Sunday, April 5, 2009

भरियाले भने संविधानले ´नहुने जनतालाई उकास्नु परो´


दैनिकी बहस


भवसागर घिमिरे

म अहिले काठमाडौँको, न्युरोड चोकमा छु। टाउकामाथिको घामले बिहान ११ बजेको संकेत गर्दै मेरो तालु सुकाइरहेको छ। अघिल्तिरको सडकमा साइलेन्सर माथि उठेका ´मोडर्न भटभटे´, ट्याक्सी, टेम्पो र अन्य गुडगुडे गन्तव्यतिर जान हतारोमा देखिन्छन्। फुटपाथमा जुत्ता बजार्नेहरू पैदलमात्र हैन ओठ पनि चलाउँदै कुदेका छन्।

नकुदेको आकृति त्यही सडकबीच ठिङ्ग उभिएको जुद्धशमसेरको सालिक हो। त्यसको पनि बायाँबाट एकजना स्याँ–स्याँ गर्दै मैतिर लम्किदैछन्। न्युरोडको कोलाहललाई चिर्दै उनीसँगै म पनि हिँड्न थाले। विशाल बजारभन्दा केहीअघि पुगेपछि उनी दायाँतर्फको मखन गल्ली मोडिँदा मेरो मुखबाट वाक्य फुत्कियो, ´दाइ कहाँ पुग्ने?´

´यहीँ पल्तिर,´ उनको सास छिट्छिटो चल्दै थियो।

मेरो उत्सुकतामा त्यत्ति चाख नदिएका उनलाई केही अगाडिको नौमुग गल्लीमा पनि मैले पछ्याउन छाडिन। साँघुरो गल्लीका दुई भित्तामा उनको पिठ्युँका भारीले कोतरेर धर्को बनाउँदैछ। बल्लबल्ल केही पाइला चालेपछि उनका फुटेका कुर्कुच्चा साततले भवनको भर्‍याङमा बिच्छ्याइएका मार्बलमाथि परे। छिर्ने ढोकैमा ६२/९ ´ख´ लेखेको प्लेट टाँसिएको त्यो घर उनका लागि नौलो थिएन। ´फ्वाँ–फ्वाँ´ सास निकाल्दै ठूलो भारीको बोझमा कुप्रिएको त्यो ४६ वर्षे चाम्रो शरिरले दोस्रो तल्ला पुगेपछिमात्र सोझिने मौका पायो।

´के काम पर्‍यो होला?´


दोलखा, लामीडाँडाका यी विष्णु बुढाथोकीले मलाई नै पो सोध्या´ रै´छन्। मैले त्यसै डुलेको बताएपछि उनले त्यहाँको अर्को भारी बोकेर वटु टोलको सुमित इम्पेक्समा बुझाए। नाम्लो हातमा बटारे, शिरको टोपीले निधारको पसिना पुछे अनि साहुको हातबाट ज्याला पनि थापे, २० रुपैयाँ। पुनः ५ मिनेटको पैदलपछि पुगे प्रायः उनी टहलिने ठाउँ, महाबौद्धको ´खासा कम्प्लेक्स´। उनका हरेका क्रियाकलाप चिहाउँदै उनलाई पछ्याएको मैले बल्ल खाँट्टी कुरो उप्काउने मौका पाएँ, ´दाइ, अब नयाँ संविधान बन्दै छ, तपाईलाई यसबारे कत्तिको थाहा छ?´

´रेडियाँ उहिल्यै सुन्याझैँ लाग्छ´, उनले मुन्टो झुकाउँदै भने, ´अचल के हुँदैछ पत्तो छैन।´

***

स्वाभाविक थियो, उनी देशको राजनीतिप्रति बेखबर हुनु। भारी बोक्न ११ वर्ष भारतको गान्टोक, २ वर्ष दार्जिलिङको डाँडो र पाँच वर्ष काठमाडौँका गल्ली नाप्दैमा उनलाई फुर्सद भएन। सत्र वर्षसम्म उनले एक हैन, दुई भारी बोक्दै बिताए, साहुको भारी र मनको भारी। दोलखा बसेका जहानको मुखमा चारा जुराउन नसकेको दिन उनको मनमा पर्नसम्मको गाँठो पर्थ्यो। त्यो गाँठो यो सत्र वर्षसम्म पनि फुकाउन नसक्ने सरकारलाई उनको एउटै प्रश्न थियो, ´गरिब र धनीको रोटी कहिले एउटै हुने?´

पछिल्लो जनआन्दोलनमा उनी नाम्लाले खाली पेट बाँधेरै भए पनि जुलुसमा निस्के। बन्दले गर्दा, काम नहुँदा कति दिन त पानीमात्रै खाएर सास धाने। संविधानसभा चुनावमा ´रिनै´ गरेर खर्च निकाली दोलखा पुगेर भोट पनि खसाल्न भ्याएछन्।

´अब त उभोँ लाइएला भन्यो फेरि उस्तै´ पसिनाले भिजेको घाँटी मिच्दै उनले भने, ´गरिब मरेका मर्‍यै, धनी चढ्या चढ्यै, देशमा धरमरमात्र देख्छु।´

दुखी जनताको पेटमा एक मुठी अन्न पुर्‍याउन नसक्ने सरकारको मात्र हैन देशकै आयु उनले छोटो देखेका छन्। अहिलेका कानुनमा अविश्वास गर्ने उनको भोको पेटलाई यो संवाददाताको एउटै प्रश्न थियो, ´नयाँ बन्ने कानुन (संविधान) मा के होस् भन्ने चाहनुहुन्छ?´

´सराबरी होस्,´ उनले हातको नाम्लो भुईंमा बिसाउँदै भने, ´ सन्तानले भारी बोक्नु नपरोस्।´

शिरको नाम्लो फाल्न पढ्न पर्दोरहेछ भन्ने उनलाई पनि थाहा छ। उबेलाँ हुनेखानेले मात्र पढ्न पाउने ´किलास´मा उनले कहिल्यै पाइलो टेक्न पाएनन्। किताब नपढरै के भो? यो समाज राम्ररी पढेका छन् उनले। राष्ट्रपति होस् या प्रधानमन्त्री, नयाँ संविधानमा जो शक्तिशाली भए पनि उनलाई फरक पर्दैन।

´सर्खारले हुने र नहुने जनता चिन्नु परो। नहुनेलाई उकास्नु परो´, बुढाथोकीले तन्नेरी जोस निकाल्दै थपे, ´राष्ट्रपति होस् या प्रधानमन्त्री, जो ठूला भए नि हाम्लाई के न के?´

पुरानादेखि नयाँ सरकारी रवैया बुढाथोकीलाई झैँ उनकै जिल्लाका फणिन्द्रप्रसाद शिवकोटीलाई पनि मन परेको छैन। उनी गरिबलाई खाना पुर्‍याउने, सँगै न्याय पनि दिने कानुनका पक्षमा छन्। द्वन्द्वकालमा नौ कक्षा पढ्दै गरेका उनका छोरालाई माओवादीले उठाएर लग्यो। दुई महिनापछि छोरा फर्काएर ल्याएको निहुँमा माओवादी कार्यकर्ताले उनलाई मात्र चुटेन, उनकी जहानलाई पनि चुटेर थला पार्‍यो। ´बिहे गर्‍या २६ वर्षसम्म मैले चर्को मुखसम्म नगरेकी मेरी जहानलाई दाउरै दाउराले चुटे´, शिवाकोटीका आँखामा रिस चुलिएको थियो, ´कसैको गुहार पाइन मैले, गरिबलाई न्याय हुँदोरहेनछ हजुर।´

अन्याय एकातिर छ, भोकको कुरो अर्कातिर। गाउँमा खेती राम्रो हुँदैन। छ महिनाका लागि अन्न जोड्न वर्षैभरि भारी बोक्नुपर्छ उनले। ´अब त पेन्सन नि हुन लाग्यो´ भारी बोकेरै दुई दशक काटेका उनले ठट्यौलो पारामा भने, ´अब कति नै नाम्लो बोक्न सकिएला र खै? धेरै भए ३/४ वर्ष, अनि त सधैँको लागि पेन्सन।´

´भरियाको पेन्सन´ का नाममा उनले ´बूढेसकालको टेन्सन´ का कुरा गरेको प्रष्टै बुझिन्थ्यो। थाप्लामा भारी बोकेर १८ वर्ष गान्टोक, दुई वर्ष दार्जिलिङका सडक घुमेको उनको शरीर निक्कै खस्रो भइसकेको छ। मनमा अल्झेको सबैभन्दा ठूलो पिर ´माओवादीको घटनापछि गाउँ राखेर छोरा पढाउन नसक्नु´ नै थियो उनको।

´सरकारले गरिबका सन्तान पढाइदिनु परो। जुनसुकै पाटीमा लागे पनि एउटै व्यवहार हुनु परो। गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कार दिने कानुन आउनु परो´ उनले मनको कुरो एकै सासमा भने।

***

´शिरको भारी भन्दा मनको भारी गह्रौँ हुँदोरहेछ´ कुराकानीमा धेरैको यस्तै बह पोखिन्थ्यो। सबै भरियाको दुःख एउटै। धेरै भारी उचालिन्थे र बिसाइन्थे पनि। तर जहान केटाकेटीसँगै आफ्नो ज्यान पाल्ने जिम्मेवारीको भारी उनीहरूले कहिल्यै बिसाउन पाएनन्।

´मर्नभन्दा बाँच्न औधी गाह्रो हुँदो रै´छ सर´ लगभग तीन दशक साहुको भारी बोकेर बिताएका रालुका गाविस, त्रिशुलीका गोपी केसीको पनि पीडा उही थियो, ´हाम्ले भारी छोड्न खोजे पनि भारीले हाम्लाई छोड्दो रहेनछ।´

न्युरोडबाट भित्री गल्ली छिरेर उनी भोसिको टोलस्थित एक आलिसान घरको सिँढीमा आएपछि मात्र टक्क अडिए। ´यो क्यान्भर्स जुत्ता साहै्र गह्रौँ हुँदोरहेछ´, पिठ्युँमा उकासिएको ´चन्द्रागिरी´ बिसाउँदै उनी सुस्ताए, ´सक्दिन भनेको पनि दुवै भारी लैजाऊ भने, के गर्नु?´

उनको ६ दशक उमेरले कपालमा सेतो मेहन्दी पोतेर गएको छ। उनी हिँड्ने सडक जस्तै उनका मुहारमा सयौँ रेसा बसेका छन्। ´गाउँमा नुनतेल कुरेर बस्ने जहान´ उनको हरेक क्षण सम्झनामा आउँछिन्।

´नयाँ नेपाल कस्तो भैदिए हुन्थ्यो होला बुवा?´ संवाददाताको जागिरे प्रश्नमा केसीले आफ्नो भोगाइ पस्कन थाले, ´खाना नपाउनेले खान पाए, पढ्न नपाउनेले पढ्न पाए। अन्याइमा परेकालाई सितल छाया भइदिए हुन्थ्यो!´

´रिसाहा साउ नकोट्याउनु, गरिबका घाउ नकोट्याउनु´ भन्छन्। तैपनि मेरो मुखबाट फुत्किहाल्यो, ´प्रधानमन्त्री को छ, थाहा छ?´ मेरो प्रश्नमा उनको उत्तर थियो, ´त्यो के भन्छ, महरा हो क्यारे?´

´भेटे के भन्नुहुन्छ?´

´उही केही सेवा मिले हुन्थ्यो भन्थेँ होला, पढिएन बाँकी के भन्न सकिएला र खै´, उनले केहीबेर सोचेर बोले, ´देशलाई राम्रो होस्।´ उनलाई भारी उठाउनको हतारो थियो।

सबैका आ–आफ्नै कथा। सोमबहादुर राईका दुःख पनि उत्तिकै थिए। भर्खर पसिनाले नुहाएका राई ठहिटीको कपडा पसलअगिल्तिर थकाइ मार्दै थिए। पाकेको सागभैँ फतक्कै गलेका उनलाई संविधानबारे मैले तत्काल सोध्ने आँट गरिन। नजिकैको पसलमा बसेर उखुको जुसले घाँटी भिजाएपछि मात्र उनले आफ्ना विचार पस्के, ´महंगी धेरै भो, मेहनत मजदुरी गरेर खानेलाई हैरान छ, बिरामी भए उपचार गर्न गाह्रो, यसबारे सोचे राम्रो हुन्थ्यो।´

उनको सोचमा लालमोहर कहिले लाग्ला? न उनलाई पत्तो थियो न मलाई नै। त्रिशुलीका ३६ वर्षे राई भारी बोकेर हिँडेका बेला सडक जाम भयो भने दिक्क हुन्छन् रे। धनी भनिनेले होच्याएर बोलाउँदा उनको मनमा काँडो बिझ्छ।

´धेरै बोलेको ठीक हुन्न´, त्रिशुलीका राईले आफ्नो कुरा सक्दै भने, ´बोल्ने तर काम नगर्नेले नै देश बिगारेका।´

***

सबैका कुरामा सत्य लुकेको थियो। कुरा बिग्रने हो कि भन्दै कोही बोल्न डराउँथे त कोही कुरा राख्न आफै अघि सर्थे। जमलमा भेटिएका कृष्ण चौलागाईंलाई संवाददातासँग लामो कुरा गर्न फुर्सद थिएन। सिन्धुपाल्चोक दोलालघाटस्थित उप्रेती गाउँका चौलागाईंले पनि अरूले जस्तै ´दुखी गरिबले रोजगार पाउनुपर्ने´ पक्षमा कुरा राख्न मात्र भ्याए।

काठमाडौँमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङका धेरै भरिया भेटिन्छन्। तुलाराम खामी, ४६ भर्खर दोलखाको आफ्नो जमिनमा मकै छरेर फर्केका छन्। आकाशे पानी नपरेकाले केही महिनाअघि लगाएको गहुँ र कोदो सखाप भएकोमा उनी चिन्तित थिए। ´जनताको कुरा बुझ्ने नेता भइदियोस्, अनपढलाई राम्रो बाटो लगाइदिने होस्, बन्द नहोस्, कोही भोकै नहुन्, यहाँ भन्दा अरू के भनुम् र?´ बोल्दिन भन्दाभन्दै पनि उनले सबै कुरा खोले।

त्रिशुलीका अर्का ठिटा छिरिङ तामाङका असन्तोष पनि कम थिएनन्। ´पाँच करोडको सम्पति हुनेहरू ज्याला दिँदा पाँच रुपैयाँमा किचकिच गर्छन्´ उनले आफ्ना दाँत किटे, ´काटेर हिँडुजस्तो हुन्छ, तर के गर्नु काट्ने त परै जाओस् नराम्रो मुख गरे पनि लगेर जाक्दिन्छन्।´

सरकारी अफिसमा घुस माग्ने चाला उनलाई निको लागेको छैन। नयाँ नेपालको कुरा सोध्ने दुस्साहस मैले के गरेको थिएँ, उनको मुखबाट रिसको फिलिंगो नै निस्कियो, ´साला नेताहरू जनता भोकै राखेर, नयाँ नेपाल रे, ....को नयाँ नेपाल´ पछिल्लो वाक्यमा आफ्नो सारा रिस एकैचोटि ओकले उनले। उनका शब्द सुनेपछि आडैका साथी खित्का छाडेर हाँसे।

सडक चाहर्दै जाँदा कोही वर्षौंदेखिका भरिया भेटिन्थे त कोही सिकारू। चरम गरिबीले भूपति ढकाललाई पनि दोलखाबाट काठमाडौँका सडकमा ल्यायो, काम भारी बोक्ने नै।

´ठूला मान्छे, मिले कुरो मिल्यो नमिले अमिलो व्यवहार गर्छन्´ जीउकै बलमा ज्यान र जहान पालेका उनले पीरका पोका फोए। दुई दशकसम्म भारी बोकेका दोलखाली ढकालका कुरा सुनेर भर्खर भारी उचाल्न सुरु गरेका राजन शिवाकोटीका आँखामा आँसु टिल्पिलायो।

अरू काम पाए नाम्लो नबोक्ने उनको असफल सोच थियो। आफन्तवादमा अडिएको नेपालको रोजगारी पाउन ठूला मान्छे चिन्नुपर्छ भन्ने १८ वर्षे शिवाकोटीलाई पनि थाहा छ। ´कोही चिनेजानेका छन्?´ प्रश्नको उत्तरमा दोलखाली शिवाकोटीले कलिला ओठ चलाउदै भने, ´अँ मामा छन्, तर वाँ पनि भारी नै बोक्नुहुन्छ।´

मुस्किलले महिनाको पैँतालीस सय जोड्ने उनका अघि मन बाँधेर यो संवाददाताले गरेको अर्को प्रश्न थियो, ´के बाबा र मामाहरूले झैँ तपाई अबको बीस वर्ष भारी बोकेर बस्नुहुन्छ?´

अघिसम्म टिल्पिलिएको आँसुले आँखाको डिलबाट फाल हालिहाल्यो। उनी मौन रहँदा नयाँ संविधानमा उनले दुई छाक गाँस, एकसरो कपास र एउटो सानो बास मागेको बुझ्न गाह्रो थिएन।



मनको भारी के?


विष्णु बुढाथोकी,
लामीडाँडा–७, दोलखा

मर्ने मर्‍या मर्‍यै छन् माथि चढ्ने चढ्या चढ्यै। देशमा को कति दुखमा छ सरकारले विचार्नुपर्छ। सानु ठूलो सराबरी हुनुपर्छ। राष्ट्रपति आवोस् कि प्रधानमन्त्री जो आए पनि कामै गरेर खाने हो हाम्ले। धनी गरिबको रोटी एउटै भइदिए हुन्थ्यो। हाम्रा छोराछोरीले भारी बोक्नु नपरोस्।


गोपी केसी

रालुका गाविस, त्रिशुली

मर्नभन्दा बाँच्न धेरै गाह्रो हुँदोरहेछ। लेखापढ गर्न सके, औँसीपुर्ने थाहा हुन्थ्यो, सकिएन। खाना नपाउनेले खान पाए, पढ्न नपाउनेले पढ्न पाए, अन्याइमा परेकालाई सितल छाया भइदिए कस्तो हुन्थ्यो जस्तो लाग्छ। महँगी धेरै बढ्नु भएन। मनाँ जागिर भइदिए कस्तो हुन्थ्योझैँ भ´छ। नपढेकालाई पढेकाले सम्झाउलान् भन्यो झन् झन् पेल्दार´छन्। अब यस्तो नहोस् भन्ने इच्छा छ, हेरूँ के हुन्छ।


फणिन्द्रप्रसाद शिवाकोटी

लामीडाँडा–६, दोलखा

धनी गरिब दुवैलाई सुहाउने कानुन बन्नु परो। यहाँ त साँढेको जुधाइ बाच्छाको मिचाइ भैरा´छ। धेरै अपराधीलाई अझै कार्वाही भा´छैन। न्याय गरिबले पनि पाउनुपर्छ। जागिरको व्यवस्था गरिबलाई पनि हुनुपर्छ। जुनै पाटीमा आस्था राखे पनि समान व्यवहार हुनुपर्छ। महंगी घटाउनु र शान्ति ल्याउनुपर्छ।

सोमबहादुर राई
झल्टु रातमाटे, त्रिशुली

कहिलेकाहीँ आफ्नै जीवनदेखि दिक्क लाग्छ। बन्द, हडताल हुँदा हामी भोकै बस्नुपरेको कसैले बुझ्दैनन्। गरिबले न्याय पाउला कि भन्यो पाइन। नयाँ नेपाल भन्या नि यस्तै रै´छ, चिनियो। कसैले नबुझेको हाम्रो दुख नयाँ कानुनले बुझ्दे हुन्थ्यो।



भुपति ढकाल
सुनाखानी–१, दोलखा

बाटो खन्ने हामी, गाडी कुदाउने नेता। बारी हामी जोत्ने, अन्न साहु उठाउने जस्तो भा´छ। यस्तो हुनु भएन। भरियाका जहानले पनि खान पाउनु परो। नेता उत्ताउला भा´छन्, उनीहरूले हाम्रा लागि काम गर्नु परो, आफ्ना लागि हैन।




कृष्ण चौलागाई,

दोलालघाट, सिन्धुपाल्चोक

अहिलेको भन्दा भोलि, भोलिभन्दा पर्सि महंगी बढ्दो छ। गरिखानेलाई राम्रो छ, हाम्रा लागि सधैँ उस्तै हो। विकास सबै काठमाडौँमा मात्र थुप्रिएको छ। नयाँ कानुनले गाउँ र गरिबलाई पनि ध्यान दियोस्।




राजन शिवाकोटी
सुनाखानी, दोलखा

आफ्ना मान्छे नभई जागिर पाइँदैन। भारी बोकेरै छाक जोड्नुपर्छ। राम्रा स्कुलमा पैसा हुनेले मात्र पढ्न पाउँछन्, ठूला अस्पतालमा ठूलैले मात्र उपचार गर्न पाउँछन्। गरिबले पनि पढ्न पाए, राम्रो उपचार गर्न पाए कस्तो हुन्थ्यो होला? अरू काम पाए भारी बोक्ने मन थिएन। नयाँ शासनले हाम्रा दुख बुझ्दे कस्तो हुन्थ्यो होला?


छिरिङ तामाङ
डुप्चे, त्रिशुली

नइयाँ नेपाल होइन, कालो नेपाल जस्तो लाग्छ। पाँच करोड सम्पत्ति हुने पाँच रुपैयाँका किचकिचे हुन्छन्। महंगीले रासन छोइसक्नु छैन। गरिब त गन्हाउँछ भनेर सबै जना छिःछिः र थुथु गर्छन्। सरकारी अफिसमा झन् काम गर्न गैसाध्य छैन, घुस मागेर हैरान छ। युद्ध गरिबले लडे, गरिबै मरे, नेता कहिल्यै मरेनन्। कडा कानुन गरिबका लागि, न्याय धनीका लागि मात्र भएजस्तो लाग्छ। अब यस्तो नभइदिए हुन्थ्यो।


तुलाराम खामी,
सुन्द्रावती–६, दोलखा

न जमिन जोतेर खान पुग्छ, न भुईं पोतेर। आकाशे पानीमा भरपर्दा धेरै खेत बाँझा भएका छन्। खाम जातिको हाम्रो समाज एकदमै पिछडिएको छ। गरिब कहिले उँभो लाग्ने? बेलामा पढ्न पाइएन, दुख ला´छ। नेता भएकाहरू बेलाबेलामा गाउँ गइदिए, हाम्रा कुरा सुने, कुरा बुझे–बुझाए राम्रो हुन्थ्यो। बिरामी पर्‍यो भने गरिबको काल आएसरह हुन्छ। जनताको स्वास्थ्यमा पनि सर्खारले ध्यान दिनुपर्छ।

- 2009-03-21 05:36:2
दैनिकी बहस

Dainikee - Breaking News, politics, sports and blogs from Nepal भवसागर घिमिरे, संविधान सभा, बहस om Nepal भवसागर घिमिरे, संविधान सभा, बहस Bhabasagar Ghimire, Constituent Asembly






यसमा तपाईंको प्रतिक्रिया#

सत्ते हो सर, अंखामा टन्न आसुँ टिल्पिलायो र गला अबरुद्द पर्‍यो तपाईं को यो सत्य को यथार्थ प्रस्तुती ले!
माओवादीको एउटा असफलतामा गरीब निमुखा, भरिया, हलिया हरुलाई भरोसा दिन नसक्नु हो भन्दा फरक पर्दैन। माओवादीले गरेको जनयुद्द यि गरीब भरियाको उन्मुक्ती र स्वोतन्त्रता को लागि हो भनेर स्वोस्छ सन्देश संम्प्रेशण गर्न नसक्नु उनिहरुको कम्जोरी हो तर उद्दमा कही कतै कमी कम्जोरी र गल्ती हुनेनै गर्छ तर पनि सरकारमा गयर उनिहरुले यि श्रमजिबी भन्दा पनि परनीर्भर पसिनाजिबी हरुलाई ढाडेसो दिन सकेको छैन तर यत्तिमै माओवादीहरुलाई र यो सरकार लाई गलत र असफल देखिहाल्नु हुँदैन किनकी यो सरकार पनि परिस्थिती को दाश अन्तर्गत नै पर्दछ।
यि गरीब पसिनाजिबी हरुलाई उकास्नको लागि हामीले डा बाबुराम भट्टराई लाई साथ दिनु जरुरी छ। अहिले लाई म यत्तिनै भन्न सक्छु र भन्छु।

gagane gagane@mail.com



भवसागरजीको लेख राम्रो लाग्यो। नेपालका कुनाकाप्चाका दुःखी गरिबको यथार्थ व्यक्त भएको छ। बन्द र हडतालमा उनीहरूको अवस्था कस्तो हुन्छ भन्ने देखाइएको छ। नयाँ संविधानले पनि उनीहरूलाई छुन सकेन भने सधैं निराश मात्र हुनेछन्।

Achyut Dhamala,Sydney nirajdhamala@yahoo।com


http://dainikee.com/news/index.php?action=news_details&news_id=5176

No comments:

Post a Comment