भक्तपुर क्याम्पसको सरगर्मी

- 2009-03-14 17:14:58


कञ्चन अधिकारी/भवसागर घिमिरे, भक्तपुर– दूधपोखरी सडक दायाँबायाँ भित्तामा टाँसिएका पम्प्लेट, अग्ला घर र रूखबीच तानिएका रंगीचंगी तुल– यी सबले भक्तपुर बहुमुखी क्याम्पसको चुनावी रौनक झल्काउँछ।

तीन हजार दुई सय विद्यार्थी रहेको यस क्याम्पसमा बिहीबार बिहान साढे सात बजेतिर पुग्दा छ विद्यार्थी संगठनका नेता र कार्यकर्ता भोट माग्न व्यस्त थिए। तिनैमध्ये एक थिए सूर्य थापा, अखिल क्रान्तिकारीका सभापति उम्मेदवार।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोचोटि स्ववियु चुनाव भाग लिन गइरहेको क्रान्तिकारीका उम्मेदवारले भने, ´अघिल्ला स्ववियुले केही गरेन। न विद्यार्थीको समस्या सम्बोधन गर्‍यो, न क्याम्पसको शैक्षिक वातावरण सुधार्नसक्यो, त्यसैले हामीलाई भोट दिनुस्।´

उनले यसपटक आफ्नो प्यानल जित्ने दाबी गरे। ´स्ववियुमा धेरै भ्रष्टाचार छ´, उनले भने, ´हाम्रो लक्ष्य स्ववियुलाई भ्रष्टाचारमुक्त र राम्रो शैक्षिक वातावरण बनाउने हो।´

यसअघि नेविसंघको पकड रहेको यस क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठन (नेक्राविसं) महिला सभापति उठाएर नयाँ इतिहास रच्ने दाउमा छ। ´हामीले पहिलोपटक महिला सभापति उठाएका छौं। यो पहिलो खुड्किलो हो जित्ने,´ नेक्राविसंका तर्फबाट सचिवमा उम्मेदवारी दिएका राजकुमार लामिछानेले भने, ´हामीले सबै विद्यार्थीको मन जितिसकेका छौं।´

नेविसंघ पनि पुरानै इतिहास दोर्‍याउनेमा ढुक्क छ। ´यो त हाम्रो पकड क्षेत्र हो,´ नेविसंघका सभापति उम्मेदवार प्रविण लाखेले भने, ´हामीलाई कसैले पाखा लगाउन सक्दैन। राम्रो काम गरेको सबैले देखेका छन्।´

विद्यार्थी नेता र कार्यकर्तालाई चुनावी धुप चढे पनि कतिपय विद्यार्थीलाई यसको वास्ता छैन। खासगरी विज्ञान संकायतिर चुनावले छोएकै छैन। ´आज हाम्रो प्राक्टिकल थियो। सर नै आउनु भएन,´ कक्षा नभएपछि मैदानमा भेटिएका आइएस्सी दोश्रो वर्ष अध्ययनरत ओम दुवालले भने, ´चुनावले पढाइमात्रै डिस्टर्ब हुन्छ।´

न चुनावी रन्को, न पढाइकै वास्ता– कतिपय विद्यार्थी पढ्न नपरेको फाइदा उठाउँदै खेल मैदानमा भलिबलको मजा लिइरहेका थिए। कतिपय क्यान्टिनमा गफिइरहेका देखिन्थे।

विद्यार्थी संगठनहरूले आ–आफ्नै किसिमले चुनावी प्रचार तीब्र पारेका छन्। सबभन्दा बाक्लो उपस्थिति क्रान्तिकारीको देखिन्छ। विद्यार्थीका कोठासम्म पुगेर चुनावी प्रचार गरिरहेका छन् उनीहरूले। क्रान्तिकारीका सभापति थापा भन्छन्, ´हामीले प्रचारप्रसार चुस्त बनाएका छौं। भ्याएसम्म विद्यार्थीका कोठामा गएर आफ्नो एजेण्डा सुनाइरहेका छौं।´

विद्यार्थी के भन्छन् :

राम राजचल
बीए प्रथम वर्ष
अब जित्ने स्ववियुले होस्टलको व्यवस्था गर्नुपर्छ। स्ववियुको नाममा भ्रष्टाचार बढेको छ। पुस्तकालय भवन निर्माण गर्दा अहिलेको स्ववियुले लाखौं भ्रष्टाचार गरेको छ, यसको पर्दाफास गर्न सक्नुपर्छ। विद्यार्थीका नाममा कमाउने होइन, विद्यार्थीको हकहितमा काम गर्न सक्नुपर्छ।

भोला कार्की
बीए तेस्रो वर्ष
पढाइ राम्रो हुँदैन। दक्ष र योग्य शिक्षक ल्याउनुपर्छ। पुस्तकालयमा किताब छैन। पत्रपत्रिका र किताब पर्याप्त मात्रामा राख्न प्रशासनलाई दबाब दिनुपर्छ। कतिपय शिक्षक क्याम्पसमा आउँदै नआई तलब खान्छन्। त्यतिमात्र होइन पठनपनठनको राम्रो वातावरण बनाउनुपर्छ। हिसाबकिताब पारदर्शी गराउनुपर्छ।

कल्पना सैँजु
बीए प्रथम वर्ष
अहिलेको स्ववियुले स्नात्तकोत्तर तहमा ग्रामीण विकास विषय ल्याउँछौं भनेका थिए, तर सकेका छैनन्। स्ववियु आवश्यक भए पनि आवश्यकता अनुसार काम गर्न सकेको छैन। त्यसो त प्रशासनले हाम्रो कुरा सुन्दैन। स्ववियुमा गएर दुखेसो पोखेपछिमात्रै सुनुवाइ हुन्छ। तैपनि, स्ववियुले गर्दा पढाइमा डिस्टर्ब हुन्छ। अबको स्ववियु निष्पक्ष र विद्यार्थीको पढाइप्रति सम्वेदनशील हुन सकोस्।

सञ्जया प्रजापति
आइएस्सी दोस्रो वर्ष
यो क्याम्पसमा सबै कुरा छन्, तर व्यवस्थापन गर्न सकिएको छैन। चुनाव आउन केही दिनमात्रै बाँकी छ। त्यसैले पढाइ राम्रो भएको छैन। शिक्षकहरू सडक जामको निहुँ देखाउँदै पढाउन आउँदैनन्। अब जित्ने स्ववियुले पढाउन ठग्ने शिक्षकलाई कारबाही गर्न सक्नुपर्छ। परीक्षा आउन लागिसक्यो, कोर्स आधा पनि भ्याएको छैन। कसरी परीक्षा दिने?

ओम दुवाल
आइएस्सी दोस्रो वर्ष
यो क्याम्पसमा पढाइभन्दा राजनीति बढी भएको छ। लोडसेडिङले प्रयोगात्मक कक्षा लिन पाइएको छैन। यसका लागि विशेष पहल गर्नु आवश्यक छ। त्यतिमात्रै होइन, खानेपानी, शौचालय पनि व्यवस्थित छैन। अबको स्ववियुले यतातिर ध्यान दिनुपर्छ। पुस्तकालयमा न किताब भनेजति छ, न पत्रपत्रिका।

सन्ध्या नकर्मी
आइएस्सी प्रथम वर्ष
हामीले तिरेको कर कता जान्छ, यो पारदर्शी हुनुपर्‍यो। शिक्षक ढिला आउँछन् र चाँडै जान्छन्। क्याम्पस पोसाकलाई कडाइसाथ पालना गराउनुपर्छ। शिक्षक ल्याउँदा स्ववियुले राम्रो शिक्षक ल्याउन दबाब दिनुपर्छ।


सभापति उम्मेदवारको भनाइ




हिमाली रानामगर, प्रगतिशील प्यानल (नेक्राविसंघ–अनेरास्ववियु)








सूर्यबहादुर थापा, अखिल क्रान्तिकारी









प्रवीण लाखे, नेपाल विद्यार्थी संघ








प्रचाप्रसार कस्तो छ?

हिमालीः अरूको भन्दा हाम्रो फरक छ। तडकभडक छैन। उम्मेदवारको परिचय कार्यक्रम सम्पन्न गर्‍यौं। विद्यार्थीलाई उम्मेदवारको स्लिप बाँडिरहेका छौँ। क्याम्पस र घरदैलो अभियानमा व्यस्त छौँ। विद्यार्थीले हाम्रो प्रतिबद्धतापत्रमा सुझाव पनि दिने गरेका छन्।

सूर्यः हामीले प्रचारप्रसार तीब्र पारेका छौँ। सम्भव भएसम्म विद्यार्थीका कोठाकोठा पुगेका छौँ। बिहान सबेरै क्याम्पस आइपुग्छौँ। कार्यकर्ताहरू विद्यार्थीलाई हाम्रा एजेन्डाबारे बुझाउन बिहानदेखि साँझसम्म खटिएका छन्। स्ववियु चुनावमा हाम्रो सहभागिता पहिलो भएकाले हाम्रो तर्फबाट कसरत पनि दह्रै छ।

प्रवीणः हाम्रा ४० भन्दा बढी कार्यकर्ता रातोदिन प्रचारमा खटिएका छन्। चैत ३ गते उम्मेदवार परिचय कार्यक्रम राख्दैछौँ। बिहान क्याम्पस र दिउँसो घरदैलोमा व्यस्त छौँ। लोडसेडिङले गर्दा पर्चा छपाउन सकिएन। तर पनि भोट माग्ने काममा हामी पछि परेका छैनौँ। सभापति र उपसभापतिका दुई समूह प्रचारप्रसारमा व्यस्त छ।

निर्वाचन खर्च कसरी जुटेको छ?

हिमाली: हाम्रो प्रचारमा ठूलो खर्च चाहिँदैन। गाविसको सर्वदलीय समितिसहित व्यापारीले केही रकम दिन्छन्। त्यसलाई अत्यावश्यक काममा मात्र खर्च गरिन्छ। हामी मकैभटमास खाएर प्रचारमा हिँडेका छौँ। घरमा खाना खाएर चुनावप्रचारमा हिँड्ने हामीलाई अरू पुँजीपति पार्टीलाई जस्तो ठूलो खर्च चाहिँदैन। अरूले जस्तो हामीले न पम्प्लेट बनाएका छौँ, न उम्मेदवारका फोटाअंकित फ्लेक्स टाँसेका छौँ। हामीले आयव्यय विवरण सबै विद्यार्थीमाझ प्रस्तुत गर्दै आएका छौँ।

सूर्य: प्रचारप्रसारमा हिँडेकाबेला चिया, खाजा, खानामा धेरै खर्च हुन्छ। उम्मेदवार स्वयंले पकेटबाट हाल्ने गरेका छन्। यो एक महिनामा मेरै पकेटबाट १५ हजार खर्च भइसकेको छ। केही नेताले दया गरे भने दुईचार पैसा दिन्छन्। पार्टीप्रति आस्थावानले केही चन्दा दिन्छन्। हामीले प्रकाशन गरेका केही बुलेटिन बिक्रीबाट धेरथोर पैसा जुटेको छ। चुनावमा लाग्ने एकलाख हाराहारीको खर्च यस्तै स्रोतबाट जम्मा गछौँ। तर, हामी अरू संगठन जस्तो रकममा भन्दा वैचारिक माध्यमले प्रचारप्रसारमा लाग्छौँ।

प्रवीण: केही नेताहरूले चन्द दिन्छन्। व्यापारी, गाविस तथा अन्य चन्दादाताले केही रकम दिन्छन्। उम्मेदवारका पकेटबाट पनि खर्च हुन्छ।


चुनावी एजेन्डा?

हिमाली: विश्वविद्यालयमा सरकारी भागबण्डाको हामी विरोधी हौँ। वैज्ञानिक शिक्षा, निशुल्क स्वास्थ्य सुविधा विद्यार्थीका लागि पनि हुनुपर्छ। आन्तरिक परीक्षालाई प्रभावकारी बनाउने, वार्षिक रूपमा दुईपटक परीक्षा सञ्चालन गर्ने, अपुग शैक्षिक सामग्रीको व्यवस्था, इ–लाइब्रेरी, खानेपानी र धेरै विषयमा स्नातकोत्तरका कक्षा सञ्चालन हाम्रा एजेन्डा छन्। क्याम्पसमा व्याप्त भ्रष्टाचार निमिट्यान्न पार्न पनि हामी लागिपर्नेछौँ।

सूर्य: शैक्षिकस्तर सुधार्ने हाम्रो प्रमुख एजेन्डा हो। सँगसँगै स्ववियुलाई भ्रष्टाचाररहित बनाउने, विद्यालयमा पानी, शौचालय, पुस्तकालय, प्रयोगात्मक कक्ष, कम्प्युटर शिक्षाको कुरा पनि हामी उठाउँदैछौँ। विद्यार्थी संख्याअनुसार शिक्षकको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ। बाहिरका विद्यार्थीको प्रवेश रोक्न हामी अनिवार्य क्याम्पस पोशाकको नियम राख्ने पक्षमा छौँ। प्रशासन, स्ववियुको आम्दानी र खर्च पारदर्शी हुन सकेको छैन। त्यसलाई पारदर्शी बनाउने हाम्रो प्रतिबद्धता छ।

प्रवीण: शैक्षिकस्तर सुधार्ने हाम्रो प्रमुख काम हुनेछ। विद्यार्थीको पहिलो अधिकार पढ्न पाउनु हो। पढ्ने वातावरण सुधार्न, भ्रष्टाचार रोक्न र क्याम्पसमा हल्ला गर्ने गैरविद्यार्थीलाई प्रवेश निषेध गर्नेछौँ। पानी, शौचालय, पुस्तकालयको व्यवस्थालाई हामीले प्राथमिकतामा राखेका छौँ।

चुनावमा गुण्डा प्रयोगको आक्षेप लाग्छ नि?

हिमाली: हामी निर्वाचन आचारसंहिता पूर्णरूपले पालन गछौँ। निर्वाचनमा गुण्डा प्रयोग गरेर अरूको पछि लाग्दैनौँ। हाम्रा समर्थक विद्यार्थी यसै पनि धेरै छन्। त्यसैले विचारले नै हामी अगाडि छौँ। हामी गुण्डा पाल्ने हैनौँ, गुण्डाहरूलाई लखेट्ने काम गर्छौं। हामीले क्याम्पसमा भ्रष्टाचार गर्नेलाई कालोमोसो दलेर इतिहास रचेका छौँ।

सूर्य: क्याम्पस ´ट्यापे र मुन्द्रे´को अखडा बनेको छ यी दिनहरूमा। यसमा हाम्रो सहमति छैन। हामी कोहीसँग डराउँदैनौँ र दादागिरीमा विश्वास पनि गर्दैनौँ। हामी विचारमा विश्वास गछौँ र विश्वासले मत जित्छौँ। अरूले दादागिरी देखाए हामी प्रतिरक्षामा भने जरूर जान्छौँ।

प्रवीण: अरूले वाइसिएल, युथफोर्सका नाममा भाडाका गुण्डा प्रयोग गर्लान्, त्यस्ताका लागि हाम्रा कार्यकर्ता नै काफी छन्। उपत्यकामा नै शान्तपूर्ण वातावरणमा चुनाव हुने क्याम्पस हो यो। तैपनि यदि कोही हामीमाथि आइलागे हामी हातमा दही जमाएरचाहिँ बस्दैनौँ।

विद्यार्थीले तपाईंकै पक्षलाई मत किन दिने?

हिमाली: आफ्नो हक र अधिकार सुनिश्चितताका लागि। हामी नहुने वर्गका पार्टी हौँ। क्याम्पसमा पढ्ने वातावरण बनाउन, भ्रष्टाचार रोक्न, भौतिक तथा शैक्षिक सुविधालाई प्राथमिकतासाथ बढाउन हामीले विद्यार्थीबाट भोट पाउने अपेक्षा गरेका छौँ।

सूर्य: विद्यार्थी अरू संगठन देखेर दिक्क छन् किनकि उनीहरू काम कम र कुरा बढी गर्छन्। उनीहरूको दिक्दारलाग्दो काम विद्यार्थीले पहिल्यै देखिसकेका छन्। हाम्रो संगठन काममा विश्वास गर्छ। शैक्षिक मुद्दालाई हामी प्रभावकारी ढंगले उठाउँदैछौँ। त्यसैले पनि विद्यार्थीको विश्वास हामीमै छ। अर्को कुरा यहाँ धेरै सर्वहारा वर्गका विद्यार्थी पढ्छन्। हाम्रो पार्टी पनि सर्वहारा वर्गकै भएकाले हाम्रै पक्षमा अत्यधिक मत पर्छ भन्ने विश्वास छ।

प्रवीण: पुराना स्ववियुले काम गरेका छैनन्। उनीहरूले राजनीतिमात्र थोपरेका छन्। विद्यालयमा राजनीति गर्न हाम्रो संघले रोक लगाउँछ, पढ्ने वातावरण मिलाउँछ र सधैँ विद्यार्थीकै पक्षमा काम गर्छ। हामी अरूले जस्तो चिल्ला नारा लगाउँदैनौँ, त्यसैले सबैले भोट हाम्रै संघलाई हाल्नेमा विश्वस्त छौँ।


प्रस्तुति : कञ्चन अधिकारी र भवसागर घिमिरे
व्व्व.दैनिकी.com


Comments