कथा कसरी लेख्ने

-भवसागर घिमिरे

कथा सुन्न सुनाउन त रमाइलो हुन्छ नी हैन ? कथा बुन्न पनि निक्कै रमाइलो हुन्छ ।

Picture: Room to Read
यहाँहरूलाई थाहा भैसकेको पनि होला, कथा भनेको हाम्रो दैनिकमा भएका, देखेका, भोगेका, सुनेका घटनाहरू पनि हुन । जुन काल्पिनिक पनि हुनसक्छ । सत्य घटना पनि हुन सक्छ । त्यसमा विभिन्न पात्रहरू हुन्छन् । जनावर, मानिस, रुख, ढुंगा सजिव निर्जिव सो सुकै पनि पात्र हुनसक्छन् । राम्रो कथामा उतारचढाव हुन्छ र यसले हामी सबैको मन छुन्छ ।

आजको भागमा भने मैले कथा कसरी लेख्न सकिन्छ भन्ने कुरा सुनाउन गैरहेको छु । सुनिसकेपछि यसलाई तपाईहरूले पनि घरमा अभ्यास गर्न नभुल्नु होला है । 

सुरु गरौं कथा कसरी तयार पार्ने ?


कथा खोज्न टाढा जानु पर्दैन । पहिला हामी आफ्नै घर भित्रै हेरौं । पहिला विभिन्न घटनाहरूलाई एक ठाउँमा राखौं ।

गोठमा भैसी कराइरहेको छ ।

बाबा टौवामा पराल थुत्दै हुनुहुन्छ ।

भाइले केरा खायो र बोक्रा आँगनमा फाल्यो ।

आमाले पानी लिएर आउनु भयो ।

म पिढीँमा बसेर पाठ पढ्दैछु ।

आमा केराको बोक्रामा चिप्लेर लड्नु भयो ।

पानी सबै पोखियो ।


तपाईहरूको उमेर समुहका लागि एकैपटक ठूलो कथा सोच्नु भन्दा यस्तै साना साना घटनाहरू जोड्दै जाँदा कथा लेख्ने उपाय पनि आउँछ र मीठो पनि हुन्छ । अब अघि भनेका घटनाहरूबाट कसरी कथा बनाउने त ? त्यसको सुरु कहाँ बाट गर्ने र अन्त्य कहाँबाट गर्ने ? के थप्ने के हटाउने ? अब त्यता तिर सोचौं है ?


घटनाहरू यसरी लेखिसकेपछि हामीले त्यसलाई मालामा फूलहरू जोडेजस्तै गरि जोड्न सक्छौं । माला अझ राम्रो बनाउन अरु फूलहरू पनि ल्याउन सक्छौं । भनेको अरु घटनाहरू पनि थप्न सक्छौं । तर यसरी घटना जोड्दा हामीले हाम्रो पाठकहरूको ध्यान तान्ने, मन तान्ने गरि जोड्नु पर्छ । जस्तो कि, अब के होला ? अब के होला भन्ने कौतुहलता ल्याउन सक्नु पर्छ । सँगसँगै कथा पढ्दा त्यसको दृश्यहरू पनि पाठकको दिमागमा बस्ने बनाउनु पर्छ । तब न कथा राम्रो हुन्छ । हाम्रो कथामा पनि सुरुवातमा केही यस्तो कुरा होस् कि त्यसले हाम्रो पाठकको ध्यान तानोस् । त्यसैले अब यी घटनालाई कसरी जोड्दा मज्जाको बन्ला भनेर हेरौं है ?


माथि हामीसँग धेरै घटनाहरू छन् । कौतुहलता जगाउन लेखक पिच्छे आफ्नै तरिकाहरू हुन्छन् । मेरो बीचारमा भने,


भाइले केरा खायो र बोक्रा आँगनमा फाल्यो । भन्ने वाक्यले हामीलाई कथा सुरु गर्न अझ सघाउँछ । यसले अब के होला भन्ने प्रश्न पनि ल्याउँछ । अझ यो बोक्रामा आमा लड्दै हुनुहुन्छ । अब भाइले आमालाई धेरै माया गथ्र्यो भन्ने भयो भने त भाइलाई झनै दुखी बनाउँछ अनि उसले पछि यसो गर्दैन । त्यसैले अझ यसरी सुरु गर्न सकिन्छ ।


भाइलाई आमाले असाध्यै माया गर्नु हुन्थ्यो । शनिबार मामा घरमा जाँदा आमाले उसलाई मन पर्ने मुग्रे केरा ल्याइदिनु भयो । भकारीमा राखेको केरा आज मस्तले पाकेछ । भाइ कपाकप केरा खाँदै आँगनमा खेल्दै थियो । म पिढीँमा बसेर पढ्दै थिएँ । बा टौवाबाट पराल थुत्दै हुनुहुन्थ्यो । बाले पराल थुतेको देखेर गोठको काली भैसी ‘वाइ वाइ’ गरेर कराउन थाल्यो । धारोमा पानी नआएकाले उसले कुँडो पनि खान पाएको थिएन । आमा भर्खरै पानी लिन जानु भएको थियो ।


यहाँ मैले केही कुराहरूथपेँ...यसले पढ्ने मान्छेको दिमागमा चित्र कोर्न सघाउँछ । 


बडा बडा ३ वटा मुग्रे केरा भाइ एक्लैले सक्यो । बोक्रा भने फ्वात्त आँगनमा फाल्यो अनि फेरि खेल्न थाल्यो । त्यसै बेलामा आमा पानीको गाग्रो बोकेर आउनु भयो । पानी ल्याएको देखेर काली भैसी खुब खुसी भयो । अचानक आमाकोे चप्पल केराको बोक्रामा प¥यो र आमा चिप्लेर लड्नु भयो । पानीको गाग्रो आँगनबाट गल्ट्याङ गुल्टुङ गुडुल्कीँदै तल्लो बारीमा खस्यो । पानी पुरै पोखियो । म र भाई दकुर्दै आमालाई समाउन गयौं । बाबा पनि हत्तनपत्त आउनु भयो । आफ्नो कारणले आमा लड्नु भएपछि भाइ ङ्वाँ ङ्वाँ रुन थाल्यो । आमाले भाइलाई च्याप्प काखमा लिनु भयो र फुलाउनु भयो । भाइले त्यसपछि कहिल्यै आँगनमा फोहोर फालेन ।


भाइबहिनीहरू तपाइले याद गर्नु भो ? अघिका घटनाहरूमा केही कुरा थपेर हामीले जोड्यौं । यसरी घटनाहरूमा हामीले थप केही घटनाहरू बुनेर थप्न सक्छौं जसले हाम्रो कथालाई अझै मनछुने बनाउँछ । यसमा भैसीले पानी खान पाएन । आमा फेरी पानी लिन जानु प¥यो । आमाले माया गरेर भाइलाई ल्याइदिनु भएको केराकै बोक्रामा लड्नु भयो । र भाइले आफै पाठ सिक्यो । यसरी कथाले सन्देश पनि बोक्छ र मन छुने पनि हुन सक्छ । कथा पढ्दा यो कथाको दृश्य तपाइँको दिमागमा पनि बस्छ, हैन ? कि बसेन ?


त्यसैले कथा बुन्दा पहिला विभिन्न घटनाहरू लेख्ने । त्यसलाई बुन्दै जाने । केही थप्ने केही फाल्ने । कुन घटनापछि कुन घटना राख्दा पढ्दा मज्जा आउँछ आफैले बिचार गर्ने र शिक्षक, अभिभावकलाई सोध्ने पनि गर्न सकिन्छ । 



घरमा कस्ता कथा वस्तु हुन्छन ?


घरमा भाई जन्मेपछि दाईलाई के भो ? कसरी सबैले भाइलाई माया गर्न थालेपछि सुरुमा उसलाई भाइ मन परेन । पछि कसरी भाइ उसको मिल्ने साथी भयो ? कथा एक दिनको, एक छिनको वा वषौंसम्मको पनि हुनसक्छ । 


विज्ञानका कथाः   खाल्डो हालेको पातपतिङ्गर कसरी मल बन्यो ।

गोबरको गुइँठा कसरी बन्यो भात पाक्यो ?

कुन रुखको के काम । (रुख गन र नाम भन, प्रकृती बुझ्ने)

मैले ढिँडो पकाउन कसरी सिकेँ ? 



घरको कथालाई कसरी उतार्ने ?


पहिला पात्रहरू लेख्ने ।

विभिन्न घटनाहरू लेख्ने ।

त्यसलाई शिलशिला वद्ध बनाउने ।

कौतुहलता जगाउने हिसाबले घटनाक्रम मिलाउने ।

स्थानीय भाषा, दृश्यहरू मिलाएर घटनाहरू वर्णन गर्ने । थोरै हाँसो, थोरै खुशी, थोरै दुःख, थोरै माया सबै कुरा मिसाएर कथा मीठो बनाउन सकिन्छ ।


यसमा अभिभावकले कसरी सघाउन सक्छन् ? अब के गर्ने ?


कथा लेखिसकेपछि, अभिभावकले हेरिसकेपछि र सुनिसकेपछि । लागेको कुरा थपघट गर्ने । 

अरुलाई सुनाउन कस्तो लाग्यो भन्ने ।

सबै भन्दा ठूलो सबै बालबालिका प्रोत्साहित गर्नु पर्छ । 


भाइबहिनीहरू आजको कुरा तपाइहरूलाई केही फाइदाजनक भयो होला भन्ने आश गरेको छु । घरमा आफैले कथा बुन्ने अभ्यास गर्नुहोस् । साथीभाई, शिक्षक, अभिभावक अग्रज सबैको सल्लाह लिनुहोस् । तपाईहरू पक्कै भोली ठूलो लेखक बन्न सक्नुहुनेछ ।













Comments