Skip to main content

रातेको माया

"कुखुरी काँ" लौ आइतराज बाजेको घरमा राते बास्यो । उसले चार पाँच पटक चिच्चयाउँदा पनि बाजे बज्यैका आँखा खुलेनन् । उनीहरु त हिजो साँझै मज्जैले तोङ्बा खाएर सुतेका थिए । आइतराज बाजेलाई बिहान बिहानै बासेर निन्द्रा खल्बलाइदिने रातेको बानी कत्ति मन पर्दैन्थ्यो । बाजे बज्यै निन्द्रामा भएपनि रातेको निन्द्रा भने हटिसकेको थियो । रातेको ज्यान ठूलो । खोर सानो । उ सधैं बिहान आत्तिदै यसरी नै कराउने गथ्र्यो । सधैं झै आज पनि उसको खोरको छेस्कनी खोल्न सबिना दौडदै आइपुगी । "यसलाई कति चाँडै उज्यालो हुन्छ भने," उ कराउँदै रातेलाई खोर बाहिर निकाली "एकछिन सुत्न पनि दिन्न ।"



सबिना रिसाएको पत्तो पाएको रातेले गल्ति गरेझै टाउको निहुरायो । "भैगो काम थियो उठाइदियौं राम्रै भो" सबिना हाँसेर बोलेपछि भने राते बुरुक्क उप्रुेर घरको भर् याङमा पुग्यो । ज्यान तिनिक्क तन्काउँदै कुर्लन थाल्यो "कुखुरी काँ" । सबिना हाँस्दै पँधेरा तिर दकुरी । राते पनि उनैको पछि लाग्यो ।

***
सबिना ११ वर्षकी भइन् । उनको घर पूर्व पाँचथरको दुर्गम गाउँमा पर्छ । एकाबिहानै बाघमारा डाँडामाथि घाम उक्लेपछि मात्र उनको गाउँ उज्यालो हुँदै आउछ । सबिनालाई सानै देखि गाडी चढ्ने ठूलो रहर थियो । एक वर्ष अघि । जीप चढ्ने भनी उनले बाआमासँग धेरै नै जिद्धि गरी । छोरीको इच्छा पुर् याउन सबिनाका बा आमाले उनलाई घुमाउन इलाम बजार लाने भए । पहिलो पल्ट जीप चढ्न पाएकोमा उनी दंग थिइन् ।

गाउँको भिरालो र कच्ची बाटो । त्यसैमाथि बर्खाको बेला । जीपले जति तलमाथि उफारे पनि उनलाई कुनै हैरानी थिएन । उनी त आफू भन्दा पछि पछि दौडेझै गर्ने वरपरका रुखहरु हेर्दै मख्ख थिइन् । जीप भित्र र छतभरी टनाटन मान्छे थिए । एक्कसी जीप चिप्लेर मल्लातेभिर बाट तल खस्दा ८ जना त्यहीँ मरे । न उनका बा रहे न आमा । सबिनाको भाँच्चीएको हात भर्खरै हो निको भएको । बा आमा टोकुवा भनेर उनलाई आफन्तले माया मारे । बाउबाजेको सम्पत्ती पनि हडपदिए पछि उनले आफ्नो गाउँ भन्दा दुई दिन पर हिडेर आइतराज बाजेको घर छेउ आइपुगिन् । नचिनेकै भएपनि यी बाजेबज्यैले उनलाईसँगै राखे । सबिनाको खेल्ने साथी भनेको आइतराज बाजेको घरमा बाँकी रहेको त्यही एउटा रातो भाले हो । सबिनाले ुरातेु भनेर बोलाए पछि उ खुरुरुरु पछि लाउँछ ।
***

"ओइ राते यता न आइजाु सबिनाले भने पछि राते टक्क अडियो । उनले पँधेरामा गाग्री थापीन् । पानी भरेको गाग्री डोकोमा बोकेर उनी फेरि उकालो लागिन् । उनलाई आज धेरै काम भ्याउनु छ । बारीमा गहुँ छर्ने बेला भएको छ । मल बोकेन भने उनलाई खान पुग्दैन । सबिनाको झै आइतराज बाजे र देवीसरा बज्यैका पनि आफ्ना भन्ने कोहि छैनन् । छन् नी कसरी भन्नु १८ वर्ष अघि विदेश गएका छोरा तीर्थमानले उतै घरजम गरे । आमा बाको चटक्कै माया मारे । अब त बाजे बज्यैका सम्झनामा पनि आउन छाडे तीर्थमान ।
बाजे बज्यैका कमाइ पनि छैन् । आइतराज बाजे दिनभर घरमा चोया काढेर बस्छन् । बज्यै आँखा देख्दिनन् । पिढीँमै बसेर दिन काट्छिन् । सबिनाले जुटाएर पकाएपछि मात्र बाजे बज्यैलाई खान पुग्छ । उनीहरु सबिनालाई निक्कै माया गर्छन् । तर घरको रातो भाले देखेर भने आइतराजलाई कत्ति चित्त पर्दैन् । ुकुन दिन बेच्दिन्छु यसलाई लौरो देखाउँदै बाजे भालेसँग रिस पोख्छन् । बाजेको हातको लौंरो देखेपछि राते पनि पाँच हात पर बस्छ । सबिना भने बाजेलाई यस्तो नभन्नु भन्दै सम्झाउँछिन् । सबिनाकै कारणले बाजेले भाले बेच्न सकेका छैनन् । नत्र गाउँका हेडमास्टर डम्मर सरले रातेमाथि उहिल्यै आँखा लाइसकेका थिए । यो कुराको पत्तो रातेले मात्र हैन सबिनाले पनि पाइसकेकी थिइन् ।

***
रातेको पनि आफ्नै कथा छ । आफ्नी मायालु कुखुरीलाई स्यालले लगेपछि उ साँच्चै नै एक्लो भएको थियो । सबिना साथी पाएपछि भने उसको हिम्मत बढेको छ । रातेलाई सबिनाको धेरै चिन्ता लाग्छ । सबिना स्कुल नगएको ५ दिन भैसक्यो । स्कुलको परिक्षा शुल्क तिरेन भनेर डम्मरले सबिनालाई स्कुल आउन रोकेका छन् । बाजेलाई मात्र हैन यो कुरो रातेलाई पनि चित्त बुझेको छैन । सबिना दुखी छिन् । उनी बाजे बज्यैले नदेख्ने गरेर कसा्रपट्टी गएर रुन्छिन् पनि । सबिनाले आँशु लुकाउन खोजे पनि रातेले सबै कुरा देखेको छ । आफूले केही गर्न नसकेकोमा राते आँगनमा छट्टपटिदै यता उता गर्छ । "भाले मलाई बेच । त्यही पैसाले सबिनाको परिक्षा शुल्क तिरौंला" बाजेलाई डम्मर सरले एकदिन खुसुक्क यस्तै कुरा भने । रातेले डोको पछाडी बसेर यो कुरा सुनेको थियो ।
त्यही साँझ घरमा राते हरायो । सबिनाले खाना खाइन । डम्मरले कुरा गर्दा रातेले सुन्यो होला अनि बेच्छन भनेर भाग्यो भन्ने बाजेले अड्कल काटे । "रातेले मलाई यसरी छाडेर जाँदै जान्नु सबिनाले बाजेसँग जिद्धी गरिन् । बाजेले पनि सबिनालाई चिन्ता नगर्न भनि । सबिना साँच्चै नै निदाउन सकिन् त्यो रात ।

***
"कोहो" रातमा कसैले ढोका ढकढकाएको सुनेपछि डम्मर सर ढोका खोल्न आए । रातेले आफ्नो दाँतको चुच्चोले पो ढोका ढक्ढकाएको रहेछ । "ए भनेपछि आज मेरै आहार बन्न आइस क्या हैन" डम्मर सरले भनेपछि रातेले मुन्टो हल्लायो । आफूलाई काटेर खानु भनेर राते आफै आउँदा डम्मर दंग परे । रातेले आँशु झार्दै भन्यो "सबिनाको परिक्षा शुल्क तपाइले तिर्दिनुस् मलाई काटेर खानुस् ।" रातेले यसो भन्दा डम्मर सर अलमलमा परे । "मेरी कुखुरी मरेको धेरै भयो म उनैसँग जान्छु" रातेले पँखेटाले आँशु पुच्छ्दै भन्यो । यो सुनेर डम्मरको मन पनि भक्कानिएर आयो । उनले त्यसै रात रातेलाई बोकेर आइतराजको घर तिर लागे । उनीहरुले बाटोमा आइतराज र सबिनालाई भेटे । रातेलाई खोज्दै लाइट बाल्दै सबिना र आइतराज आएका रहेछन् । "आमा बाले त छाडेर गए तैले पनि छाडेर जान्छस्" राते लाई च्याप्प अंगाल्दै सबिना भक्कानिइन् । राते पनि धेरै रोयो । सबै कुरा डम्मरसरबाट थाहा पाएर आइतराज र सबिनालाई रातेको झन माया लागेर आयो ।
डम्मर सरले सबिनाको पारिवारीक अवस्था उनका बाबा आमाको मृत्यु बारेमा बल्ल पत्तो पाए । आफूले गरेको काम प्रति दुखी माने । सबिनाले अब विद्यालयमा पूर्ण छात्रवृत्ती पाइन् । सबै शुल्क विद्यालयले नै तिर्ने भयो । "कुखुरी काँ" सबिनाले पढ्न पाएपछि राते पनि निक्कै खुसी हुँदै हरेक बिहान भर् याङ उक्लेर बास्न थाल्यो । उसले अब आइतराजको पनि माया पाउन थाल्यो । आचकल त सबिना झोला बोकेर स्कुल जाने बेलामा राते पनि दाँतको चुच्चोले कलम बोकेर पछि पछि दकुर्न थालेको छ ।

(भवसागर घिमिरे-2067,Junkiri)

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...