Skip to main content

साना बोल्दै, ठूला सुन्दै



भवसागर घिमिरे, काठमाडौं, चैत २०
´हुम्म्...त्यसपछि के रे...,´ कथा भन्दा भन्दै रोजन भाइ एकपल अडिएर फेरि ओठ चलाउन थाले, ´यो कथा भुलेँ अर्को भन्छु है!´

भेला भएका साथीभाइ र बूढापाका उनको कुरो सुनेर हाँस्दै सहमतिमा मुन्टो हल्लाउन थाले। उनले पनि हाँस्दै अर्को कथा सुरू गरे।
बालप्रिय थुप्रै कथा लेख्ने हान्स क्रिश्चियन एन्डसनको जन्मदिन र ´अन्तराष्ट्रिय बाल पुस्तक दिवस´ का अवसरमा कार्यक्रम भइरहेको थियो। राष्ट्रिय पुस्तकालयको बालशाखा, पुल्चोक ललितपुरमा भएको कार्यक्रमका सभापति बालक लक्ष्मण सापकोटा मख्ख थिए। सबै भाइबैनीका कुरा सुन्न र आफ्ना कुरा सुनाउन थुप्रै बाल साहित्यकार उपस्थित थिए। एन्डसनबारे बताउन नेपाल बाल साहित्य समाजका चुडामणि बन्धु पहिला अघि सरे।

२०४ वर्षअघि डेनमार्कको गरिब परिवारमा जन्मेका एन्डर्सन नाटकमा खुबै चाख राख्थे। उनका बाबुको सानैमा मृत्यु भयो र आमाले दोस्रो बिहे गरिन्। यो घटनापछि उनी आफ्नो गाउँ छाडेर सहर झरे। राम्रो प्रतिभाका कारण उनले स्कुल पनि पढ्न पाए। रमाइला नाटक खेल्न र रोचक बालकथाहरू लेख्न थालेका उनको चारैतिर प्रशंसा हुन थाल्यो। धेरै दुःख गरेर पढे, अनि धेरै कथा प्रकाशन पनि गरे। बालबालिकासम्बन्धी थुप्रै कथा लेखेर बाल साहित्यमा योगदान गरेकाले उनलाई विश्वभरका मान्छेले सम्झन्छन्।

एन्डसनको जीवनी सुनेर उत्साही भएका बालबालिका कार्यक्रममा कथा सुनाउन तछाडमछाड गर्न थाले। पूजा सिग्देलले तीन चोरका कथा सुनाइन्। रोशन चौधरी र सृष्टी खनाल पनि कथा सुनाउन पछि परेनन्। उनका रचना मख्ख पर्दै सुनेर उमेर ढल्काएका र ढल्काउँदै गरेका साहित्यकारले परर ताली बजाए। केटाकेटीका कुरा सुनेर उत्साहित पाका पनि कथा भन्न तम्सिए। बाल साहित्यकार शान्तादास मानन्धरले ढल्केको उमेरमा युवा जोश निकालेर ´सलाई बेच्ने केटी´ को कथा सुनाउँदा बालबालिका दङ्ग पर्दै सुनेका थिए।

´पुस्तक पढ्ने बानी बसाल्नुपर्छ,´ बाल साहित्यकार विनय कसजूका कुराले सबैको ध्यान खिच्यो, ´पढ्यो भनेमात्र धेरै कुरा थाहा हुन्छ।´ पढ्ने कुराले गम्भीर बनेका केटाकेटीलाई चुट्किलाको माहोलले निकै ततायो।

´गोलभंेडा पास भएपछि स्याबास भनेर उसको बाबाले ढाडस दिँदा प्वाट्ट फुटेको´ चुट्किला सुनेपछि सबैको खित्का छुट्यो।

´कसैले गीत गाउँदैनौ?,´ सञ्चालक धु्रव घिमिरेको प्रश्नमा पछाडिबाट एकजना बोले, ´म गाउँछु।´ नेपाल बालसाहित्य समाजका अध्यक्ष विश्वम्भर चञ्चल रहेछन्। उनका छोटा गीत सकिन नपाउँदै आफ्ना रचना सुनाउन भाइबैनीका धेरै हात उठे। धेरैमध्येका एक भाइले गाएका गीतमा सबैको एउटै स्वर बन्यो–

´कसो गरी हुन्छ भन्देऊ, हाम्रो बानी राम्रो?
सिङ्गै आकाश अंगालेर हिंड्ने बानी हाम्रो!´

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?