Skip to main content

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?’ पाँच वर्षे छोरीको यो प्रश्नले मलाई निक्कै हल्लायो। गत सालको कुरा हो। एकाबिहानै उनले यो प्रश्न सोध्नु अघिल्लो रात हामी साउथ इन्डियन फिल्म हेरिरहेका थियौं। प्राय दक्षिण भारतीय फिल्ममा केटा मान्छेलाई अथाह बलियो मान्छेको रूपमा प्रस्तुत गरिन्छ। अनि केटीलाई निरीह पात्रका रूपमा। हामीले फिल्म हेर्दा छोरी आडैमा खेलिरहेकी थिइन्। हामीसँगै उनीले पनि हेरिरहेकी छिन् भन्ने ख्यालै गरेनौं। यो प्रश्नले बिस्तारै धेरै प्रश्नहरू जन्मायो। हामीले केकस्ता भिडियो उनीसँग बसेर हेर्छौं? छोरीले ग्याजेटमा आफैं कस्ता भिडियो हेर्छिन्, स्कुलमा के पढ्छिन्? साथीहरूसँग उनका के कुरा हुन्छ? हामीले कस्ता पुस्तक र फिल्म तयार पारिरहेका छौं? सुरूआतमा फिल्मका कुरा गरौं, उनले हेर्ने धेरै जसो फिल्ममा केटालाई प्रमुख पात्रका रूपमा उभ्याइएको थियो। केटी पात्रलाई कतिपय अवस्थामा सामान्य त कतिपयमा निरीह नै बनाइएका हुन्थे। उनलाई मनपर्ने भारतीय कार्टुन ‘छोटा भिम’ मा भिम भन्ने पात्र शक्तिशाली थिए। उनकी साथी चुट्की भिम जति शक्त्तिशाली थिइनन्। जब उनी अप्ठ्यारोमा पर्थिन्, भिमलाई गुहार्थिन्। अन्य कार्टुन पनि थिए जहाँ केटी पात्र गुडियासँग मात्र रमाउँथे। केटा पात्रहरू बलका काम गर्थे। उनले यो कार्टुन साढे तीन वर्षदेखि साढे चार वर्षको उमेरसम्म हेरिरहेकी थिइन्। हामीले धेरैपछि मात्र यसमा भएका समस्या देख्न थाल्यौं र बन्द गरायौं। यसबारे खोज्दै जाँदा सन् २०१९ मा #MakeChutkiStronger अभियान नै चलेको पनि थाहा पाएँ। केटी पात्रलाई लैंगिक हिसाबले कमजोर देखाएको कार्टुन हेरिरहँदा उनको बालामनले के सिक्यो होला भन्ने थकथक लागिरह्यो। बाल मस्तिष्क विकासको महत्वपूर्ण समयमा छोरीले हेरेको यो कार्टुन लैंगिक हिसाबले पुरातनवादी सोचमै अडिग रहेको भन्दै सोधपत्र नै तयार भएको रहेछ। द विमेन विश्वविद्यालय मुल्तान, पाकिस्तानकी अस्मत ए शेखले तयार पारेको यो सोधपत्रले कसरी कार्टुनबाट बालबालिकाले आफ्नो सामाजिक भूमिकाबारे गलत सोचको विकास गर्छन् भन्ने खुलाएको छ।
महिलाले चिया ल्याउने, तरकारी काट्ने, भात पस्कने, भान्छा सम्हाल्ने लुगा धुने यस्ता धेरै भूमिकाहरू हामी आफैंले हेर्ने फिल्ममा पनि देख्दै आएका छौं। हामीले यसको मज्जा लिइरहँदा हाम्रा छोरीहरू मात्र हैन, छोराहरूले पनि आफ्नो भूमिका के हो र आफ्नो आमा, बहिनी, दिदी र केटी साथीहरूको भूमिका के हो भन्नेबारे गलत धारणा बनाइरहेका हुन्छन्। छोरीका पुस्तक र उनले लेखेका मसिना अक्षरतिर यतिबेला म फर्किन चाहेँ। ‘माइ मदर कुक्स फुड’, ‘माइ फादर इज रिडिङ अ बुक’, ‘पोलिसम्यान क्याचेज थिफ’ ...यस्ता धेरै उदाहरण भेटिएका छन् जसले मस्तिष्क विकासका दौरान उनको दिमागमा कब्जा जमाइरहेका हुँदा रहेछन्। सेल्सम्यान, पोस्टम्यान, म्यानपावर यस्ता धेरै शब्दले अहिले मेरो र छोरीका बीचमा बालमैत्री छलफल चलाइरहेको छ। के महिला प्रहरी हुँदैनन्? के पोलिसम्यानको सट्टा पोलिस अफिसर भन्न सकिन्न? पोष्ट अफिसमा केटीहरूले काम गर्दैनन्? यस्ता प्रश्नका उत्तर खोज्दै भिडियो र फोटो देखाउँदै गर्दा उनको सिकाइको आकाश फराकिलो हुँदै गएको पाएको छु। यस्ता विषयमा बुझाउन कुराकानी मात्र अपर्याप्त हुन्छन्। एकदिन उनीसँगै स्कुटरमा जाँदै गर्दा मैले महिला ट्राफिकको अघि लगेर साधन टक्क रोकेँ। काठमाडौंको मैतिदेवी चोकमा उभिएकी उनले छक्क परेर हामीलाई हेरिन्। ‘छोरीलाई तपाईंसँग भेटाउन मन लाग्यो,’ मेरो कुराले उनी खुसी भइन्। छोरीसँग कुराकानी गरिन्। हात मिलाइन्। यो प्रसंग मेरी छोरीले सधैं सम्झिन्छिन्। मलाई विश्वास छ उनको भित्रि मनमा यो सुन्दर सम्झना धेरै वर्ष रहिरहनेछ र उनलाई मनैदेखि बलियो बनाउन सघाउनेछ। आर्मी, लेखक, चित्रकार, अग्नि नियन्त्रक, खेलाडी धेरैभन्दा धेरै महिला पात्रलाई भेटाउने, चिनाउने वा मोबाइल स्क्रोल गर्दै देखाउने मेरो प्रयास निरन्तर छ, रहिरहनेछ। घरकै भान्छाको कुरा गरौं। बाबाले पकाएको चनाको सुप अनि भुटेको आलु खाँदै गर्दा उनले होमवर्कमा ‘बाबा खाना पकाऊ, आमा अफिस जाऊ, भाइ कुखुरालाई दाना देऊ’ लेख्न जानेकी छिन्। लैंगिक समानताका कुरा आजको भोलिमै आउँछ भन्ने छैन। परिवर्तन ल्याउन हाम्रो प्रयास निरन्तर छ कि छैन भन्ने महत्वपूर्ण हुँदो रहेछ। हामीले नजानेर वा जानेर नै यस्ता व्यवहार गरिरहेका हुन्छौं जसले असमानतालाई मलजल दिन्छ। अंग्रेजीमा कारको वाक्य बनाउँदा सोझै ब्वाइ (केटा) को चित्र दिमागमा आउनु, जस्तै ‘माइ ब्रदर इज ड्राइभिङ अ कार’ अनि टोय (खेलौना) को वाक्य बनाउँदा केटीको चित्र दिमागमा आउनु, जस्तै ‘सि इज प्लेइङ टोय'। यी दुवैमा हाम्रो पूर्वनिर्धारित मनस्थिति सक्रिय हुन्छ। अर्थात हामीलाई वर्षौंदेखि जे रटाइएको छ, त्यो नै दिमागको कुनामा जमेर बसेको हुन्छ र त्यही नै व्यवहारमा चाँडै आउँछ। केटीले गाडी चलाएको देख्दा टक्क अडिने। केटाले कपाल पालेको देख्दा छक्क पर्ने बानी अझै पनि हामी बीचमा होला। त्यसलाई चिर्न पनि हामीले सानैदेखि लैंगिक समानताको पढाइ घर, समाज र विद्यालय सबैतिर पढाउनु र अभ्यास गराउनु जरूरी छ। हामीले जति गरिरहेका छौं, ती निकै कम छन्। अपर्याप्त छन्। सडकमा हिँड्दा होस् या ग्याजेट दुनियाँको यात्रा गर्दा, छोरीका आँखाअघि आउने हरेक दृश्यले उनलाई भित्रैदेखि बलियो बनाओस्। म पनि समान हुँ भन्ने सिकाओस् भन्ने लाग्छ। केही समयअघि चलिरहेको फुटबल खेलकै कुरा गरौं। संसारसँगै हामी युरोकपमा रोनाल्डो, थोमस मुलर, ग्रिजम्यान र पोग्बाको जादुमा चुर्लुम्मै डुबिरहँदा छोरीले खेलकै बीचमा प्रश्न सोधिन्, ‘बाबा केटीहरूलाई फुटबल किन नखेला’को?’ सायद तपाईंका छोरीलाई पनि यस्तैलाग्दो हो, नसोधेका पनि हुन सक्छन्। के तपाईंले कहिल्यै छोराछोरीलाई सोध्नुभएको छ त्यहाँ किन केटी खेलाडी नदेखिएका? छोरीको प्रश्नले मलाई एकपटक साँच्चै हल्लायो। उनको प्रश्नपछि केटीहरूको वर्ल्डकप फुटबल पनि हुन्छ भन्ने तथ्य कुरा मैले उनलाई सुनाएँ। दुई वर्षअघि अमेरिका र नेदरल्यान्ड्स बीच भएको वर्ल्डकप फाइनल फुटबल म्याचमा हामीले आँखा पुर्‍यायौं। महिलाहरूले फुटबल त्यहाँ मात्र हैन, नेपालमा पनि खेल्छन् भन्दै राष्ट्रिय फुटबलर सावित्री भण्डारीले गरेको पाँच उत्कृष्ट गोल हेर्‍यौं। मज्जा आयो। छोरीसँगै बसेर मीना कार्टुन, मुलान, गुञ्जन सक्सेना, दंगल अनि स्केट गर्ल हेर्दा उनको मनमा उर्लिएको उत्साह म आँखामा देख्न सक्थेँ। यीमध्ये केही चलचित्र उमेरका हिसाबले प्रश्नवाचक हुन सक्छन् छ वर्षे छोरीका लागि। तर संघर्षको मैदानमा महिला पात्रको प्रयास, नेतृत्व अनि सफलतालाई लिएर बनाइएका यस्ता चलचित्र साना नानीबाबुका लागि यथेष्ट पाइँदैन। नेपाली भाषामा त झनै खडेरी छ। नयाँ र सन्तुलित सोचसहित थप सामग्री आउनु अति आवश्यक छ। आगामी दिनमा छोराछोरी अघि बढून् र समानताका विषय सिकून् भन्ने तपाईंलाई पनि पक्कै लाग्दो हो। हो भने, हाम्रा छोराछोरीले दैनिक रूपमा हेर्ने, पढ्ने र सुन्ने दृश्यहरूमा ख्याल गरौं। म चाहन्छु भोलिका दिनमा अलमल हुँदै हाम्रा छोरीहरूले फेरि यो प्रश्न नसोधून्, ‘बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?’ Follow @Twitter@bhabasagar https://www.setopati.com/blog/247593

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

सम्झनामा जहाजका तस्बिर मात्र

हिजो जहाज दुर्घटनाको समाचार थाहा पाए पछि निक्कै खल्लो लाग्यो ।    नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज   हो भन्ने थाहा पाए पछि मैले आफूसँग भएका यात्राका फोटोहरू पल्टाउन थाले । पछि थाहा पाएँ यो त्यही जहाज थियो जसले मलाई  कुनै बेला  नेपालगञ्जबाट जुम्ला र मुगुबाट नेपालगञ्ज सुरक्षित ल्याउन सघाएको थियो ।     म २०६७ को वैशाख ११ गते  यो जहाजमा  नेपालगञ्जबाट जुम्ला उडेको थिएँ । बीबीसी मिडिया एक्सनको रेडियो कार्यक्रम उत्पादनको शिलशिलामा । जहाज उडेर जुम्ला ल्याण्ड नगरे सम्म पुगिन्छ भन्ने टुंगो हुँदैन्थ्यो । उडानहरू खराब मौसमका कारण बीच बाटोबाटै फर्केका पनि धेरै उदाहरणहरू थिए । त्यसैको केही महिना पछि (अषाढ १ गते ) सीता एरलाइन्सबाट नेपालगञ्ज देखि जुम्ला उडेका हाम्रो टोली बीचबाटो बाटै पुनः नेपालगञ्ज फर्केको थियो, खराब मौसमका कारणले । केही दिन कुरेर ४ गते उड्दा मात्र हामी सकुशल जुम्ला अवतरण गर्न सक्यौं । जहाजमा पहाड तीरको यात्रा गर्दाको अनुभव निक्कै रोमाञ्चक अनि डरलाग्दो थियो त्यती बेला । पहिलो पटक जुम्ला, कर्णाली जानु । पहिलो पटक नेपाल एरलाइन्सको ज...