बा, कहिले आउनुहुन्छ ?


बहिनीले नसोधिदिए हुन्थ्यो झै लाग्छ । तर ११ वर्षे मेरी बहिनी स्वास्तीकाको मन के मान्थ्यो ? उ प्राय मलाई यहि प्रश्न दोहो¥याइ रहन्छे, ‘बा कहिले आउनुहुन्छ ?’

खै के थाहा ? उनी त बेपत्ता पारिएका छन् । उनी आउने दिन यदि मलाई थाहा भएको भए, मैले भित्तेपात्रोको कुनै मितीमा कलमले ठूलो गोलो चिन्ह लगाएर राख्थेँ होला । यहि प्रश्न सोध्ने साथीहरूलाई ठ्याक्क मिति सुनाउँथे होला । मेरा आफन्त, चिनेजानेका सबैलाई गर्वका साथ भन्थेँ होला, मेरा बा यति दिन, हप्ता, महिना, बर्ष पछि घर आउँदैछन भनेर । तर मसँग कुनै बार, गते, महिना र वर्ष छैनन् भन्नका लागि । कसैले प्रश्न सोधिहाले चुपचाप आँशु बाहेक मसँग दिने कुनै उत्तर पनि हुँदैनन् ।


२०६१ साल । देशमा द्वन्द्व निक्कै चर्कदै थियो । ललितपुर, ठेँचोको पाचो टोल । त्यहाँको माली बस्ती । त्यही बस्तीको हाम्रो घर । बाबाको कमाईले हजुरबाबा हजुरआमा सहितको हाम्रो ५ जनाको परिवार जेनतेन चलेकै थियो । ७ वर्षे मलाई एउटै कुराको कमी थियो त्यती बेला, मेरी आमाको । बहिनी जन्मे पछि उनी पनि बितिन । आमा नहुँदाको छोरी भएर हुर्कनुको पिडा मैले धेरै महसुस गरेँ ।
त्यो संकटकालको बेला थियो । साउनको महिना । बिहानी पख । सधैं झै मेरा बाबा नन्दगोपाल माली, घरमा खाना खाइवरी मुर्ती बनाउने काममा जानुभएको थियो । ललितपुरको पाटनमा । सादा पोशाकमा आएका सुरक्षाकर्मीले उहाँलाई लगेरे भन्ने मैले सुनेँ । बाबालाई किन समाते होलान ? कहाँ लगे होलान ? के भयो होला ? कैले छाड्देलान ? समाचार थाहा पाएको दिनभर मेरो बाल मनमा यस्तै यस्तै प्रश्नहरू धेरै नाचे । यसरी एकाएक बाबालाई लैजाँदा खेरि म जस्तै मेरा हजुरबा र हजुरआमा पनि निक्कै आत्तिनु भएको थियो । आमाको त के कुरा खै, उहाँ त बहिनी जन्मने बित्तिकै बित्नु भयो । आमा नभएको क्षण । बाबा हराएको बेला । परिवारका अरु मान्छे झै म पनि धेरै दिन रोएँ । हजुरबाको एक्लो छोरो बाबा ।  उहाँ हराएपछि हजुरबाबा पनि दिनानुदिन बिरामी हुन थाल्नु भो । धेरै पटक अस्पताल लग्यौं, अनेक औषधी ग¥यौं । तर हजुरबालाई औंषधीले भन्दा बढी बाबा हराएको पिडाले छोयो र उहाँ पनि बित्नु भो ।
न बाबा साथमा हुनुहुन्थ्यो, न हजुरबा नै । एकदुई गर्दै साथ छुट्दै गएपछि ६० वर्षे हजुरआमाको मन पनि टुट्दै गयो । उहाँ पनि बिरामी हुन थाल्नु भयो । तैपनि हामीले बाबा आउने आश मारेनौं । बहिनी र म हजुरआमासँगै हुर्कदै गयौं । बाबालाई खोज्न हजुरआमा कहिले प्रहरीको ढोकामा पुग्नुहुन्थ्यो त कहिले सैनीकको गेटमा । मन्त्री, वकिल, अदालत, मानवअधिकार आयोग कति हो कति । जता जानुहुन्थ्यो, सहयोग गरौंला भन्ने भेटिए तर बाबा भेटिएको समाचार कसैले लिएर आएनन् । अहिले मेरो बाबाको नाम धेरै मान्छेको नामको हुलमा हराएको छ, बेपत्ताको सुचीमा । मेरो मनमा एउटा सानो आशा भने सधैं रहन्छ । मेरा बा । कुनै दिन हाम्रै घरको ढोका ढकढकाउन आउनेछन् । तर कुन दिन ? मलाई कुनै पत्तो छैन ।
होस् पनि कसरी ? न हामीले ठूला मान्छे चिनेका थियौं न हामीसँग बाबाको ठेगाना नै थियो । उनी हराएपछि । हामीले उनको माया मात्र हराएनौं । घरमा नुन तेल आउने बाटो हरायो । हामी घर भएर पनि बेघर झै भयौं त्यती बेला । हजुरआमा सहित हामी तीन जनाको परिवारको दैनिकी एकाएक बदलियो । मन पनि पहिला भन्दै निक्कै तलबितल हुन थाल्यो ।
कसैले बोलायो भने बाबा नै होकी झै लाग्ने । कसैले खोज्दै आयो भने बाबाकै समाचार आए झै लाग्ने । बाटोमा अघि हिडेका मान्छेका बीच पनि बाबा नै हुनुहुन्छ की झै लाग्ने । बाटो पछाडी पनि फर्की फर्की हेर्न मन लाग्ने । अड्किने । झुक्किने । अल्झिने । टोलाउने अनि रुन मन लाग्ने । ठूली हुँदै जाँदा बुझ्नी हुन थालेपछि मेरो मन झन झन् दुख्न थालेको छ । कहिले काही लाग्छ, ढोका माथि टाँगेको फोटो पनि बोल्ने भए, म झट्ट सोध्थेँ, ‘बा, कहिले आउनु हुन्छ ?’
तपाइ आउने भए, तपाइकै हात समातेर पसलमा मिठाइ, बिस्कुट किन्न जान मन छ । बरफ किन्दिनुस भनेर मिठो झगडा गर्न मन छ । तपाइसँगै जात्रा हेर्न जान मन छ । मन त धेरै छ बाबा, घरमा तपाइसँगै बसेर दशैं पनि मनाउन मन छ । एक पटक सप्पै साथीहरूको अघि तपाइको हात समाउँदै हल्लाउँदै हिड्न मन छ । वारीपारिकाले सुन्ने गरेर बाबा भनेर बोलाउन मन छ । हजुरआमाको मनले पनि तपाइलाइ निक्कै बोलाउँछ, बा ।
हजुरआमाको माया लाग्छ नी ? उहाँ निक्कै बिरामी हुनुहुन्छ । दिनहुँ दमको रोगले उहाँलाई चाप्दै लगेको छ । दिन भर घरमा अक्सिजनको पायप लगाएर सुत्नुहुन्छ । अस्पताल, औषधीको खर्च, अनि दिनहुँ लगाउनु पर्ने अक्सिजनको सिलिन्डर खर्च हामीले कहाँबाट पु¥याउनु ? यो महंगीको यतिका खर्चले पनि उहाँको लगातार खोकी रोकिएको छैन् । रात भर निक्कै खोक्नु हुन्छ । म झस्कँदै उठेर पानी ख्वाउँछु । उहाँ नै त हो नी हाम्रो बाबा भने पनि आमा भने पनि । तपाइलाई भेट्न मन छ नी हजुरआमालाई ? उहाँले पनि धेरै भेट्न खोज्नु भएको छ । खाट आडैको झ्यालबाट दिनभरी बाटोमा हेरेर बस्नु हुन्छ, तपाइलाई घर आउन मन छ नी बाबा ? तपाइलाई थाहा छ छैन, मैले मात्र हैन बहिनी ले पनि खाना पकाउने, भान्छाको काम गर्न जानेकी छे । म १० कक्षा पुगिसकेँ, एसएलसी दिनुछ । बहिनी ५ कक्षामा पढ्छे । लिटिल स्टार स्कुलमा । स्कुलले खर्च छुट दिएको छ । हजुरआमाको कमाइ छैन । किताब कापी, लुगा फाटो आफै किन्नु पर्छ । अब त म पनि घरको काम धान्ने भएकी छु । बिहान सबेरै खानेपानी थाप्न धारामा पुग्छु । खाना पकाउँछु । सबैलाई ख्वाउँछु र बहिनीसँगै स्कुल जान्छु । मकै गहुँ पिस्न मिल जान्छु । दाउरा बालेर रोटी पनि पकाउन आउँछ । तपाइलाई खान मन लाग्छ नी, ‘बाबा, कहिले आउनु हुन्छ ?’
म यस्तै यस्तै कुरा मनमाल खेलाउँदै धेरै पटक बहकिन्छु । सोच्छु, धेरै पढेर पत्रकार बन्छु । बाबालाई आफै खोज्छु । उनी नभए पछि संसार निक्कै निरश लागिरहेको छ । कहिले काहीँ त यस्तो लाग्छ, बाबा घर फर्केर आउनु अघि कुनै चाड नआवोस् । गाउँमा कुनै जात्रा नहोस् । अहँ, बाबा आउनु अघि साँझ नपरोस् । नत्र मलाई उनको धेरै याद आउँछ । टोलाउँछु । बिरामी हजुरआमालाई सुम्सुम्याउँछु । सानी बहिनीलाई अंगाल्छु । उसकै शिरमा आँशु चुहाउँछु । मन निक्कै कोक्याउँछ, बाबाको सम्झनाले । थाहा छैन, उहाँ कहाँ हुनुहुन्छ ? तपाइलाई थाहा छ की, बिन्ति भन्दिनुस्, ‘मेरो बा कहिले आउनु हुन्छ ?’
(नग्मा मालीसँग  भवसागर घिमिरेले गरेको कुराकानीमा आधारित-२०६९,जेठ ६ गतेको नागरिक दैनिक, जुनकीरीमा प्रकाशित)

Comments