तल्लो गह्रामा चिटिक्क मिलाएर ढुंगाको गाह्रो लगाइएका दुई तले बाख्राको खोर थियो। आफू बस्ने घर माथिल्लो गह्रामा थियो, एक तले टिनले छाएको। उनको घर पुग्नु अघि नै परैबाट नीलो बोर्डमा सेता अक्षरहरू देखिन्थ्यो, ‘भुमेश्वारा बाख्रा पालन फर्म।' पोखराबाट लगभग एक घण्टाको बस यात्रा र आधा घण्टाको पैदल यात्रामा कास्की घाचोकका पदमराज लम्सालको यो फर्ममा पुगियो। शंकरको नामले धेरैले चिन्ने लम्सालको फर्ममा पुग्दा उनी भर्खरै ब्याएको बाख्रा सम्हाल्दै थिए। उनकी श्रीमती भान्छा तयार पार्दै थिइन् भने ७१वर्षे बा आँगनमा बसेर घाम ताप्दै थिए। केराका बोटहरूले घेरिएको उनको घर टाढैबाट टक्लक्कै चिनिन्थ्यो। ‘दुई पाठो पाएको छ' पाठाहरूलाई दूध तान्न सिकाउँदै लम्सालले भने, ‘भोलि दिउँसो सम्म आफै सक्ने भैहाल्छन्।' १६ वर्ष सम्म तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा भाँडा पसल गरेर बिताएका लम्साल २०७० साल सुरु हुन नपाउँदै बजारमा देखिन छाडे। आम्दानी राम्रै थियो। तनहुँ बजारमै घर किनेर आफ्ना तीन छोरी र एक छोरा पनि हुर्काउँदै थिए उनी। बाबा, आमा र एक श्रीमती सहितको परिवारलाई तनहुँ बजारमा स्थापित गर्न उनले घाचोकमा रहेको...
...A Blog By Bhabasagar