Skip to main content

ठूलो काम गर्यो भनेर फुलमालै लगाइदिए

वैशाख १२ गते मेरो मोबाइलमा खबर आयो, घर भत्कियो । यो खबर मेरो लागि पहिलो भुइँचालो भन्दा पनि ठूलो धक्का थियो । म्याग्दीको तातोपानी नजिक रहेको बेनी नगरपालिकाको १३ नम्बर वडामा पर्ने मेरो घर अब खण्डहर बनिसकेछ । त्यहाँ मैले आफ्नै रेखदेखमा मेरा ठूलोबालाई राखिराखेको थिएँ ।
 म बाह्र वर्षको छँदा चिनेजानेको आफन्तको साथ लागेर काठमाडौं आएको थिएँ । यो २०५० सालको कुरा हो । त्यती बेलामा मेरो घरमा बा, ठुलोबा, एकजना बोल्न नसक्ने फुपुदिदी र हजुरआमा हुनुहुन्थ्यो । बा आमाको म एक्लो सन्तान थिएँ, हजुरआमाको प्यारो नाती ।
म राजधानी आएपछिभक्तपुरको एउटा गेष्टहाउसमा काम गर्न थालेँ । पहिलो वर्षमा नै बुबा बितेको खबर आयो । आमा अर्कैको साथ लागेर जानु भो । हजुरआमाले मलाई बाबाआमाको कमि महसुस हुन दिनुभएन् ।उहाँले उताबाट माया पठाउनुहुन्थ्यो ।आर्थिक अवस्था कमजोर भएकाले हजुरआमा, फुपुदिदी, ठुलोबा सबैलाई खर्चपर्च यहाँबाट मैले पठाउन थालेँ । गेष्टहाउसमा ३ वर्ष काम गरेपछि केही वर्ष गार्मेन्टमा त केही वर्ष पत्रिकाको वितरणमा पनि काम गरेँ । टेक्सटाइलमा एक वर्ष । दुई तीन वर्ष जति प्रेसमा । यसैबीचमा सहकारीबाट ऋण लिएर मैले बंगुरपालन पनि सुरु गरेँ । विहान बेलुका दाना ओसार्ने दिउँसो अफिसको काम । तर ब्याज पनि चर्को भएकाले काम राम्ररी फस्टाउन सकेन । म झन झन् डुब्न थालेँ, ऋणमा । जग्गा धनिले पनि ठाउँ छाड्न दबाद दिए । आखिरमा फर्म बन्द भयो, जागिरकै भरमात्र रह्यो ।
५८ सालमा मैले बिहे गरेँ, उदयपुर गाइघाट ससुराली । अब झन् पारिवारीक जन्जालमा फसियो भन्ने भो । कहिले बेनी त कहिले काठमाडौं । घरखर्च नपुगेर तीन वर्ष जति मैले टंगालको फुटपाथमा तरकारी, साग पनि बेचेँ । होलसेलमा ल्याएर फुटपाथमै कपडा, जुत्ता मोजा पनि बेचेँ । दिउँसो अफिस बिहान बेलुका फुटपाथ, बाल्यकाल देखिनै जिम्मेवारीपुर्ण मेरो दैनिकी निक्कै व्यस्त थियो । यसबीचमा हजुरआमा बित्नुभयो । फुपुपनि बित्नु भो । घरमा ठुलोबा मात्र बाँकी हुनुहुन्थ्यो । मेरो जिम्मेवारी झन् बढेको थियो । म बेलाबेलामा घर गएर ठूलोबाको साथी बन्थेँ । खेतीपाती घरव्यवहार मिलाउँथे । ऐले ललितपुरको हरिसिद्धीमा भाडामा बस्दै छु । साथमा एक श्रीमती र दुई छोरीछन् । धेरै पढेर भन्दा पनि परेर जानेको मान्छे म । राजधानीकै एक संस्थामा सानो काम गर्छु ।

वैशाख १२ को ठूलो भुकम्पपछि घर पुगेँ । बस्न मिल्ने अवस्थामा थिएन । विद्यालयमा ५ कक्षा मात्र पढेको भएपनि हेरिहेरि खेलिखेली कम्प्युटर सिकेको थिएँ । फेसबुकमा मैले दुखी हुँदै मेरो भत्केको घरको तस्बिर राखेँ । केही वर्ष अघि काम गरेको अफिसको दाई आलोक तुम्बाहम्फेले लेख्नुभो, ‘मलाई भेट ।’ उहाँ ऐले बालबालिका तथा युवा प्रथम भन्ने संस्थामा काम गर्नु हुन्छ । काठामाडौंमा आएर भेटेपछि उहाँले राहत सामाग्री जुटाइदिन सक्ने कुरा गरेपछि मलाई मेरो गाउँका २०, २५ घरको याद आयो । यि सबैको हालत मेरो जस्तै बिजोग थियो । मैले उहाँकै आग्रहमा स्थानीय आमा समुह र स्थानीय प्रहरी चौकीबाट भत्केका घर र तिनका घर धनीको नाम नम्बर काठमाडौ मगाएँ । साथीहरूले त्यो पठाउन सघाए । २४ घर भत्केको नामावली लिष्ट हामीलाई प्राप्त भएको थियो । आलोकदाइबाट त्रिपाल ३० थान, ब्लांकेट ३० थान, कम्मल ३० थान उपलब्ध गराइदिनु भयो । मैले काम गर्ने संस्थाका युवाकरदाईको सल्लाहमा काठमाडमौं न्युरोड बस्ने अर्को दाई आलोक सिद्धि तुलाधर र सुनिता तुलाधर दिदीलाई पनि भेट्न पुगेँ । पहिला म उहाँहरूकै घरमा सघाउने काम गर्थें । मेरो पिडा सुनेपछि उहाँहरूले ३५ हजार सहयोग गर्नु भो ।
सबै पैसा र सामाग्री लिएर म पोखरा हुँदै बेनी पुगेँ । सबैको सल्लाहमा मैले चामल २४ बोरा, नुन २४ केजी, दाल ४८ केजी राहत किने । त्यसपछि सोझै जलमाइ भगवती आमा समुह भवन तातोपानी पुगेँ । त्यहाँको स्थानीय प्रहरी चौकी, तातोपानी कुण्ड समिती खुशी भई स्वागत र फुलमाला कार्यक्रम सम्म गरे । सबै घरलाई एक चरणको राहत वितरण हुँदा धन्यवादको चाङ पाएँ । ‘न आमाको काख न बाउको साथ, टुहुरोबालखाले नि यस्तो ठूलो काम गर्यो भनेर फुलमालै लगाइदिए,’ आत्मसन्तुष्टिले मेरो मन निक्कै चंगा भयो ।
अझै पनि मेरो घरको अवस्था उस्तै छ । तत्कालको लागि राहत पाएपनि अरुको घरको अवस्था पनि उस्तै छ । मेरो ठुलोबाबा अर्कैको घरमा एक घण्टा दुरीमा पुगेर शरण दिनु भएको छ । घर भत्केपनि मन भत्केको छैन । आफू जस्ता धेरैलाई सघाउन पाउँदा मेरो खुशीको सिमाना छैन । वर्ष दिनमा जेनतेन गरेर भत्केको घर बनाउने बीचारमा छु । मिल्यो भने अरुको घर बनाउन पनि सघाउँछु । विपत्ति जसलाई पनि आइपर्न सक्छ । मेरो घर भत्केको भएपनि मेरो मन भत्केको छैन् । अरुलाई खुशी बाँड्न पाउँदा मलाई निक्कै खुसी लागेको छ ।
(भवसागर घिमिरेसँगको कुराकानीमा आधारित)
http://www.ekantipur.com/earthquake/detail.php?lang=np&token=43ec517d68b6edd3015b3edc9a11367b

June 1, 2015

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...