डियर जाडो, आइ हेट यु



डियर जाडो, 

अब तिमी डियर हुन छाडेकी छौं । तिमीसँग सम्बन्ध बिच्छेद गर्न मैले के के गरिन् ? चार हजारको जकेट किने । पन्जा, मोजा, टोपी, गलबन्दी, माक्स, चेसगार्ड यी सबैसँग सम्बन्ध बढाएँ । दैनिक १२ कप तातो चियाको चुस्की लिनथालेँ । राती सुत्ने बेलामा बन्द गर्न झ्याल, ढोका र यीनका छाउराछाउरी भेन्टिलेशन कुनै बाँकी राखिन । थर्मकोट लगाएँ अनि १० केजी कपासको सिरक माथि खास्साबाट ल्याएको ब्लाङकेट पनि खापेर सुतेँ । अझै पनि तिमी मलाई किन पच्छ्याइ राखेकी छौं ? मैले बुझ्न सक्याछैन । 


झ्याल ढोकाको कापाबाट पसेर । सिरकको कुना कुनाबाट किन छुसछुस मिसकल दिन्छौं ? पैतालाका काप कापमा आएर किन सुसेल्छौं ? सिरानीको आडैमा बसेर किन एसएमएस गछौं ? म हैरान भैसकेँ, तिम्रा चिसा एसएमएस पढ्दा पढ्दा मेरा आँखाबाट तपतप आँशु खस्न थालेका छन् । तिमीले पठाएको लभलेटर खोल्ने बित्तिकै मलाई झ्याप्प रुघा खोकीले अंगाल्न थालेको छ । थाहा छ, मैले नचाहँदा नचाहँदै डाक्टरसँग डेटिङ गर्नु प¥यो । 

‘तपाइको छातीमा चिसो पसेछ,’ डाक्टरले एक्सरे हेरेपछि यसै भने । उनले छाती खराब भएको देखेँ, मेरो दिमाग खराब भएको देखेनन् । छातीमा पसेपछि र मुटुमा बसेपछि त लभ पर्छ भन्छन् । तिमीले सोच्यौं होला म तिमीलाई छाती भित्र राखेर प्रेम गर्दैछु, बट आइ हेट यु । 

तिमीसँग प्रेम गरेर बिहे गर्नु भन्दा म आजिवन ब्रम्हचारी बस्न तयार छु । तिमी बिरुद्ध युद्ध गर्न तयार छु । चाइनिज हिटर एक थान । ब्रिकेट ३ थान । थर्मस १ थान । खोकीको झोला १ सिसी । खुकुरी रमको झोल २ सिसी, इलेक्ट्रिक केटल, हट ब्याग के के हुन के के । कोठाभरी लड्नका लागि आधुनिक हातहतियार तयार पारेको थिएँ ।

बिडम्बना यसबेला तिम्रो गुड टाइम चलेको छ, मेरो ब्याड टाइम । मोरो हिटर, बिजुली आए पछि मात्र चल्छ । बिजुली म सुतेपछि मात्र आउँछ । उठ्नु अघि नै जान्छ । १२ घण्टे दैनिक लोडसेडिङ नभएको भए लाग्छ म बसेको टोलै तात्ने गरि हिटर बाल्थेँ । वल्लो घर पल्लो घरकालाई हिटर ताप्न बोलाउँथेँ । ककटेल खुवाउँथेँ र पैसा चुहाउथेँ । तर ‘यी त सब भन्ने कुरा न हुन’ मात्र भएको छ । 
ठिकै छ, बत्ति नभएको बेलामा ब्रिकेट बाल्छु भन्यो, सास फेर्न गाह्रो हुँदो रैछ । झ्याल खोलेर ब्रिकेट बाल्नुको अर्थ छैन, झ्याल ढोका लगाएर बाल्यो निसासिएपछि आफु नै अर्थ न बर्थको बनिने डर भो । खोकीको औंषधीको चुस्की लियो निन्द्रा मात्र लाग्छ । थर्मसको तातो पानीले एकछिन ज्यान तताउँछ, सेलाइहाल्छ । खुकुरी रमले धेरै बेर तताउँथ्यो होला, खायोकी बोमिट भैहाल्छ । सारा हतियार खिया लागेझै भाछ । खुब मज्जा आयो होला है मेरो बेहाल सुन्दा तिमीलाई ? थाहा छ, तिम्रो आगमनले मेरो नाकबाट अबिरल धारा बग्न थालेको छ । तर, यो नसोच्नुकी तिम्रो मायामा म पग्लिरहेको छु । म त तिम्रो चिसोपनमा साँच्ची, जम्न थालेको छु । मायामा न्यानो पन हुन्छ, तिम्रो चिसोपनसँग मलाई कुनै प्रेम गर्नु छैन । डियर जाडो, आइ हेट यु ।
पच्छ्याउनुको पनि सिमा हुन्छ । हद भन्दा बढी छौं तिमी । तिमीले पच्छ्याउन थालेपछि घामले पच्छ्याउन छाडेको छ । बिना बिजुली चल्ने फ्रिज जस्तो यो काठमाडौंका सडक अनि गल्लि गल्लिमा बिहानै देखि हुस्सुका हुलहरूले परेड खेल्न थालेका छन् । हिमालका मान्छे मात्र हैन भेडि गोढ अनि भेडाच्याङ्ग्रा पनि तल बेसी झर्न थाले रे । तराइ तिर लहरै चलेको शितलहरले बुढाबुढी र केटाकेटी ठहरै पा¥यो भन्ने सुनेको छु । के मलाई पनि ठहरै पार्ने रहर छ तिम्रो ? के यहि हो तिम्रो प्रेम ? लाग्छ, यदि तिमीबाट सधैंको लागि छुटकारा मिल्थ्यो भने म मेरो घरै जलाएर आगो ताप्थेँ ।

मेरो ताप छिन्ने तिमीलाई पाप लाग्न सक्छ, डियर जाडो । एकाबिहानै कलेज पढ्न अनि पढाउन जानेहरूले तिमीलाई यति धेरै सरापेका छन् कि ति सबै पाप घाम तापेर निक्लेको पसिनाले मात्र तिमी पखाल्न सक्छौं । के हिम्मत छ तिम्रो ? तिम्रो आगमनले गर्दा कपडै कपडाले बेरिएको यो ज्यान बन्दा, प्याज जस्तै पत्रै पत्र बनेको छ । लुगा लगाउन आधा घण्टा । फेर्न आधा घण्टा । के मेरो जिन्दगी लुगा लगाउँदै फेर्दै बिताइदिने बिचारमा छौं तिमी ? 

हेर म कति बोलक्कड भाको छु । चिसो बढ्दै जाँदा दिमागले पनि अनेक कुरा सोच्न थालेको छ । कहिले काहीँ त ज्यानमै चार्जेबल हिटर फिट गर्न मिले हुन्थ्यो भन्ने सोच्छु । यस्तो होस् कि, मोबाइल सेटमा बडी टेम्प्रेचर कन्ट्रोल गर्ने रिमोट होस् । चश्ममा ज्यानको बेट्रिलेभल हेर्न मिलोस् । इन्भटरमै भएपनि हरेक दिन बेट्री चार्ज गर्न मिलोस् । जाडोमा शरिर यति धेरै तातो होस् कि यसो बाटोमा हिड्दा भेटिनेहरू अंगालिन आउन । अनि छुटिन नमानुन । यस्तै सोच्न थालेको छु आचकल ।


सोचाइ र बास्तीकतामा फरक छ । हो मैले पनि बुझेको छु, तिम्रो आगमनले धेरैको लुगाधुने, नुहाउने समय कटौतिमा परेको छ । तिमी आएपछि हरेक वर्ष साउन र फागुनमा मात्र नुहाउने मान्छे बढेका छन् । लुगामा खाटा नबसिन्जेल र ज्यानमा मयलका टाटा नबसिन्जेल थोरै माइकलाल मात्र जांगे लगाएर जग र बाल्टिबोकेर बाथरुम पस्छन् । सोलार नभएपछि, मैले पनि बाल्टीको पानीमा रड हालेर, बिजुली आउँला र पानी तताउँला भन्दै धेरै दिन काटेको छु । बाथरुममा पानी नआउने र बाल्टीमा पानी ओसारेर नुहाउनेले त ग्याँस गिजार ल्याएर गिजा देखाउँदै नुहाउँछु भन्ने पनि सपनै रैछ । हेर हाँसेकी । हाँस, जति हाँस्नु छ यहि पुषमा हाँस । माघ लागेपछि र आकाश बिस्तारै घमाए पछि मेरो पनि हाँस्ने दिन आउला । 

(भवसागर घिमिरे,पुष १७ २०६९को कान्तिपुर कोशेलीमा प्रकाशित)

Comments