मापसेमा यमराज


-भवसागर घिमिरे

(यमराज राँगोमाथि चढेका छन्  भने चित्रगुप्तले राँगो डोर्याइ राखेका छन् । यमराज राँगोबाट झर्छन् ।)
यमराजः (थाकेर) ए चित्रगुप्त ! यो के गन्हाएको हँ ?

चित्रगुप्तः यो बसपार्क गन्हाएको हो महाराज ।

यमराजः के हो मरेको मान्छे आचकल यमलोकमा बस चढेर आउँछन कि क्या हो ?


चित्रगुप्तः हामी यमलोक हैन महाराज, पोखराको बसपार्कबाट अल्लि माथि आइपुग्यौं ।


यमराजः (डराउँदै) ए पोखरा आइपुग्या हो ? लौन यसो हेरत, सेतीमा बाढी त आ छैन नी ?

चित्रगुप्तः बाढी...? ....(टाढा हेरेझै गर्ने) बाढी मात्र हैन यमराज, बाढीमा भैसीको पाडी पनि बगाएर ल्याएको रै’छ ।

यमराजः ए, बाबुराम भट्टराइ भन्नेको मुस्ताङ गाडी त बगाएर ल्याछैन नी ?

चित्रगुप्तः छैन महाराज, के बगाउँथ्यो, आफू मुस्ताङ चढेपनि पहिलाका बडाबडा प्रधानमन्त्रीलाई मुस्ताङ जिल्लै किन्न पुग्ने पैसा, गाडी बाँडेछन् हाम्रा बाबुराम बबुराले ।

यमराजः के गर्ने, मलाई एउटा भैसी किन्दे भन्दा नी किन्देन, अरुलाई गाडी किन्देछ मोरो ले । म चढेको यो राँगो गलफ्रेन्ड नभएर बोर मानिराछ ।

चित्रगुप्तः मलाई पनि त्यस्तै बोर लागिराछ भन्या, खाली  सेती बाढीले बगाएर मरेका, त्रिशुलीमा पल्टेर खुस्केका अनि कच्ची सडकबाट जिप हाम्फालेर फुस्केका मान्छेको मात्र हिसाब किताब राख्नु पर्दा  बोरै भाछु भन्या ।

यमराजः भैगो चिन्ता नगर, जाने बेलामा मिल्यो भने यहिँबाट पोखराकै एउटी राम्री गलफ्रेन्ड खोज्दिउँला ।
चित्रगुप्तः (खुसी हुँदै) हस महाराज । तर यहाँ त राम्री राम्री केटीहरू पनि होटलमा पस्दै मान्छे झुक्याउँदै, चोर्दै गर्छन रे ? अस्ति यहाँबाट मरेर गएको मान्छेले भनेको, एकजना त्यस्तै केटीलाई त लेकसाइडमा पुलीसले पक्रीयो रे ।

यमराजः यो पुलिस भन्या चाही को हो ? केटी मात्र पक्रिँदो रैछ, डनहरू पक्रन सक्दैन क्या ?

चित्रगुप्तः बिचरो एसपी शैलेश थापाले के गरुन ? डन पक्रियो भने त यहाँको लोकल नेताले छुटाउँछ रे ।

यमराजः यी सबै डन र डन छुटाउने नेताको नाम लेख्नु है, माथि गएपछि तिनिहरूको मिती घटाइदिउँला ।

चित्रगुप्तः हस महाराज तर तपाइको बिरुद्धमा पोखरा बन्द गर्देलान नी फेरी ।

यमराजः यस्तो गरे भने, मैले माथि लगेर तातो तेलमा फ्राइ गरेर, चर्को घाममा ड्राइ गरेर यीनिहरूलाई छलछली मुताउँछु । खै अब मेरो भाषणको कागज ल्याउ त ।

चित्रगुप्तः महाराज त्यो त मैले पढ्ने हैनर भन्या ?

यमराजः यसपाली म विशेष सम्बोधन गर्दैछु, यमराजको भाषण चित्र गुप्तले गरेर हुन्छ ? नेपालमा प्रधान्मन्त्रीको सम्बोधन मन्त्रालयको सचिवले गर्छ ?

चित्रगुप्तः त्यो त गर्दैन महाराज । (कागज दिँदै ) ल लिनुस् ।

यमराजः (कागज लिँदै दर्शक हेर्दै) यी सबै मान्छे टिकट काटेर हेर्न आको हो नी हैन ?

चित्रगुप्तः हैन महाराज, सबै फ्रिमा हो ।



यमराजः अस्ति कुन पप गीत गाउने झ्याप्ले आउँदा हजार हजारको टिकट काटेथे रे , मेरो पनि त इज्जत छ नी ।
चित्रगुप्तः हो महाराज तर तपाइले पपगीत त गाउने हैन होला नी ।

यमराजः ल भैगो छाड्देउ...अब एकपटक म बोल्दैछु भनेर कुर्ल त, मान्छेहरू हल्ला गर्न थाले । हल्ला गर्नेहरूको उमेर घटाइदिन्छु भनेर थर्काइदेउ त ।

चित्रगुप्तः हस् महाराज...
***
चित्रगुप्त (मान्छेतिर फर्केर निक्कै चर्को स्वरमा) ः
सावधान ! सावधान ! सावधान ! पोखरेलीको निमन्त्रणामा यमलोकबाट सोझै यमराज यहाँ आइपुग्नु भएको छ । उहाँले अबको केही बेरमा पोखराबासीको नाममा भाषणका डल्लाहरू निकाल्दै हुनुहुन्छ । तपाइले यी भाषणका डल्लालाई मःमका डल्ला सम्झेर ननिल्दिनु होला अनि बजारका हल्ला मात्रै सम्झेर नभुल्दिनु होला । अब बोल्दैहुनुहुन्छ, राँगोमा बिराजमान हुने हाम्रा बडामहाराजा यमराज !

यमराज (मान्छेतिर फर्केर निक्कै चर्को स्वरमा) ः

आदरणीय पोखराबासीहरू । हतार हतार बासी भात खाएर यमराज भेट्न आउनु भयो होला । मैले त बिहान देखि पानी पनि खान पाएको छैन । सेती बाढीले पाएप बगाएपछि धारोमा पानी आछैन भनेर पानी पनि दिन मानेनन् । यस मानेमा हामी यमलोकबाट झरेका चित्रगुप्त र म निक्कै गम्भिर भएको अवस्था हो ।

के यो पोखरामा पानीको साँच्चै नै हाहाकार नै भएको हो ? बगाएको पाएप जोड्दा पनि धारामा पानीको सट्टा हावा चलेर पानीको मिटर पंखा झै घुमायो भन्ने हल्ला छ ।  अझ पायप बिच्छ्याउँदा, पानी बितरण गर्दा आधा पैसा बाटोमा आधा पैसा माटोमा गयो भन्ने गाइगुइँ पनि छ । यो साँचो हो होइन, बुझेर मलाई रिपोर्ट गर्न चित्रगुप्तलाई मेरो आदेश छ ।

कति राँगो मात्र चढेर हिड्नु भनेर यहाँ आउनु पुर्व मैले यमपुरी एयरलाइन्स जहाज रिर्जब गर्न खोज्याथेँ । तर यहाँ क्षेत्रिय बिमानस्थल नबनेकोले प्लेन आउन मानेन । हैन २०, २५ वर्ष अघि देखि जग्गा अधिग्रहण गरेर अझै गिराउन नबनाउने कस्तो सरकार हो यहाँको, मैले बुझ्न सकिनँ । काठमाडौंको पर्यटन व्यापारीसँग साँठगाँठ गरेर यहाँ एअरपोर्ट बनाउन नदिने भन्ने सुन्नमा आएको छ । यहाँको एअरपोर्टका कर्मचारीले पनि अफ्ठ्यारो पारेकाछन् भन्ने सुन्या छु । यी सबैको यहाँ बस्ने मिति २५ प्रतिशतले घटाइसकिएको जानकारी गराउन चाहन्छु ।

अर्को कुरा, सेतीको बाढीमा परेर मिति पुग्नु अघि नै धेरै जना माथि आएकोले हामी यसमा गम्भिर भएका छौं । बाढी आउँदै छ भनेर पहिल्यै यहाँका मान्छेलाई खबर गर्नु पर्नेमा, घुम्ने कुर्चीमा दिनभर घुमेर मात्र बस्ने यहाँका सम्बन्धीत कर्मचारीहरूलाई हामीले कालो सुचीमा राखेका छौं ।

हुन पनि यो पोखरामा थरिथरिका मान्छे रैछन् । तरुणी बेच्नेहरू, तरुणी किन्नेहरू । श्रीमतीसँग अँगालीदा आमा नचिन्नेहरू । छोरीको लभरसँग पोइला जानेहरू, आफ्नै विद्यार्थी भगाउनेहरू, मिनिस्कट लगाउँनेहरू । कलेज ड्रेसमै फिल्महल र डिस्को छिर्नेहरू, पाइन्ट च्यातेर लाउनेहरू, पाइन्ट लगायर च्यात्नेहरू अनि बाउआमा पिर्नेहरू । जन्मने बित्तिकै फेसबुक चलाउनेहरू, सिरीयलमात्र हेरेर दिन बिताउनेहरू ।

अनेक रैछन मान्छे पनि । अझ किताबकापी गोजीमा कोचेर झोला नभीर्नेहरू । होटलमा धोक्नु रक्सी धोकेर पैसा नतिर्नेहरू । घुस खाएर भुस निकाल्नेहरू, भुस खाएर उडुस निकाल्नेहरू । माग पुरा नभए क्याम्पस अघिल्तिर पुत्ला बालेर जुलुस निकाल्नेहरू । खेत बेचेर किताब छाप्ने अनि बाँड्दै हिड्नेहरू । साहित्यकार भनेर आफैले आफ्नै नाम राख्नेहरू । कहिले लामागाउ, कहिले लेकसाइड, कैले चाउथे त कहिले मर्दी गएर थरिथरिको लोकल ठर्रा चाख्नेहरू । यहाँ थरिथरिका मान्छे छन् ।

नेपालका अन्य कुनै ठाउँमा उद्योग धेरै छ । कुनै ठाउँमा चिल्लो बाटो घाटो धेरै छ । मलाइ गौरवलाग्छ कि यो पोखरा सानो ठाउँ भएर पनि यहाँ जनसंख्या धेरै छ । होटल धेरै छ र होटल भित्र पनि दिउँसै चुप्पा चुप्पी लभअफेर धेरै छ । बोकाउनीले बोकाएको बोकायइ छ, बोक्नी ले बोक्या बोक्यै छ । पाउनीले पाको पाइछ । जन्मेर आउनी, आको आइ छ । म यस अवसरमा यहाँका सम्पुर्ण बिबाहीत, अबिबाहीत, भद्र पुरुष, तेस्रो, चौथो तथा पाँचौ लिंगी महिला तथा सज्जन भनाउँदाहरूमा मानीस उत्पादनमा विश्वको अग्रस्थानमा पुग्नु भएकोमा हार्दीक बधाइ दिन चाहन्छु ।

मलाई यसमानेमा धेरै खुसी लागेको छ कि यहाँ धेरै विकास भएको छ । बिकास त बिकास फुटपाथको बिकास । पहिला यहाँ सामान किन्न घण्टौं हिडेर बजार जानु पर्ने भएकाले हैरान हुन्थ्यो । अहिले महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, बगरका हिड्ने बाटोमा चाइनिज सामानै सामान राखेर हैरान पार्दारैछन ।

फलफुल तरकारी, लाइट, मोजा, लामखुट्टे मार्ने ब्याट, ब्याट्रि, जुत्ता हुँदा हुँदा भित्र लाउने कट्टु, गञ्जि अनि अरु त्यस्तै भित्री कुराहरू पनि बाटोमै छ्याल्ल ब्याल्ल पारेर (चर्को स्वरमा) ‘एक सो को दुइटा’, ‘एउटो किने अर्को फ्रि’ भन्दै हैरानै पार्दा रैछन् । यो हाम्रो गर पालिका हो की नगर पालीका हो, के हेर्दा रैछन कुन्नि ? जति भनेनी नसुन्नी । हुन त उनीहरूलाई टेबल मुनीबाट पैसो गन्दै ठिक होला, के सुन्थे यस्ता कुरा ।

फुटपाथको त कुरा गरिहालेँ । अब यहाँ अर्को कुरा सुन्नुहोस्, कान नथुन्नुहोस् । काठमाडौंबाट भाटभटेनी भन्ने पोखरामा आछरे । बज्जियाले यहाँको बाँकी व्यापारलाई फुटपाथै जस्तो बनाइसक्यो रे । तरकारी पनि बारीको भाउमा दिन्छ भन्या छन् । त्यसका त्यो बिजुलीले चल्ने भ¥याङ चढ्नै मात्र भएपनि मान्छेको भिड छ भन्ने सुन्या छु  । छोटा छोटा कपडा लामा लामा हिल जुत्ता लाउनेहरू भ¥याङ चढ्दा चिप्लेर आपदै देख्यो भन्ने पनि माथि खबर आइराछ ।

यहाँका व्यापारीले आफ्नो व्यापार खस्क्यो भनेर रुवाबासी गरे रे । ए बाबा यत्रो वर्ष सम्म के व्यापार गर्न सिक्यौं त हो ? कालो व्यापार ? पोखरेलीलाई लुट्न मात्र सिक्यौं कि क्याहो ? त्यो भात भतेनी हो की भाट भटेनी आएपछि तिम्रा टाउकाँ ज्वोरो आउने ? तिम्रा तालुमा पसिना आउने ? दिनदिनै मिटिङ बस्नु पर्ने ? हुन त नयाँ जोगीले खरानी धेरै घसे होलान, यो भाटभटेनीले पनि काठमाडौंको मिति सक्किएको सामान ल्याएर नयाँ मितिको स्टिकर लगाएर पोखरामा बेच्यो भने यसका साहुको व्यापारको पनि म मिति सक्काइदिन्छु ।

यहाँ धेरैलाई कानै सुन्निने गरि सुनाउनु पर्ने भाछ । टुरिष्टबस भनेर भुक्का टुरिष्ट मात्र चढाउने भन्दै बिरोध गर्ने पृथ्वी राजमार्ग बस व्यवसायी समितिले थोत्रा थोत्रा बसमा धेरै धेरै भाडा तिर्न लगाएर मान्छे कोचार्ने गरेको पनि हामीले भेटेका छौं । त्यो मार्नीको कुदाउने माइक्रोबस हो की माइक्रो एयरलाइन्स हो ले त झनै सातै लान्छ हो । अझ करौडौंको हिसाब किताब नदेखाइ पैसा हसुर्ने त्यहाँका पदाधिकारीलाई हामीले फर्कनेबेलामा पाता कसेर लैजाने बिचार गरेका छौं ।

यमराजः कि कसो चित्रगुप्त ?

चित्रगुप्तः हो महाराज, मनासिब हुकुम भो ।

यमराजः
हुकुम, इट्टा, पान, चिडीको कुरा गर्दा मैले झट्ट सम्झे, यहाँका क्यासिनोमा नेपाली छिराएर कंगाल बनाएर निकाल्ने चलनमाथि हामीले प्रतिबन्ध लगाउने बिचार गरेका छौं ।

मणिपाल अस्पतालसँग १० करोड राजस्व असुलि गर्न सर्वोच्चले आदेश दिएपनि नगरिएको सुन्नमा आएको छ । भ्रष्ट्राचार विरुद्ध कुरा उठाउने भन्दै संस्था हाँकेर हिड्ने यहाँका अगुवा यसबेला किन आनन्द मानेर बसेका होलान ? यो यमराजलाई अचम्म लागेको अवस्था हो । अझ हाजीर गरे बापत तलब र काम गरे बापत जनतासँग थप पैसा खोज्ने नगरपालीकाका पदाधिकारीहरू मणिपालसँग डराएर कि क्या हो ? यसबारेमा पनि यो यमराजको ध्यान खिचिएको छ । बोडिङ स्कुलका नाममा चर्को शुल्क लिएर अभिभावकका ढाड सेक्नेहरू, बन्दको नाममा गल्लि गल्लिमा बाटो छेक्नेहरू, दिउँसै दारु खाएर हातले भुइँ टेक्नेहरू, सार्वजनिक ट्वाइलेट नबनाउने तर हत्तन पत्त दिशा मुक्त क्षेत्र घोषणा गर्नेहरू, लोडसेडीङ गर्ने तर विद्युत उत्पादन नगर्नेहरू, यातायात, बैंक, मालपोतका लगायतका घुसिया कर्मचारीहरू, तीन बिहे गरिसकेका ब्रम्ह्चारीहरू, क्याम्पसको समयमा बाहिर ट्युसन पढाउनेहरू, त्यही पैसाले साँझ भट्टीमा बोतल लडाउनेहरू । ट्याप खाएर झ्याप हुनेहरू, ४ कक्षामै पोइला भागेर पछि रुनेहरू, भिडभाडको माइक्रोबसमा तरुणीलाई छुनेहरू, भैसी बेचेको पैसाले पल्सार चढ्नेहरू, मम बनाउने नाममा मेरो राँगोको गलफ्रेन्डको बोसो र आन्द्रा पिठोमा मुच्छ्नेहरू यी सबैको मिति मैले घटाइदिएको घोषणा गर्दछु ।

अझ् विभिन्न जातजातीका ब्युटी कन्टेस्टका नाममा पैसा धुत्नेहरू, दिउँसै सडकछेउ भित्तामा खुट्टा उचालेर मुत्नेहरू, भिरपाखा देखाएर बैंक ठग्नेहरू, फेवाताल, सेती, फिर्के लगायतका सरकारी जग्गा हडप्नेहरू, जहाँपायो त्यहीबाट बालुवा उठाउनेहरू सबैलाई मैले चाँडै उठाउने बिचार गरेको छु । अझ फेवातालमा जलकुम्भी भरिएको नदेख्ने टुरिष्टमात्र देख्ने अनि फोहोर भने तालमै लगेर बिसर्जन गर्ने यहाँको पर्यटन व्यवसायीलाई पनि बिसर्जन गर्नलाई मैले नर्कको बरिष्ठ सर्जन मिष्टर गर्जनलाई पठाउने बिचार गरेको छु ।

गर्जनसँगै पाँच दर्जन नेताहरूलाई पनि मैले माथि जाने टिकट पठाइदिँदैछु । पहिलो नम्बरमा ‘माने माने’ मात्र भनिरहने तर जनताले भनेको कुरा कत्ति पनि नमान्ने कामरेड उदण्डलाई लैजाने बीचार छ । पछिल्लो पटक क्यान्टोनमेन्टको पैसा खाएर यिनी खुबै मोटाएको भन्ने हल्ला बजारमा मात्र हैन यीनकै पाटी भित्र पनि ब्यापक भएको मैले पत्तो पाएको छु । यसरी जनताको नाममा युद्ध गर्ने, जनताका छोराछोरीका लागि भनेर बुढाबुढी, तरुण तन्नेरी, केटाकेटी सबैलाई लडाइमा पठाउने अनि संविधान सभामा पुगेर संविधान नबनाउने काठमाडौंमा आरामदायी जिवन बिताउने यीनको मैले ठूलै हिसाबकिताब राखेको छु ।
चुनाव हारेर पनि प्रधानमन्त्रीको कुर्ची पड्काउने कामरेड बाँधव सुमार केपालको नाममा पनि मैले चलानी बनाएको छु । यीनिले कुरा धेरै गर्ने काम भने गर्दै नगर्ने गरेर देशलाई अधोगति तिर धकेले । अझै एक झापड खाएपछि मात्र प्रधानमन्त्रीको पद खान सफल मलकनाथ, पैसा र पदको पछाडीमात्र दौडने बृदेश त्रीपाठी र उनका सहपाठीहरू गफ जोतिरहने जोतेन्द्र यादव, तँहन्त ठाकुर लगायत सबैको नाममा मैले नर्क बैकको चेक पठाएको छु । यिनीहरू नर्कमा चेक साट्न आउँदा उतै पक्रने बिचार छ ।
अझ यहाँ नेपालको जेलमा त तास खेल्नको लागि नेताको कोरमै पुग्यो भन्ने सुनेको छु । गोबिन्दराज जोशी, चिरञ्जिवी वाग्ले करोडौं पैसा खाएर अकुत सम्पत्ती कमाएको भन्दै सार्वोच्चको आदेशमा भित्र परेछन् रे ।  अझ् श्याम सुन्दर गुप्ता त अपहरण काण्डबाट भित्र पसेका रे । अब खुमबहादुर खड्का पनि भित्र पसेपछि यीनले एक हाप कलब्रेक खेल्ने योजना बुनेका छन् रे । यीनले कल ब्रेक खेल्नु अघि नै मैले यीनको मिति ब्रेक गर्ने बिचार गरेको छु । यीनलाई त कुखुरालाई साइकलमा उँधो मुन्टो लगाएझै नर्कमा आगोमाथि सेक्ने बिचार छ ।
हाम्रा प्रधानमन्त्री साधुराम भट्टराइको त के कुरा गर्नु ? नाम मात्र साधु रैछ, प्रधानमन्त्री हुँदा मुस्ताङ गाडीको धाक दिने ले ऐले ५० औं करोड पैसा र सुविधा पुराना नेतालाई बाँड्ने निर्णय गर्न पछि परेनछन् । हैन के देशको सम्पत्ती यीनले  आफैले धनयुद्धमा बैंक लुटेर ल्याएको सम्झेकि क्या हो ? सरकार टिकाउने नाममा जनतको पसिनामा होली खेल्न पाइन्छ ? यिनको चाला चित्त नबुझेकाले यीनको मुखमा पनि ताला ठोक्ने बिचार गरेको छु ।
नेताहरू जति बुढा हुँदै गए उती कुर्चीसँग लभ पर्दोरैछ भन्या । यी मुशिल कोइराला, छेरबहादुर लेउबा, भामचन्द्र पौडेलले पनि जनताको कुनै भलो गरेनन् । राजधानी पसेपछि गाउँ भुसुक्कै बिर्सने अनि घरबार जोड्न लागेको बेला देश भत्केको नदेख्ने यीनको पनि खैरिएत छैन । यी मुशिल बाबु त मैले मिति लेख्नु अघि नै आफै आउँलान जस्तो छ । दाँत पुरै झरिसकेपछि पनि किन हो कुर्चीको लभ गर्ने ?  अझ् सत्ता हातमा भैइन्जेल, ‘हुन्छ, बुझेँ, हस्’ मात्र भन्ने तर विकासका लागि केही माखो नमार्ने यहाँका पहिलाका राजा अहिलेका काँजा ? हारेन्द्र विर बिक्रम शाह, चिप्लिएपछि भने अझै सत्तामा आउँछु भन्दैछन् । यीनलाई लाज सरम पाप धरम केही रैनछ हो । यीनी लगायत समल थापा, लुरेबहादुर थापालाई पनि मैले अब धेरै यहाँ छाड्दिन । बोल्दा पनि दमले छातीमा बम फुटाउला झै गर्ने, यीनले देश बनाउलान भन्ने नसोचे हुन्छ । संविधान पनि नबनाउने र अबौं तलब खाएर पेटमात्र बनाउने यीनलाई महिनासम्म झाडापखला लगाएर सुकाउने बिचार मेरो छ । यी मोटाउँदै गएकाले उचालेर लैजान गाह्रो छ । सुकेपछि भने सजिलो हुन्छ भन्ने हाम्लाई लाइराछ ।

अनि अर्को कुरा, यहाँ त सरकारी जग्गा, खोला, पाखा अतिक्रमण हुँदा हुँदा म यमराज स्वयंमको अधिकार पनि अतिक्रमण हुने खतरा भैसकेको छ । मैले तोकेको मिति भन्दा पहिल्यै यहाँको महंगीले सेकिएका, बसले ब्याक गरेर किचिएका, यहाँको अन्धो कानुनले थिचिएका मान्छेहरू यमलोक आएका छन् । बुढाबुढी अल्सरले र तन्नेरीहरू पल्सरले मिति अघि नै मरेका छन् । यसरी यहाँको चलनले मेरो आफ्नै यमलोकको क्यालेन्डर फेल खाएको र यहाँकै यस्तै भरौंटेहरूले मेरो यमलोकको सत्ता कब्जा गर्ने खतरा बढेको छ । यसमा हामी गम्भिर भएका छौं । चाँडै स्वर्ग र नर्कमा भरिएका मान्छेका बारेमा महत्वपुर्ण निर्णय लिन ब्रम्हा विष्णु र महेश्वरसँग म फूलबारी रिसोर्टमा विशेष बैठक गर्दैछु । रातमा म राँगोमा चढेर फर्कने भएकाले यहाँका प्रहरीलाई मापसे चेक नगर्न अनुरोध छ । गरे पनि त्यही राँगोको गर्नु मेरो नगर्नु । अझ लाइसेन्स पनि नमाग्न अनुरोध छ । ब्लुबुक भने राँगाको डिक्कीमा राख्या छु । दिन मिल्दैन, सबैलाई चेतना भया ।

अघि यहाँ आउँदा पालिखेचोकको तल पट्टीको सडकको खाल्डोमा परेर मेरो राँगोको देब्रे खुट्टा पन्चर भयो । अलिकति गोबरले टालेर ल्याएको छु । यस्तो राँगो पनि हिड्न नसक्ने पोखराकोबाटोमा गाडी कसरी गुड्छ, मदंग परेँ । गर्भवतीलाई अस्पताल कसरी लग्छन् कुन्नी ? अझ यहाँत गाडी पार्कीङ गर्ने ठाउँ पनि छैन । मैले राँगो कहाँ पार्कीङ गर्ने ? मोटरसाइकल चोरी हुने ठाउँमा राँगो चोरी भयो भने म कसरी यमलोक फर्कने ? यहाँको नगरपालीका प्रहरी नाइकेले सडकमा छोडेको भन्दै चालिस भन्दा बढी दुहुना गाइभैसी बेच्या छ रे, मेरो राँगो पनि बेचेर दोह्यो भने मैले के गर्ने ? यो पोखरा बसाइ मलाई बडो चिन्ताको विषय भएको छ ।

यहाँ त पार्कीङ शुल्क उठाउने अनि सडक, सडक बत्ती, जेब्रा क्रसिङ नबनाउने तर पैसा सप्पै भुँडीमै खन्याउनेहरूको उमेर पनि ५० प्रतिशतले छोट्याको छु ।

यहाँ अस्पतालको नाममा पसल खोल्नेहरूले टाउको दुखेकालाई पखलाको औषधी दिन्छन् । यहाँका चरक होकी नरक अस्पताल, सेवा होकी, फेवा होकी ढेवा अस्पताल, मनिफाल होकी मणिपाल अस्पताल, नर्सिङ होकी तर्सिङ होम, फिस्टेलहोकी बिरामी पेल अस्पतालहो यस्ता धेरैको गुणगाण धेरै सुनेको छु मैले । यी अस्पताल हुन कि म्यानपावर एजेन्सी हुन, यमलोकमा मान्छे सप्लाइ गरेर हैरानै पारेका छन् । तिनका संचालकहरूलाई यमलोकमा लगेर औषधीनै गर्न नमिल्ने गरि तातो कराइमा खुर्सानीसँगै भुट्ने बिचार गरेका छौं । हैन चित्र गुप्त ?

चित्रगुप्तः हो महाराज ।
यमराजः साँच्ची चित्रगुप्त तिम्रो जात के हो ?
चित्रगुप्तः जात भनेको के हो महाराज ।

यमराजः खै क्या हो क्या हो ? न स्वर्गमा जात छ, न नर्कमा जात छ । यहाँका मान्छे यो जात र उ जात भनेर कुजात बन्न लागेका छन् रे । जातका नाममा कहिले यसले कहिले त्यसले बन्द हड्ताल गरे अरे । मान्छेको जात, काटे रगत आउँछ निचोरे गु आउँछ, अरु कसैमा केही फरक छ ? यसरी आफू आफूलाई विभेद गराउने कुरा कसले यति शान्त ठाउँमा छिरायो त्यसको पनि मिति हामीले घटाइदिएका छौं ।
अझ पोखराको सेतीमा ढल, मल र मलसँगैको जल मिसाउने अनि फोहोर नउठाउने तर घर घर बाट पैसामात्र उठाउने निकायहरूलाई पनि ढल र मलसँगै बगाएर यमलोक लैजाने योजना हामीले बनाएका छौं ।

अन्त्यमा, यो यमराजलाई पोखरा सम्म ल्याउनमा सघाउनु हुने सबैलार्ई धन्यवाद दिन चाहन्छु । अनि आफ्नो मिति नघटाउन चाहने सबैले आफ्नो काम कसैलाई मर्का नपर्ने गरि गर्न यो यमराजको अनुरोध र आदेश छ । नत्र अर्को गाइजात्रा अघि नै म बेलाबेलामा यहाँ लिन आउन नपरोस् । र अझै साँच्चै कै अन्त्यमा यतिका लामो कुरा सुनेर पनि तालि नबजाउनेको मिति घटाइदिने घोषणा गर्दछु ।

चित्रगुप्त, राँगो स्टार्ट गर त अब हिड्न पर्छ ।
चित्रगुप्तः हस महाराज ।

(पोखरामा हरेक वर्ष गाइजात्रामा हुने यमराजयको भाषको लागि तयार पारिएको व्यग्य । यसपाली यो कार्यक्रम केही खटपटका कारण हुन नसकेपछि यो चटपटलाई आदर्श समाज राष्टिय दैनिकमा प्रकाशित गरिएको थियो । २०६९ साउन १९ गते ।)

Comments