदियो भने घरबेटीको त्यो गुण उनीहरू सधै सम्झि रहन्छन् ।'

(कविराज लामा (दायाँ) र बुद्धीमान तामाङ . मंगलबारको नागरिक दैनिकबाट, June, 30, 2009)



No comments:

Post a Comment