Skip to main content

राष्ट्रपतिले हँसाए बालिकालाई


राष्ट्रपतिलाई भेट्न पुगेका वालिकाहरुको अनुभव



भवसागर घिमिरे, काठमाडौं पुस ११

´राष्ट्रपति त साह्रै रमाइलो पो हुनुहुँदोरहेछ´, उनलाई भेट्न शीतल निवास पुगेकी कैलाली राजिपुरकी सोना केसी १७ ले भनिन्- भेटका क्रममा हामीलाई त्यस्तै अनुभव भयो।

राष्ट्रपति डा. रामवरण यादव सबैलाई नमस्कार गर्दै भर्याङ्ग ओर्लेपछि हरेक बालिकाका आँखा उनीतिर तानिए। कसैले त कानेखुसी गर्न पनि भ्याए। उनलाई हेर्न होचो कदकी सोना त कुर्चीबाट जुरुक्क उठ्नै पर्यो।

उनीसँगै तेह्र जिल्लाका ५० भन्दा बढी बालिकाले राष्ट्रपतिलाई आफ्ना कुरा सुनाए र उनका पनि सुने। ´पाँचौं राष्ट्रिय बालिका शान्ति शिविर (पुस ८ देखि १२)´ मा भाग लिन काठमाडौं पसेका यीमध्ये नेपालगंजकी सोकिया खान, १७ पनि आज दङ्ग थिइन्। ´मैले त भवन छिर्नुअघि घरमा आमालाइ एसएमएस गरें´, उनले हौसिँदै भनिन्- ´राष्ट्रपतिलाई भेट्दैछु भनेर लेखेको त उताबाट फोनै आयो।´ उनिले थपिन्- ´खुसी व्यक्त गर्ने शब्दै छैन।´


रविना श्रेष्ठ, १५ ले त राष्ट्रपतिमाझ साथीहरु मिलेर चार दिनमा तयार पारेको ज्ञापनपत्र पनि पढेर सुनाइन्। ´हामी नयाँ नेपालमा विद्यालय शान्ति क्षेत्र भएको हेर्न चाहन्छौं´, ´हाम्रो आँखामा नयाँ नेपाल´ शीर्षकका दुई पृष्ठ लामो ज्ञापनपत्र पढ्दै उनले थपिन्- ´हामीलाई नयाँ नेपालमा शान्ति र अहिंसाको शिक्षा चाहिएको छ।
´

१८ बुँदा समेटेको ज्ञापनपत्रले राजनीतिक दल नागरिक समाज र नेपाल सरकारलाई नयाँ नेपालमा बालबालिकाका अधिकारप्रति सचेत हुन सुझाव दिइएको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले पनि धेरै बालिका भेट्न पाएकोमा खुसी व्यक्त गरे। ´अहिले देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रता जोगाउनुपर्ने बेला छ,´ बालिकासँग राष्ट्रपतिले भने- ´यसमा तपाईहरुले पनि गहन भूमिका निर्वाह गर्नुहुन्छ भन्ने ठूलो अपेक्षा छ।´

लोकतन्त्र मजबुत बनाउन सबै पक्ष संयम भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रताको कुरा पनि गर्न भ्याए । ´व्यक्तिगत स्वतन्त्रता कानुनी शासन अनि प्रेसको स्वतन्त्रता जस्ता मूलभूत अंगहरु दर्हिलो नभई लोकतन्त्र मजबुत हुन सक्दैन्´ उनले थपे- ´यसमा बालअधिकार त झन् छुटाउनै नहुने अंग हो।´ वर्तमान तरल राजनीतिक माहोलतर्फ संकेत गर्दै अन्तमा उनले भने- ´जिम्मेवार व्यक्तिहरुले सस्ता कुरा गर्नुहुँदैन। यसले लोकतन्त्र संकटमा पार्छ।´

राष्ट्रपतिबाट नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुनिश्चित हुने आश्वासन पाएपछि पोखरा लामाचौरकी वन्दना थापा १४ खुसी देखिन्थिन्। ´जब उहाँले हाम्रो मागका पक्षमा कुरा गर्नुभो खुसी त लाग्ने नै भो नि´- उनले भनिन्। ´के सिक्यौ त शिविरमा? ´ दैनिकीडटकमको प्रश्नमा उनकी साथी पुनम गुरुङ १५ ले भनिन्- ´हामीले आफ्नो समुदायमा शान्ति कायम राख्न के के काम गर्न सक्छौं, सबैसँग कसरी मिलेर बस्ने, संयम कसरी अपनाउने जस्ता ज्ञान सिक्यौं।´

मकवानपुरकी मेनुका बलामी १८, मा त यो शिविरले आत्मविश्वास जगायो रे। ´आफ्नो हक अधिकारका बारेमा अब म मज्जाले बोल्न सक्छु। आफूलाई मनमा लागेको कुरा अरुलाई सुनाउन सक्छु´- उनले आत्मविश्वाससाथ भनिन्। ´विकल्प ज्ञान तथा विकास केन्द्र´ ले जुराइदिएको यो शिविरमा बालिकालाई प्रयोगात्मक विधिबाट विभिन्न रचनात्मक अभ्यास गराइएकाले प्रभावकारी रहेको प्रशिक्षक अशोक शिवाकोटीले बताए। ´धेरै कुरा सिक्न पनि पायौं र राष्ट्रपतिलाई भेट्न पनि´ मुस्ताङको सदरमुकाम जोमसोमबाट ५ दिन पैदल हिँडेर पुगिने छोसेरबाट आएकी पेमा गुरुङ, १७ ले भनिन्- ´मैले त सबै साथीलाई मेरो गाउँका कथा पनि सुनाएँ´। उनी जस्तै पहिलो पटक काठमाडौं पसेकी उनकी अर्की साथी ढोका गुरुङ, १४ लाई पनि रमाइलो लागेको छ रे। नयाँ नेपालमा नयाँ राष्ट्रपति छन् भन्ने रेडियोबाट सुनेकी उनले भनिन्- ´रेडियोमा सुनेका राष्ट्रपतिलाई आज भेट्न पाएकमा पत्याउनै गाह्रो भइरहेको छ।´

पानी परेकाले चिसिएको मौसममा राष्ट्रपतिले सबैलाई चिया पिउन आग्रह गरेपछि त्यो अवसर पनि उनीहरुले चुकाएनन्। ´फोटो खिच्ने बेला भने उहाँले खुब हँसाउनुभो´, नेपालगंजकी सपना डाँगी, १६ ले राष्ट्रपतिका कुरा सुनाउँदै भनिन्- ´पहिला पहिला अर्कै क्यामेरा हुन्थ्यो, रेडी भनेर खिच्थे अहिले त डिजिटलले कतिखेर खिच्यो पत्तै भएन। उहाँले यसोभन्दा हामी निकै मजाले हाँस्यौं र उहाँ पनि।´

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

सम्झनामा जहाजका तस्बिर मात्र

हिजो जहाज दुर्घटनाको समाचार थाहा पाए पछि निक्कै खल्लो लाग्यो ।    नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज   हो भन्ने थाहा पाए पछि मैले आफूसँग भएका यात्राका फोटोहरू पल्टाउन थाले । पछि थाहा पाएँ यो त्यही जहाज थियो जसले मलाई  कुनै बेला  नेपालगञ्जबाट जुम्ला र मुगुबाट नेपालगञ्ज सुरक्षित ल्याउन सघाएको थियो ।     म २०६७ को वैशाख ११ गते  यो जहाजमा  नेपालगञ्जबाट जुम्ला उडेको थिएँ । बीबीसी मिडिया एक्सनको रेडियो कार्यक्रम उत्पादनको शिलशिलामा । जहाज उडेर जुम्ला ल्याण्ड नगरे सम्म पुगिन्छ भन्ने टुंगो हुँदैन्थ्यो । उडानहरू खराब मौसमका कारण बीच बाटोबाटै फर्केका पनि धेरै उदाहरणहरू थिए । त्यसैको केही महिना पछि (अषाढ १ गते ) सीता एरलाइन्सबाट नेपालगञ्ज देखि जुम्ला उडेका हाम्रो टोली बीचबाटो बाटै पुनः नेपालगञ्ज फर्केको थियो, खराब मौसमका कारणले । केही दिन कुरेर ४ गते उड्दा मात्र हामी सकुशल जुम्ला अवतरण गर्न सक्यौं । जहाजमा पहाड तीरको यात्रा गर्दाको अनुभव निक्कै रोमाञ्चक अनि डरलाग्दो थियो त्यती बेला । पहिलो पटक जुम्ला, कर्णाली जानु । पहिलो पटक नेपाल एरलाइन्सको ज...