Skip to main content

अधिकारी जोडी

 बिहान ७ बजिसक्दा पनि हुस्सुले आकाश छोड्न मानेको छैन । वातावरण चिस्सिएकाले बल्ल तल्ल सिरक छोडेर वैठक कोठा सम्म उनीहरु आए । उमेरले बैषलाइ धेरै अगाडि छोडिसकेको थियो । तैपनि यी जोडीलाइ बूढेसकाल आएको पत्तो भने छैन । 'एउटो लौंरो काली काठको एउटो काठ पैंयुँ जेठीमाथि कान्छी थप्ने झिल्के ठिटो मैहुँ । ' भन्दै बोदनाथ अधिकारी ८७ ले गुन्गुनाउदा उनकी जिवन सँगिनी दिलकुमारी ७७ मरिमरि हाँस्न थालिन् । बूढालाइ के चाइयो उनी पनि अझ्झै हौसिएर टुक्का थप्न थाले ।
चिया ल्याउदै गरेकी नातिनी सुस्मितालाइ देखेपछि बल्ल आफ्नो उमेर ढल्किएको पत्तो पाएछन् । 'मन बूढो छैन उमेर गएर के गर्नु 'भारतिय पल्टनमा युवाअवस्थाका चार वर्ष बिताएका बोदनाथले चियाको चुस्की तान्दै थपे-एकबारको जुनी हाँसखेल गरेरै बिताउनु पर् यो नी ।
गोर्खा पुख्र्यौली घर भएका अधिकारी जोडी कलंकी काठमाडौं स्थित जेठो छोराको परिवारसँगै बस्दै आएका छन् । पुजापाठसँगै उनीहरुको बिहानी सुरु हुन्छ । 'म त चिया पिएपछि घामलाग्यो भने यसो टोलमा टहलिन्छु ।' बोदनाथ भन्छन्- आफुजस्तै बूढाखाडा भेटेँ भने बुढेसकालको मीठो गफ पनि हुन्छ । 'राम्री ठिटाठीटी देख्नु भो भने अब नानीबाबुको बिहे गर्ने उमेर भएन भनेर जिस्काइदिनु हुँदो रै'छ । लाजले मरिमरी हाँस्छन रे,'  दिलकुमारीले यहिबेला हो भन्दै बूढालाइ पेलिन् ।

एकछिनको चोपिलो हाँसो पछि कुरो परिवार तिरै मोडियो । छोरा हर बिहान डेरि पसल खोल्न कालीमाटी पुग्छन् । बुहारीलाइ खाना तयार पार्न सधै हतारो । 'खाना खाने पालो दिन जानु पर् यो नी पसलमा' दिलकुमारीले तरकारी केलाउदै भनिन्- कान्छो छोरोको परिवार पनि काठमाडौं मै छ । तिनटी छोरीहरुको बिहे भैसक्यो । बूढेसकालमा हामीलाइ सन्तोक मिलेको छ ।
उनले तरकारी केलाउन सक्नै आँट्दा बुहारी सरिता आइपुगिन् । तरकारीको ढकनी लिएर भान्छा छिर्नु अगि उनिले भनिन् 'सानैबाटको सबै कुरो सोध्नुस है । रमाइलोसँग भन्नहुन्छ ।', बूढाबुढीले पालैपालो आफ्नो बाल्यकाल अनि गाउँको कुरो सुरु गर्न थाले । सानैमा बिहेहुँदाको किस्सा रसिलो सँग सुनाए । पल्टनको यात्रासँगै छोराछोरीको हुर्काइबढाइ पनि समेटिदै गयो । 'पछि त उमेर घर्किहाल्यो नी ।' दिलकुमारीले भावुकहुँदै भनिन्- हेर्नुस गाउँछँदा साह्रै दुःख । बूढेसकालमा बिरामी हुँदा उपचारका निम्ति बजार सम्म धाउदा पनि सुःख पाइन्थेन ।
२०४९मा छोरासँग काठमाडौं नै आएरबस्न थाले उनीहरु । बूढेसकालमा परिवारसँगको बसाइ साह्रै सहज भएको छ उनिहरुलाइ । 'दुखबिमार पर्दा सबैले चासो दिन्छन् । हिड्न नसक्दा यता उता गर्न छोरा बुहारी नातीनी कोहिन कोहि भै रहन्छन् ।' बोदनाथले भने, 'अब बूढाबूढीमात्र भा' भे त काँ सक्नु । औंषधिका खानलाइ पानी गरम गर्न मात्र पनि साह्रै गाह्रो पो हुन्छ त ।'
दिलकुमारीले बाउन्न ताका आफु नराम्ररी थला परेको कुरो सम्झीन् । उनको जिउ राम्ररी चल्न सक्दैनथ्यो । धेरैले प्यारालाइसिस भुको भन्थे । 'उबेला त अब मेरो लेखा यतिनै रैछ भनेर धेरै रोएँ' उनले भनिन् 'सकिनसकि भएनि छोराछोरीले राम्रो उपचार गरे । अहिले हल्कै भएपनि हिडडुल गर्न सक्छु । धेरै राम्रो भुछ ।'
धेरै वृद्धवृद्धाको बिजोग देखेकी दिलकुमारीले आफुहरुको बाँकी जिवन राम्रोसँग बित्नेमा आशावादी छिन् । दुःखगरेर छोराछोरीलाइ राम्रो बाटो देखाएका उनिहरु ऐले आफ्नो सन्ततीमा गर्व गर्न पाएका छन् । छोराछोरी मात्र हैन आफ्नै काखमा उनीहरुले नातीनातीना पनि हुर्काए । 'यहीका नाती त दुइटा छन् । अहिले त्यो कुन देश रे,' बुहारीलाइ सोध्धा नसोध्धै दिलकुमारीलाइ ख्याल आइहाल्यो 'ए अँ अँ अष्ट्रेलिया पुग्याछन् । देख्न नपाउदा साह्रै न्यास्रो लाग्दो रै'छ । 'उनीहरु साह्रै रमाइलो गर्थे मलाइ त डोर् यारै टोल घुमाउथे । हाम्रो खानपानमा पनि धेरै ख्याल राख्थे' नातीहरुको कुरो उठ्दा बोदनाथ अगि सरे- ऐले तिनका फोटा हेरेर बस्छु । छिटो आउ बिहे गर्नु पर् यो पनि भन्या छु ।
आमा बा साथ भएकोमा अविभावकको कमि महसुस नभएको सुस्मिता बताउछिन् । 'पाका मान्छे भएपछि घर व्यवहार पनि परिपक्क हुन्छ । उहाँहरु भएर घरनै उज्यालो भएको छ । 'उनीले खुसीहुँदै भनिन् । 'सबै भन्दा ठूलो भगवान त बाउ आमा नै हो । उहाँहरुको सेवागरे तिर्थयात्रा जानै पर्दैन् ।'  उनका छोरा सुस्मिताका श्रीमान् ऋषिले अगाडि थपे-गणेश भगवानले बिचार पुर् याएरै पृथ्वीको सट्टा बाउआमाको परिक्रममा गर् या हुन् ।
बोदनाथ भन्छन् बूढेसकालमा मिठो बचन तातो खाना र न्यानो माया भए पुग्छ । हामीले पाएका छौं यसमा धेरै खुसी लाग्छ । 'हातगोडा फिटीक्कै नचल्दा पनि आफ्नो स्तर अनुसार परिवारले हेरचाहा औंषधिमूलो गर्नुपर्छ । बूढाबूढीको आशिक जुगौंसम्म लाग्छ ।' दिलकुमारीले पनि मनको कु्रा भनिन्- सबै कुरो राम्रो खोजेर मात्र चाहि हुँदैन नी । 'सन्तोषी सधै खुसी असन्तोषी सधै दुखी ।' उनी हाँसिन् ।
अब बा आमाको भान्छा गर्ने बेला भो रे । राम्रो स्वाथ्य र खुसी जिवनको कामना गर्दै मैले कुरो टुङ्गाएँ । 'हैन बाबुको बिहे गर्ने उमेर भएन भन्या,' जाँदाजाँदै बूढाले मलाइ पनि छोडेनन् ।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...