Skip to main content

बा, कहिले आउनुहुन्छ ?


बहिनीले नसोधिदिए हुन्थ्यो झै लाग्छ । तर ११ वर्षे मेरी बहिनी स्वास्तीकाको मन के मान्थ्यो ? उ प्राय मलाई यहि प्रश्न दोहो¥याइ रहन्छे, ‘बा कहिले आउनुहुन्छ ?’

खै के थाहा ? उनी त बेपत्ता पारिएका छन् । उनी आउने दिन यदि मलाई थाहा भएको भए, मैले भित्तेपात्रोको कुनै मितीमा कलमले ठूलो गोलो चिन्ह लगाएर राख्थेँ होला । यहि प्रश्न सोध्ने साथीहरूलाई ठ्याक्क मिति सुनाउँथे होला । मेरा आफन्त, चिनेजानेका सबैलाई गर्वका साथ भन्थेँ होला, मेरा बा यति दिन, हप्ता, महिना, बर्ष पछि घर आउँदैछन भनेर । तर मसँग कुनै बार, गते, महिना र वर्ष छैनन् भन्नका लागि । कसैले प्रश्न सोधिहाले चुपचाप आँशु बाहेक मसँग दिने कुनै उत्तर पनि हुँदैनन् ।


२०६१ साल । देशमा द्वन्द्व निक्कै चर्कदै थियो । ललितपुर, ठेँचोको पाचो टोल । त्यहाँको माली बस्ती । त्यही बस्तीको हाम्रो घर । बाबाको कमाईले हजुरबाबा हजुरआमा सहितको हाम्रो ५ जनाको परिवार जेनतेन चलेकै थियो । ७ वर्षे मलाई एउटै कुराको कमी थियो त्यती बेला, मेरी आमाको । बहिनी जन्मे पछि उनी पनि बितिन । आमा नहुँदाको छोरी भएर हुर्कनुको पिडा मैले धेरै महसुस गरेँ ।
त्यो संकटकालको बेला थियो । साउनको महिना । बिहानी पख । सधैं झै मेरा बाबा नन्दगोपाल माली, घरमा खाना खाइवरी मुर्ती बनाउने काममा जानुभएको थियो । ललितपुरको पाटनमा । सादा पोशाकमा आएका सुरक्षाकर्मीले उहाँलाई लगेरे भन्ने मैले सुनेँ । बाबालाई किन समाते होलान ? कहाँ लगे होलान ? के भयो होला ? कैले छाड्देलान ? समाचार थाहा पाएको दिनभर मेरो बाल मनमा यस्तै यस्तै प्रश्नहरू धेरै नाचे । यसरी एकाएक बाबालाई लैजाँदा खेरि म जस्तै मेरा हजुरबा र हजुरआमा पनि निक्कै आत्तिनु भएको थियो । आमाको त के कुरा खै, उहाँ त बहिनी जन्मने बित्तिकै बित्नु भयो । आमा नभएको क्षण । बाबा हराएको बेला । परिवारका अरु मान्छे झै म पनि धेरै दिन रोएँ । हजुरबाको एक्लो छोरो बाबा ।  उहाँ हराएपछि हजुरबाबा पनि दिनानुदिन बिरामी हुन थाल्नु भो । धेरै पटक अस्पताल लग्यौं, अनेक औषधी ग¥यौं । तर हजुरबालाई औंषधीले भन्दा बढी बाबा हराएको पिडाले छोयो र उहाँ पनि बित्नु भो ।
न बाबा साथमा हुनुहुन्थ्यो, न हजुरबा नै । एकदुई गर्दै साथ छुट्दै गएपछि ६० वर्षे हजुरआमाको मन पनि टुट्दै गयो । उहाँ पनि बिरामी हुन थाल्नु भयो । तैपनि हामीले बाबा आउने आश मारेनौं । बहिनी र म हजुरआमासँगै हुर्कदै गयौं । बाबालाई खोज्न हजुरआमा कहिले प्रहरीको ढोकामा पुग्नुहुन्थ्यो त कहिले सैनीकको गेटमा । मन्त्री, वकिल, अदालत, मानवअधिकार आयोग कति हो कति । जता जानुहुन्थ्यो, सहयोग गरौंला भन्ने भेटिए तर बाबा भेटिएको समाचार कसैले लिएर आएनन् । अहिले मेरो बाबाको नाम धेरै मान्छेको नामको हुलमा हराएको छ, बेपत्ताको सुचीमा । मेरो मनमा एउटा सानो आशा भने सधैं रहन्छ । मेरा बा । कुनै दिन हाम्रै घरको ढोका ढकढकाउन आउनेछन् । तर कुन दिन ? मलाई कुनै पत्तो छैन ।
होस् पनि कसरी ? न हामीले ठूला मान्छे चिनेका थियौं न हामीसँग बाबाको ठेगाना नै थियो । उनी हराएपछि । हामीले उनको माया मात्र हराएनौं । घरमा नुन तेल आउने बाटो हरायो । हामी घर भएर पनि बेघर झै भयौं त्यती बेला । हजुरआमा सहित हामी तीन जनाको परिवारको दैनिकी एकाएक बदलियो । मन पनि पहिला भन्दै निक्कै तलबितल हुन थाल्यो ।
कसैले बोलायो भने बाबा नै होकी झै लाग्ने । कसैले खोज्दै आयो भने बाबाकै समाचार आए झै लाग्ने । बाटोमा अघि हिडेका मान्छेका बीच पनि बाबा नै हुनुहुन्छ की झै लाग्ने । बाटो पछाडी पनि फर्की फर्की हेर्न मन लाग्ने । अड्किने । झुक्किने । अल्झिने । टोलाउने अनि रुन मन लाग्ने । ठूली हुँदै जाँदा बुझ्नी हुन थालेपछि मेरो मन झन झन् दुख्न थालेको छ । कहिले काही लाग्छ, ढोका माथि टाँगेको फोटो पनि बोल्ने भए, म झट्ट सोध्थेँ, ‘बा, कहिले आउनु हुन्छ ?’
तपाइ आउने भए, तपाइकै हात समातेर पसलमा मिठाइ, बिस्कुट किन्न जान मन छ । बरफ किन्दिनुस भनेर मिठो झगडा गर्न मन छ । तपाइसँगै जात्रा हेर्न जान मन छ । मन त धेरै छ बाबा, घरमा तपाइसँगै बसेर दशैं पनि मनाउन मन छ । एक पटक सप्पै साथीहरूको अघि तपाइको हात समाउँदै हल्लाउँदै हिड्न मन छ । वारीपारिकाले सुन्ने गरेर बाबा भनेर बोलाउन मन छ । हजुरआमाको मनले पनि तपाइलाइ निक्कै बोलाउँछ, बा ।
हजुरआमाको माया लाग्छ नी ? उहाँ निक्कै बिरामी हुनुहुन्छ । दिनहुँ दमको रोगले उहाँलाई चाप्दै लगेको छ । दिन भर घरमा अक्सिजनको पायप लगाएर सुत्नुहुन्छ । अस्पताल, औषधीको खर्च, अनि दिनहुँ लगाउनु पर्ने अक्सिजनको सिलिन्डर खर्च हामीले कहाँबाट पु¥याउनु ? यो महंगीको यतिका खर्चले पनि उहाँको लगातार खोकी रोकिएको छैन् । रात भर निक्कै खोक्नु हुन्छ । म झस्कँदै उठेर पानी ख्वाउँछु । उहाँ नै त हो नी हाम्रो बाबा भने पनि आमा भने पनि । तपाइलाई भेट्न मन छ नी हजुरआमालाई ? उहाँले पनि धेरै भेट्न खोज्नु भएको छ । खाट आडैको झ्यालबाट दिनभरी बाटोमा हेरेर बस्नु हुन्छ, तपाइलाई घर आउन मन छ नी बाबा ? तपाइलाई थाहा छ छैन, मैले मात्र हैन बहिनी ले पनि खाना पकाउने, भान्छाको काम गर्न जानेकी छे । म १० कक्षा पुगिसकेँ, एसएलसी दिनुछ । बहिनी ५ कक्षामा पढ्छे । लिटिल स्टार स्कुलमा । स्कुलले खर्च छुट दिएको छ । हजुरआमाको कमाइ छैन । किताब कापी, लुगा फाटो आफै किन्नु पर्छ । अब त म पनि घरको काम धान्ने भएकी छु । बिहान सबेरै खानेपानी थाप्न धारामा पुग्छु । खाना पकाउँछु । सबैलाई ख्वाउँछु र बहिनीसँगै स्कुल जान्छु । मकै गहुँ पिस्न मिल जान्छु । दाउरा बालेर रोटी पनि पकाउन आउँछ । तपाइलाई खान मन लाग्छ नी, ‘बाबा, कहिले आउनु हुन्छ ?’
म यस्तै यस्तै कुरा मनमाल खेलाउँदै धेरै पटक बहकिन्छु । सोच्छु, धेरै पढेर पत्रकार बन्छु । बाबालाई आफै खोज्छु । उनी नभए पछि संसार निक्कै निरश लागिरहेको छ । कहिले काहीँ त यस्तो लाग्छ, बाबा घर फर्केर आउनु अघि कुनै चाड नआवोस् । गाउँमा कुनै जात्रा नहोस् । अहँ, बाबा आउनु अघि साँझ नपरोस् । नत्र मलाई उनको धेरै याद आउँछ । टोलाउँछु । बिरामी हजुरआमालाई सुम्सुम्याउँछु । सानी बहिनीलाई अंगाल्छु । उसकै शिरमा आँशु चुहाउँछु । मन निक्कै कोक्याउँछ, बाबाको सम्झनाले । थाहा छैन, उहाँ कहाँ हुनुहुन्छ ? तपाइलाई थाहा छ की, बिन्ति भन्दिनुस्, ‘मेरो बा कहिले आउनु हुन्छ ?’
(नग्मा मालीसँग  भवसागर घिमिरेले गरेको कुराकानीमा आधारित-२०६९,जेठ ६ गतेको नागरिक दैनिक, जुनकीरीमा प्रकाशित)

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...