पशुपतिनाथ सम्झदा जोगमेहर आँखामा

-नगेन्द्र थापा
सम्झना पातलिए हुन्थ्यो झै लाग्दा झन् बाक्लिएर आउँछ । बिर्सन खोज्दा झन् झन् सम्झन्छु । अनि दुख्छु टोलाउँछु र एकान्तमै हराउँछु । नारायण गोपाल खस्दा पचास र गोपाल योन्जन खस्दा सय प्रतिसत नै बिमुख भएँ म । यो पट्यारलाग्दो युगमा नितान्त एक्लो र असान्दर्भिक नै भएको छु ।

गाढी चढेर हिड्दा एफएम लगाउँछु त्यो पनि चाख दिएर सुन्न सक्दिन् । गीत लेख्नै छाडेँ । दिनभर घरमै कवितामा रुमल्लिन्छु बरालिन्छु बिलाउँछु । साँच्चीकै एक्लोपनको महसुस भएको छ ।

***
सन् १९६४ को कुरो । नेपाली कला संगीतको उर्लदो बाढी थियो दार्जलिङमा । बैरागी काई,ला ईश्वर बल्लभ, अमर गुरुङ, अगमिसंङ गिरी, गोपाल योञ्जन, कर्म योञ्जन जस्ता व्यक्तित्वहरुको चहलपहल थियो त्यहाँ । स्नातकको पढाइका क्रममा म त्यतै थिएँ ।

नेपाली लोकगीत र नाचलाई धेरै वर्ष अगि देखि प्राथमिकता दिने हिमालयन कला मन्दिर निक्कै चर्चामा थियो । समय मिलाएर धेरै पटक त्यहाँ पुग्थेँ । बेला बेला भैरहने कवि गोष्ठीहरुमा पनि झुल्किन्थेँ । गोपाल योञ्जनसँग मेरो दोस्ती गहिरो थियो त्यसबेला । कला मन्दिरमा हामी ग्रामोफोनबाट गीतहरु सुन्थ्यौं । रेडियो नेपाल पनि धेरै सुन्ने बानी थियो । नारायणका गीत सुनेपछि म र गोपाल उनको स्वरको तारिफ गथ्यौं ।

***
नारायण त्यसबेला भारतको इन्दरेको बारुदा भन्ने ठाउँमा संगीत पढ्दै थिए । स्नातक सकेकी पेमला लामा भने दार्जलिङकै एक विद्यालयमा अध्यापन गराउँदैथिइन् । देखभेट नभएका उनीहरु बीच चिठी पत्र आदान प्रदान हुन्थ्यो । नारायण पहिलो पटक पेमलालाई भेट्न दार्जलिङ आए । इश्वर बल्लभकै कारणले मेरो नारायण गोपाल र गोपाल योञ्जनको चिनजान भयो । उहाँ ५\७ दिन दार्जलिङ बस्नु भयो ।

मैले पहिला भेटमा उनलाई एकदमै रसिक पाएँ । आफ्नो विषय प्रति निक्कै नै गम्भिर । हामी बीचका सम्बन्धहरु औंपचारिकताबाट अनौपचारिकतामा जाँदै थियो । त्यो बसाइमा हामीसँगै उनको घुमघाम र उठबस भए । गोरखा दुःख निवारण समितिको हलमा पुगेर उनी गाउँथे । "स्वर्गकी रानी मायाकी खानी…" धेरै जसो रत्न समसेरका यस्तै गीतहरु सुन्न पाइन्थ्यो । ती भेटहरु अविस्मरणीय रहे ।

***
म धेरै जसो कवितामा हराउथेँ । प्रमाणपत्र तहमै मैले कविताको पुस्तक निकालेको थिएँ । गोपालको करले मैले केही गीत लेखेँ । गोपालले त्यसमा संगीत भरे । उनलाई मात्र हैन म आफैलाई पनि निक्कै मन पर्यो ।

म फर्केको केही महिना मै नारायण फेरि दार्जलिङ आए । उनका ८ गीतहरु रेडियो नेपालमा रेकर्ड हुने भएछन् ।
हामीले लेखेका २० /२५ गीत उनलाई सुनायौं । उनले त्यसैबाट आठ गीत छाने र रेकर्डको लागि कलकत्ता पुगे । ती मध्ये मेरा पनि ३ गीत परे ।

तिम्रो जस्तो मुटु मेरो पनि…
बिर्सेर फेरि मलाई नहेर

त्यही बेलाका गीत थिए यी । २०/२२ वर्षे लक्का केटो म । आफ्ना गीत रेडियोबाट सुन्दा । त्यसका उत्साहपूर्ण प्रतिकि्रया पाउँदा निक्कै पुलंकित हुन्थेँ । हाम्रो दोस्ती निक्कै गाढा हुँदै थियो ।

***
नारायण र पेमलाको पहिलो भेटको कुरो । त्यसअगि उनीहरु बीच पत्र आदान प्रदान मात्र हुन्थ्यो । पेमलालाई भेट्न नारायण गोपाल दार्जलिङ आउँदाको कुरो । म कर्म गोपाल र नारायण गाडीमा उनले पढाउने स्कुल खोज्दै गयौं । नारायण र कर्म गाडीमै थिए ।

म र गोपाल योञ्जन सरासर स्कुलको गेटमा पुग्यौं । उहाँलाई बोलाइदिन चिट बुझाएपछि उहाँ सरासर बाहिर आउनु भयो । म गोपालको दायु तिर थिएँ ।
"मित ज्यू भेट्न आउनु भएको छ," गोपालले दायाँ तिरै हात तेसा्रउँदै भने । उहाँले गाडीमा रहेका नारायाण गोपाल तिर देखाउन खोजेपनि हात भने दायाँ पट्टी बसेको मै तिर सोझियो ।

पहिल्य कहिल्यै नदेखेको मान्छे । उहाँले त म नै नारायण भन्नु भएछ क्यारे रातो पिरो अनुहार लगाएर तल मुन्टे झुकाउनु भयो । मलाई पो लाज भो । मैले हत्तन पत्त नारायण गोपाल त गाडी नेर हुनुहुन्छ भनेर मुख खोलिहालेँ ।

***
भारताको पढाइ सकेर उनी नेपाल आए । हामी पशुपति घुम्न जान्थ्यौं । त्यहाँ एक बाबा थिए चित परिचित । नारायणलाई देखेपछी उनी चिलममा गाँजा भर्थे । "ए नारायण गोपाल इदर आवो", आफूले एक दुई सर्को तानेर उनी नारायण तिर तेर्साउँथे । नारायाण पनि के कम "स्वार्र स्वार्र पार्थे ।" तर पनि कन्ट्रोलमा बस्थे । उनी रक्सी चुरोट सुर्ती जे पनि खाने । तर बेहोस हुने गरि खान्छ भन्ने कुरा चाहीँ बढाइचढाइ हो ।

@Min Bajracharya

भूगोल पार्कको इन्दिरा रेष्टुरेन्ट हाम्रो जमघटको थलो थियो । त्यस्तै धर्मपथको पारस होटलका ११ हो की १३ नम्बरको कोठा भूपी शेरचनको नाममा पहिल्यै बुक हुन्थ्यो । त्यो कवि साहित्यकारको जमघटको थलो थियो । खाएपिएको सप्पै भूपीले तिर्ने । के गर्नु त्यती बेला अरुसँग तिर्ने पैसा कमै हुने । जमघटमा निक्कै रमाइलो हुन्थ्यो । भूपीसँग नारायणको दोस्ती यस्तो बढेको थियो कि उ सकेसम्म कुनै कुरा टार्दैन्थ्यो । भूपी सानो बाबु भनेर बोलाउँथे नारायणलाई । टोलटोलमा हुने भजनमा नारायण हान्निएर पुग्थे । डुबेर गाउँथे । उसको गायन कला देखेर सबै हेरेको हेर्यै हुन्थे ।

सब्बै उसलाई घमण्डी भन्छन् । अभिमानी भन्छन् । मलाई त उ स्वाभिमानी लाग्छ । "नमस्कार गर्दा पनि फर्काउँदैन्थ्यो", यसै भन्छन् कोही । तर मैले बुझेको उ मनको त्यस्तो थिएन् । मलाई उसको आँखा निक्कै कमजोर भएको शंका थियो । उ अभिभादन फर्काउँदैन्थ्यो किनकी उसले राम्ररी देख्न पाएको हुन्थेन । मैले आँखा जँचाउ भन्दा पनि उसले "काँ सोम देख्छु भन्दै टार्थ्यो । एक दिन उ डाक्टरकहाँ पुग्यो । पछि बल्ल थाहा पायो कि उसको आँखाको पावर झण्डै माइनस ७ थियो ।

***

उनी काल्पनीक कुरा गर्न निक्कै रुचाउँथे । श्रीमतीलाई कहिल्यै उदाष हुन दिएनन् । निक्कै ठट्टा गर्नु पर्ने । उदाष माहोललाई रोमान्चक बनाउन उनी झिंगाको पनि क्यारिकेचर गर्थे र हँसाउँथे ।

पैसामा उनीलाई नोठ मन पदैन्थ्यो । सिक्का त्यो पनि सानो पैसाको उनलाई यस्तै मन पथ्र्यो । "दश लाखको सिक्का साटेर पसिना आउन्जेल गन्दै बस्न कस्तो हुन्थ्यो होला", घरि घरि उनी यस्तै अचम्मका प्रश्न तेर्साउँथे । खुब हसाउँने । उनका कुरामा निक्कै रस हुन्थ्यो, हँसाउन र ट्रर्याक चेन्ज गर्ने ।

हामी हिड्दै गफ गर्दा उनी भन्थे "ह्या थापाकाजी कति हिड्नु कहिलेकाहिँ त आकाशमा उड्न पाएनी हुन्थ्यो नी । बाटोमा झै आकाशमा पनि साथीहरु उडिरहेका भेटिउन् । ए काँ गएर आएको अमेरिका म भर्खर जापान पुगेर आएको । अब जर्मन जाँदै हैत",  यसै भन्दै उड्ने कुरा गर्थे उनी ।

***

२५/२६ साल तिरको कुरो । मेरो गीत बजारमा आएको थियो । मेरो गीत

"म उभिएको धुलोले सुनोस् महलले सुन्दैन भने झुपडीले सुनोस्…" यस्तै बोलको गीत माथि रेडियो नेपालको तत्कालिन महानिर्देशक भोग्य प्रसाद शाहासँग मेरो झगडै भयो । महल झुपडी जस्ता शब्द भएकाले उनले पछिल्लो लाइन गीतबाट हटाउन अनुरोध गरे । मैले मानिन् । चक्का नै लिएर त्यहाँबाट हिडेँ । "मलाई मन परेको गित हो सोम एक लाइन चेन्ज गर्देउन त" नारायणले अनुरोध गरेपछि मात्र मैले माने । निक्कै मिल्ति थियो हाम्रो ।

***
सायद सन् १९७० ताका होला । मलाई ठ्याक्क ख्याल भएन । महेन्द्र पुलिस क्लबमा "मित्ज्यु नाइट" को आयोजना गर्यौं । गोपालको संगीतमा नारायणको स्वर । हल नै गुंजायमान भएको थियो । त्यसको दुई महिना जति पछि होला । एकाबिहानै नारायण सुटकेश बोकेर मेरो कोठमा आइपुगे ।"हेरन सोम बिबाह गर्न दार्जलिङ जान लाग्या त्यत्ती खर्च बोक्या छैन् के गर्ने होला" उनले भने ।"मित्ज्यु नाइट" मा उठेको पैसा थियो मसँग । त्यसको केही भाग पहिल्यै उनले कलकत्ता पुगेर हार्मोनियम र अन्य बाद सामाग्री खरिदेको थियो । उसैको पैसा हो । मैले २४ हजार उनको हातमा हालिदिएँ ।

***
नारायणको बिबाह पछि उनी पेमला सहित काठमाडौं फर्के । नारायणका बाबा कुशल सितारबादक थिए । उनी क्लासिकल नारायण सुगम संगीत तर्फ । "ए थापाकाज लौन त्यसलाई सम्झाइदेउ स्राष्ट्रीयसंगीत तिर लाग्ने भन्देउ" बा आशा गोपाल यसै भन्थे मलाई । नारायण के मान्थे । कुरामा मिल्ती नभएर उनी पेमला सहित पोखरा गएर बसे । केही वर्ष पछि काठमाडौं फर्केका उनलाई एक दिन ठूलो समस्या पर्यो । डाक्टरले दिएको मिति अगि नै पेमलालाई सुत्केरी बेथा लाग्यो । अस्पताल लाँदा थाहा भयो उनको पाठेघरमा नभइ ट्युबमा बच्चा बसेको रहेछ । डाक्टर दिनेश नाथ गंगोल लागि परे पेमलाको अप्रेसनमा । अप्रेसनबाट ठिक त भइन् तर कहिल्यै सन्तान पाउन नसक्ने भइन उनी ।

नारायणले यसबारे कहिल्यै गुनासो गरेनन् । उनको गुनासो हुन्थ्यो त केबल गीतसंगीतको क्षेत्रका बारे हुन्थ्यो । "बाद्यबादन राम्रो बनाउन सकिएन भने नेपाली संगीतले राम्रो फड्को मार्न सक्दैन्" उनी यसै भन्थे । भायोलिन प्रखर रुपमा बजाउने मान्छे नभएकोमा पनि उनको गुनासो थियो । अर्को गुनासो नेपाली संगीत क्षेत्रमा सम्बन्धीत पत्रीका भएन भन्ने थियो । बाजा गीत र नाचलाई मिलाएर बागिना नामको त्रैमासिक पत्रिका पनि सुरु गर् यौं । मुस्कीलले केही अंक मात्र निस्कन सके । पत्रिकाका लागि लेख रचना पाउन पनि मुस्कील । अरुको नाममा म आफैले पनि धेरै लेख लेखेको छु पत्रिका भर्नकै लागि । उनी लौंन सोम नेपाली संगीतमा केही गरौं भन्थे । उनको प्रेरणामा मैले पनि केही समय संगीतका पुस्तक ल्याएर पढेँ पनि ।

***
नारायण खानमा निक्कै सौंखिन मान्छे । पकाउन पनि उत्तिकै माहिर । गज्जब बनाउने । खसीको मासु त औंधी मिठो बनाउने । उनको हातबाट बनेको मेथिको अचार निक्कै स्वादिलो हुन्थ्यो । मेरी श्रीमती मंजु पनि खुसा्रनीको अचार बनाउन माहिर । यता बनाएको छ भने उता लैजाने र उता बनाउँदा यता ल्याउने चलन थियो ।

नारायण महाराजगंज घर बस्दाको कुरो । उहाँलाई मासु कम खान डाक्टरले सल्लाह दिएका थिए । काम गर्ने केटोलाइ मासु किन्न पठाउँदा पेमिलाले एक पाउ मात्र ल्याउँ भनिछन् । यो कुराले दिक्क परेका नारायणले श्रीमतीलाई भने "हैन तिमीलाई लाज लाग्दैन् खाने तिन तिन जना । त्यसमाथि नारायण गोपालको घरबाट एक पाउ मासु किन्न पठाउँछन् भन्दा त्यो पसलेले के भन्ला?" उहाँको यस्तो जिद्दीलाई पेमिलाले टार्न सक्दैन्थिन् । "ल त्यसो भए आधा किलो ल्याउँ" पेमिलाले त्यती भनेपछि भने केटोसरासर जान्थ्यो । पेमिलाले सबै मासु पकाए पनि आधा भने छुट्टाएर साँझका लागि राख्थिन् । सबैले खान खाएपछि उनी अफिस जान्थिन् । यही मौंकामा नारायण लपालप बाँकी मासु खाइदिन्थे । खान भनेपछि उनी निक्कै सौंखिन थिए ।

***
उनी खस्नु भन्दा डेढ वर्ष अगाडीको कुरा । त्यतीबेला म कृष्णभक्त उपेन्द्र श्रेष्ठ लगायतका साथीहरु न्युरोड पिपलबोटलाई जम्मा भएर गफिने थलो बनाइसकेका थियौं । एक दिन मोटरसाइकल लिएर नारायण राजधानीको न्युरोड आए । बाइक त्यही आडामा राखे । "ए सोम म आइहालेँ है" यती भनेर उनी कता हिड्थे हिड्थे । आधा घण्टामा झुल्कन्थे "सोम म गए है" बाइक स्टार्ट गर्यो हिड्यो ।

यस्तो दिनचर्या ४/५ दिन दोहोरिएपछि भने मलाई अचम्म लाग्यो । एक दिन उनलाई लुकीलुकी पच्छ्याएँ । उनी त कृष्ण गुतपाक भण्डार पुगेर पैसा निकाल्न थाले "एकपाउँ दिनुस् त ।"

एक पाउँ गुतपाक बोकेर उनी सरासर मांकालको मन्दिर पछाडी गए । त्यही छेलिएर उनी त कपाकप गुतपाक खान थाले । सुगरको बिरामी त्यसमाथि गुतपाक । मैले उनलाई पक्रे र सम्झाएँ । यस्तै थिए उनी खान भनेपछि केही नबार्ने मनले माग्यो की खाइहाल्यो ।

***
उनले सोचे पछि सोचे सोचे । अन्तिम अवस्था हुँदा पनि बिरअस्पतालको कुरो । उनले धेरै चिकेन सजेज माग्न थालेपछि डाक्टरले एक टुक्रा भन्दा नदिनु भनेका थिए । उनी भने थप दुई टुक्रा नपाए खाँदै खान्न भनेर जिद्दी गर्न थाले । हामीले त्यो नपुर्याइ सुख पाएनौं ।

त्यसबेला म र मेरि श्रीमती उनलाई कुर्न पालैपालो बस्थ्यौं । नारायणले एक दिन भने "सोम निन्द्रै परेन यार सुत्नै सक्दिन् ।" यति भनेपछि मैले सुत्ने बेला आँखा चिम्म गरेर पशुपति नाथलाई सम्झनु निन्द्रा लाग्छ भनेँ । उनी के भन्छन् "काँ मैले हिजो त्यस्तै गर्न त खोज्या हो नी पशुपति सम्झदा जोगमेहर श्रेष्ठ पो आँखामा झलझली आउँछन् काँ सुत्न पाउनु ।" उनी अन्तिम अवस्था सम्म पनि यस्तै रसिक कुरा गर्थे ।

***
अस्पतालमा छँदा उनले नै आफ्नो घरलाई एउटा ट्रस्ट बनाएर राख्न भनेका थिए । त्यसको आडमा गीतगंगा भन्ने एउटा सानो अडिटरीयम बनाउन उनको अनुरोध थियो । उनी बिर अस्पताल भर्ना हुनु अगावै उनलाई भारत लगेर मृगौंला फेर्ने कुरा थियो । त्यसको चाँजो पाँजो बसन्त चौधरीले मिलाइ सकेका थिए । त्यही चौधरी जसको सक्रियतामा क्यान्सर पिडित सोसाइटीका लागि नारायण गोपाल साँझ आयोजना गरिएको थियो । भारत जान टिकट पनि रेडि भैसकेको थियो । अफ्सोच उनी अकस्मात हर्ट अट्याक भएर बिर अस्पताल पुगे ।

उनी अस्पतालमा छँदा धेरै नेताहरु भेट्न आउँथे । कृष्ण प्रसाद भट्टराइ पनि आइरहन्थे । हरेक दिन रेडियो नेपालको प्रमुख समाचारमा फलानो नेता नारायणलाई भेट्न गए भन्ने आउँथ्यो । यो समाचारले अपरिचितमाझ पनि उनलाई परिचय गराउने बाटो बन्यो ।

दिनहुँ आउने एक जना वरिष्ठ नेता थिए गणेशमान । उनी यति चाँडो जान्छन् भन्ने थाहा भएन । गणेशमानले उनलाई तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा नियुक्त गर्ने प्रस्ताव राखेका थिए । "मेरो इच्छा बमोजिम काम गर्न पाउने भए मात्र बस्छु"  नारायणले यस्तै भने । गणेशमानले सल्लाह गरौंला भनेर गए । पछि नारायणलाई झन् झन् च्याप्यो । उनी शारिरीक रुपमा यो संसारबाट हराए । यो कुरा पनि हराएर गयो ।

***
२०२७ सालमा धूपी भन्ने साहित्यीक पत्रीका आउथ्यो । त्यसमा मैले लेखेको आर्टिकलमै उनलाई धेरै पटक स्वर सम्राट नामले बोलाएको छु । तर कोही व्यक्ती संस्था वा सरकारले स्वर सम्राट पदवी उनलाई भिराएको म मान्दिन् । उनलाई स्वर सम्राट बनाउने नेपाली जनता हुन् संगीतका पारखीहरु जसले उनलाई सधैं माया गरे ।

उनको अन्त्यष्टीमा त्यस्तो हुलका हुल मान्छे विपि कोइरालाको सव यात्रा बाहेक कहिल्यै देखिएको थिइन । मान्छेको भिड थेगिसक्नु थिएन् । घर घरका छतमा झ्याल र कौशीमा मान्छे झुण्डीएका थिए । उनी जस्तो गायक न कहिल्यै जन्मेको छ न जन्मने छ ।

(भवसागर घिमिरेसँग नगेन्द्र थापाको कुराकानीमा आधारित-2066, Nagarik Daily)

Comments