दैनिकी बहस :संविधानमा के के लेख्‍नुपर्छ?





-भवसागर घिमिरे/कञ्चन अधिकारी

एक, दुई तीन, चार...पालैपालो कक्षाकोठा भित्रिएका उनीहरूले बेन्च मिलाई गोलाकार घेरा बनाए। घारमा माहुरीझैं गुजुमुज्ज परेका युवाका बीच अनौठो गुनगुन सुरू भयो। पड्कनै लागेका बारूद र सल्कनै लागेका राँकाजस्ता मुहार बोकेका ती थिए भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी।
हाम्रो एउटै प्रश्न थियो–
संविधानमा के लेख्नुपर्छ?

´त्यही लेख्नुपर्छ जनताले जे चाहेका छन्,´ बहसमा १५ विद्यार्थीमध्येकी हिमाली रानामगर कड्किइन्, ´किसानदेखि कमैयासम्म, सामान्य मजदुरदेखि महिलासम्म, सीमादेखि सेनासम्म, धनी होस् या गरिब सबैका आवश्यकता देखिनु अनि लेखिनुपर्छ।´

रानामगर मानविकी संकाय तेस्रो वर्षका किताब पल्टाउनमात्र हैन, विद्यार्थी राजनीतिमा पनि उत्तकै सक्रिय थिइन्। आउँदो स्ववियु निर्वाचनमा सम्भावित विजयी अनुहार मानिएकी उनी क्याम्पसको स्ववियुमा महिला सभापतिको नयाँ इतिहास रच्ने तरखर पनि गर्दैथिइन्। उनलाई रोजगारका नाममा ´युवा विदेश बेच्ने´ काम भएको मन परेको छैन। ´नेपाली नेता पनि विदेशी चलखेल रोक्नतिर लागेका छैनन्,´ रानामगरका यस्ता विचारमा उनकै देब्रेतर्फ बसेकी स्मृति श्रेष्ठले सहमति थप्दै भनिन्, ´देशको राजनीति चलाउन विदेश गुहार्न पुग्नेका के कुरा?´



क्याम्पस देखेको दुई वर्षभन्दा बढी नभए पनि स्मृतिका विचारमा पूरै देश देखेको झल्को आउँथ्यो। युवालाई रोजगारको ग्यारेन्टी दिनुपर्ने, लागूऔषध नियन्त्रण गर्नुपर्ने लगायत धेरै समस्याका चोइली उनले पस्किरहँदा बाँकी साथीले ध्यान अन्त मोड्न सकिरहेका थिएनन्।
भक्तपुरे काली पनि चिउँडोमा हात बिसाएर उनकै कुरा सुन्दै थिइन्। श्रेष्ठका आवाज अड्केकै ठाउँबाट कालीले विचार उठाइन्, ´हुनेखाने वर्गका आवाज सबैले सुन्छन्, नहुनेका कुरा सुन्ने कोही छैन। त्यसैले संविधानले पहिला जनताका गाँस, बास र कपासको ग्यारेन्टी गर्नुपर्छ।´ कालीले यसो भनिरहँदा धेरैले होमा हो मिलाए।

´राज्य त गरिब छ। ग्यारेन्टी गरेर पुर्‍याउन सकेन भने के अर्थ भो?´

त्यही त्यति नै बेर उब्जेको प्रश्नको उत्तर रञ्जु शिल्पकारको दिमागमा फ्याट्टै आइपुग्यो– ´भएका प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न सकिएको छैन, यसलाई सदुपयोग गर्न सके हामी दुई छाक खाना खोज्न विदेश किन धाउनुपर्थ्यो र?´ संविधानमा आन्तरिक स्रोत साधनजस्तै जल, जमिन, वनको उच्चतम उपयोगलाई प्राथमिकता दिनुपर्ने कुरो शिल्पकारले उप्काइन्।


कुरा ´कुरा´ मै सीमित भएको गुनासो पनि धेरैले गरे। छलफलकै बीच शिक्षाको विषय उठेपछि सबैको मुहार गम्भीर भयो । ´काठमाडौंका विद्यार्थीले पढेर परीक्षा दिने बेला हुँदा पनि बाजुरेली साथीहरूले पाठ्यपुस्तक पाउँदैनन्। निजी र सरकारी, दोहोरो शिक्षा नीतिका मारमा पेलिने भनेका नहुने वर्गकै छन्। संविधानले यो विभेद अन्त गर्नुपर्छ,´ आईए अध्ययनरत हँसिली शिल्पकारको रसिला कुरा लामो नै भए पिन साथीले गहिरिएर सुने र माने पनि।
हुन त यस्ता कुरालाई हाई काढेर ´बाई´ भन्न पनि सक्थे उनीहरू। वा, काखको कापी र हातको कलम उचालेर जीउ तन्काई बेवास्ता पनि गर्नसक्थे। तर न हाई काढे न जीउ तन्काए, संसद् भवन जो थिएन त्यो बहस कक्ष।

बिहानीको १० बजेको संकेत गर्दै नथाकी चल्दै गरेको घडीका सुईजस्तै उनीहरू एक घण्टा बितिसक्दा पनि फुर्तिला नै देखिन्थे।

तिनै फुर्तिलामध्येका खाइलाग्दा ठिटा थिए, कालसाङ्ग तामाङ। सैनिकको झल्को दिने पोसाक उनेका उनले सैन्य समायोजनकै कुरा उठाए, ´सैन्य समायोजनलाई प्राथमिकतामा पारिन्न र संविधानमा दुवै सैनिकको सम्मानजनक उपस्थिति हुँदैन भने देश फेरि गृहयुद्धमा फस्छ।´

गृहयुद्धका कुरा सुनेपछि वातावरणलाई निराशाले ढाक्यो। चार पाँच कक्षाबाटै देशमा धेरै लडाइँ काटमार देखेर दिक्क परेका कालसाङ्ग बीए दोस्रो वर्ष आइपुग्दा अब द्वन्द्व देख्न चाहँदैनन्। संघीयताका नाममा देश टुक्राउनु हुन्न भन्नेमा उनी छन्। ´संघीयता आवश्यक छ, तीन तहमा शक्ति बाँडफाँड गर्नुपर्छ´, कालसाङ्गले अगाडि थपे, ´केन्द्रीय, प्रादेशिक र स्थानीय तह गरी विभाजन गर्नुपर्छ। ´

देशको भावी स्वरूप कस्तो बनाउनेबारे सडकदेखि सदनसम्म कोकोहोलो चल्दै छ। यसको पत्तो पाएका आईए दोस्रो वर्षमा पाइला चाल्ने असलमान तामाङ पनि चुप बस्न चाहेनन्। जातीय आधारमा नभई क्षेत्रीय आधारमा संघ निर्माण गर्नुपर्ने मत छ उनको। रामेछापका तामाङ्को बोली भुइँमा झर्न नपाउँदै नगरकोटका राजकुमार लामिछानेले मुन्टो हल्लाए, ´जातीयताका नाममा संघ बन्यो भने देश झन् द्वन्द्वमा फस्छ।´
जनआन्दोलनले सबैलाई पाठ पढाएर गयो तर देशका नेतालाई कहिल्यै पाठ पढाउन सकेन। विद्यार्थीबीचको कानेखुसीले केहीलाई मुसुमुसु हसाउँदै थियो। ´राजनीति हामीलाई बुझ्नै त गाह्रो हुन्छ भने नेतालाई गर्न कति गाह्रो भयो होला?,´ शान्त कोठामा एउटाले सासले बोलेको कुरा अर्कोले पत्तो पाइहाल्थे।
नेताका कुरा के उप्केथे सबैले मुख खोल्न थाले। ´छुवाछुत कानुनमा मात्र सीमित छ, बेरोजगारी बढ्या बढ्यै, शिक्षा नीति उस्तै छ, महिलामाथिको हिंसा रोकिने छाँट छैन, नेता भने भत्ता पकाछन् बस्याछन्,´ विचार चर्किंदै गएपछि हल नै थर्किन थाल्यो। बहस तात्यो, आवाज छुट्यो र नबोली बस्नेका पनि बोली फुट्यो।
हुनत बोली सबैतिर फुटेका छन्। पछिल्लो समय जनता बाठा भएको तर्क धेरैको थियो। ´तर बाठा जनताका टाठा कुरा भएर के गर्नु, सरकारको ढेपिएका कानसम्म पुर्‍याउन हम्मेहम्मे पर्दो रहेछ,´ जीवन सुवालले तीता कुरा मिठासँग गरे। चाहेको धर्म, आफ्नो भाषा, रूचिको राजनीतिमा भाग लिन पाउने व्यवस्था संविधानले गनुपर्नेमा उनी सहमत देखिन्थे। राजनीतिक पार्टीका झण्डाले अपराध ढाक्ने प्रवृति उनलाई पनि मन परेको रहेनछ।
क्याम्पसका काँचा कक्षा, प्रवीणता प्रमाणपत्रमा अध्ययनरत उनी राजनीतिका हरकुरामा कान टाठा पार्थे। देशमा राष्ट्रपति शक्तिशाली हुनुपर्छ भन्ने सँगै बसेका नगरकोटका लामिछानेको विचारमा उनी पनि सहमत भए।
किन त? ´प्रधानमन्त्रीले केही काम बिगारे पनि राष्ट्रपतिले सच्याउन सक्छन् नि,´ सुवालले कलिला दाँत देखाए।
राष्ट्रपतिका कुरासँगै महिलाबारे बोल्न भ्याएका उनले महिला आफ्नै कारणले पछि परेको के बताएका थिए, उपस्थित आठैजना महिला उनको विचार खण्डनमा दह्रैसँग उत्रिए। महिलालाई घरबाट निस्कन रोक्ने पुरूष नै बढी छन्। नामको मात्र आरक्षण दिइएको छ। आरक्षण हैन, संविधानले महिलालाई अवसर र अधिकार दिनुपर्छ। सबैको एक स्वर सुनेपछि सुवालको मुन्टो बतासबीचको मकैका पातझैं हल्लियो।
´मेरो कुरो पनि सुन्नुस् है,´ कुर्चीको कुनामा बसेकी प्रकृति वासी बोल्नासाथ अरू चुप लागे, ´कृषि, पर्यटन र जलस्रोतलाई ध्यान दिएर संविधान बनाउनुपर्छ। विज्ञान प्रविधिमा पनि लगानी गर्नुपर्छ।´ वासीको पालो भनी अरू धेरै बेर मौन बस्दा उनले अचम्म मान्दै भनिन्, ´यत्ति हो अरू कुरा त आइसक्यो नि।´
´स्वास्थ्यको कुरा खै गरेको?,´ स्नातकको डिलमा आइपुगेकी सम्झना लामिछानेले दाँया हत्केला नचाइन्, ´स्वास्थ्य निःशुल्कमात्र भनेर हुँदैन, व्यवहारमा सबै जनताका माझ यसलाई पुर्‍याउनुपर्छ।´
हरि गुरूङ कतिखेर पालो आउला र दोलखाको कुरा सुनाउला भन्ने सुरमा थिए। उनको जिल्लाको उत्तरी भेग धेरै अविकसित छ। आकाशे पानीमा भर पर्नुपर्ने खेतीको केही ठेगान हुँदैन। दोलखाजस्ता दूर्गम जिल्लाका लागि संविधानमा विकासको विशेष व्यवस्था गर्नुपर्ने उनले बताए। अपाङ्गता हुनेलाई प्रोत्साहन र ग्रामीण किसानलाई सहायता दिनुपर्नेमा उनको जोड थियो। ´जसको जोत उसको पोत हुनुपर्छ,´ भन्ने उनका साथी सुदन सुलुका विचार व्यवहारमा ल्याउन गाह्रो हुने गुरूङ बताउथे।


´सञ्चार क्षेत्रलाई पनि मर्यादित बनाउनुपर्छ,´ पालो अब सम्झना लामिछानेको थियो, ´भ्रामक समाचारले धेरै क्षति पुर्‍याएको छ। सञ्चार क्षेत्रले नकारात्मक कुरामात्र पढायो भने समाज कहिले सुधारिन्छ?,´ औंलो हामीतर्फै फर्क्यो।
सबैले हाम्रै मुखमा आँखा लगाए। समलिंगी अधिकारका कुरा उप्केपछि प्रसंग बदलियो। तराईलाई समान अधिकारका पक्षमा, दण्डहीनता र चलचित्रका अंगप्रदर्शन विरूद्धमा बहसको समय लम्बिँदो थियो। युवालाई सैन्य तालिमबारे कुरा चल्दा प्रश्नकर्ताको बाँयाछेउ बसेकी कमला गौतम त्यसविरूद्ध देखिइन् ´सैन्य तालिमभन्दा व्यवहारिक शिक्षा आवश्यक छ। संविधानले त्यसैलाई जोड दिनुपर्छ।´
के उनीहरूका यी आवाज स‌विधान बनाउँदा सुनिएला?
जनताका आवाज सरकारबाट कति सुनिए, कति भुलिए लेखाजोखा छैन। सडक नझरेसम्म, बन्द नगरेसम्म समस्याप्रति जिम्मेवार निकायले वास्ता नगर्ने चाला सबैलाई झैं विद्यार्थीलाई पनि मन परेको छैन। सडक हुनेले त बन्द गरेर पनि कुरा सुनाउलान् सडकै नभएका ठाउँका गाउँलेले के गर्ने? सबै निरूत्तर भए।

देशमा के होस् र के नहोस् जस्तो लाग्छ? प्रश्न अकस्मात तेर्सिएपछि बोझिलो गम्भीरता सबैले ओडे।´सबैको प्रतिनिधित्व गर्ने संविधान होस्,´ एक्कासी मौन भंग गर्लै गौतमले भनिन्, ´फेरि युद्ध नहोस्।´

ककसले के के भने त ?




स्मृति श्रेष्ठ
अध्ययनः प्रविणता प्रमाण पत्र तह दोश्रो वर्ष (मानविकी)
स्थायी घरः ताथली–२ भक्तपुर

अहिलेको युवा पढाइमा गम्भीर छैनन्, त्यसैले पहिलो प्राथमिकता पढाइलाई दिनुपर्छ। सबैले लगनशील भएर काम गर्नुपर्छ। विश्वमा आर्थिक मन्दी व्याप्त छ। नेपालमा पनि आर्थिक समस्या नआओस् भनेर सरकारी नीति राम्रो र बलियो हुनुपर्छ। दिनप्रतिदिन बेरोजगार संख्या बढ्दै छ। सरकारले रोजगार ग्यारेन्टी गर्नुपर्छ। युवाहरू कुलतमा फसेका छन्। फसेकालाई रोक्नुपर्‍यो।


असलमान तामाङ
अध्ययनः आईए दोश्रो वर्ष
स्थायी ठेगानाः रामेछाप
हालः भक्तपुर स्मृति नगर

नेपालको शिक्षा नीति राम्रो छैन। शिक्षा नीति परिवर्तन गर्नुपर्छ। दुई खाले शिक्षा भएकाले जनशक्ति पनि दुई खाले उत्पादन भइरहेको छ। निजी शिक्षण संस्थालाई सरकारीकरण गर्नुपर्छ। राष्ट्रपतिमा प्रत्यक्ष निर्वाचन हुनुपर्छ। राजनीतिक दलहरू नमिल्नाले तराई समस्या आएको छ। सरकारले मधेसी समुदायबीच गरेका बाचा पूरा गर्नुपर्‍यो। तराई बन्दले धेरै समस्या ल्याएको छ। क्षेत्रीय हिसाबले संघीय राज्य बनाउनुपर्छ। जातीय हिसाबले बनाउनु भएन। जातीय हिसाबले बनायौं भने नेपाल टुक्रनसक्छ। अहिले थारूहरूले चलाएको आन्दोलन पनि यसैको उपज हो।



हिमाली रानामगर
अध्ययनः बीए तेश्रो वर्ष
स्थायी ठेगानाः काभ्रे, साँगा –४
हालः भक्तपुर

मौलिक हक सुनिश्चित हुनुपर्छ। नेपाल कृषिप्रधान देश भएकाले सरकारले कृषिमा लगानी बढाउनुपर्छ। नयाँ/नयाँ कृषि प्रणालीको व्यवस्था गरेर थोरै जग्गामा धेरै उत्पादन गर्न सक्ने बनाउनुपर्छ। शिक्षा वैज्ञानिक र निःशुल्क बनाउनुपर्छ। गरिबीको रेखामुनि रहेकाहरूलाई स्वास्थ्य निशुल्क हुनुपर्छ। अकालैमा कसैले ज्यान गुमाउन नपरोस्। नेपालमा अराजकता र दण्डहिनता बढ्दै गएको छ। यसको अन्त्य गर्नपर्छ। संघीयताको बहस धेरै चल्ने गरेको छ, तर कुन खाकामा र कस्तो संघीयतामा जाने हो भन्ने अन्यौल छ। चाँडै निकास निकाल्नुपर्छ। जातिगतभन्दा पनि वर्गीय हिसाबले संघीय राज्य बनाए राम्रो हुन्छ। केन्द्रीय राज्यसत्ताले क्षेत्रगत स्वयत्तता दिनुपर्छ। राष्ट्रपतीय प्रणाली ठिक छ। यसैलाई कायम राख्नुपर्छ। स्थानीय श्रोत साधनलाई स्थानीयस्तरमा नै प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्छ। भुमि सुधार ऐन २०२१ लाई खारेज गरेर ´जसको जोत उसको पोत´ को व्यवस्था गर्नुपर्छ। महिलालाई सम्पत्तिको लोभ होइन, शिक्षा र समान अवसर दिनुपर्छ।



भक्तपुरे काली
पढाईः बिबिएस तेश्रो वर्ष
स्थायी घरः भक्तपुर वागेश्वरी

जुनसुकै देशमा सेना आवश्यक हुन्छ। आफ्नो राष्ट्रको सुरक्षाका लागि सेना चाहिन्छ। नेपालमा सेना धेरै भैसके। बढी भएका सेनालाई विकास निर्माणमा लगाउनुपर्छ। नेपाल विदशीको चलखेल गर्ने थलो बन्दैछ। विदेशी चलखेल पनि बढ्दै छ। बेलैमा राज्यले यसतर्फ ध्यान नदिए इराक र अफगानिस्तान हुनसक्छ। नेपालमा थिचिने थिचिएकै छन्, माथि चढ्ने चढेकै छन्। धेरै ठूलो असमानता छ। यो असमानताको खाडल पुर्नु जरूरी छ।

महिला र पुरूषमा धेरै विभेद छ। आमाबाट पनि नागरिकता दिने भनियो तर अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन। अर्को विभेद भनेको छुवाछुतको हो। छुवाछुत दण्डनीय अपराध भनेर अन्तरिम संविधानमा व्यवस्था गरिएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन। नियम नमान्नेलाई कडा सजाय दिनुपर्छ।


रामेश्वर ज्याख्वो
अध्ययनः आईए प्रथम वर्ष
स्थायी घरः छालिङ्ग–७, भक्तपुर

बारम्बार भइरहने बन्द हड्तालले विद्यार्थीको पढाइ बिग्रेको छ। बन्द हड्ताल निषेध गर्नुपर्छ। उच्च शिक्षा र रोजगारका लागि विदेश पलायन हुने क्रम रोक्नपर्छ। स्तरीय शिक्षा र रोजगारको व्यवस्था हुनुपर्छ। घरेलु बाल श्रमिक रोक्नुपर्छ।



सञ्जु शिल्पकार
अध्ययनः आईए दोश्रो वर्ष (मानविकी)
स्थायी घरः भारवाचो– ७, भक्तपुर

सबैले चाहेजस्तो धर्म मान्न पाउनुपर्छ, भाषा बोल्न पाउनुपर्छ। चाहेको राजनीतिक पार्टीमा आस्था राख्न पाउनुपर्छ। १६ वर्ष पुगेका युवालाई मताधिकार दिनुपर्छ। शोषण र विकृति फैलाउनेलाई सजाय हुनुपर्छ। दलित भनेर छुवाछुत गर्न पाइँदैन। यसैको आधारमा भेदभाव गर्न पाइँदैन। व्यक्तित्व विकासमा समान अवसर दिनुपर्छ। कसैलाई काख कसैलाई पाखा गर्नुहुदैन। कर्णालीमा पाठ्यपुस्तक पुगेको हुँदैन, काठमाडौंमा कोर्स पूरा भइसकेको हुन्छ। राज्यले काठमाडौंलाई मात्रै देश हो भन्ने भ्रम पाल्न भएन।


सम्झना लामिछाने
बीबीएस तेश्रो वर्ष
स्थायी घरः बागेश्वरी–३, भक्तपुर

वैज्ञानिक शिक्षा र बेरोजगार युवालाई भत्ता दिनुपर्‍यो। पर्यटकीय क्षेत्र विकास गर्नुपर्‍यो। सञ्चार माध्यममा राम्रो समाचार लेख्नेलाई पुरष्कृत र भ्रामक समाचार लेख्नेलाई दण्डको व्यवस्था गर्नुपर्छ। व्यवहारिक शिक्षा होस्। कर छल्ने क्रम रोक्नुपर्छ। सेना/प्रहरीको आफ्नै अस्पताल छ तर सर्वसाधारणका लागि केही छैन। रेष्टुराँमा काम गर्ने महिलालाई दुर्व्यवहार गर्ने होइन, मर्यादित पेसा बनाउनुपर्छ। महिलालाई आरक्षण होइन अधिकार र अवसर दिनुपर्छ।




राजकुमार लामिछाने
बीए तेश्रो वर्ष
स्थायी घरः नगरकोट– १,भक्तपुर

नयाँ शान्ति प्रक्रियामा सेना समायोजन हुनुपर्छ। औद्योगिक सुरक्षा बल खडा गर्नुपर्छ। सिमा विवाद अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्छ। सञ्चार जगतले राष्ट्रिय स्तरका कुरा उठाउनुपर्छ। एकपक्षीय आधारमा संघीयतामा जानु हुँदैन। सेरेमोनियल राष्ट्रपति बनाउनुपर्छ। प्रधानमन्त्रीलाई सबै कार्यकारी अधिकार दिनुपर्छ।


प्रकृति वासी
आईए दोश्रो वर्ष
स्थायी घरः जेला–२, भक्तपुर

विज्ञान तथा प्रविधिको विकास गर्नुपर्छ। ८० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले मल आफ्नै देशमा बनाउनुपर्छ। कृषिमा क्रान्ति गर्नुपर्छ। महिलालाई घरमै सीमित राख्ने होइन। रोजगार पनि दिनुपर्‍यो।





भगवती थापा
बीए दोश्रो वर्ष
स्थायी घराः ताथली–२, भक्तपुर

मौलिक हक सुनिश्चित हुनुपर्छ। अहिलेको शिक्षा नीति अन्त्य गर्नुपर्छ। निःशुल्क स्वास्थ्य उपचार पाउनुपर्छ। छुवाछुत विभेद हटाउनुपर्छ। बन्द हड्ताल गर्नेलाई कारबाही गर्नुपर्छ। भुगोलका आधारमा संघीय राज्य बनाउनुपर्छ। युवालाई रोजगारको व्यवस्था गर्नुपर्छ।




कालसाङ्ग तामाङ
बीए दोश्रो वर्ष
स्थायी घरः काभ्रे
हालः व्यासी, भक्तपुर

२०४६ सालको संविधान राम्रो भन्थे। तर, २०६२/६३ सालमा आन्दोलन गर्नुपर्‍यो। अब फेरि आन्दोलन गर्न नपरोस्। जातीय छुवाछुत अन्त्य गरे पनि लागू हुन सकेन। आर्थिक पछौटेपना ठूलो छ। देशलाई माओवादीको जनयुद्धले यहाँसम्म ल्यायो। केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा राज्य सत्ता चलाउनुपर्छ। संघीयता भएपछि देश फुट्ला भन्ने चिन्ता छ। १९५० का सन्धी खारेज गरिनुपर्छ। जनजातिलाई आरक्षण हैन अधिकार दिनुपर्छ।



हरि गुरूङ
आइए दोश्रो वर्ष
स्थायी घरःदोलखा
हालः सूर्यविनायक, भक्तपुर

दोलखा जिल्ला अविकसित छ। हिमाली जिल्ला भएकाले हिमाली भेगमा पाइने जडिबुटीलाई प्रशोधन गरेर आफ्नै देशमा उत्पादन गर्नुपर्छ। किसानलाई राहत र कृषिमा वैज्ञानिक पद्दतिको विकास गर्नुपर्छ। त्यसो त जसको जोत उसको पोत यो सम्भव छैन। अपाङ्गहरूलाई पनि आरक्षण पनि हुनपर्छ।



कमला गौतम
आईए दोस्रो वर्ष
स्थायी घरः झापा
हाल : भक्तपुर, डेकोचा

देशमा कानुन पालना कडा भएको छैन। कर्मचारीमा पुरानै सोच हावी छ। युवालाई सैन्य तालिमभन्दा शिक्षा चाहिन्छ। हामी तीन जातका मात्रै छौं, महिला, पुरूष र समलिङ्गी। यही भावना विकास गर्नुपर्छ। सबैको रगत रातो र मन उस्तै हुन्छ। फिल्ममा गरिने अंग प्रदर्शनको विरोध गर्नुपर्छ।




जीवन सुवाल
आईए दोश्रो वर्ष
स्थायी ठेगानाः मुलढोका–४ भक्तपुर

१८ वर्ष पुगेका तन्नेरीलाई सैनिक तालिम दिनुपर्छ। भारतको चलखेल बढेकाले देश हाम्रो हो कि अरूको भन्ने भ्रम छ। यसलाई रोक्न सक्नुपर्छ। सिमा सुरक्षाबल तैनाथ गनुपर्छ। राष्ट्रपतीय प्रणालीमा जोड दिनुपर्छ। जलविद्युत् परियोजना ल्याउनुपर्छ। विदेशीले सहयोग गर्लान् र काम गरूँला भन्ने होइन आत्मनिर्भर हुन सक्नुपर्छ।


सुदन सुलु
आईएस्सी प्रथम वर्ष
स्थायी घरः झौखेल, भक्तपुर

सम्पत्तिको हदबन्दी लगाउनुपर्छ। नेताका हजारौं बिघा जमिन गरिब जनतालाई दिनुपर्छ। विज्ञानमा लगानी गर्नुपर्छ। वैज्ञानिक रूपले सेना समायोजन गर्नुपर्छ। ग्रामीण सञ्चार विकासमा ध्यान दिनुपर्छ।

Comments