सिंजाको सेरोफेरो


भवसागर घिमिरे

म छक्क परेँ जुम्ला बसपार्कमा गाडीको भिड देखेर । सुर्खेत दैलेख र कालिकोट हुँदै जुम्ला भित्रिएका ट्याक्टर जीप र बसले पुरै बसपार्क भरिएको थियो । यो देख्दा कर्णालीको मुहार बिस्तारै फेरिँदै गएको अनुभव हुन्थ्यो । यिनै ढुवानीका साधन सुर्खेतबाट कर्णाली उकालो लाग्दा जुम्लामात्र हैन मुगु कालिकोटमा आकासियको सामानको बजारभाउ एक्कासी ओरालो झरेको थियो ।

फेरिएको कर्णाली जीवन हेर्ने सपना अब साँच्चैनै पुरा हुँदैथियो मेरो । जुम्लाबाट सिंजा हुँदै मुगु उपत्यकाको यात्राका लागि झोला बोकेर खलंगा बसपार्क पुगेको थिएँ म । हाटिसंजाका सुर्यमणी हमाल पनि मसँगै थिए ।

'हामी सिंजाको आचार्यलिही सम्ममात्र गाडीमा जान्छौं' सुर्यमणीले यात्राको बारेबताउन सुरु गरे 'लगभग ४ देखि ५ घण्टाको यात्रा ।' गाडीबाट ओर्लेपछि हाटिसंजा पुग्न हामीले झण्डै उती नै घण्टाको पैदल यात्रा गर्नु पथ्र्यो । यसका लागि केही ड्राइफुड र पानी सहितको बोतलसँगै म तम्तयार भएको थिएँ । हुन त सिंजाका लागि जुम्लाबाट पुरै पैदल यात्राको बाटो नभएको भने हैन । बिहानै हिड्ने हो भने जलजलाको लेक भएर सामान्य हिडाइले १२ देखि १४ घण्टामा हामी हाटिसंजा पुग्न सक्छौं । गाडीको यात्रा छोटो हुनु पर्ने भएता पनि कालिकोट छोएर जाने र घुमाउरो पर्ने भएकाले सोचेजस्तो चाँडो भने हुँदैन् । तै पनि नौलो अनुभव लिनका लागि बल्ल तल्ल ११ बजेको अन्तिम गाडी समाउन भ्यायौं हामीले ।

***

जुम्लाको सिंजा हुँदै मुगुको यात्रा निक्कै रोमाञ्चक यात्रा मध्येको एक हो । सुर्खेतबाट दैलेख कालिकोट हुँदै लगभग दुई दिनको बस यात्रा वा जम्मा ३० देखि ३५ मिनेटको हवाइ दुरीमा पर्छ जुम्ला । रमाइलो कुरा कर्णाली यातायातको गाडी भाडा र नेपाल वायुसेवा निगमको हवाइ भाडा प्रति व्यक्ति लगभग उत्तिनै पर्न आउँछ । तर हप्ताको जम्मा दुई दिन चल्ने जहाजमा सिट पाउनु गाडीमा सिट पाउनु जस्तो सजिलो भने छैन । नेपालगाजको गर्मिले भन्दा टिकटका लागि निगमको कार्यलयमा लाग्ने मान्छेको भिडले तपाइलाई पलभरमै बढी गलाउन सक्छ ।

अन्य प्राइभेट एयरलाइन्सको एक तर्फि भाडा भने गाडीको भाडा दर भन्दा लगभग तेब्बर नै पर्न आउँछ । त्यो पनि सबै मौसममा सधैं पाइन्छ भन्ने छैन । कच्चीबाटोमा कुद्नु पर्ने धुलो र उतारचढावले थोरै हैरानी बेहोर्नु परेपनि यात्रा रमाइलो हुने सिंजा बोतामालिका जिअका हरिचन्द्र रावतको अनुभव छ । तर तपाइ बसबाट जाँदै हुनुहुन्छ भने माक्स र मौसम अनुसारको टाउको छोप्ने टोपी लिएर जान नभुल्नु होला धुलोबाट बच्न काम लाग्छ । जहाँपायो त्यही खानेकुरा खाने बानी छैन भने त झोलामा दुई दिनको लागि केही फलफूल र खान्की पनि हाल्नु ठिक हुन्छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको गाडी बांङ्गेसिमल बड्डीचौर कल्यानकाँध तल्लो डुंगिसर हुँदै दैलेख र कालिकोटको सीमाना पर्ने टुनेबगर आइपुग्छ । त्यसपछि भने खिड्की जिउँला जिते दैखोला कालिकोटको सेरीघाट मान्मा बजार पिली सेराबाडा हुँदै कालिकोट र जुम्लाको सिमाना पर्ने नाग्मा हुँदै जुम्लाको खलंगा तिर लाग्छ । हुन त तपाइ नाग्माबाट जुम्ला बजार नपुगि सोझै सिंजा जान सक्नु हुन्छ । तर कर्णाली जाँदा समुन्द्र सतहबाट २३ सय ७० मिटर उचाइमा रहेको जुम्ला बजार पुग्नुको मज्जै नछुटाउँदै राम्रो हुन्छ ।

हवाइ होस् वा गाडी जताबाट आएपनि जुम्ला बजार पुगेपछि एक रात बस्नु बेस हुन्छ । यहाँ राम्रा होटलहरु पाइन्छन् । तीन सय देखि हजार सम्म पर्ने कोठाहरु ननएट्याच देखि एट्याच बाथरुम सम्मका हुन्छन् । जुम्ला खलंगाको एक दिनको बसाइमा तपाइले यहाँको ढुंगै ढुंगाले बनेका घरका बजार र चन्दनाथ मन्दिर मज्जैले घुम्न भ्याउनुहुन्छ । च्यांङग्राको सुकुटी रातो चामलको भात जौंको रोटी र सिमीको दाल चाखेपछि तपाइलाई मिठो निन्द्रा लाग्छ । यसरी भोलिपल्ट बिहान हामी िसंजाको लागि यात्रा सुरु गर्न सक्छौं ।

***
सिंजाका लागि छुटेको बसको खचाखच भिडमाझ आफूलाई पाउनुको बेग्लै मज्जा थियो । काठको फलेक तेसा्रएर त्यसमाथि माटोले छाएका घर एउटै रुखका फलेक तेर्साएर बनाइएका काठका पुल पुलका छेउछाउमा कुदिँएका मुर्तिहरु स्याउका रुखहरु परालका गुजुल्टा बोकेर उभिएका एक रुखे टौवाहरु र टाढा टाढा सम्म देखिने हरिया फाँटहरुले तपाइको यात्रालाई अझ सानदार बनाउने छ ।

बस बाहिरको संसारसँगै बस भित्रको संसार पनि उत्तिकै रमाइलो थियो त्यसबेला । भारतीय सँगै नेपाली लोक गीतले बसको माहोल निक्कै संगीतमय बनाइराखेको थियो । दौंरा सुरुबाल ढाकाटोपी लगाएकाहरु शिरमा फेटा गुथंेकाहरु दाँत नपलाएका केटाकेटी र दाँत झरिसकेका बुढाबुढीहरु जो कोही पनि संगीत सुनेपछि टाउको र खुट्टा चलमलाउथे । बसले घरी यता उफाथ्र्यो त घरि उता । 'यहाँको बस यस्तै हो नउपि्रु सुख्खै छैन्,' कामको सिलसिलामा जुम्ला हानिएका स्वास्थ्य विभागका महेश अधिकारीले हाँस्दै भने ।

जुम्ला देखि सिंजाको बाटो अल्लि साँघुरै छ । बिपरित दिशाबाट आउने गाडीमात्र हैन घाँस चरेर घर फर्केका गाइभैसीले पनि केही बेर तपाइको बसलाई रोक्दिन सक्छन् । सिंजाको लागि छुटेको बस तीला नदीको छेउ हुँदै लाम्रा तातोपानी बाइराँका कुँडारी रारालिही नाग्मा हुँदै हिमानदीको किनारै किनार आचार्यलीही तिर लाग्यो । यहाँको तातोपानी कुण्ड पनि निक्कै प्रसिद्ध छ । तर तपाइलाई तातोपानीको मज्जा लिन मन लाग्यो भने सबेरैको बसमा तातोपानी पुग्न सक्नुहुन्छ । त्यहाँ नुहाएर सोही दिन अर्कोबस समातेर िसंजाको यात्रालाई निरन्तरता दिन पनि सक्नुहुन्छ ।

सुर्खेतबाट जुम्ला होस् या जुम्ला बजारबाट सिंजा कर्णाली सडकको बिडम्बना भनेको बाटोमै गाडी बिग्रनु हो । आफू चढेको वा अघिल्तिरको गाडी बिग्रीयो भने स्वभाविक रुपमै तपाइ केही छिन देखि पुरै दिन सम्मै बाटोमा रोकिनु पर्न सक्छ ।

'पानी पर् यो र हिलो भयो भने रोपाइ गर्नु अघिको खेत भन्दा कम हुँदैन यहाँको बाटो', धेरै पटक यो बाटो यात्रा गरेका स्वास्थ्य विभागका अधिकारीले निधार खुम्च्याए । नभन्दै बीच कोइरेलीको खोला छेउको उकालोमा आइपुग्दा हाम्रो गाडीले मान्छेको भिड थाम्न सकेन । सडक पुरै हिलाम्य थियो । आधा भन्दा बढी मान्छे ओर्लेर गाडी धकेल्न सुरु गरे । अनि मात्र गाडीले उकालो र हिलोबाटो काट्यो । यसरी कहिले भिरै भिर त कहिले नदी किनार हुँदै गाडी साँझ साढेचार बजेमात्र आचार्यलीही पुग्यो । आचार्यली केही घर भएको सानो गाउँ हो । गाडीलाई यहाँ सम्ममात्र जानका लागि अनुमती रहेछ । यदि कुनै अत्यावसेक सेवाका लागि भने केही यातायातका साधन आचार्यलीहीबाट गोठिज्युँला हाटिसंजा सम्म पुग्न पाउँछन् ।

सुर्खेतबाट दैलेख अनि कालिकोटको नाग्मा हुँदै काटिएको यो सडकको धसो्रले अबको केही महिनामै ९१ किलोमिटरको दुरी तय गरेर मुगुलाई छुँदैछ । सडक खन्ने काम एकापट्टी जुम्लाको िसंजा बोतामालिका सम्म पुगिसकेको छ भने अर्कोपट्टी मुगुबाट पनि सिंजा तर्फ आउने बाटो झ्यारी सम्म आइपुेको िसंजा लुड्कुका स्थानीय दिपेन्द्र प्रसाद उपाध्यायले बताए ।

***
आचार्यलीहीबाट अब भने पैदलयात्रा सुरु भयो । पिठ्युँमा झोला बोकेर तम्सेका हामीसँग सिंजा हुँदै मुगु यात्रा मै निस्केका केही साथी पनि भेटिए । त्यससँगै सिंजाका एक शिक्षक र विद्यार्थी पनि भेटिए । अब भने यात्राको लागि रमाइलो टोली बन्यो । यात्राको रोचक पक्ष नै यहि हो तपाइ हरेक मोडमा नयाँ साथी भेट्नु हुन्छ । यो सम्बन्ध कतिको नजिक बनाउने र कहाँ सम्म पुर् याउने भन्ने कुरा तपाईकै व्यवहारमा भर पर्छ । बाटोमा आउने हरेक घुम्ति पुल र दोबाटोहरुमा तपाइका साथी छुट्न सक्छन् । सिंजाका शिक्षक र एक युवा भने दोबाटो बाटै ओरालो लागे । जुम्ला घुम्दै मुगुका लागि हिडेका युवराज ढकाल र इन्द्रबहादुर शाहीसँगको यात्रा भने हामीसँग निरन्तर लाग्यो ।
साढे चार घन्टाको यात्रा पछि हामी हातमा टर्चलाइट सहित लुड्कु पुग्यौं । चुक घोप्ट्याएझै अन्धकारमा पुगेको सिंजाको सुन्दरता देख्न त सकिदैनथ्यो तर सिंजालाई सिंचित गर्दै बगेको हिमानदी सुसाएको मज्जैले सुन्न सक्थ्यौं । त्यो रात हामी सबै सिंजामै बास बस्यौं । बास बस्नका लागि सिंजामा राम्रै होटलको व्यवस्था छ । दुई छाक खाना खाजा र एक साँझ सुतेको प्रति व्यक्ति पाँच सय जति पर्न आउने हाटिसंजाका मिनबहादुर हमालले बताए ।

***

महाबै पाथरखोला देखि बुम्र माडीचौर सम्मका ११ वटा गाविसले काँध मिलाएर िसंजा उपत्यकाको नक्सा कोरेको कर्णाली खस संस्कृती संरक्षण माच जुम्लाका अध्यक्ष समेत रहेका सुर्यमणी हमालले बताए । िसंजाको बुम्रमाडिचौर बोतामालिका गाविसमा बिजुलीको उज्यालो पुगेको छ भने कनकासुन्दरी बिराट नरकोटका केही वडामा मात्र बत्ती पुगेको छ ।

११ देखि १४ औं सताब्दी सम्म सिंजा उपत्यककालाई खस राज्य नामले चिनिने संस्कृती माचका अध्यक्ष हमाल बताउँछन् । १४ औं शताब्दी पछि खस राज्य टुकि्रएर बाइसे चौबिसे राज्यमा परिणत भयो र पृथ्वी नारायण शाहाले एकिकरण गर्नु अघि सम्म यो कायमै रहेको इतिहास छ । यो क्षेत्र नेपाली खस भाषाको उद्गम स्थल पनि हो । यहाँ तपाइले देउडा चाची ठाडीभाका झोडा मागल ढोली नाच ढाल नाच हुर्केनाच बालनाच रत्तेडीको मज्जा लिन सक्नु हुन्छ । सँगसँगै रातको समयमा झरोको राँको बालेर हिमा नदीमा तपाइ माछा मार्ने मज्जा पनि लिन सक्नुहुन्छ । तर यसको लागि तपाइले सम्बन्धीत संस्थालाई पहिलानै सम्पर्क गर्नु पर्ने हुन्छ । यसलाई २००८ मा युनेस्कोले विश्व सम्पदाको सुचिमा राखेको छ ।

िसंजाको फाँट साह्रै लोभलाग्दो छ । तपाइले वैषाख महिनामा यात्रा गर्नु भयो भने फाँटभरि लगाएका जौ बालीले बयली खेलेको हेर्दा हेर्दै पुरै यात्राको थकाइ मेटिएको पत्तो पाउनुहुन्न ।सिंजामा हेर्नै पर्ने केही ऐतिहासिक ठाउँहरु छन् । त्यस मध्येको एक हो कनकासुन्दरी देवीको मन्दिर । यहाँ सत्ययुगमा सतिदेवीको अंग पतन भएको किंवदन्ती छ । यहाँ दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वास रहेको मन्दिरका पुजारी पृथ्वी नारायण उपाध्यायले बताए ।
'माघ महिना जनै पुर्णिमा बडा दशैं र चैते दशैंमा यहाँ दर्शन गर्न आउनेको निक्कै भिड लाग्छ,' पुजारी उपाध्यायले भने 'यहाँको टिका थापेरमात्र घर घर मान्यजनबाट टिका थाप्ने चलन गाउँमा छ ।'
डाँडाको थाप्लोमा रहेको मन्दिर पुग्ने बाटो र मन्दिरलाई अझै व्यवस्थीत बनाएर पर्यटकहरुलाई स्वागत गर्ने योजना रहेको कनकासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलराम सुनारले बताए । 'बजेट अभावमा यो काम हुन सकिरहेको छैन्,' उनले भने,  'हामी प्रयासरत छौं ।'

यहाँ ऐतिहासिक खस राज्यको सिंजा दरबार क्षेत्र ढुंगे सिउबाक ढुंगे बाघ कालो सिउबाक दुध कुवा तेलकुवा हाटिसंजा शिवजीको मन्दिर हेर्नै पर्ने ठाउँ हुन् । त्यससँगै एल आकारको कनक गुफा र शितलधारा देखि सेरा हुँदै लामाथाडा सम्म करिब ५ किलोमिटरको क्षेत्रमा मल्ल कालमा बिच्छ्याइएको माटाका पाएपहरुले ऐतिहासिक कथाहरु बोकेको तपाइ भेट्न सक्नुहुन्छ । रिपुमल्लको रन्जना लिपि बौद्ध लामाका माटाका मुर्तिहरु शिला स्तम्भहरु र ढुंगेदेवलहरु तथा मुग्राहरु पनि तपाइलाई लोभ्याउने ऐतिहासिक सांक्षीहरु हुन । यहि ऐतिहासिक ठाउँको घुमघामले तपाइको यात्रा सार्थक पक्कै बनाउने छ ।



सिंजाहुँदै मुगु

सिंजाजाबाट मुगुको रारा यात्राका लागि धेरै बाटा भएपनि मुख्यत घुर्चि लेक काटेर जाने वा चुच्चेमाराको लेक भएर जाने दुई बाटो नै चलनमा छन् । दुवै यात्रामा हिउँसँग पैठाजोरी खेल्न पाइन्छ भने यात्रा पछि रारा हेरेर तपाइ थकाइ बिस्रन सक्नुहुन्छ । हिउँसँग खेल्नका लागि तपाइले कार्तिकबाट वैषाखभित्रै यात्रा सकिसक्नु पर्छ ।

घुर्चिलेकको बाटो

हाटिसंजाबोतामालिक चौथा भुलभुले घुर्चिको लेक आरुखाडा मुगुको पिना गाविसमा पर्ने रुँइसेडी बालैं भामबाडा छत्यालबाडा चैन हुँदै गमगढी र त्यहाँबाट उकालो लागेपछि तुम लामासिम डाँफे होटल हुँदै रारा पुगिन्छ । यो बाटोमा खाजा खानका लागि केही होटल तथा बस्ती भेट्न सकिन्छ । हामी पीनाको रुँइसेडीबाट अर्को बाटो पनि समाउने सक्छौं । त्यो बाटो झ्यारी निलिचौराको जंगलै जंगल हिड्न पर्छ । यो पहिलो भन्दा छोटो परेपनि बीचमा होटल भेटिँदैनन् र खानपानको व्यवस्था पहिल्यै आफै गर्नुपर्छ ।

चुच्चेमारा लेकको बाटो

बोतामालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बोता घट्टेखोला नौमुलीको उकालो रोतचौर गोरुसैन चुच्चेमाराको लेककाटेपछि मुगु सुरु हुन्छ । तपाइ चुच्चेमारापछि ओरालै ओरालो जंगलको बाटो रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पुग्नु हुन्छ भने माझघट्ट हुँदै राराको निजारा पुग्न सक्नुहुन्छ ।

खर्च

काठमाडौं सुर्खेत हुँदै जुम्लाको सिन्जा पुग्न र फर्कनका लागि पुरै स्थल मार्गबाट आउन जान प्रति व्यक्ति सरदर १६ देखि २० हजार रुपैयाँ ।

कोसेली

सिमी ड्राइ एप्पल काँचो मह सिस्नोको ढुटो रातो चामल जडिबुटी चिया ।

के लैजाने
रुखा खोकीको औषधी एमजीट सिटामोल जीवनजल रेनकोट न्यानो कपडा छाता सिल्पिङ ब्याग पानीबोतल ।


(नागरिक घुमफिर२०६८-२-१४ मा छापिएको यात्रा अनुभव)

Comments

  1. यति लामो हुदा हुदै पनि निकै रोचक लाग्यो पोस्ट .. तर अझ सकिएकै रहेनछ।

    ReplyDelete
  2. कष्णपक्षजी प्रतिक्रियाका लागि धन्यवाद ।

    ReplyDelete

Post a Comment