पोखराका घरबेटी कीर्तिपुरका डेरावाल

केटाहरु पनि नुहाउन पायो भन्दैमा सार्वजनिक धारामा अल्लि उच्छ्रिङखलै तरिकाले नुहाइदिन्थे । त्यसैले होला धाराको भित्तामा लेखिएको हुन्थ्यो, 'यहाँ भित्रि कट्टु लगाएर नुहाउन मनाही छ ।'

कुनै ठाउँमा कोठा भेटे पानी भेट्दैन्थ्यौं पानी भेटे घाम भेट्दैन्थ्यौं । घाम र पानी दुवै राम्रो भेटेको ठाउँमा कोठा भेटिदैनथ्यो ।

बिहे नगरेकाले कोठामा केटीहरु ल्याएर बदमाशी गर्छन् भन्ने हुँदो हो सायद । वा घर ज्वाइँनै बस्लान भन्ने डर थियो की कुन्नि कहिले काही अविवाहित हुनु नै कोठा पाउनका लागि अभिशाप हुन्थ्यो ।

-भवसागर घिमिरे

कीर्तिपुर पस्ने बित्तिकै सुरुमै राम्रो कोठा पाउनु त्यत्ती सजिलो थिएन । मैले भने कोठा खोज्ने टन्टलो बेसाउनु परेन । दाई पढाइ सकेर पोखरा फर्कने र म कीर्तिपुर पस्ने लगभग एकै चोटी पर् यो । रुम पार्टनरका रुपमा स्याङ्जाका साथी थिए नरेन्द्र थापा । 'थापा काजी' भनेपछि हाम्रो सर्कलकका जस्ता पाजीले पनि चिन्ने । 'डिग्री' पढ्ने योजना मुटुमा पोको पारेर भौतिकशास्त्रमा स्नातक सकेका हामी ६२ सालको कार्तिक अन्तिम साता कीर्तिपुरको पांगामा बस्न सुरु गर् यौं ।
कीर्तिपुरको नयाँबजारबाट बिद्यार्थीका हुलमुल छिचोलेर पांगा दोबाटोहुँदै पांगा चोक पुग्नु पथ्र्यो हाम्रो कोठा भेट्टाउन । पांगा चोकको पांगा स्कुल नेरबाट गल्लि भित्र पसेपछि डेरा आइपुग्थ्यो । घर पुरानो भन्न नमिले पनि नयाँ भने थिएन । ढलान गरेको तर फिनिसिङ नगरेको घरको तल्लो तलामा म र थापाकाजीको बास थियो । 
दाइ केही महिनाका लागि कीर्तिपुर बस्नुभएकाले कोठामा पुरै सामानको बन्दोबस्त थिएन । आडैमा पोखराकै अर्का दुई साथी थिए बिजय र सुरेश डिप्लोमा पढ्दै गरेका । पकाउने सामानको जोहो गर्नु भन्दा उनीहरुसँगै मेसमा मिसिन ठिक लाग्यो । कुरा पनि मिल्यो । पालो लगाएर चार जनाले खाना पकाउने जिम्मेवारी सम्हाल्यौं । दुई दिनमा एक छाक भान्छामा खट्टिनु पथ्र्यो । त्यो भन्दा पनि कैयौं गुणा बढी स्नातकोत्तरको 'फिजिक्स' प्रवेश परिक्षामा नाम निकाल्न खट्टिनु पर्ने थियो । जम्मा तीन साता मात्र बाँकी थियो परिक्षा आउन ।
एकातिर ठूलो संख्याको प्रतिस्पर्धा माझ निश्चित कोटा भित्र नाम निकाल्नु पर्ने बाध्यता अर्को तिर तयारीका लागि निक्कै छोटो समय । पोखराका अघिल्ला वर्ष भरि विद्यालयमा पढाएर बस्नु भन्दा तयारीका लागि पहिल्यै आउनु पर्दो रहेछ भन्ने थकथक मात्र भयो । तैपनि ५ ६ महिना अघि देखि परिक्षाको तयारीमा रट्टेकाहरुलाई पछि पार्न हामी पनि खट्टिन थाल्यौं । विहान ५ बजे देखि राती ११ बजे सम्मको रटाइले पनि परिक्षामा पाखा लागियो । 

अब के गर्ने धन्न हामीले अर्थशास्त्र विषयको प्रवेश परिक्षामा पनि भाग लिएका थियौं । दोस्रो सुचीमै भएपनि त्यता भने नाम निस्कियो । जता पढेपनि पढ्ने नै हो । भौतीक शास्त्रका लागि अर्को वर्षको प्रवेश परिक्षा किन कुर्नु यस्तै सोचाइ आयो । अन्तत हामी ८-१० जना 'भौतीक शास्त्री' साथीहरुको समुहले अब 'अर्थशास्त्री' बन्ने होडमा पढाइ सुरु गर् यौं 'माष्टस्र इन इकोनोमिक्स ।'
***
'इकोनोमिक्स इज द साइन्स् ह्वीच डिल्स् वीथ…।' कक्षामा पसे लगत्तै प्राध्यापकबाट यस्तो सुने पछि 'यो पनि त साइन्स रैछ भन्दै' हामीले मन बुझाउने बाटो भेट्यौं । सुनिन्थ्यो 'यहाँ त साइन्सबाट आउने ले नै टप्छन् । ' टप्नु त परै जाओस् पास पनि कसरी हुने हो भन्ने चिन्ताले गाँज्न थालेको थियो सुरुबाटै । बिस्तारै अर्थशास्त्रका टेन्जेन्ट कर्भ डिमान्ड अनि सप्लाइ लाइनहरुले हामीलाई यसरी घोचेकी मानौं हामी डाक्टरकहाँ सुइ लाउन गएका थियौं । कहिल्यै नसुनेको माइक्रो इकोनोमिक्सका कक्षा पस्दा लाग्थ्यो हामी चाइनीज भाषाका कक्षामा सहभागी हुँदैछौं । तर बिस्तारै बिस्तारै चाइनीज अक्षरहरु पनि अंग्रेजी हुँदै नेपालीमा रुपान्तरीत भएर हाम्रा दिमागमा पस्न थाले । कहिल्यै नपढेको विषय सोझै स्नातकोत्तरमा आएर रट्नुको चटारो त छँदैथियो त्यसमाथि झन् घरवालाबाट डेरावालामा डिमोसन हुँदाका अनुभव पनि हामीले बिस्तारै सँगाल्दै थियौं त्यती बेला ।
घरमा खानेपानीको लागि धारा थिएन । भएको इनार पनि धेरै समय त सुक्थ्यो नै । खानेपानीका लागि सार्वजनिक धारामा लाइन बस्नु हाम्रो दैनिकी थियो । नुहाउनका लागि गम्छा काँधमा भिरेर हातमा साबुनको बट्टा बोक्दै घरबाट ७ मिनेट टाढा रहेको 'चारधारा' जानु सामान्य थियो । गज्जबको कुरा त त्यहाँ पनि नुहाउन लाम लागेका विद्यार्थी साथीहरुको भिड माझ पालोका लागि लाइन नै बस्नु पथ्र्यो । केटा मान्छेका लागि दुई धारा पश्चिम फर्केका थिए भने केटीका लागि दुई धारा दक्षिण फर्केका ।
'यहाँ भित्रि कट्टु लगाएर नुहाउन मनाही छु २४ सै घण्टा पानी आउने चारधारामा केटापट्टीको भित्तामा यहि लेखिएको हुन्थ्यो । केटाहरु पनि नुहाउन पायो भन्दैमा अल्लि उच्छ्रिङखलै तरिकाले नुहाउने भएपछि त्यसो लेखेको हुन सक्ने हाम्रो अड्कल थियो । त्यसैले नुहाउनकै लागि भनेर 'हवल्दार कट्टु को हामीले पहिल्यै व्यवस्था गरेका हुन्थ्यौं । गर्मीको बेलामा त साँझ साँझ पुगेर अँध्यारोमा नुहाउनुको मज्जा बेग्लै हुन्थ्यो । नुहाउन पनि ३ ४ जनाको समुह नै बनेर जान्थ्यौं । तर जाडोको बेलामा भने नुहाउनु भनेको 'देउताकै सराप' परेझै हुन्थ्यो । चिसो न चिसो पानीमा थापिँदा थापिँदै जमिन्छ कि भन्ने पिर । अझ साबुन लगाएर पनि ५ १० मिनेट पालो कुरेर बस्नु पर्दा जाडोको बेला काम्दा काम्दै मुटु भित्रै भुँइचालो जान्थ्यो ।
धारो सँग जोडिएको अर्को रोचक प्रसंग छ चुनावको । स्ववियु चुनावका बेला विद्यार्थीका कोठाकोठामा बिद्यार्थी नेताहरु भोट माग्न आउनु सामान्य कुरा थियो । चारधारामा नुहाउन लागेको बेला एक दिन उनीहरु भोट माग्न त्यही बाटो भएर आए । त्यस मध्ये एक जना चिनेजानेकी केटी साथी पनि थिइन् । हाफ कट्टु लगाएर जिउभरी साबुन दलेर जाडोले सारा जीउ भाइब्रेसनमा भएका बेलामा उनी पनि हामी तिरै आएको देख्दा सातै गयो । अब के गर्ने चिनेजानेकै केटीसाथीको अगाडी लाजै मर्नु हुने भो । छेलिनु त पर् यो नै । झटपट कपाल भरी मज्जाले सेम्पु दल्यौं । भएभरका फिँजले मुख पनि छोप्न भ्याएपछि भने अल्लि ढुक्क भयो । 
'साथीहरु नुहाउँदै हुनुहुँदो रहेछ हामी त भोट माग्दै हिडेका' उनीहरुको कुरा सुनेपछि हामीले भैहाल्छ नी भनेर टाउको हल्लायौं । 'चिन्नुभयो नी' ती केटीसाथीको बोली खस्न नपाउँदै थापा काजीले भनिहाले 'नचिन्ने त कुरै भएन नी ।' यति भनेपछि उनीहरु बाटो लागे । 'हामीले त चिन्यौ तर उनले भने झण्डै हामीलाई चिनिनन' चिसो पानीमा पखाल्लिएर हामी खुब हाँस्यौं ।

***
पहिलो बर्षको बसाइ भित्रै माथि तलामा बस्ने अरु दुई साथी हाम्रो खानाको मेसमा आएर थपिए राजु र होमनाथ । अब एक चोटी तरकारी ल्याउने ६ जनालाई पकाएर खुवाउने अनि सबै भाँडा माझेर सक्ने काम गरेपछि ५ छाक ढुक्कैले पढ्न सकिने भयो । खाना पकाउने टन्टलो छैन भनेपछि मज्जैले पढ्न पाइने । तर पकाउने पालोमा भने दाल तरकारी मात्र हैन चटनी बनाउन पनि छुटाउन हुँदैन्थ्यो । नत्र ुबज्जीयाले ठगेछु भन्दै साथीहरुले खाना खाने बेलामा खुब उडाउँथे । आफूले भान्छाका लागि किनेर ल्याएका हरेक सामानको खर्च खातामा तोकिएको कापी लेख्ने चलन थियो ।सलाई देखि ग्याँस सिलिन्डर सम्मका सामान जे किनेर ल्याए पनि खातामा रकम र पैसा तिर्नेको नाम सहित चढिहाल्थ्यो । यति भएपछि हरेक महिनाको अन्त्यमा हिसाब बाँडफाँड गर्न आफ्ठ्यारो हुँदैन्थ्यो । 

***
आफ्ठ्यारो परिरहेको एउटा कुरा थियो त्यसबेला बस्ने कोठा । त्यहाँ जमिन मुनिबाट पानी रसाउँथ्यो । प्लाष्टिकको कार्पेट उठायो भने चप्लक्कै पानी । कोठाका सामान मात्र हैन ओच्छ्यानमा पनि ढुसी ढुसी गन्हाएर हैरान । हुन त घरबेटी रमाइला थिए । हामीले बाउसे भएर उनको बारीमा धान पनि लगायौं उनका भान्छामा पाकेका मिठा मिठा नेवारी परिकार पनि धेरै खायौं । तर अल्लि गहिराइमा घर भएपछि र आडैमा खेत भएपछि कोठा चिसो हुने समस्याबाट चाँडै मुक्त हुने छाँट देखिएन । कोठा सर्ने योजना मनमा बन्न थाले । भाजंगल देखि नयाँ बजार सम्म । नगाउ देखी खासीबजार सम्म । निक्कै ठाउँमा कोठा खोजियो । 
आखिर कीर्तिपुरको खासी बजार छेउ साँझ दुई कोठे फ्लायाट भेटियो । भाडा केही महंगो नै भए पनि दुई वर्ष त हो भनेर आँट्यौं । दिउँसो भन्दा साँझ नै कोठा सर्ने साइत जुथ्र्यो । अँध्यारोमा जति झिटीगुन्टा बोकेर हिडेपनि साथीहरुले चिन्ने अनि भोली क्याम्पसमा उडाउने डर हुँदैन्थ्यो । अघिल्लो साँझ भेटिएको कोठामा भोलिपल्ट साँझ नै सर् यौं । पाकेका साग झै थाकेका हामी खाट पनि नमिलाएर भुइँमै ओच्छ्यान लगाएर पल्टियौं त्यो साँझ । मध्य रातसम्मको कामकाजको थकाइ मरिसकेको थिएन । सरेको भोलिपल्ट बिहानै कानका जरै हल्लाउने गरि कुइँऽऽऽय गर्दै मेसिन कराउन पो थाल्यो । कोठाका सामान यत्रतत्र छरिएका थिए । के हो भन्दै झ्याल खोलेर हेर्न बल्ल तल्ल उठ्ने जाँगर चल्यो । बल्ल पो थाहा भयो हाम्रो कोठा तल्लो तलाको सटरमा त काठको मिल पो रहेछ । त्यो सटरभित्र पसल छ की के छ चासो नराख्नु हाम्रो गल्ति थियो । साँझ कोठा हेरेर साँझै सर्नु हाम्रो लागि अभिशापै भयो । मिलको ध्वनी प्रदुषणले पढाइ बिगार्ने निश्चितै थियो सस्तो भनेर किनेर ल्याएका सेकेन्डह्यान्ड खाटले हामीलाई अर्को हैरानी थपिदियो उडुसको । 
कीर्तिपुर छाडेर जाने साथीसँग लिएको त्यो खाटमा भएका उडुसले हामीलाई रातभर सुत्न दिँदैन्थे । बत्ती बालेर हामी उठुन्जेल सुतिरहने यी परजीवीहरु अँध्यारो भएर हामी सुत्ने बित्तिकै यसरी सलबलाउथे की मानौं कुनै सैनीक पल्टनले आतंकाकारी खोज्ने ठेक्कै लिएका छन् । हैरान भएर बत्ति बाल्दा अन्तराष्ट्रिय स्तरका म्याराथुन खेलाडी झै दौडेर डसनाको कुनै कुनामा हराउँथे उडुसहरु । खाटभर उडुसको औषधी छरेर अझ केही दिन त हामी भुइँमै सुत्यौं ।
यसरी उडुसबाट छुटकारा पाएपनि मिलको ध्वनी प्रदुषणबाट त्यहाँ बसुन्जेल छुटकारा पाउनु गाह्रो थियो । कोठा सरेको हप्ता दिन बाट नै नयाँ कोठा खोज्ने अभियान सुरु भयो । यस अभियानमा हामी कीर्तिपुरका भ्याएसम्मका घरहरु चाहाथ्र्यौ । कुनै ठाउँमा कोठा भेटे पानी भेट्दैन्थ्यौं पानी भेटे घाम भेट्दैन्थ्यौं घाम र पानी दुवै राम्रो भेटेको ठाउँमा कोठा भेट्दैन्थ्यौं । यसरी तीन साता बिते । 
'बिहे भा छ की छैन '
'छैन'
'त्यसो भए हुँदैन ।'
कोठा खोज्दा घरबेटीसँग यस्तै सम्बाद हुन्थे कहिले काहीँ । अब बिहे नगरेकाले कोठामा केटीहरु ल्याएर बदमाशी गर्छन् भन्ने हुँदो हो सायद । वा घर ज्वाइँनै बस्लान भन्ने डर थियो की कुन्नि हामी अविवाहितलाई कोठा पाउन निक्कै मुस्किल पर् यो । 
'बिहे भा छ की छैन '
'भैसक्यो ।'
'त्यसो भए हुँदैन'

यस्तो संबाद भने हामीले कुनै पनि घरमा गरेनौं । विवाहित जोडीका पाहुना धेरै आउँछन अनि पानी धेरै खर्च हुन्छ भनेर कोठा दिन अन्कनाउने घरबेटी पनि भेटिन्छन की भन्ने हामीलाई डर थियो । झुठ बोल्ने आँट पनि थिएन । कोठा खोज्ने घनचक्करमा यसैगरि रल्लिदा तीन साता बित्यो । अझ चार जनाको लागि दुई कोठा एकै घरमा मिल्न गाह्रो भयो । सबैको सल्लाहले मेस फुटायौं अनि दुई दुई जनाका लागि आफुखुसी एकएक कोठा खोज्ने निर्णय भयो । एक दिन सडकबाट एउटा घरको कोठाको झ्यालमा पर्दा नदेखेपछि हामी सरासर भित्र गयौं । यो कोठाका पर्दा पनि धोएर पो सुकाएको हो की भन्ने खुल्दुली पनि भयो । 'कोठा खाली होला '


'खाली छ' भन्दै एक जना ५० हाराहारीकै बा घरबाट तल झरे । झ्याल खोले कोठा देखाए । गल्लीका कुनाकाप्चा छेल्दै कोठा भित्र सर्लक्क घाम परेको थियो । 'बुढा मुसुक्क हाँसे' कस्तो लाग्यो 'राम्रो छ' त्यत्तीको पाएपछि हामीलाई के चाहियो 'पानी कत्तिको आउँछ कुन्नि' । हाम्रो प्रश्न सुनेपछि बुढाले बाथरुप पुगेर धारो खोले सावरबाट पुरै झरि पर् यो । अब के चाहियो । १२ सय रुपैँया मासिक भाडा पनि चित्त बुझ्यो । कोठा रसाउँछ की नाइ भन्दै चनाखो मात्र भएनौं आडैमा कुनै मिलहरु छन् की भनी सोधखोज गर्न पनि भ्यायौं ।






बुढाले त माथि लगेर चिया खुवाए । बाफरे बाफ कोठा खोज्न आउनेलाई चिया खुवाएर पठाउने त्यो पनि दूध हालेको । क्या खास्साको घरबेटी भेटियो भन्दै हामीले कुरा पक्को गर् यौं । उनले मागे पछि हामीले ५ सय बैना पनि छाड्यौं । कोठा सरियो पनि । नयाँ कोठा । पहिला भान्छाका भााडाकुँडा केही किन्न परेको थिएन मेसमा खान्थ्यौं । अब भने भान्छामा ग्याँस चुल्हो देखि सिलिन्डर सम्म थाल कचौरा सबै किन्न पर् यो । खर्च बढेर सेक्नु ढाड सेक्यो । पहिलो वर्षको परिक्षा नजिकिँदै थियो । अब भने मास्टस्र नसकिँदा सम्म मज्जैले नयाँ कोठामा बस्ने सोच बन्यो । त्यो कोठा सरेको रात साँच्चैनै मिठो निद्रा निदायौं हामी ।


***
'ए सागर भाइ सागर भाइ' भोलिपल्ट एकाबिहानै घरको ढोका निक्कै जोडसँग ढकढकिन थाल्यो । घरबेटीले बोलाएका रहेछन् । ढोका खोल्न पाएको छैन बुढाले मुख खोलिहाले 'यसो २ ३ सय छ होला घरमा रासन ल्याउनु पर् यो क्या पैसा सटेज भो ।' अब घरबेटी बालाई केही पर् यो होला भनेर भाडामा कटाउने गरि थप २ सय बुझायौं । त्यो दिन  रक्सि खाएर बुढाले घरमा बबालै मच्चाएछन् ।

यसैगरि त्यसको भोलिपल्ट पनि एका बिहानै लाइट बनाउन जानु पर् यो भनेर सय रुपैयाँ माग्न आए उनले । छैन भनेको ५० भएपनि हुन्छ भन्दै लिएर गैहाले । बल्ल पो हाम्रा घैटाँ घाम लाग्यो हामी बस्ने कोठाको भाडा त बुढाको  रक्सि पिउन लाग्ने खर्च रैुछ । घरमा भएका तीन कोठा मध्ये पहिलो कोठा बुढीको भाग अर्को कोठा बुहारीको भाग अनि बाँकी रहेको हामी बस्ने कोठाको आम्दानी सबै बुढाको भाग । बिस्तारै बुझ्दै गयौं त्यो कोठामा बस्ने पहिलाका साथी पनि यहि हैरानीले छाडेका रहेछन् । चेत खुल्दै गएपछि घटनाहरु बुझ्दै गइयो कोठा खोज्दै भौतारिएका हामीले किन दुध हालेको चिया पिउन पायौं भन्ने कुराको उत्तर बल्ल पाइयो । आफ्नो बोतल खर्च जुटाउने कोठा धेरै हप्ता देखि खाली भएकाले बुढालाई हैरान भएको रहेछ ।

अब भने हरेक दिन बिहान दिउँसो साँझ जतिबेला भएपनि दश बिस पचास सय बुझाउनै पर्ने भयो । नबुझाएको दिन बुढाले कुनै न कुनै किचलो झिक्थे । बुझाएको रकम लेख्दै र जोड्दै गएर हरेक महिना १२ सय पुर् याउँथ्यौं । महिना मर्नु पहिल्यै बाह्रसय कट्न लाग्यो भने पैसा दिन रोक्नु पथ्र्यो । पैसा आउने ठाउँ बन्द भएपछि बुढाले घरका भाँडाकुँडा समेत बेच्ने गर्थे । कति पटक त ति भाँडाकुँडा घरबेटी आमैले फर्काएर पनि ल्याइन् । आमै निक्कै मिजासिली र सुशिल थिइन् । उनको दुःख हामी हेर्न मात्र सक्थ्यौं तर बुढालाई र_िक्सको लतबाट रोक्न न हाम्रो कुनै जोर चल्यो न उनका नाती अनि बुहारीको नै । छोरा बिदेश भएकाले बुढाले उनको डर मान्ने कुरै भएन ।
कुनै कुनै दिन भने बुढाले रमाइलो गर्थे । गाउँभरिबाट भोगटे खोजेर ल्याएर हामी विद्यार्थीहरुलाई साँधेर खाउ भन्थे । त्यस बापत हामीले पाँचपाँच रुपैयाँ उठाएर दिए पछि बुढालाई त्यो दिनलाई पुग्थ्यो । एक दिन भने बुढाले गज्जपको काम गरे । छतमा जाने भर् याङको छानो कहिलेकाही चुहिएर हैरान पाथ्र्यो । त्यही भर् याङ छोप्न राखेको छानो मिलाउन बुढा बिहानै देखि काममा खट्टिए । घरको काममा खासै हात नहाल्ने बुढाले आज भने खुब काम गर्न थाले भन्दै हामीले पनि टिन माथिको ढुंगा सार्न सघायौं । बुढाको योजना भने अर्कै रहेछ । सबै मिलाएर उनले त्यहाँ भएका टिन मध्ये एक पाता बाहिर निकाले । आखिरमा बुढाले त्यो पाता पनि बेचेको पछि पो हामीले पत्तो पायौं ।  रक्सि पिउने लत लागेपछि ुतँ आँट म पुर् याउँछु भनेझै भयो उनलाई ।

अर्को प्रसंग बिजुली सँग जोडिएको छ । बिजुलीको काममा घरबेटी बा निक्कै सिपालु थिए । घरमा झगडा पर् यो की उनको पहिलो काम नै मेन सुइच अफ गर्नु हुन्थ्यो । त्यसको असर उनका घरमा टिभी राइसकुकर र पि्रुजलाई पथ्र्यो नै हामीलाई भने बत्ती नभएपछि पढ्नै गाह्रो । मेन सुइच बाहिर पट्टी थियो । यदि हामीले त्यसलाई अन गर् यौं भने बुढाले रिस पोख्न आफ्नो कोठाभित्र पसेर ढोकाको चुकुल लगाउँथे अनि बिजुलीको प्लगमा नेगेटिभ र पोजेटिभ प्वालमा एउटै तार जोड्दिन्थे । यसो गरेपछि फेरि मेनसुइच तल झर्ने गथ्र्यो जुन जत्ति माथि सारे पनि बुढाले घुसारेको तार ननिकाली बत्ती आउँदैन्थ्यो । यस्तो बेलामा मैनबत्तीको उज्यालोमा परिक्षाको तयारी गर्नुको बिकल्प हुन्थेन हामीसँग ।

 रक्सि नपिएको बेलामा भने घरबेटी बा साह्रै मज्जाका थिए । एक दिन बुढाले मसँग ५० रुपैयाँ मागे । महिना आधा पनि नकाट्दैमा सय पचास गर्दै पुरै भाडा उनले लगिसकेका थिए । अब त पैसा दिने कुरै भएन । निधारको बाह्र ठाउँमा गाँठो पारेर मैले पैसा नभएको बाहाना पारेँ' । बुढाले ५० को सट्टामा ४० अनि पछि ३० माग्दा पनि मेरो मुन्टो हुन्छ भनेर हल्लिएन । 'दश रुपँैया भएपनि दिनु न नातीलाई टाउको दुखेकाले सिटामोल ल्याउन पर् यो' आखिरमा उनले पैसा माग्ने नयाँ उपाय सुनाए । 'घरबाट पैसा पठाएका छैनन् आज साँझ तरकारी खाने पैसा पनि छैन बा' मैले पनि लोडसेडिङको अनुहार बनाएँ । यस्तो सुनेपछि घरबेटी बा अँध्यारो मुख लगाएर फनक्क फर्के । अब बुढाले के बबन्डर मच्चाउने हुन भनेर दिमाग भुन्भुनिराख्याथ्यो बुढा पुनः टुप्लुक्क आइपुगे । 'लौं तरकारी किनेर खानु है' दशमिनेट पछि आएका बुढाले कताबाट १० रुयैयाँ ल्याएर मेरो हातमा पो थमाइदिए । काँ बाट खोजेर ल्याएछन कुन्नि हामी माथि खुबै उपकार गरेको सम्झे त्यो दिन उनले । 'जे भएपनि उनी मनकारी नै थिए' मेरो मनले त्यो दिन यसै भन्यो । यस्तै यस्तै सानातिना घटनाले सम्झना बटुल्दै दिन बिते त्यो घर । हामीले प्रथम वर्षको परिक्षा सकेर जसै कोठा सर्नु थियो । त्यो दिन पनि आयो । अब फेरि सुरु भयो हाम्रो कोठा खोज्ने अभियान कीर्तिपुरमा ।
कोठामा घाम पर्छ पर्दैन ट्वाइलेट बुझिन्छ कि नै वरपर मिल पो छकी भन्ने बिषयसँगै अब घरबेटीले र_िक्स पिएर पो हैरान गर्छन गर्दैनन् भन्ने नयाँ एजेन्डा थपिएकॊ थियो कोठा खोज्दा । २०६४ सालको सुरुवातका बेला । कोठा कहि नभेटिएपछि तला फिनिसिङ नै राम्ररी नभएको एउटा घरमा पुग्यौं । चिनजानका साथीहरु तल्लो तलामा बस्थे । साथीहरुले फिनिसिङका लागि पहिल्यै पैसा दिएरै भएपनि कोठा बुक गर्छन् र पछि भाडामा कटाउँछन भन्ने हल्ला पनि कीर्तिपुरमा सुनिन्थ्यो । धन्न त्यहाँ त्यो भने गर्नु परेन । हामीले नयाँ घरबेटीबालाई अनुरोध गरेर पहिल्यै कोठा बुक गर् यौं र बनिसकेपछि दुई महिनामा सर्ने योजना बनायौं । 

र_िक्स खाएर हैरानै गर्ने भएपनि मलाई किन किन ती तेस्रो घरका घरबेटीबा मन पथ्र्यो । आफ्नो खर्चपर्च टार्ने भागको कोठा परेर हो वा के हो अरुको तुलनामा हामीलाई अल्लि बढी माया गर्थे उनी । टिभी हेर्न माथि डाक्थे आफ्ना जवानीका कुरा सुनाउँथे । मिठ्ठो हाँस्थे पनि । अझ हामीलाई कीर्तिपुरकै केटी खोजेर बिहे गराइदिन्छु सम्म भन्न भ्याएका थिए उनले । दुई महिना बितेपछि कोठा सर्ने कुरा सुनायौं । बुढा कताकता बेखुसी भए । मेरो मन पनि चसक्क चस्केको थियो तर भावनामा भन्दा पनि बास्तविकतामा बाँच्नु पर्छ भन्छन् हामी कोठा सरिहाल्यौं । कहिले काही त ती सोझी घरबेटी आमैको दुःख देखेर निक्कै टिठ लागेर आउँथ्यो । अझ ती दुब्लाएर सिठ्ठा भएका घरबेटी बा  रक्सिकै कारणले हामी सरेको एक वर्ष पछि बितेछन् । खबर पाएको दिन निक्कै खल्लो महसुस भयो ।

***

 कीर्तिपुर बसाइको अर्को नयाँ घर । कोठा राम्रो थियो भाडा पनि महँगो । नयाँ घरमा घरबेटी नबस्ने रहेछन् ।

 हामी बसेका घर नजिकै उनको अर्को घर थियो । त्यो घरमा पनि सुरेश र प्रवेश नामका कास्कीका दुई गिरी साथीसँग मेसमा खाना खान्थ्यौं हामी । ुखानामा मेस सबैभन्दा बेसु उखानै थियो त्यसबेला । भाडाको घरमा एउटा कडा नियम थियो राती १० बजेभन्दा पछि हल्ला गर्न नपाइने । हामी बसेको ठिक अगाडी घर भएका अर्का घरबेटीलाई विद्यार्थी चर्को बोलेको चित्तै बुझ्थेन । साँझ परेपछि यसो चर्को बोल्यो कि उताबाट उनको हुँकार सुनिन्थ्यो । उनले घर भाडामा लगाएका थिएनन् । हामी बसेको घर भने एउटा ब्वाइज होस्टल झै थियो । अब अल्लारे केटाहरुको जमात भएपछि चुपचाप बस्ने कुरै भएन धेरथोर हाँसो ठट्टा त भैहाल्थ्यो । कोही न कोही कतै नै कतैको कोठामा जम्मा भएर चर्को बोलिहाल्थे । यस्तो बेलामा पारिपट्टीका घरबेटीसँग वारीपट्टीका हामी ठिटाहरुको कहिले काही झगडाको दोहोरी नै चल्थ्यो । 
समग्रमा कीर्तिपुरको बसाइ हाम्रो लागि निक्कै रमाइलो र अविस्मरणीय रह्यो । कीर्तिपुरको डेरा छाडेर २०६५ सालमा शहर काठमाडौंलाई कीर्तिपुरमा विद्यार्थीमाझ भनिने गरेको झर्दा यो पोखराको घरबेटीलाई माइती छाडेझै लागेको थियो । (२०६८ मंसिर ३ गतेको नागरिक दैनिकको अक्षरमा प्रकाशित)
 sagarbhaba@gmail.com

Comments