Skip to main content

साइकल कुद्यो मोबाइल बिग्रीयो

भवसागर घिमिरे
‘तिमी हामीले चलाउने भनेको यै सानो भाँडो त होनी अरु काँ किन्न सकिन्छ र,'‘मोबाइल किन्नु भएछ है दाई’ मैले सोधेको यो प्रश्नमा उनको उत्तर थियो त्यो । नोकिया-३३१० को ढम्पाङ मोबाइल सेट देखाउँदै उनले दिएको त्यो उत्तर मेरो लागि ठूलो व्यङ्ग्य थियो । २०५६ साल । पोखरा बजार । थोरै हुनेखानेका हातमा मात्र मोबाइल थिए ।
त्यस बेला क्यालकुलेटर त के हातमा आलु घडि किन्न पनि हम्मे हम्मे पथ्र्यो मलाई । त्यस्तो बेला’तिमी हाम्ले किन्न सक्ने…’ भन्दै उनले गरेको कुरा मेरो मनमा धेरै दिनसम्म गढेँ ।


साँच्चै भन्नु पर्दा त्यस भन्दा अगिका दिनमा मोबाइल भन्ने जन्तु मेरो सपना भन्दा धेरै परको कुरा थियो । तर अब भने बिस्तारै इखकै रुपमा भएपनि मेरो मनमा एउटा सपना पलायो ‘हातमा आफैले किनेको मोबाइल खेलाउने ।’
यस्तै मोबाइल सेट लिएर हिड्ने मेरा चिनेजानेका अर्का साथी थिए । २०५८ तिरको कुरा टुरिजम व्यवसायमा लागेका उनको त्यो मोबाइल चलाउने एकादुई अवसर पाए पनि ‘कसरी चलाउने’ भन्ने थाहा नपाएपछि मैले धेरै नै अफ्ठ्यारो महसुस गरेँ । साँच्चै भन्नु पर्दा मन खोलेर मोबाइल चलाउन सिक्न पनि पाएको थिइन मैले । लाग्थ्यो कुनै मोबाइल एक दिनैको लागि पाएँ भने त्योसँग भुलेर दिनै बिताइदिन्छु ।


२०६२ सालको कुरा । स्नातकोत्तर पढ्न पोखराबाट काठमाडौं पसियो । कीर्तिपुरको विद्यार्थी जिवन । घर र सँगका साथीहरुबाट टाढा हुनु परेको बेला । साँच्चैनै मलाई मोबाइलको निक्कै खाँचो थियो । पढ्न भनेर ऋण काढेर राजधानी भित्रिएको मान्छे मोबाइलको किन्नको लागि पैसा जुटाउनु फलामका चिउरा चपाउनु सरह थियो । मैले नसही मेरा रुम पार्टनरले भने विदेशबाट आएका आफन्तबाट एउटा मोबाइल फुत्काइ हाले नोकिया-३३१० । कमिजको खल्तिमा हाले भुक्क देखिने । पाइन्टको खल्तिमा हाले पुट्ट देखिने । अब भने खाना पकाएर हुन्छ की कोठा सफा पारेर फकाएर हुन्छ साथीको मोबाइल खुब चलाउन थालियो ।

कहिले काहीँ त उसले दिनै मान्दैन्थ्यो । त्यही विषयमा झगडा पनि हुन्थे । उसलाई देखाउनै भएपनि मैले मोबाइल नकिनी भएन । विद्यार्थी जिवन । हरेक महिना अधिकतम ३ हजारले पुर् याउनु पर्ने । तैपनि ३४ महिना गरि त्यसबाट जोगाएको २६ सय रुपैयाँले मेरो हातमा एउटा थर्ड हो वा फोर्त ह्यान्ड हो सेट पर् यो । रातो रंगको त्यो सेटको आवाज सुन्ने कुरा बाहेक सबै ठिक थियो । साह्रै सानो सुनिने । अर्को समस्या स्विचअफ गरे पनि कताबाट अन हुँदो रैछ कुन्नि कलेजको कक्षामै बजेर हैरान । एक वर्ष पनि नहुँदै त्यो सेटको अब आवाज मात्र हैन किप्याडले पनि काम नगर्ने भो ।

निराश र बेखर्चि भएको मलाई मोबाइल चलाउने अर्को अवसर मिल्यो । किनेर एकै वर्ष चलाएको मेरो घरको साइलकसँग मैले एउटा मोबाइल सेट साटेँ नोकिया १११० । एक जना घर नजिकैका सिकर्मी दाईले मलाई उनको मोबाइल छाडेर मेरो साइकल लिएर हिडेँ ।

कीर्तिपुरको बसाइका बेला । यो मोबाइलले मेरो नजिकको साथी बन्यो । घर तिर साथीभाइसँग सामिप्यता गाँस्नका लागि यसले कहिल्यै मलाई धोका दिएन् । बरु बेलैमा रिचार्ज गर्नुस भनेर हैरान भने गथ्र्यो । रातारात पुस्तक रट्टान गर्दा होस् या साथीभाइलाई कीर्तिपुरका चोकमा बोलाउँदा नै किन नहोस् । यो मोबाइलबाट कल भन्दा मिसकल धेरै गरियो । एसएमएसबाट ठट्टामात्र भएनन् टेलिकमबाट पि्रु पाएको भ्वाइस मेल सर्भिसमा कविता गीत ठट्टा लोड गरेर खुब धेरै साथीहरुलाई पठाइयो र मज्जा लिइयो ।

नयाँ बानेश्वर बसाइका बखत । दुई वर्ष अघि त्यसले काम गर्न छाडेपछि मैले नयाँ मोबाइल सेट चलाउन थालेँ 'नोकिया २७०० क्लासिक ।'

साइकलसँग साटेको नोकिया १११० को मोबाइल सेट त बिग्रीएर गयो । तर अझै पनि घर जाँदा मेरो त्यो प्यारो साइकल रोडमा कुदिरहेको देख्दा मन कटक्क खान्छ ।
Published in
http://bbcnepalidrama.com/mobile-story/

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...