यो पोखरा, त्यो पोखरा

पहिलाका घरहरूलाई रूखले छेक्थे  । अहिलेचाहिँ घरहरूले रूख मात्र होइन, हिमालै छेक्ने भइसकेका छन्  ।
सुन्दरताको नाममा कसरी कंक्रिटको सहर बन्दै गयो पोखरा भन्ने फरकपन झल्काउने पुस्तक ‘पोखरा ः हिजो र आज’ बजारमा आएको छ । विसं २०१० को दशकदेखि हालसम्मका तस्बिरहरू यस पुस्तकले समेटेको छ । पाँच दशकअघिदेखि क्यामरासँग रमाउन सुरु गरेका पोखरा निवासी विश्व शाक्यले पुस्तक प्रकाशनमा ल्याएका हुन् ।
नयाँ पुस्तालाई पुरानो पोखराको बारेमा जानकारी दिने अनि पुरानो पुस्तालाई आफू विगतमा हुर्केको पोखराको सम्झना पुस्तकले दिलाउनेमा शाक्य आशावादी छन् । ‘विकासका नाममा सुन्दरतामाथि थोपारिएको विकृतिबारेमा सचेत गराउने मेरो सोच हो,’ शाक्यले भने । पोखराको परिभाषालाई फेवाताल र लेकसाइडको परिधिमा मात्र घेराबन्दी गर्ने चलन धेरै छ । फेवातालसँगै संरक्षणको चुनौती खेपिरहेका लेखनाथका बेगनास, रूपा, न्युरेनी, दिपाङ, गुँडेजस्ता तालको पनि सहर हो पोखरा भन्ने पुस्तकले देखाउँछ ।
अहिले मोबाइलबाट तस्बिर खिच्ने र सामाजिक सञ्जालमा धुलाउने जमाना आएको छ । तैपनि फोटो पुस्तक प्रकाशित गर्ने सोच कसरी आयो त ? प्रश्न सुनेर उनी हाँसे, ‘एक दशक अघिदेखि मैले पोखरा ः हिजो र आज भन्ने फोटो स्तम्भ स्थानीय पत्रिकामा चलाउँथें, त्यसले तस्बिर संकलन गर्ने र प्रकाशित गर्ने सोच पलायो । संग्रह पनि हुन्छ अनि हात राखेर हेर्नुको मज्जा नै बेग्लै हुन्छ भन्ने सोचें ।’ विदेशीहरूमाझ पोखराको पर्यटन प्रचार गर्ने मनसायले पुस्तकमा अंग्रेजी र नेपाली दुवैमा भाषामा तस्बिरहरूको वर्णन गरिएको छ । डाक्टर हर्क गुरुङसहित दुई दर्जनभन्दा बढी स्वदेशी तथा विदेशीले खिचेका तस्बिरहरू पनि समावेश गरिएको छ यो पुस्तकमा । चार सय हाराहारी तस्बिर रहेको यो पुस्तकमा उनी आफैंले खिचेका तीन सयभन्दा बढी उहिले र अहिलेका पोखराका तस्बिरहरू छन् ।


लेखनाथ शिशुवाका आँगनबाट कसरी धानका फाँटहरू बिलाए ? भैरवटोल, रामकृष्णटोलको आफ्नोपन कसरी मासिँदै गयो ? बिन्धवासिनी मन्दिरमा थुपारिएका संरचनाले कसरी त्यसको सुन्दरतालाई चुनौती दिइरहेको छ ? ठूलो एकादशीमा गरिने तोरण यात्रा, बाघजात्रा, भैरवनाच, सहस्रधारा माघेजात्रा, खैंजडी मुजुरासँगै गाइने भजनकीर्तनसँगै उबेला अत्यधिक चलनमा ल्याइने डोको, डालो, थुन्से, मान्द्रोहरू के पोखराले बिर्संदै त छैन ? पुस्तकमा अटाएका तस्बिरहरूले यस्ता हजारौं प्रश्नको तोप बोकेर उभिएजस्तो लाग्छ । आधुनिकताको पर्खालले मौलिक पहिचान छेक्न हुन्छ कि हुँदैन ? उत्तर पोखराले पक्कै खोज्नेछ भन्नेमा शाक्य आशावादी छन् ।
लेखक भवसागर घिमिरेप्रकाशित : जेष्ठ ११, २०७६ १०:४२https://www.kantipurdaily.com/koseli/2019/05/25/155876025396147694.html

Comments