Skip to main content

माइलो, सपना र सरोज दाइ


'जहाँ गएपनि आफू हुर्केको ठाउँ कहिल्यै बिर्सनु हुन्न है,' २०६२ साल कार्तिक महिनामा मेरो बिदाइका बेला सरोज गोपाल दाइले यसै भन्नुभएको थियो। पोखराको माछापुच्छ्रे एफएममा कार्यक्रम संचालकका रुपमा कार्यरत म स्नातकोत्तर अध्ययनको सिलसिलामा त्यसबेला राजधानी आउँदै थिएँ। उहाँ नै स्टेशन म्यानेजर रहनुभएको पोखराको पहिलो एफएममा म चार वर्षभन्दा बढी कार्यक्रम सञ्चालकको रूपमा कार्यरत थिएँ।

'दिमाग खराब' नामक साप्ताहिक हास्यब्यङ्ग्य कार्यक्रम संचालनको काम हाम्रो पोल्टामा थियो। पहिलो वर्षमा हास्यव्यङ्ग्यकार विश्व शाक्य दाइको नेतृत्वमा सर्लाहीका शिवशंकर पाण्डे, पोखराकै सुनिता लिगलसँगै म पनि प्रस्तोताको रूपमा थिएँ। पछिल्ला वर्षमा भने विश्वदाइले कार्यक्रम छाड्नु भयो र हामी तीनै जनाले त्यसलाई निरन्तरता दियौं। त्यसबेला सरोजदाइ कार्यक्रमको अभिभावक हुनुहुन्थ्यो। हिजो अचानक उहाँ बितेको खबरले दुखी बनायो। हास्यव्यङ्ग्यको माध्यमबाट नजिकिन मौका पाएको सरोज दाइले यति चाँडै रुवाएर जानुहुन्छ भन्ने विश्वास गरेको थिइनँ।



***

२०५७ को चैत महिनामा पोखरामा पहिलो पटक एफएम भित्रिएको थियो। २०५८ को वैशाख महिनाभित्रै माछापुच्छ्रे, अन्नपूर्ण, हिमचुली र पोखरा गरी चार वटा एफएम संचालनमा आइसकेका थिए। सुन्न पाउनुभन्दा पहिला मलाई के लाग्थ्यो भने यो एफएम भन्ने कुरो रेडियोभन्दा बेग्लै चिज हो। बज्ने भाँडो पनि बेग्लै होला जस्तो लाग्थ्यो।

काठमाडौंमा त्यति आइजाइ थिएन। सायद एक पटक मात्र पुगेको थिएँ। एफएमसँग त्यत्ति चिनजान थिएन। एफएम आउने हल्ला पनि यसरी चलेको थियो कि मानौं कुनै भुइँचालो आउँदैछ। पोखराकै पहिलो एफएमका स्टेशन म्यानेजर। चर्चित गायक र रेडियो प्रस्तोता। माछापुच्छ्रे एफएमको परीक्षण प्रसारणका बेलामा उनै सरोजदाइका मीठा स्वरहरू बीचबीचमा सुनिन्थे। पछि त उहाँले 'हेल्लो ९१' भन्ने कार्यक्रम नै चलाउनु भयो।

त्यसबेलाको निक्कै चर्चित कार्यक्रम थियो त्यो जहाँ एक कल गर्नको लागि ल्याण्डलाइन सेटको नम्बर बटन थिचेर श्रोताहरू थाक्दैन थिए।



मलाई पनि एफएममा काम गर्ने भूत चढेको थियो। घरमा क्यासेटका चक्कामा बोली रेकर्ड गरेर प्लेब्याक गरी आफ्नो स्वर धेरै सुनियो। सरोज दाइलाई नै भेटेर कार्यक्रम चलाउने धोको सुनाउन मन थियो। तर गार्ड दाइहरूले रोकेर गेटबाट माथि जान पनि गाह्रो हुन्थ्यो। कहिले स्टेशन म्यानेजर नै नहुने त त कहिले व्यस्त हुने। यस्तै गरी उहाँलाई भेट्ने मेरा अनेकौं प्रयासहरू विफल भएका थिए। सपना लिएर अन्य एफएमको ढोकासम्म पनि धेरै पुगेँ। अफसोच, म एक्लै थिइनँ, मेरा अघि र पछि यस्तै सपना लिएर जाने धेरै हुन्थे। ती सबैका बीच म हराउँथेँ।

संयोगवश विश्व शाक्य दाइले माछापुच्छ्रे एफएममै 'दिमाग खराब' नामक कार्यक्रम तयार पार्न लाग्नुभएको थाहा पाएँ। पोखरेली युवा सांस्कृतिक परिवारले मासिक रूपमा संचालन गर्ने 'समता काव्य सन्ध्या' मा कविता सुन्न र वाचन गर्न म गइरहन्थेँ।

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप) कला, साहित्य र संगीतको उत्थानका लागि २०३४ सालमा खोलिएको संस्था हो। यसको संस्थापक अध्यक्ष सरोज गोपाल दाइ नै हुनुहुन्थ्यो। त्यतिबेला नेपाली कला साहित्य र संगीतको उत्थान गर्नको लागि पोयुसाँपलाई जीवन्तता दिनेमा सरोजदाइको ठूलो योगदान छ। अझै पनि यो संस्था पोखरामा निक्कै क्रियाशील छ।

सरोज दाइ संस्थापक अध्यक्ष रहनुभएको यो संस्थामा विश्वदाइसँग मेरो भेट हुनु एउटा संयोग थियो। २०५८ को दशैं विशेष कार्यक्रम अंकका लागि 'दिमाग खराब'मा बोका, च्याङ्ग्राको आवाजमा बोल्ने मान्छे चाहिएको पत्तो मैले पाएँ। उसबेला मलाई ठूलै चिठ्ठा परेको झैँ भयो। विश्व शाक्य दाइले पनि 'आ न त आ' भनेर डाक्नु भो। हास्यव्यङ्ग्यमा रूचि राख्ने म बाख्राको पाठो उफ्रेझैँ गरी उफ्रँदै गएँ।

एफएमको स्टुडियो पहिलो पटक देख्दै दंग परेको म बोल्दा भूइँमा खुट्टा थिएन। कार्यक्रम सुनेपछि स्टेशन मेनेजर सरोज दाइले खुसी हुँदै सोध्नु भयो, 'बोका, च्याङ्ग्रा, भेडाको स्वर निकाल्ने भाइ चाहिँ को हो?'

यसरी मेरो परिचय पहिलो पटक कलाकारको रुपमा उहाँसँग भयो। मैले कार्यक्रममा बोल्न निरन्तरता दिएँ। पहिला रेडियो नेपालमा गीत र आवाजबाट सुन्न पाइने सरोज दाइलाई पछि आफूले काम गर्ने एफएमको स्टेशन म्यानेजरको रूपमा भेट्न पाउँदा म निक्कै पुलकित थिएँ।


एफएमसँगै पोखरामा श्रोताहरूमाझ अर्को चलन भित्रिएको थियो, नामको पछाडि फुर्को (उपनाम) जोड्ने। लौसीबोटे, तल्लाकोटे, भावुक, प्रेमी यस्तै यस्तै। मैले पनि प्रस्तोताको काम थालेको सुरुवातबाट नै नामको अन्त्यमा 'माइलो' जोडेको थिएँ। घरको माइलो छोरो थिएँ। परिवार नियोजन हावी भयो भने भविष्यमा 'माइलो' शब्द नै संसारमा संकटमा पर्ला भन्ने ठट्यौलो सोच। उपनाम 'माइलो' किन राखेको? भनेर कसैले सोध्यो भने मसँग यहि रमाइलो रेडिमेड उत्तर तयार हुन्थ्यो। सोचेथेँ पोखरा छाडेसँगै 'माइलो'ले पनि मलाई छाड्ने छ। तर खुसी लाग्छ, आजका दिनहरूमा पनि आकलझुक्कल मलाई 'माइलो' भनेर चिन्नेहरू भेटिन्छन्। सरोजदाइले दिएको साथ र कार्यक्रममा दौरान दिएका उत्साहले नै कला चिन्न र चिनाउन हामीलाई सिकाएको थियो। 'भाइ' भनेर नजिकको सम्बोधन गर्ने उहाँलाई दाइ भन्न पाउँदा निक्कै खुशी लाग्थ्यो हामीलाई। सिप सिकाउने तरिका पनि मिठो थियो।

एक पटकको रोचक प्रसंग। कार्यक्रम संचालन गर्दा दिमाग खराबका मुख्य प्रस्तोता विश्व दाइसँगै हामी स्टुडियो पसेका थियौं। उहाँ लाइभ कार्यक्रममा श्रोताका चिठीपत्र र चुट्किला पढेपछि हामीले एकैछिन आराम पाउँथ्यौं। त्यसै बेला एकातिर विश्वदाइ मकैका फूला उठेजस्तै गरी फरर्र चर्को स्वरमा बोल्न थाल्नुहुन्थ्यो। फुर्सदमा भएका शिव र म आफूहरूले गरेको क्यारिकेचरका बारेमा छेउमै खासखुस गर्थ्यौं। खोक्न पर्‍यो भने विश्व दाइ बोलिरहँदा पनि स्टुडियोको कुनामा गएर खोक्थ्यौं। लाग्थ्यो 'कुनामा गएर खोक्दा बाहिर सुनिँदैन। एक जना बोलिरहँदा रेडियोमा उनकै आवाज जान्छ अरुले कानेखुसी गर्दा केही हुँदैन।'

अहिले सम्झँदा आफैलाई हाँसो लाग्छ, प्राविधिक रवि दाइ सिसापारी पट्टीबाट उफ्रदै हात हल्लाएको हामीलाई पत्तो हुँदैन्थ्यो।



यस्तै केही गल्तीहरू हुन्थे। स्टेशन म्यानेजर सरोज गोपाल दाइ हामीलाई आफ्नो कक्षमा बोलाएर बिस्तारमा सम्झाउनु हुन्थ्यो, 'खोक्न परे रातो बटन दबाएर खोक्नू।' उहाँले भन्न भुल्नु भयो रातो बटन थिच्यो भने स्टुडियोमा बोलेको स्वर बाहिर जाँदैन। पछिल्लो एक दिन, एक जना बोल्दै गर्दा अर्कोलाई खोकी लाग्यो कि निसंकोच मस्तले रातो बटन थिचेर खोक्यौं। यसो गर्दैगर्दा लाइभ कार्यक्रममा आवाज बाहिर नआएपछि टेक्निसियन रवि दाइ उतापट्टीबाट तन्की तन्की हात हल्लाएको हामीले धेरै पछि मेसो पायौं। रमाइला ती क्षण सम्झँदा अझै मन भरिएर आउँछ।
 
विश्व शाक्य दाइ कामविशेषले कार्यक्रमबाट टाढिनु भयो। पछिल्ला वर्षमा सरोज गोपाल दाइले सुनिता, म र शिवको काँधमा कार्यक्रम राम्रो बनाउने अभिभारा दिनुभयो। सुनिताले त्यतिबेला प्राविधिक र कार्यक्रम संचालक दुबैको भुमिका निभाइरहेकी थिइन्। हामी तीन जनाको जोडी निक्कै जमेको थियो। कस्ता विषयवस्तुहरूलाई हामीले तयार पार्ने? समसामयसक प्रहसनमा के बनाउने? कस्ता उखान टुक्काले हिंसा बढाउँछ? संचार माध्यममा के भन्ने, के नभन्ने? जस्ता विषयमा सरोजदाइले फुर्सदमा हामीलाई सल्लाह दिनुहुन्थ्यो। बीचबीचमा ठट्टा गर्ने हाम्रो बानी, सरोज दाइ दिल खोलेर हाँस्नु हुन्थ्यो। उहाँको हाँसो निक्कै ठूलो आवाजको हुन्थ्यो। स्टेशन म्यानेजरको कोठाबाट गुञ्जिएको हाँसो तल्लो तल्लासम्मै सुनिन्थ्यो। साथी शिव पनि कम थिएनन्। हामी भन्थ्यौं, 'शिव हाँसे भने यमराज तर्सिन्छन्।' सरोज दाइ र शिव दुवै फेरि मरिमरि हाँस्थे। कार्यालयको सबैतिर सुनिन्थ्यो। हल्ला थियो, 'दुबै हाँसे भने स्टुडियोमा साउण्ड लिक हुन्छ।'
***
पछिल्लो समय विभिन्न कार्यक्रमको सिलसिलामा पोखरा बसाइका बेला पटक पटक सरोज दाइसँग भेट भएको थियो। कहाँ छौं? के गर्दैछौं? भनेर सोधिरहनुहुन्थ्यो। दाइ बितेको खबर अचानक आयो। मन खल्लो भएको छ। कलाकारितामा लाग्ने मेरो 'सपना' लाई ताते गराउने काममा सरोज दाइका हातहरूले धेरै बाटाहरूमा परसम्म डोर्‍याएका थिए।

एकताका 'माइलो' भनेर चिनिन पाउँदा मैले मेरा सपनाहरू फूल्न थालेको नजिकैबाट देख्न थालेको थिएँ। 'जहाँ गएपनि आफू हुर्केको ठाउँ कहिल्यै बिर्सनु हुन्न है' उहाँले भनेका कुरा अझै याद आइरहेका छ। जहाँ गए पनि उहाँको त्यो बोलीले मलाई ब्युँझाइ रहनेछ। उहाँसँगको सम्झनामा उत्साह, खुसी, हाँसो मात्र थियो। अब भने 'आँशु' भन्ने शब्द थपिएको छ। दुःख यसैमा लाग्छ, यसले मन बिझाइरहने छ। 

sagarbhaba@gmail.com
(पहिलो पोष्टमा,14th August 2014 | २९ साउन २०७१ | प्रकाशित)
http://www.pahilopost.com/content/-275.html#.U_BZffmSwYx

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...