Skip to main content

बाख्रापालक किसान भन्छन्, 'चाँडै फाइदामा जाँदैछु'

मंसिर २५, २०७२- 
भवसागर घिमिरे
तनहुँको दुलेगौडामा उनको भाँडा पसल थियो । निरन्तर आम्दानी त थियो नै, पसलमा बस्दा बस्दा उनको जिउको तौलपनि बढ्न थाल्यो । १६ वर्षसम्म धानेको व्यापारको हतारपूर्णदैनिकीबाट दिक्क भएका उनलाई लेकाली गाउँको चिसो हावा खाने रहर लाग्यो अनि पुर्ख्यौली ठाउँ कास्कीको घाचोक पुगे । चलिराखेको भाँडा पसल छाडेर बाख्रा पालनमा लाग्दा पद्मराज लम्साललाई धेरैले भने, ‘यसले काम बिगार्‍यो ।’ उत्साही बाख्रा पालक लम्साल भन्छन्, ‘बिस्तारै काम बिगार्‍यो भन्नेहरू पनि अहिले मसँगै व्यवसायका बारेमा सोधखोज गर्न आउँदैछन् ।’ पोखराबाट लगभग १ घण्टाको गाडी यात्रा अनि आधा घण्टाको पैदल यात्रापछि गत साल चैतमाभुमेस्वाँरा बाख्रा फार्ममा पुग्दा उनीबाट निकै प्रभावित भएको थिएँ । सात महिनापछि उनको उत्साह कस्तो भएको होला त ?


खुल्दुली मेटाउन म फेरि उनकै फार्ममा गत कात्तिक महिनामा पुगेँ । फार्ममा पुग्दा उनी बाख्राका पाठापाठी स्याहार्न व्यस्त थिए । भेट्ने बित्तिकै लम्साललाई उनको लक्ष्य स्मरण गराएँ, ‘वार्षिक १ सयवटा खसीबोका उत्पादन गर्ने ।’ कस्तो छ त अवस्था ? प्रश्न सुन्ने बित्तिकै उनले भने, ‘यो पहिलो वर्ष ५० वटामात्र गर्न सकिन्छ होला । त्यसमध्ये ३५ वटा बेचिसकेँ । अब १५ वटा जति बेच्ने तयारीमा छु ।’ लक्ष्यतर्फको उनको पहिलो पाइलाले मलाई थप उत्साहित बनायो । एउटाको सालाखाला १० हजारको दरले पनि उनले बजारमा साढे तीन लाखको मासु पठाइसकेका छन् भने डेढ लाखको पठाउने तरखरमा छन् । ‘खर्च कटाउँदा अहिले नै धेरै आम्दानी भैसकेको छैन,’ तीन वर्ष अघि फार्म सुरु गरेका लम्सालले भने, ‘सुरुका वर्षहरूमा प्रत्येक महिना घाटामा थिएँ, अब भने चालु खर्च कभर गरेरमाथि उठ्दैछु ।’ चाँडै उनी नाफामा जाने सुरसारमा रहेछन् । बोयर जातका बोकाले क्रश गराएका पाठाहरूको तौल कस्तो निस्कन्छ भन्ने कौतुहल उनमा छ । ‘अझपियोर बोयरकै बिउ पाए चाँडै फाइदा लिन सकिन्थ्यो,’ लम्साल भन्छन्, ‘म त्यसको खोजीमा छु ।’ 


व्यवसायबारे बुझ्ने र खोजीनिती गर्ने उनको बानीले उनले बाख्रा पालनको तालिम पनि लिन भ्याएका छन् । जिल्ला पशुकार्यालय होस् वा तालिम दिने अन्य संघसंस्थाहरू नै किन नहुन्, समयले भ्याएसम्म उनी पुग्ने गर्छन् । जहाँ जति पढेपनि जिन्दगीभन्दा ठूलो विश्वविद्यालय केही छैन भन्ने चाहिँ आफूले भोगेरै थाहा पाएको उनले बताए । ‘आफैले अनुभव गरेको जस्तो पढेर बुझिँदो रहेछन्,’ उनले भने, ‘यो तीन वर्षको दौरानमा मैले धेरै कुरा सिक्न पाएँ ।’ चैतअघि र पछि जन्मेका पाठापाठीहरूको हुर्काइमा पनि फरक पर्ने उनको अनुभव छ । 


चैतपछि घाँसमा पिपिरा पलाइराखेका हुन्छन् । ती कलिला घाँस खाएर हुर्केकाहरू भन्दा चैतअघिका पाठापाठीहरू चाँडै हुर्कने र तौल पनि धेरै हुने उनको अनुभवले बताउँछ ।‘आमाहरूलेबर्खेपाठा हुर्काउन गाह्रो हुन्छ भन्नुहुन्थ्यो,’ लम्लासले भने, ‘अहिले बल्ल बुझ्दैछु यी कुराहरू ।’ ठूलो उत्साहका साथ हतारमा व्यवसाय सुरु गर्ने र रातारात पैसा छपाउने सपना देख्नेहरू यो व्यवसायबाट चाँडै पाखा लाग्छन् । लक्ष्यमा पुग्नलाई परिश्रमत गर्न पर्छ नै,सँगसँगै अहिलेका युवाले धैर्य पनि राख्नुपर्ने उनको बुझाइ छ ।भन्छन्, ‘काम गर्‍यो भने स्वस्थ पनि भइन्छ ।’ मोटोपनले दुःख पाएका उनी अहिले भने स्वात्त १३ केजी घटेका छन् । ‘ज्यान चंगा जस्तो भएको छ,’ लम्साल भन्छन्, ‘जे खाएपनि पच्छ, यसमै मज्जा छ ।’ रमाइलो त छ नै, तर चुनौतीपूर्ण काममा हात हालेपछि समस्याले पछ्याउन भने छाड्दैन । बर्खाको बेलामा पनि बाख्रा चराउन जानै पर्ने । जुका, प्युसाले बाख्रा पाठापाठीलाई दुःख दिने उनको अनुभवछ । 
‘यसले गर्दा बाख्राकोदूध पनि कम आउँछ,’ उनी भन्छन्, ‘पाठापाठी अघाउन पाउँदैनन् र ढिलो हुर्कन्छन् ।’ बाख्राको स्याहार गर्ने दैनिकीका अविस्मरणीय क्षणहरू पनि उनका मनमा छन् । बाघले बाख्रा लगेका नमिठा दिनहरू पनि सम्झन्छन् । केही समय अघिको कुरा,झरी परेकाले चरनमा गएका बाख्राहरू ओढारमा बसेका थिए । साँझ परेपछि फर्कने बेलामा जति बोलाउँदा पनि एउटा पाठो भने भिरभिर तिर गएछ । तलै पुगेपछि उनले पाठोको माया मार्नु बाहेकको विकल्प देखेनन् । ‘त्यही भिरमै बाघले बाख्रा लगेको थियो,’ उनले भने, ‘मैले त्यस रात पाठोलाई छाडेर मन बाँधेर गोठ फर्कें ।’ भोलिपल्ट उज्यालोमा त्यहाँ पुग्दा सो पाठो भने जस्ताको तस्तै भेटेपछि उनी निकै खुसी भए । ‘बाघको भागमा नपरेपछि बाँचेर पनि आउने रैछन्,’ उनले खुसी हुँदै सुनाए । पछिल्ला दिनहरूमा, भारतीय नाकाबन्दीका कारण दैनिकी कष्टकर हुँदैछ । 

अहिलेको असहज अवस्थामा ढुवानी भाडाले गर्दा पनि मासुको भाउ बढ्ने गरेको र बिक्रिको लागि अप्ठ्यारो परेको उनी बताउँछन् । असोज, मंसिरमा पूजाको लागि बोका खोज्न आउने चलन पनि धेरै छ । त्यसैले पूजाआजामा गाउँघरमै सजिलै बिक्रि हुने खालका (बाना मिलेका) बोकाहरूलाई खसी नपारी राख्ने गरेको लम्साल बताउँछन् । बजारमा मासुको लागि लगिने भाउ भन्दा यिनको मूल्य प्रति केजी ५० रुपैयाँ बढी पनि पर्छ । 

स्वदेशमा उत्पादन घटेपछि आर्थिक वर्ष २०७०/७१ मा २५ अर्ब रुपैयाँ बराबरको मासु नेपालमा आयात गरिएको थियो । २०६९/७० को तुलनामा यो आँकडा ५६ प्रतिशतले बढी भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । २०७०/७१ कै तथ्याङ्कअनुसार ४ लाख ६३ हजार ७ सय २२ वटा खसीबोका भारतबाट आयात गरिएको थियो । अहिलेको भारतीयनाकाबन्दीले स्पष्ट देखाइसकेको छ कि हातमा पैसा हुँदैमा चुल्हो बल्छ र पेट भरिन्छ भन्ने छैन । आत्मनिर्भर हुनुको विकल्प छैन र यसका लागि हामीले आफ्नै ठाउँमा उत्पादन सुरु गर्नुपर्छ । कृषि तथा पशुपालन व्यवसायमा हतारमा पस्ने र छिट्टै छोडिहाल्नेपनि धेरै छन् । यस्ता उदाहरण उनकै गाउँमा पनि बगे्रल्ती छन् । तरलम्सालको समग्र परिवार भने काममा निरन्तर लागिरहेको छ । व्यवसायमा नयाँ आउनेलाई के सुझाव छ त ?लम्साल भन्छन्, ‘खट्न सक्नु पर्छ, आम्दानी देशमै छ ।’
 प्रकाशित: मंसिर २५, २०७२
http://kantipur.ekantipur.com/news/2015-12-11/20151211122657.html

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...