जिउँदै खाल्डोमा


–भवसागर घिमिरे

‘अब यसलाई गाड्नु पर्छ’
‘म जिउँदै छु’
‘कसले मरिस भन्यो र ?’
‘किन गाड्न लाग्या त ?’
‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’
‘किन ?’
‘हाम्लाई जिउँदो मान्छे मन पर्दैनं’
‘तिमेरू जिउँदा छैनौं र ?’
‘उहिल्यैँ मरिसक्यौं’

आच्या, मैले बल्ल होस पाएँ । तिनीहरू साँच्चै नै मरिसकेका रहेछन् । तिनीहरूको कसैको टाउको थिएन । आवाज घाँटीबाट निस्कदै थियो । करंङमात्र खिरिङ्ग देखिने उनीहरूको छातीमा मुटु थियो । ढुकढुकी थिएन । यस्ता पनि मान्छे हुन्छन् ? मैले अचम्म मानेर हेरेँ ।
‘हामी मान्छे हैनौं,’ एउटोले भन्यो ।
ला बर्बाद, म राक्षसको चंगुलमा फसेछु । कसरी फसेँ ? किन विश्वासमा परेँ । पत्तै पाइन ।
‘ए फाल्दे खाल्टाँ,’ अर्को कड्किन थाल्यो ।
म चिच्याएँ । कराएँ । बिन्ति बिसाएँ । ‘जिउँदो हुनु नै मेरो दोष हो त ?,’ मैले यस्तो नगर्न भने ।
‘मरेकाहरू विरुद्ध कलम चलाएपछि यस्तै हुन्छ,’ अर्कोले झोक्किँदै मलाई खाल्टोमा फाल्यो । बज्जारिएँ । थेच्चारिएँ । माथिबाट माटोका ढिस्काहरू ममाथि बर्सन थाले । बिस्तारै पुरिदै गएँ । चिच्याउँदा चिच्याउँदै मेरो मुखभित्र माटो पस्यो । बोली च्याप्पै बन्द । सोचेँ, यति नै रै’छ साला पत्रकारको जिन्दगी । भुसुक्कै निदाएँ ।(घटना दोहोरिन सक्छ...सकिएको छैन !!!)

Comments