Skip to main content

बालबाटिकाको रमाइलो


काठमाडौं– वरिपरि खेत, बीचमा सुन्दर सानो छाप्रो। भित्तामा नौलानौला चित्र। बिहान ९ बजेपछि केटाकेटीको ओइरो लाग्न थाल्छ। कोही कराउन थाल्छन्, कोही रुन। डेढदेखि चार वर्षसम्मका केटाकेटी सम्हाल्न तम्सिएकी रत्नेश्वरी श्रेष्ठ, ४२, लाई एकछिन त हम्मेहम्मे पर्छ। उनी थपडी मारेर गीत गाउन थाल्छिन्–
फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार,
झुल्किन्छ है घाम...

एक/दुई गर्दै केटाकेटीहरू सुक्सुकाउन बन्द गर्छन्। गीत गाउँदा पनि चुप नलागे उनी नाच्न थाल्छिन्। उनीसँगै विष्णुमाया महर्जन, ४०, पनि नाच्न तम्सिन्छन्। अनि त केटाकेटीलाई रमाइलो हुने नै भयो। कोही थपडी मार्छन्, कोही नाच्छन्। त्यहाँको माहौल नै रमाइलो बन्छ।

पाँगा चिखुँ कीर्तिपुर–१० मा रहेको ´सेतो गुराँस बालबाटिका´ केटाकेटीको रमाइलो विद्यालय बनेको छ। यहाँको पढाइ सकेकालाई अरू विद्यालयले कक्षा १ मा भर्ना लिन्छ। स्थानीय समुदायको पहल र बालबालिकाको क्षेत्रमा काम गर्ने सेतो गुराँसको सहयोगमा २०५६ सालमा स्थापना भएको बाटिकामा श्रेष्ठ र महर्जनले काम गर्न थालेको ८ वर्ष भइसक्यो।


सुरुका वर्ष चार/पाँच जना लिएर बालबाटिका सुरु गरिएको थियो। ´हामीले विस्तारै–विस्तारै सबैलाई कुरा बुझाउँदै लग्यौं। पछि भर्ना हुने बच्चाहरू पनि बढ्दै गए,´ उनले भनिन्। अहिले बाटिकामा ३० जना केटाकेटी छन्।

केटाकेटी बाटिकामा आएपछि के गर्छन् त?

उनीहरू बिहान साढे नौ बजे प्रार्थना गर्छन्। आजको दिन, महिना, गते र बारबारे थाहा पाउँछन्। त्यसपछि बारअनुसार विभिन्न क्रियाकलापमा उनीहरू जुट्छन्। ´हामी खेल्छौं, नाच्छौं, गाउँछौं अनि पढ्छौं´ रोशन आचार्य, ३, ले हाँस्दै भने– तपाई पनि खेल्न आउनु भएको हो? अब त म पनि उनीहरूकै साथी बन्न थालें।

´हामीले खाना खानुअघि र पछि साबुनपानीले हात धुने। कोठाभित्र जुत्ताचप्पल लगाएर नजाने जस्ता कुरा पनि सिकाउँछौं´ लगभग एक वर्ष अगाडि मात्र यहाँ आएकी शिक्षिका प्रतिभा डंगोल, २६, ले भनिन्– बच्चाहरूले घरमा गएर पनि त्यही व्यवहार देखाएकाले अभिभावक खुसी छन्।

धेरै अभिभावकले भर्ना गर्नेबित्तिकै एबीसीडी घोटाइहाल्न दिने गरेको दबाब उनलाई मन पर्दैन। एक त बच्चाहरू खेल्दै सिक्न चाहन्छन्। त्यसमाथि सानो उमेरमा पढाइको धेरै बोझ उठाउन सक्दैनन्। यस्तो कुरा नबुझेका अभिभावकलाई बच्चाको इच्छा, चाहनाबारे बुझाउनुपर्ने उनको भनाइ छ। डंगोल भन्छिन्, ´आमाको दुध पनि नछुटेका बच्चालाई एबीसीडी घोटाउन सरु गर्ने हो भने, बच्चाहरू किताब देखेर पढ्न हैन डराउन थाल्छन्।´

यहाँ कसरी सिकाइन्छ त? साना केटाकेटीलाई पहिला आफू वरपरका दृश्य, सामानसँग परिचय गराउँछौं। धान कुन? गहुँ कुन? डालो कुन? डोको कुन? यस्ता सामग्रीलाई उनीहरूकै अगाडि राखेर पढाइन्छ। श्रेष्ठका अनुसरा स्याउ, सुन्तला आदि फलफूल देखाएरमात्र हैन चखाएरै नाम सिकाइन्छ।

मकैको खोइला, लब्सीको गेडा आदि घरेलु सामानबाट अंक गन्न सिकाइने हुँदा बच्चाहरूले गणितसँगै स्थानीय सामग्री पनि चिन्छन्। साना कक्षामा अक्षरहरूको सिकाइलाई खेलकुद र नाचगान सँगसँगै लगिने उनले बताइन्। ´घरमा खानै नमान्ने, बोल्नै नजान्ने बच्चाहरू पनि यहाँ आएर राम्रो बोल्न र आफै खान सिकेका छन्´ श्रेष्ठले भनिन्।

अटेरी बच्चालाई कसरी सम्झाउने त? धेरै उपाय छन्। तर बच्चासँग झर्किने र हप्काउने काम गर्न नहुने महर्जन बताउँछिन्। उनी भन्छिन्, ´बच्चाको कुरा सुन्ने, बुझ्ने र राम्रो नराम्रोका बारेमा राम्ररी बुझाउने गरेमा उसले कहिल्यै झगडा गर्दैन।´ उनले यसो भन्दै गर्दा दुईवर्षे दिव्या क्षेत्री ´माँ पाची गर्ने´ भन्दै हातमा गुडिया बोकेर आइन्। दिव्याले ´गुडिया बोक्छु´ भनेको कुरा महर्जनले प्रष्टै बुझन्। गुडियालाई पिठ्युँमा बोक्न पाएपछि उनी चिप्लेटीतिर दौडिहालिन्।

रमाइलो वातावरणमा सिक्छन् उनीहरू। यहाँ कसैलाई नाच्न आउँछ त कसैलाई गाउन। नाच्ने कुरा गर्नेबित्तिकै रोशन आचार्य, ३ अगाडि सरिहाले। एन्जिला महर्जन, २ ले गीत गाउन थालेपछि आचार्यले चम्बु पाठोझैँ आफ्नो नृत्य देखाए।

माथि माथि चंगा आकाशमा, लट्टाइँचाहिँ हातमा,
पुर्‍याऊ, पुर्‍याऊ माथि पुर्‍याऊ, मेरो चंगा माथि पुर्‍याऊ...!

आचार्यसँगै नेजिन्ता पुरी, २ पनि नाच्न थालिन्। एन्जिलाको गीत सकिन नपाउँदै जेनिसा महर्जन, ३ ले अर्को गीत सुरु गरिन्–

धानकुटी चामल, चामल कुटी पिठो
मैयाले बोलेको चिनीभन्दा मिठो...

गीत जस्तै उनीहरूको तोते बोली पनि मिठो थियो।

बाटिका सञ्चाललका निम्ति समुदायका प्रतिनिधि मिलेर समिति गठन गरेका छन्। हालसम्म अन्दाजी चार सयले बाटिकाबाट बाल शिक्षा लिएको संस्थाका सचिव सरवकुमार महर्जनले बताए। ´म सानो छँदा पढेको स्कुल भन्दै सात आठ कक्षाका भाइबहिनी बाटिका अवलोकनमा आइरहन्छन्´ उनले भने। आर्थिक स्रोतको अभावले शिक्षिकाको तलब सुविधा बढाउन तथा खेलकुदका थप सामग्री खरिद गर्न नसकिएको सरब बताउँछन्।

प्रतिव्यक्ति दुई हजार हाराहारीको तलबमा हरदिन बच्चाको स्याहार र पढाइका निम्ति शिक्षिकाहरू मन दिएर खटिएका छन्। ´बच्चासँग लिएको पैसा उनीहरूलाई ख्वाउँदै र खेलकुदका सामान किन्दै ठिक्क हुन्छ´ विष्णु भन्छिन्– सहयोग पाए, तलब बढे त राम्रै हुन्थ्यो नि।

अरूलाई आ–आफ्नै चिन्ता भएपनि केटाकेटीलाई भने रमाइलै छ। बाटिकामा आएपछि उनीहरू खेल्छन्, पढ्छन्, नाच्छन्, गाउँछन् दिन बितेको पत्तो पाउँदैनन्। ट्याङ् ट्याङ् घण्टी बज्न थालेपछि भने आ–आफ्नै काममा भुलेका सबैले एकै स्वरमा गीत गाउन थाले–

ट्याङ् ट्याङ घण्टी बज्यो, घण्टीले के भन्छ
साथीभाइ सबै मिली, खाजा खाउँ भन्छ ...
 2009-03-04 16:59:54
भवसागर घिमिरे

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...