Skip to main content

कथा कसरी लेख्ने

-भवसागर घिमिरे

कथा सुन्न सुनाउन त रमाइलो हुन्छ नी हैन ? कथा बुन्न पनि निक्कै रमाइलो हुन्छ ।

Picture: Room to Read
यहाँहरूलाई थाहा भैसकेको पनि होला, कथा भनेको हाम्रो दैनिकमा भएका, देखेका, भोगेका, सुनेका घटनाहरू पनि हुन । जुन काल्पिनिक पनि हुनसक्छ । सत्य घटना पनि हुन सक्छ । त्यसमा विभिन्न पात्रहरू हुन्छन् । जनावर, मानिस, रुख, ढुंगा सजिव निर्जिव सो सुकै पनि पात्र हुनसक्छन् । राम्रो कथामा उतारचढाव हुन्छ र यसले हामी सबैको मन छुन्छ ।

आजको भागमा भने मैले कथा कसरी लेख्न सकिन्छ भन्ने कुरा सुनाउन गैरहेको छु । सुनिसकेपछि यसलाई तपाईहरूले पनि घरमा अभ्यास गर्न नभुल्नु होला है । 

सुरु गरौं कथा कसरी तयार पार्ने ?


कथा खोज्न टाढा जानु पर्दैन । पहिला हामी आफ्नै घर भित्रै हेरौं । पहिला विभिन्न घटनाहरूलाई एक ठाउँमा राखौं ।

गोठमा भैसी कराइरहेको छ ।

बाबा टौवामा पराल थुत्दै हुनुहुन्छ ।

भाइले केरा खायो र बोक्रा आँगनमा फाल्यो ।

आमाले पानी लिएर आउनु भयो ।

म पिढीँमा बसेर पाठ पढ्दैछु ।

आमा केराको बोक्रामा चिप्लेर लड्नु भयो ।

पानी सबै पोखियो ।


तपाईहरूको उमेर समुहका लागि एकैपटक ठूलो कथा सोच्नु भन्दा यस्तै साना साना घटनाहरू जोड्दै जाँदा कथा लेख्ने उपाय पनि आउँछ र मीठो पनि हुन्छ । अब अघि भनेका घटनाहरूबाट कसरी कथा बनाउने त ? त्यसको सुरु कहाँ बाट गर्ने र अन्त्य कहाँबाट गर्ने ? के थप्ने के हटाउने ? अब त्यता तिर सोचौं है ?


घटनाहरू यसरी लेखिसकेपछि हामीले त्यसलाई मालामा फूलहरू जोडेजस्तै गरि जोड्न सक्छौं । माला अझ राम्रो बनाउन अरु फूलहरू पनि ल्याउन सक्छौं । भनेको अरु घटनाहरू पनि थप्न सक्छौं । तर यसरी घटना जोड्दा हामीले हाम्रो पाठकहरूको ध्यान तान्ने, मन तान्ने गरि जोड्नु पर्छ । जस्तो कि, अब के होला ? अब के होला भन्ने कौतुहलता ल्याउन सक्नु पर्छ । सँगसँगै कथा पढ्दा त्यसको दृश्यहरू पनि पाठकको दिमागमा बस्ने बनाउनु पर्छ । तब न कथा राम्रो हुन्छ । हाम्रो कथामा पनि सुरुवातमा केही यस्तो कुरा होस् कि त्यसले हाम्रो पाठकको ध्यान तानोस् । त्यसैले अब यी घटनालाई कसरी जोड्दा मज्जाको बन्ला भनेर हेरौं है ?


माथि हामीसँग धेरै घटनाहरू छन् । कौतुहलता जगाउन लेखक पिच्छे आफ्नै तरिकाहरू हुन्छन् । मेरो बीचारमा भने,


भाइले केरा खायो र बोक्रा आँगनमा फाल्यो । भन्ने वाक्यले हामीलाई कथा सुरु गर्न अझ सघाउँछ । यसले अब के होला भन्ने प्रश्न पनि ल्याउँछ । अझ यो बोक्रामा आमा लड्दै हुनुहुन्छ । अब भाइले आमालाई धेरै माया गथ्र्यो भन्ने भयो भने त भाइलाई झनै दुखी बनाउँछ अनि उसले पछि यसो गर्दैन । त्यसैले अझ यसरी सुरु गर्न सकिन्छ ।


भाइलाई आमाले असाध्यै माया गर्नु हुन्थ्यो । शनिबार मामा घरमा जाँदा आमाले उसलाई मन पर्ने मुग्रे केरा ल्याइदिनु भयो । भकारीमा राखेको केरा आज मस्तले पाकेछ । भाइ कपाकप केरा खाँदै आँगनमा खेल्दै थियो । म पिढीँमा बसेर पढ्दै थिएँ । बा टौवाबाट पराल थुत्दै हुनुहुन्थ्यो । बाले पराल थुतेको देखेर गोठको काली भैसी ‘वाइ वाइ’ गरेर कराउन थाल्यो । धारोमा पानी नआएकाले उसले कुँडो पनि खान पाएको थिएन । आमा भर्खरै पानी लिन जानु भएको थियो ।


यहाँ मैले केही कुराहरूथपेँ...यसले पढ्ने मान्छेको दिमागमा चित्र कोर्न सघाउँछ । 


बडा बडा ३ वटा मुग्रे केरा भाइ एक्लैले सक्यो । बोक्रा भने फ्वात्त आँगनमा फाल्यो अनि फेरि खेल्न थाल्यो । त्यसै बेलामा आमा पानीको गाग्रो बोकेर आउनु भयो । पानी ल्याएको देखेर काली भैसी खुब खुसी भयो । अचानक आमाकोे चप्पल केराको बोक्रामा प¥यो र आमा चिप्लेर लड्नु भयो । पानीको गाग्रो आँगनबाट गल्ट्याङ गुल्टुङ गुडुल्कीँदै तल्लो बारीमा खस्यो । पानी पुरै पोखियो । म र भाई दकुर्दै आमालाई समाउन गयौं । बाबा पनि हत्तनपत्त आउनु भयो । आफ्नो कारणले आमा लड्नु भएपछि भाइ ङ्वाँ ङ्वाँ रुन थाल्यो । आमाले भाइलाई च्याप्प काखमा लिनु भयो र फुलाउनु भयो । भाइले त्यसपछि कहिल्यै आँगनमा फोहोर फालेन ।


भाइबहिनीहरू तपाइले याद गर्नु भो ? अघिका घटनाहरूमा केही कुरा थपेर हामीले जोड्यौं । यसरी घटनाहरूमा हामीले थप केही घटनाहरू बुनेर थप्न सक्छौं जसले हाम्रो कथालाई अझै मनछुने बनाउँछ । यसमा भैसीले पानी खान पाएन । आमा फेरी पानी लिन जानु प¥यो । आमाले माया गरेर भाइलाई ल्याइदिनु भएको केराकै बोक्रामा लड्नु भयो । र भाइले आफै पाठ सिक्यो । यसरी कथाले सन्देश पनि बोक्छ र मन छुने पनि हुन सक्छ । कथा पढ्दा यो कथाको दृश्य तपाइँको दिमागमा पनि बस्छ, हैन ? कि बसेन ?


त्यसैले कथा बुन्दा पहिला विभिन्न घटनाहरू लेख्ने । त्यसलाई बुन्दै जाने । केही थप्ने केही फाल्ने । कुन घटनापछि कुन घटना राख्दा पढ्दा मज्जा आउँछ आफैले बिचार गर्ने र शिक्षक, अभिभावकलाई सोध्ने पनि गर्न सकिन्छ । 



घरमा कस्ता कथा वस्तु हुन्छन ?


घरमा भाई जन्मेपछि दाईलाई के भो ? कसरी सबैले भाइलाई माया गर्न थालेपछि सुरुमा उसलाई भाइ मन परेन । पछि कसरी भाइ उसको मिल्ने साथी भयो ? कथा एक दिनको, एक छिनको वा वषौंसम्मको पनि हुनसक्छ । 


विज्ञानका कथाः   खाल्डो हालेको पातपतिङ्गर कसरी मल बन्यो ।

गोबरको गुइँठा कसरी बन्यो भात पाक्यो ?

कुन रुखको के काम । (रुख गन र नाम भन, प्रकृती बुझ्ने)

मैले ढिँडो पकाउन कसरी सिकेँ ? 



घरको कथालाई कसरी उतार्ने ?


पहिला पात्रहरू लेख्ने ।

विभिन्न घटनाहरू लेख्ने ।

त्यसलाई शिलशिला वद्ध बनाउने ।

कौतुहलता जगाउने हिसाबले घटनाक्रम मिलाउने ।

स्थानीय भाषा, दृश्यहरू मिलाएर घटनाहरू वर्णन गर्ने । थोरै हाँसो, थोरै खुशी, थोरै दुःख, थोरै माया सबै कुरा मिसाएर कथा मीठो बनाउन सकिन्छ ।


यसमा अभिभावकले कसरी सघाउन सक्छन् ? अब के गर्ने ?


कथा लेखिसकेपछि, अभिभावकले हेरिसकेपछि र सुनिसकेपछि । लागेको कुरा थपघट गर्ने । 

अरुलाई सुनाउन कस्तो लाग्यो भन्ने ।

सबै भन्दा ठूलो सबै बालबालिका प्रोत्साहित गर्नु पर्छ । 


भाइबहिनीहरू आजको कुरा तपाइहरूलाई केही फाइदाजनक भयो होला भन्ने आश गरेको छु । घरमा आफैले कथा बुन्ने अभ्यास गर्नुहोस् । साथीभाई, शिक्षक, अभिभावक अग्रज सबैको सल्लाह लिनुहोस् । तपाईहरू पक्कै भोली ठूलो लेखक बन्न सक्नुहुनेछ ।













Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...