रुविनको सारंगी घन्के पछी

गोर्खा जिल्ला । सदरमुकामबाट एक दिन हिड्नु पर्ने गाउँ । आँपपिपल लिगलिगकोटको गन्धर्व वस्ती । त्यही बस्तीको एक फुच्चे केटो । रुवीन गन्धर्व । उमेरले पाँच वर्ष टेक्दा उ वल्लो टोल र पल्लो टोल दौडने भैसकेको थियो । बाले गाउँघरमा सारङी बजाउँदै हिड्दा उ पनि उनैसँगै ढेपिएर गीत गुन्गुनाउँथ्यो ।



काठको गुरगुरे । धूलो उडाउँदै दौडने उसलाई त्यही नै संसारको सबैभन्दा ठूलो गाडी हो भन्ने लाग्थ्यो । उसले सोचेको पनि थिएन गुरगुरे भन्दा भयंकर ठूला गाडीहरु पनि हुन्छन् जसका पाङ्ग्रा खैनीका बट्टाले हैन मोटामोटा रबरका ढड्डा बेरिएर बनेका हुन्छन् ।

बाबा आमाको कान्छो छोरो । "बा चुतुरबहादुर र आमा गोमा," कस्को छोरो होस भनेर कसैले सोधेमा फ्याट्ट यसै भन्दै खितित्त हाँस्ने उसको बानी थियो । पातलो बस्ती । मोटर नकुद्ने गाउँ । उसले सोचेको पनि थिएन एक दिन उ त्यहाँबाट घरहरुको जंगलमा पस्नेछ । लाखौं पाङग्राहरुका बीच उ पनि कुद्ने छ । उसका सारङीका आवाजसँगै गणतन्त्रका नारा चर्कने छ । अनि उसका ओठमाथि जुँगाको रेखी कोरिने बेला देशमा नयाँ संविधानको रेखा कोरिदैहुनेछ ।



***
सात वर्षको उमेर । रुविन बासँगै काठमाडौं झरे । "पहिला त घुम्ने भनेर आएको थिएँ", १७ वर्षे उनले भने, "ठूला गाडी अग्ला घर देखेर यतै रमाउन थालेँ । "उनका बाबा पनि सारङी बजाउँदै गीत गाउँदै डुल्न थाले । कहिले रत्नपार्क त कहिले लगनखेल । स्वयम्भु बस्दै आएका उनी पनि बाबासँगै डुले । काठमाडौंका गल्ली पानी पधेँरो हुन थाल्यो । "बाबाको ठेगान नहुने त्यसैले म काली दिदीकाँ बस्न थालेँ", उनले भने । फुपुकी छोरी काली दिदीका बसेर उनले भिनाजुसँग पाँच सय ऋण लिए । सारङी किने र बजाउन थाले ।



एकै घण्टा बचाइदेउ बाबालाई तीनलाख दिन्छु डाक्टर तपाइँलाई

बिरेन्द्र राजा मर्ने बेलामा उनका छोराहरुले डाक्टरलाई गरेको अनुरोधका यस्ता गीत बुन्थे उनी । लाहुरेको व्यथा छोरी मारेको कथा पनि सारङ्गीको धुनमा सुनाउँथे । उनी कहिले सार्वजनीक यातायातमा हुन्थे त कहिले सभा समारोहमा । "जहाँ गाएपनि मान्छेहरुले धेरै माया गर्थे", उनले सम्झे, "सानेपाका धेरै घरमा मेरो गीत र स्वरको निक्कै प्रसंसा गर्थे मान्छेहरु ।" ललितपुरको सानेपामै बस्ने गायिका लिलु गुरुङले आफूलाई दुःख पर्दा गरेको माया उनी कहिल्यै भुल्न सक्दैनन् । "मलाई केही आपद पर्यो की लिलु दिदी भन्दै पुग्छु म", उनले भने "दिदीले पनि सकेको ख्याल गर्नु हुन्छ ।
डुल्दै घुम्दै हिड्दा । एक दिन उनमा के सोच आयो कुन्नी । अर्कालाई बोझ बनेर बस्न हुँदैन भने साथीहरुले । उनले कालीदिदीको घर छाडे । दिनभर गायो होटलमा खायो अनि बालाजु बस पार्कमा सुत्न थाले । "केही दिन त बसमुनी बाक्सा ओच्छ्याएर पनि सुतेँ," उनले सम्झे, "पछि दिदीले खोज्दै आउनु भो र फेरि लैजानु भो ।"
कालीदिदीले नै उनलाई नुहाइदिने । साफ सुग्घर बन्न लगाउने जस्ता काममा सघाइन । "उनी नै मेरी वास्तवमा आफन्त थिइन", उनले भने ।

***
२०५८ साल जेठको महिना । दरबार हत्याकाण्डले देश शोकाकुल थियो । तर यसले भने उनमा नयाँ उर्जा थप्यो । मंगल प्रसाद गन्धर्वले लेखेका र बेगम गन्धर्वले गाएको हत्याकाण्ड सम्बन्धी एल्बम बजारमा आयो । तर त्यसलाई प्रत्यक्ष गाउँदै हिड्ने काम भने रुविनले गरे । यसले नै उनलाई बिस्तारै चर्चामा ल्याउन थाल्यो ।
"जहाँ मान्छेको हुल हुन्थ्यो म त्यहाँ सारङी बजाइहाल्थेँ", उनले भने । हत्याकाण्डको कथा सुन्दा धेरैका आँखा रसाउँथे । "उनी राजाका आफन्तका घर पुग्थे अनि सारङी चर्को आवाज निकाल्दै रेट्थे । उही हत्याकाण्डको कथा सुरु गर्थे । उनको स्वरसुनेपछि राजाका आफन्तहरु उनलाई भित्रै डाक्थे । गीत सुन्थे र रुन्थे पनि । गणतन्त्रका पक्षमा उभिनका लागि उनले यसरी मान्छे मात्र बटुल्दैनथे पेट पाल्नका लागि पैसा पनि बटुल्थे ।
"नारायण पोखरेलले पनि मलाई स्टेज उपलब्ध गराएर धेरै गुन लगाउनु भाछ," उनले भने । दरबार हत्याकाण्डसँगै राजतन्त्रको बिरोधी आन्दोलनले बिस्तारै गति लिन थाल्यो । उनी पनि यसैमा होमिए । जहाँ कार्यक्रम हुन्थ्यो मान्छे बटुलिन्थे उनी गीत सुरु गरिहाल्थे । नेपाल ल क्याम्पसमा भएको प्रतिगमन बिरोधी आन्दोनमा उनले पनि गाउने मौंका पाए । गोपाल शिवाकोटी गगन थापा रामकुमारी झांक्री चन्द्र शाही आदिले उनलाई झन हौंसला दिन थाले ।

"दाजु मार्यो भाउजुनी मार्यो फोकटमा राजगद्दी हात पार्यो"

त्यसबेला उनका यस्तै स्वरहरु निक्कै चर्चामा आए । अब त राजनीतिक पार्टीको जिल्ला जिल्लाको कार्यक्रममा मात्र नभएर नागरिक समाजका कार्यक्रममा पनि उनले सारङी बजाउन थाले ।

प्रति गमनले आन्दोलन चर्कायो शाहि कदमले

रत्नपार्कमा उनले यस्तो गीत गाउँदा प्रहरी आएर सारङी फुटाल्दियो । तर उनको प्रतिगमन बिरोधी यात्रा भने टुंगिएन । पत्रपत्रिकामा "रुविनको सारङी फुटाइयो" भन्ने समाचार आएपछि उनले झन चर्चा पाए । "सारङी किन्नका लागि जनताबाट पैसा उठ्न सुरु भोु उनले भने "अर्को सारङी किने र फेरि रेट्न थालेँ ।"
एक दिन त पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले आफ्नै निवासमा बोलाएर हत्याकाण्ड सम्बन्धी गीत सुने । रोए पनि । "मलाई त्यसपछि खर्चपर्च के छ भनेर उहाँले सोध्न थाल्नु भो", उनले भने ।
१२ बुँद्धे सम्झौंता पछि । बुटवलमा भएको एमालेको आमसभामा गाउन पुगेका रुविनलाई गीत नगाउनका लागि फोनबाट धम्की आयो । ुम बसेको होटलमा फोन गरेर धम्क्याएु उनले भने "मैले भने गाएरै छाडेँ ।"

***


२०६२ सालमा । दोस्रो जनआन्दोलन सुरु हुनु केही अघि । आफूलाई िसंहदरबार भित्र लगेर एक कर्नेलले निधारमा बन्दुक तेसा्रएरै मार्ने धम्की दिएको उनी सम्झन्छन् । ुडर भन्दा पनि गणतन्त्रको जोश थियो," उनले भने, "मैले कहिल्यै गाउन छाड्ने बारे सोच्नै सकिन् ।"

सुन दाजु भाइ गरिबको छालामा शोशकको दाइ
पख्लास् तँलाइ सामान्ती बज्जिया अब तेरो नउडाइ धज्जिया

उनी झन् यस्तै क्रान्तिकारी गीत गाउन थाले । राजतन्त्रको मिचाहा प्रवृती । राजनीतिक दलको उर्लदो उत्साह । आखिर जनआन्दोलन सुरु भो । उनी गोंगबु सामाखुसी बालाजु महाराजगाजमा भेटिन्थे प्राय । सारङी बोक्न छाड्दैन्थे । गीत गाउन छाड्दैन्थे । उनी जहाँ हुन्थे मान्छेको ठेलमका ठेल हुन्थ्यो । उनको उमेरले वैष पक्रदा लोकतन्त्र पनि कसिलो हुँदै थियो ।
उनलाई अझै याद छ । १९ दिने जनआन्दोलनको एक दिन गीत गाउँदा । प्रहरीले कसैलाई पक्राउ नगरेर उनको सारङी मात्र लिएर गएको थियो । सारङी लगे पनि उनको स्वर जोशलाई लिएर जान सकेनन् उनीहरुले । अर्को सारङी किनेर बजाउन थाले । आन्दोलन सफल भयो । देश गण्तन्त्रको बाटोमा लाग्यो । उनी कुन बाटो लाग्ने अन्योलमा परे ।

***

"गरिबीबाट उठ्ने र राम्रो मान्छे बन्ने सपना थियो मेरो", उनले भने, "सामान्ती राजतन्त्रबाट फालेर देशको सपना पुरा गर्नुपर्ने बेला आफ्नो सपनालाई थाती राखेँ मैले ।"
जनआन्दोलन पछिको सरकारले उनलाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गर् यो । आन्दोलनको सफलता पछि उनको जीवनले पनि नयाँ मोड लियो । नेपाल संगीत बिद्यालयमा पढ्न थाले उनी । अरुले झै सामान्य विद्यालयका पाठ्याक्रम पनि पढ्दै गए ।
"भर्खरै एसएलसी दिएँ," उनी हाँसे । तर उनलाई आफूले दिएको परिक्षाको रिजल्टको उतिसारे चिन्ता छैन उनलाई । "देशले दिएको परिक्षाको रिजल्टमा शान्ती र नयाँ संविधान आवोस् म खुस हुन्छु" उनले कुराकानी छोट्टाए ।

(भवसागर घिमिरे,Nagarik National Daily,066)

Comments