-बालिका चौधरी बर्दियाको चेपाङ गाउँमा राखिएको साइरन एकोहोरो कराइराखेको थियो । लाग्थ्यो, ठूलै बाढी आउँदैछ । बबई नदी आज बहुलाउँदैछे । गत साल साउन अन्तिम साता । बिहानै जिल्लाको एक बैठकमा पुगेको थिएँ, द्वन्द्वपीडित महिलासम्बन्धी । नदीको अवस्था अलि जटिल भएपछि, समय अघि नै बैठक टुंग्याएर सीडीओ निस्किए । बबईको बबन्डर बुझ्न म जिल्ला रेडक्रस कार्यलय पुगेँ । ‘कृष्णसार क्षेत्रमा बाढी आइसक्यो, अब तुलापुरमा पनि खतरा छ,’ रेडक्रसको गोविन्द सरले भन्नुभयो । म हतार हतार निस्केँ । केही समस्या पर्न सक्छ भन्ने सोचेर चिनेजानेको भाइ निराजन चौधरीलाई पनि लिएर गएँ । केही बेरमै तीन किलोमिटर टाढाको म बस्ने घर तुलापुर पुग्यौं । कहिलेकाहीँ भलपानी बगेर आउने घर नजिकैको बुढी नदी चुपचाप थिई । आफ्नै सुरमा बग्दै थिई, मन्द मन्द । गुलरियाको हुलाकी सडकबाट ५० मिटर तल छ मेरी दिदीको घर । जहाँ मसँगै दिदीका तीन छोरीहरू थियौं । १७ वर्षीया सुनिता, १५ वर्षीया ममता र १२ वर्षीया मालती । भिनाजु दुबई हुनहुन्थ्यो, दिदी शिवपुर गाउँमा थिइन् । छोरीहरूको अभिभावक म नै थिएँ । स्थानीय रेडियोमा बबई बहुलाएको समाचार छ्पाछ्याप्ती थिय...
...A Blog By Bhabasagar