Skip to main content

फोन भन्दा कट्वालै पक्को



‘माफ गर्नु होला, तपाइँले सम्पर्क गर्नु भएको फोनमा सम्पर्क हुन सकेन...’ मोबाइलबाट यस्तो सुनेपछि अर्जुनचौपारी गाविस, ठूलेगाउँकी डिलमाया गुरुङलाई फोन नै हुर्याइदिउँ जस्तो हुन्छ । सिडिएमए फोनको यदि टावर टिपिहाल्यो भने पनि कुरा राम्ररी बुझिदैन । गाउँमै बेला बेलामा भैरहने रितीतिथी, सामाजिक
 कार्यक्रमबारे जानकारी दिन उनीहरूले सदाझै कट्वाल कान्छालाई गुहार्छन् । अनि त केही बेरमै गुफाडाँडाबाट डम्मर बहादुर बिकको तिखो स्वर सुनिन्छ, ‘सुन्नुस् हे साइबो गाउँमा आमासमुहको बैठक हुँदैछ...।’ उनी चिच्याए पछि वयस्कमात्र होइनन्, गाउँमा के हुँदैछ भन्ने कुराको जानकारी हरेक केटाकेटीले पनि राख्न सक्छन् ।
३१ वर्षे विकले गाविसको कट्वाल पेशा धानेको ४ वर्ष पुग्यो । यसअघि कट्वाल बसेका बृद्ध कुल बहादुर परियार बितेपछि उनले यो काम सम्हालेका हुन् ।



गाउँमा विवाह, वर्तबन्ध, बैठक जस्ता हरेक सूचना घोक्ने (चिच्याएर कराउने) गर्छन उनी । एक सूचना दिन उनीलाई गुफाडाँडा मात्र होइन, ठूले गाउँको बीच र खोलाडाँडाको उचाइमा पुग्न पर्छ उनी । यती गरेपछि ७ र ८ वडाका बासिन्दाले राम्ररी सूचना पाउन सक्छन् । यसका लागि उनले सामान्यतया दुई घण्टा खर्चिनु पर्छ । अर्को दिन बैठकमा पनि बस्नु पर्छ र फेरि निर्णय सुनाउन घोक्न जानु पर्छ । कहिले काहीँ त महिना भर पनि कुनै काम आइ पर्दैन उनलाई । ‘दैनिक ४÷५ वटा खबर घोक्न कुद्नु पर्ने दिन पनि आउँछ कहिले त,’ उनले भने । यतिका काम गरेबापत विकले के पाउँछन त ?
२ छोरा र २ छोरीका बाउ विक भन्छन्, ‘हरेक घरले मकै र कोदो एक÷एक पाथी दिन्छन् ।’ १ सय ६० घरबाट वार्षिक रूपमा उठाउने यो अन्नले उनको परिवारको छाक टार्न भने गाह्रो छ । ‘भारी बोक्ने, दाउरा चिर्ने, घर बनाउने काम पनि गर्छु,’ विकले भने, ‘कट्वाली अरेर मात्र त काँ पुग्नु ।’
उनलाई घर धान्न पुग्नु नपुग्नु आफ्नो ठाउँमा छ । उनले दिएको सूचनाले भने आफूहरूलाई निक्कै सजिलो भएको स्थानिय टेकबहादुर गुरुङ, ७३ ले बताए । ‘यतीका घरलाई फोनै गर्नेहो भने पनि धेरै पैसा लाग्छ,’ आज सम्म ४ कट्वाल बेहोरेका उनले भने, ‘कान्छाले एक पटक घोकेपछि सबैलाई भैहाल्यो ।’
अर्जुनचौपारी गाविसका अधिकांश वडामा कट्वालको व्यवस्था समुदायले नै गरेको छ । छिमेकी खिलुङ देउराली गाविसमा भने सबै वडामा कट्वाल छन् । खिलुङ देउरालीका पूर्व गाविस सचिव रामप्रसाद खनाल भन्छन्, ‘बाटो सफा गर्ने, कुले निर्माण गर्ने तथा स्वास्थ्य सिविरहरू चलाउँदा पनि कट्वालले नै सूचना दिने गर्छन् ।’ पहिला पहिला खबर दिनु अघि डाँडो उक्लेर संकेतको लागि कर्नल, दमाहा बजाउने चलन थियो । अहिले भने त्यस्तो चलन कम हुँदै गएको खिलुङ–६ का खड्गबहादुर गुरुङले बताए ।
५० वर्षे सुकलाल सार्की सोही वडाका कट्वाल हुन् । उनको परिवारले नै यो पेशा पुस्तौं देखि धान्दै आएको छ । ‘पहिला बाजे थिए, पछि बा,’ उनले भने, ‘बाका आँखा र कान कमजोर भएपछि मैले यो पेशा धानको हुँ ।’
उनी पनि विकका झै गैरीघर, भञ्ज्याङ, बन्दुकको भेग, कालिकाथानको डाँडोमा उक्लेर खबर घोक्ने गर्छन् । अनि ज्याला स्वरूप घरघरबाट उठाएर वर्षभरि ३ मुरी मकै, ५÷६ मुरी कोदो जम्मा पार्छन् । उनको कामले स्थानिय चन्द्रबहादुर गुरुङ निक्कै खुसी छन् । उनी भन्छन्, ‘फोन त क्या हो क्या हो, कट्वाल भने पक्को छ ।’
(Nagarik Daily, 2066-07 @Bhabasagar)

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...