वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै । एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुर...
...A Blog By Bhabasagar