विश्वस्तरीय प्रतिस्पर्धामा नेपाली सर्ट फिल्म

नयाँ पत्रिका -
स्पेनमा हुने विश्वस्तरीय ‘वी आर वाटर फिल्म फेस्टिभल २०१८’को अन्तिम नोमिनेसनमा तीनवटा नेपाली सर्ट फिल्म मनोनयनमा परेका छन् ।
नेपालका तर्फबाट माइक्रो डकुमेन्ट्री क्याटेगोरीमा विभु पौडेलद्वारा निर्मित ‘द लास्ट स्पाउट’ तथा माइक्रो फिक्सन क्याटेगोरीमा भवसागर घिमिरेद्वारा निर्मित ‘तिर्खा’ र सविन महर्जन तथा आशिष बस्नेतद्वारा निर्मित ‘कलर अफ वाटर’ परेका हुन् ।
वी आर वाटर फाउन्डेसनले विश्वमा व्याप्त पानीसँग सम्बन्धित समस्याको चित्रण गर्ने तथा यसबारे जनचेतना फैलाउने उद्देश्यले फिल्म फेस्टिभलको आयोजना गर्दै आएको छ । २०१८ को संस्करणमा विश्वका १ सय २८ देशका २ हजार ४ सय सर्ट फिल्म प्रतिस्पर्धाका लागि दर्ता भएका थिए ।

यस वर्षको विजेता छान्नका लागि नोमिनेसनमा परेका यी नेपाली सर्ट फिल्मलाई जिताउनका लागि ‘डब्लुडब्लुडब्लू फिल्मफेस्टिभल डट वी आर वाटर डट ओआरजी’ भिजिट गरेर भोट हाल्न सकिनेछ । भोटिङ गर्ने अन्तिम मिति आउँदो जुन २ तारिखसम्म छ ।
फेसबुक वा इमेलमार्फत भोट गर्न सकिने सुविधा उपलब्ध छ । यी सर्ट फिल्म पब्लिक क्याटेगोरीमा छानिएमा १ हजार युरो र क्याटेगोरी विजेता बनेमा ३ हजार युरो पुरस्कार जित्नेछन् ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वमा अहिले ६६ करोड ३० लाख मानिसको खानेपानीमा र २ अर्ब ४० करोड मानिसमा आधारभूत सरसफाइको पहुँच हुन सकेको छैन ।

http://www.enayapatrika.com/2018/05/28/54598/

Comments