पुस २२ गते। शनिबारको साँझ। पाँच बजेर २० मिनेट गएको थियो। विराटनगर एरपोर्टबाट यति एयरको विमान काठमाडौं उड्नेबित्तिकै एकाएक सबै यात्रु हाँसे। किन हाँसे भन्ने खुलदुली मलाई भयो। यो खुल्दुली तपाईंलाई पनि भयो होला। तपाईंले सोचेजस्तो बल्लतल्ल जहाज उडेर यात्रुहरू हाँसेका हैनन्। कारण के थियो त? खुल्दुली मेट्नुअघि त्यस दिनको बारेमा केही बताउँ। त्यस दिन पहिलो फ्लाइट ९ बजे आसपास थियो। त्यसमै यात्रा गर्न मैले पनि टिकट लिएको थिएँ। साथीहरूले तिमी त पक्कै फर्केर आउँछौ, बिहान फ्लाइट हुँदैन भन्दै थिए। नभन्दै ८ बजे नै एयरपोर्ट पुग्दा थाहा भयो, जहाज उड्ने संकेत छैन। बिहानैदेखि हुस्सुले एयरपोर्ट पूरै डम्मै थियो। चिसो यति धेरै थियो, हातहरू ठिहिर्याइरहेका थिए। केही दिन अघिदेखि नै मौसममा भएको बदलीका कारण राम्ररी घामको मुख हेर्न पाइएको थिएन। जहाज त कुर्नै पर्यो। म नजिकै एक दाइको कोठामा गएर बसेँ। जहाज आउने थाहा पाएपछि एयरपोर्ट आउँला भन्ने भयो। जतिपटक फोन गर्दा पनि जहाज उड्ने संकेत पाइएन। तै टिकट क्यान्सिल गरिसकेको थिइनँ, सिरकभित्र गुटमुटिएर बसेको थिएँ। दिउँसो साढे चार बजेतिर फोन गर्दा एक्कासि म...