Monday, March 7, 2011

मनमायाको खोजिमा...

नयाँ ठाउँमा नाटक रेकर्ड गर्न जानु जत्तिको उत्साहजनक कुरा हुन्छ त्यतीकै चुनौतीपुर्ण पनि । तर चुनौतीसँग जुद्धै अगाडी बढ्नुको मज्जा भने बेग्लै छ । यसरी कथा मिठो सारङीको नाटक रेकर्डका लागि विभिन्न समुदाय क्षेत्रका कथा खोज्दै जाने क्रममा यसपाली हाम्रो समुहको छलफल अनुसार यहि महिना पाँचथर पुगेँ म । जानु अघि लेखक सहकर्मी सिवानी जीले बर्दियामा रोइनीको कथा रेकर्डको गर्नु पूर्व कलाकार खोज्दै जाँदा पाएको रोमाञ्चक कथा मैले सुनिसकेको थिएँ । त्यो उहाँको दुःख मलाई सुन्दा जति रोमाञ्चक लागेको थियो उहाँलाई त्यो तनाव झेल्दा उतिकै हैरानी भयो होला । जुन हैरानी मलाई अब पदैछकी भन्दै सशंकित पनि थिएँ म ।

पाँचथरको फिदीम बजारबाट अल्लि माथिको गाउँ जाने होला भन्ने हेतुले काठमाडौंबाट अंग्रेजी नयाँ वर्षको पहिलो दिन हानिएँ म । पछि थाहा भयो फिदीम पुग्नु पूर्वनै मैले राँकेबाट मुल बाटो छोडेर कच्ची सडक लाग्नु थियो । जीवनमा आफ्नै गाउँपाखा घुम्नुको मज्जै बेग्लै । म पाँचथर हानिएको पहिलो रात इलाम बास बसेँ । दोस्रो दिन फाक्थेप गाविस जाने गाडी पक्रदा विहानको ७ बजेको थियो । दैनिक एक पटक मात्र गाउँ पुग्ने र फर्कने जीपमा कोचाकोच भयो भन्दै गुनासो गर्नुको कुनै तुक थिएन । कठ्याङ्गीने जाडो नयाँ ठाउँ पुरानै भएपनि बलियो देखिने जीपभित्रको कोचाकोचमा आफूलाइ पाउनुको मज्जा बेग्लै थियो त्यसबेला । जाडै भएपनि गाउँसम्मको लामो बाटो हिड्नु भन्दा भित्र सिट नपाएपनि छतमा बस्नुको मज्जा लिने मान्छे पनि कम थिएनन् । बिस्तारै गाडीले पाँचथर जाने बाटो पकि्रयो । इलामको हरियाली चिया बगान बाटोमा देखिने अमि्रसोका घारी अग्ला बाँसका रुखले मनको तहलाई पनि निक्कै अग्लो बनाइराखको थियो मेरो ।

'माझिदाइले जालै हान्यो माछि पर् यो जालैमा घिन्ताङ मादल कहाँ बज्यो झ्याउँरे तालैमा हे आउहै माया लाउँहै सुटुक्कै काफल गेडी कुटुक्कै भइयो भुतुक्कैु

लौ अब त झन् जीपमा गीत घन्कन थाल्यो । गाडी दायाँ घुम्दा ज्यान बाँया मोडिन्थ्यो । बाँया घुम्दा दायाँ । राजधानीका खाल्डाखुल्डीमा तलमाथि उप्रुने ज्यानले पक्कै पनि आज नौले अनुभव गरेको महसुस हुँदैथ्यो मलाई । 

राँकेपुगेपछि कच्ची सडक सुरु भयो । अब त झनै रोमाञ्चक हुन थाल्यो यात्रा । आफूलाई कता कता डर रमाइलो अनुभुति भएपनि दिनहुँ गाउँ शहर गरिरहने अन्य यात्रीले भने बाटोको बिजोगको वेवास्ता गरे । 'वास्ता गरेर यहाँ के नै पो भाछ र !'  सायद उनीहरु यस्तै सोच्थे । घन्चमन्च गर्दै आडैका यात्रीहरुसँग गाउँका बारेमा कुरा गर्दै गाडी चल्दा आउने विभिन्न आवाजहरुलाई आुपूसाथ लगेको मारान्जमा रेकर्ड गर्दै म घुर्बिसे पाचमी पुगेँ । त्यहाँ मलाई लिन आइपुग्ने साथी सुर्यप्रकाश चेम्जोङसँग खाना खाइवरी गाउँतिर जाने बेलामा दिनको १२ बज्न आँटेको थियो । सुर्य जी कलाकार निर्देशक पनि हुन् । उनले भर्खरै लेखन तथा निर्देशन गरेको लिम्बुभाषको फिल्म 'माराम'ले खुबै चर्चा बटुलेको थियो । उनैको सल्लाह अनुसार नै हामी कलाकारको खोजीमा उनैको गाउँ जाँदै थियौं । १२ १ बजे आइपुग्नु भनेपनि २ बजे सम्म हामीले कलाकार बोलाएको ठाउँ मसरेमा कोही पनि आइपुगेनन् । यसले मलाई एकपटक फेरि रसुवाको छाँट हुने हो कि भन्ने भान दिलायो । यसअघि कलाकार खोज्दै रसुवाको तामाङ गाउँमा पुगेका हामी राम्ररी अभिनय गर्न सक्ने कलाकार नभेटेपछि रित्तो हात फर्किएका थियौं ।

यत्रो लामो यात्रा गर्दा निक्कै थकाइको अनुभव भएको थियो । त्यो भन्दा पनि बढी मन भित्र भित्रै प्रश्नै प्रश्नले कोपेको थियो त्यतिबेला । कस्ता कलाकार भेटिने हुन् नाटक सुहाउँदो हुने हो होइनन् खोजेको कलाकार नभेटिए के गर्ने यस्तैले पोलिरहेका बेला एक दुई गर्दै सुर्यजीले डाकेका कलाकार भेला हुन थाले । वल्लो पल्लो गाउँबाट आएका कलाकारहरु कोही १ घण्टा हिडेको कुरा सुनाउथेँ त कोही २ घण्टा । जे जसो भएपनि १० १२ जनाको टोली जम्मा भयो । ३ ४ बजे तिर भने मैले सबैलाई भेला पारेर कथामिठो सारङीको नाटक लिम्बु गाउँमा रेकर्ड गर्न लाग्नुको कारण र रेकर्ड गर्ने प्रकि्रयाका बारेमा बताए ।

विशेषत दुई वा सो भन्दा बढी कलाकारलाई कुनैपनि दृश्यको पृष्ठभुमि भित्र रहेर स्कृप्ट बिनानै अभिनय गर्न लगाउनु । पुनः अर्का दृश्यका बारेमा बुझाएर हाँसो रोदन झगडा माया प्रेम दुःख भरिएका अन्य विभिन्न दृश्यमा अभिनय गर्ने मौंका दिनु । उहाँहरुको अभिनयकै आधारमा क्षमता जाँच्नु । यस्तै काम नै कलाकार छान्ने प्रकि्रयाका प्रमुख कडी थिए ।

विद्यालयमा पढ्दै गरेकेा तास खेल्दै गाउँको कुराकानी गरेको अरुको काममा इष्या गरेको ठेक्का पट्टाको विषयमा काटाकाटको स्थिति गाउँको समस्या समाधानमा गाउँको भेला भाउजुसँग देवर जिस्कदाको क्षण गाउँमा खेतीपाती गर्दाको दुःख यस्तै यस्तै दृश्यहरुमा कलाकारहरुले अभिनय गर्ने र नयाँ कलाकारहरु थपिँदै जाने क्रम बढ्दै गयो । 

जति साँझ हुँदै गयो नाटक सुन्नेमन पराउने र अभिनय गर्न रुचानेको ओइरो लाग्न थाल्यो मसरेमा । झमक्क साँझ परिसकेपछि राहुल जबेगु बसन्ती सम्हाम्फे लगायत ६ जनाको टोली पुषको चिसो छल्दै ४ घण्टाको हिडाइसँगै फिदीमबाट आइपुग्यो त्यहाँ । अझ साँझको ८ बज्नै लाग्दा सुभानसिङ केरुङ र साथीहरुको टोली ५ घण्टा हिडेर आइपुगे अभिनयकै लागि । अझ् उनीहरुले सुनाएको बाटोमा हिउँपरेको कुरा निक्कै चाखलाग्दो थियो । दिनभर हिड्दा बोल्दा थाकेको यो ज्यानको थकाइ उनीहरुको थकाइको अगाडी साँच्चैनै नगन्य भयो । निक्कै उत्साहका साथ सुर्य जी र म रातको ९ बजेसम्म पनि 'कलाकार अडिसन'मै व्यस्त रह्यौं ।

बिना स्कृप्ट पटकथाको आधारमा अभिनय गर्न पाउनुको मज्जै बेग्लै मान्दैथिए कलाकार । राम्ररी अभिनय गर्न नसक्नेहरु बिचैमा छाडेर 'सक्दिन भो' भन्दै हाँसेर रमाइलो पनि गरे । कतिले पुन प्रयास गर्दा अझ राम्रो अभिनय गरे । 

'हाम्रो सम्बन्धका बारेमा गाउँमा कुरा चलेको छ कोचिङबाट फर्कने बेलामा मलाई पुर्याउन छाड्देउ' प्रमिलाले सुरेनलाई यस्तो भन्दा हेर्न आएका बूढा बाजे र बजुहरु मुख छोपी छोपी हाँसे । 'प्रमिलाले बोलेको अल्लि मिलेन' हेर्नेहरु यस्तै भनेर बीचबीचमा प्रतिकि्रया दिन्थे । आफू भन्दा पनि दर्शक÷श्रोत कलाकारबाट कलाकारलाईनै उनिहरुको अभिनयका बारेमा प्रतिकि्रया दिनु निक्कै प्रभावकारी पाएँ मैले ।

अडिसन सकेका केही भाइबहिनी र अन्य अभिभावक यस अघि नै गैसकेको थिए । भोलि पल्ट विहानबाट सुरु भएको अडिसनले फेरि साँझको ६ बजाइदियो । लगभग सबैको कलाकारिता शैली रेकर्ड गरेर आफूसँग भएको सानो क्यामेरामा भिडीयो खिचेर त्यो दिन बित्यो । 

लिम्बु समुदाय साँच्चै नै सांस्कृतिक रुपमा धेरै धनी छ । काम सुरु भएको दुई दिनपछि सुर्य जी काठमाडौं आउनु पर्ने हुनाले मलाई सहयोगको लागि डिकबहादुर चेम्जोङ जी अघि सर्नु भयो । उहाँले नै भोलिपल्ट जम्मा गरेका गाउँले बाजेहरुको टोलीबाट 'पालाम' सुन्न पाइयो । यो एकप्रकारको लिम्बु गिती भाका थियो । च्याब्रुङ बजाएर नाचिने धान नाचमा पनि निक्कै रमाउन पाएँ म । केटाकेटी जन्मदा गाउने नुआमा त्यही केटाकेटी रुँदा आमा हजुरआमाहरुले फुलाउँनका लागि पनि गाउने रहेछन् भन्ने थाहा पाएँ मैले । अझ् नमस्कारको ठाउँमा सेवारो धन्यवाद भनेको नोगेन साचै भन्दा आनुबी यस्तै यस्तै लिम्बु भाषाका शब्दसँग खेल्न पाउँदा आफैलाई निक्कै रमाइलो भयो त्यसबेला । 

गाउँको अवस्था कृषि उत्पादन फुस्रदमा मानिसहरुले गर्ने काम बारे पनि विभिन्न मानिससँग कुराकानी गरियो । गाउँ नजिकैको दलित बस्तीमा पुगेर उनीहरुले गर्ने कामका बारेमा पनि कुराकानी तथा रेकर्ड गर्ने मौंका मिल्यो । साँझ उकालो लागेपछि घुर्बिसे पाचमी बजारमा पुगेर बजारको चहलपहल त्यहाँको रहनसहन गाउँका मानिसको बजारसँग सम्बन्धका बारेमा बुझ्दा नै त्यो दिन सक्गिो ।

भोलिपल्ट बिहान पनि पाचमीका विभिन्न पात्रहरु खड्गमाया पिनिमे साइली सुरेन भेटनरी डाक्टर साप व्यापारीसँग भेट्दा साँच्चै नै गाउँमा आइपुगेको अनुभुती गरेँ मैले जहाँ हरेक मान्छे कथा बोकेर बाँचेको छ । अब जाँदा कलाकार नपाइने हो कथा नभेटिने होकी भन्ने चुनौती थियो । फर्कदा मसँग झनै धेरै चुनौती थपिए के म पसल्नी खड्गमाया ग्यान्टोकबाट गाउँ आइपुगेकी पिनीमे साइली गाउँबनाउन उत्साहित सुरेन भेटनरी डाक्टरसाप कृषक आइतराज सानी सान्तिला शिक्षक उदिपका कथा समेट्न सकुँला के बहुमुखी कला भएका सबै कलाकारहरुलाई नाटकमा स्थान दिन सकिएला ?
http://bbcnepalidrama.com/main/node/117
२०६७-९-३०

3 comments:

  1. तपाईंसँगै गाउँ पुगेको अनुभव भयो । कलाकार र सँस्कृतिको जगेर्ना संरक्षण र सम्बर्ध्दनको लागि पनि यस्ता यात्रा फलदायी हुने रहेछन् भन्ने अनुमान सम्म गर्न सकें मैले ।

    ReplyDelete
  2. एकदम रोचक लाग्यो भवसागर जी यहाँको पोस्ट, त्यो रमाइलो यात्राभरि संगै थिएँ जस्तो आभास भयो ।

    ReplyDelete
  3. कृष्णपक्ष र दिनेश जी प्रतिक्रियाका लागि धन्यवाद ।

    ReplyDelete