Skip to main content

साइकल कुद्यो मोबाइल बिग्रीयो

भवसागर घिमिरे
‘तिमी हामीले चलाउने भनेको यै सानो भाँडो त होनी अरु काँ किन्न सकिन्छ र,'‘मोबाइल किन्नु भएछ है दाई’ मैले सोधेको यो प्रश्नमा उनको उत्तर थियो त्यो । नोकिया-३३१० को ढम्पाङ मोबाइल सेट देखाउँदै उनले दिएको त्यो उत्तर मेरो लागि ठूलो व्यङ्ग्य थियो । २०५६ साल । पोखरा बजार । थोरै हुनेखानेका हातमा मात्र मोबाइल थिए ।
त्यस बेला क्यालकुलेटर त के हातमा आलु घडि किन्न पनि हम्मे हम्मे पथ्र्यो मलाई । त्यस्तो बेला’तिमी हाम्ले किन्न सक्ने…’ भन्दै उनले गरेको कुरा मेरो मनमा धेरै दिनसम्म गढेँ ।


साँच्चै भन्नु पर्दा त्यस भन्दा अगिका दिनमा मोबाइल भन्ने जन्तु मेरो सपना भन्दा धेरै परको कुरा थियो । तर अब भने बिस्तारै इखकै रुपमा भएपनि मेरो मनमा एउटा सपना पलायो ‘हातमा आफैले किनेको मोबाइल खेलाउने ।’
यस्तै मोबाइल सेट लिएर हिड्ने मेरा चिनेजानेका अर्का साथी थिए । २०५८ तिरको कुरा टुरिजम व्यवसायमा लागेका उनको त्यो मोबाइल चलाउने एकादुई अवसर पाए पनि ‘कसरी चलाउने’ भन्ने थाहा नपाएपछि मैले धेरै नै अफ्ठ्यारो महसुस गरेँ । साँच्चै भन्नु पर्दा मन खोलेर मोबाइल चलाउन सिक्न पनि पाएको थिइन मैले । लाग्थ्यो कुनै मोबाइल एक दिनैको लागि पाएँ भने त्योसँग भुलेर दिनै बिताइदिन्छु ।


२०६२ सालको कुरा । स्नातकोत्तर पढ्न पोखराबाट काठमाडौं पसियो । कीर्तिपुरको विद्यार्थी जिवन । घर र सँगका साथीहरुबाट टाढा हुनु परेको बेला । साँच्चैनै मलाई मोबाइलको निक्कै खाँचो थियो । पढ्न भनेर ऋण काढेर राजधानी भित्रिएको मान्छे मोबाइलको किन्नको लागि पैसा जुटाउनु फलामका चिउरा चपाउनु सरह थियो । मैले नसही मेरा रुम पार्टनरले भने विदेशबाट आएका आफन्तबाट एउटा मोबाइल फुत्काइ हाले नोकिया-३३१० । कमिजको खल्तिमा हाले भुक्क देखिने । पाइन्टको खल्तिमा हाले पुट्ट देखिने । अब भने खाना पकाएर हुन्छ की कोठा सफा पारेर फकाएर हुन्छ साथीको मोबाइल खुब चलाउन थालियो ।

कहिले काहीँ त उसले दिनै मान्दैन्थ्यो । त्यही विषयमा झगडा पनि हुन्थे । उसलाई देखाउनै भएपनि मैले मोबाइल नकिनी भएन । विद्यार्थी जिवन । हरेक महिना अधिकतम ३ हजारले पुर् याउनु पर्ने । तैपनि ३४ महिना गरि त्यसबाट जोगाएको २६ सय रुपैयाँले मेरो हातमा एउटा थर्ड हो वा फोर्त ह्यान्ड हो सेट पर् यो । रातो रंगको त्यो सेटको आवाज सुन्ने कुरा बाहेक सबै ठिक थियो । साह्रै सानो सुनिने । अर्को समस्या स्विचअफ गरे पनि कताबाट अन हुँदो रैछ कुन्नि कलेजको कक्षामै बजेर हैरान । एक वर्ष पनि नहुँदै त्यो सेटको अब आवाज मात्र हैन किप्याडले पनि काम नगर्ने भो ।

निराश र बेखर्चि भएको मलाई मोबाइल चलाउने अर्को अवसर मिल्यो । किनेर एकै वर्ष चलाएको मेरो घरको साइलकसँग मैले एउटा मोबाइल सेट साटेँ नोकिया १११० । एक जना घर नजिकैका सिकर्मी दाईले मलाई उनको मोबाइल छाडेर मेरो साइकल लिएर हिडेँ ।

कीर्तिपुरको बसाइका बेला । यो मोबाइलले मेरो नजिकको साथी बन्यो । घर तिर साथीभाइसँग सामिप्यता गाँस्नका लागि यसले कहिल्यै मलाई धोका दिएन् । बरु बेलैमा रिचार्ज गर्नुस भनेर हैरान भने गथ्र्यो । रातारात पुस्तक रट्टान गर्दा होस् या साथीभाइलाई कीर्तिपुरका चोकमा बोलाउँदा नै किन नहोस् । यो मोबाइलबाट कल भन्दा मिसकल धेरै गरियो । एसएमएसबाट ठट्टामात्र भएनन् टेलिकमबाट पि्रु पाएको भ्वाइस मेल सर्भिसमा कविता गीत ठट्टा लोड गरेर खुब धेरै साथीहरुलाई पठाइयो र मज्जा लिइयो ।

नयाँ बानेश्वर बसाइका बखत । दुई वर्ष अघि त्यसले काम गर्न छाडेपछि मैले नयाँ मोबाइल सेट चलाउन थालेँ 'नोकिया २७०० क्लासिक ।'

साइकलसँग साटेको नोकिया १११० को मोबाइल सेट त बिग्रीएर गयो । तर अझै पनि घर जाँदा मेरो त्यो प्यारो साइकल रोडमा कुदिरहेको देख्दा मन कटक्क खान्छ ।
Published in
http://bbcnepalidrama.com/mobile-story/

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ