Skip to main content

पुस्तकतिर सोझिएका आँखा



भवसागर घिमिरे, काठमाडौं, फागुन १-

´पुरानो कोट लगाउ नयाँ पुस्तक किन´

हुलका हुल मान्छे ओइरेको देख्दा हेनरी डेभिड थोरोको यो सन्देश धेरैले सुनेझैँ लाग्छ। स्थान, काठमाडौंको राष्ट्रिय सभागृह। साँझको समय। प्रवेश गर्नेबित्तिकै बाँयापट्टिको भुईभरि ´गरिमा´ मासिकका पुराना अंक छरिएका देखिए। गरिमावरिपरि मान्छे पनि छरिएका। घारमा माहुरी जस्तै। हातमा सयका दुई, दसका तीन र पाँचका एक नोटसहित खुजुरा डलर समातेका आत्माराम घिमिरे मख्ख छन्, पुराना गरिमामा सोझएका तन्नेरी आँखा देखेर। मोल सोध्दै गरेका एक युवतीतर्फ फर्केर उनले भने, ´एक लगे पाँच, तीन लगे दस रुपैयाँ।´

सन्दर्भ हो, साझा प्रकाशनले आयोजना गरेको ´बृहत् पुस्तक प्रदर्शनी–२०६५´ को। मुल प्रवेशद्वारमा झोला राखेर भित्र गएपछि मान्छेको ठेलमठेलमा तपाई पनि एक हिस्सा बन्नुहुनेछ। थुप्रै पुस्तकप्रेमी भेटिने प्रदर्शनीबाट रुकुमका महेन्द्र खड्का भने बाहिरिने तर्खरमा थिए।


क–कसका किताब किन्नुभयो त?

´जिउँदो लाश–विजय मल्ल, योगसाधना तथा योगचिकित्सा रहस्य–रामदेव´, भिएस निकेतनबाट भर्खर विज्ञानमा प्लस टु सकेका उनले हातको पुस्तक र लेखकबारे बताउँदै थपे– ´पल्पसा क्याफे–नारायण वाग्ले, प्यासभित्रको विद्रोह–तसलिमा नसरिन, महात्मा गान्धीको आत्मकथा, यत्ति हो।´ एमबिबिएस प्रवेश परीक्षाको तयारीमा जुट्दाको दिक्दारीबीच यी पुस्तक पढिसक्ने उनको योजना छ।

प्रदर्शनी काठमाडौंमा बसोबास गर्ने मात्र हैनन् बाहिरी जिल्लाबाट कामको सिलसिलामा राजधानी छिरेकाका लागि पनि अवसर भएको छ। सुर्खेतकी चन्द्रा आचार्य आधा घण्टादेखि लोकसेवा परीक्षासम्बन्धी पुस्तकको खोजीमा थिइन्। ´अफिसको कामले काठमाडौं आएको थिएँ, मनपरेको पुस्तक लैजाउँ भनेर पसेको´ उनी हाँसिन्।

सिरहाका रामएकवाल यादव भने ´विश्वका बादशाहहरू´ भन्ने पुस्तकको खोजीमा रहेछन्। श्रीमतीसँगै काठमाडौं घुम्न आएका उनले महान व्यक्ति प्रेरक प्रसंग, साम्यवाद नै किन, आमा उपन्यास आदि लैजान ठिक्क पारिसकेका थिए।

तपाईको नाम?

´रश्मिला,´ रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक पढ्दै गरेकी उनले भनिन्, ´थरचाहिँ नभनौं है।´ उनलाई खोजमूलक तथा इतिहासका पुस्तकमा बढी चासो लाग्दोरहेछ। हातमा हिटलरको बायोग्राफी च्यापेकी उनले भनिन्– ´यस्तो प्रदर्शनी बराबर भइरहनुपर्छ।´

समाजमा पठन संस्कृतिको विकास, प्रकाशन संस्थाबारे पाठकलाई जानकारी तथा पुस्तकलाई सहज, सुलभ र सुपथ मोलमा पाठकसम्म पुर्‍याउने उद्देश्यले साझा प्रकाशनले प्रदर्शनी आयोजना गरेको हो।

´२५ देखि ८० प्रतिशतसम्म छुटमा हामीले पुस्तक बेचिरहेका छौं´ साझा प्रकाशनका रूद्रप्रसाद न्यौपानेले भने। दसौं दिनसम्म आइपुग्दा पुस्तक बिक्रीबाट ३५ लाख रुपैया संकलन भएको उनले जानकारी दिए।

प्रदर्शनीमा १६ प्रकाशन संस्था सहभागी छन्। पाँच सयभन्दा बढी लेखकले आफैले प्रकाशन गरेका पुस्तक पनि बिक्रीका लागि उपलब्ध गराएका छन्। साझा प्रकाशनका अनुसार मुनामदन, गौरी, बसाइँ, शिरीषको फूल, अन्तर्मनको यात्रा, हिमालपारि पुगेपछि, सेती पनि काली पनि, सुम्निमा, श्वेतभैरवी आदि किताबको बिक्री बढेको छ।

´छापामारको छोरो, सुम्निमा, तरुणतपशी, ऋतुविचार, नयाँ सडकको गीत आदिको स्टक क्लिएर भइसकेको छ´ न्यौपानेले भने– ´थप छाप्न पठाइसकेका छौं।´ उनका अनुसार केही महिनाअघि दिवंगत रमेश विकलका पुस्तकप्रति पनि पाठकहरूले विशेष चासो राखेका छन्।

पुस्तक किनेपछि पनि रकमको रसिद काट्दा पालै कुर्न पर्न सक्छ। भक्तपुरकी अनिता राजपालको पालो चार जनाको पछि मात्र आउँदै थियो। ´कुर्नै पर्‍यो नि´ हातमा कथा र गजलका किताब बोकेकी राजपाल मुख छोपेर हासिन्। रसिद काट्नेलाई पनि भ्याइनभ्याई थियो।

´भर्खर त्रिवि पढ्ने विद्यार्थीले १९ सयमा एक ठेली किताब बोकेर गए,´ रसिद काट्न व्यस्त धुव्र कार्कीले भने– ´हिजो एकजनाले एक भारी पुस्तक किनेर आठ हजार बुझाए।´

दर्शन, द्वन्द्वसँगै विदेशी लेखकका नेपालीमा अनुदित पुस्तकमा पनि धेरै आगन्तुकका आँखा परेका थिए। ´पाइरेटेड बुक्स (अनुवाद अधिकार नलिइकन प्रकाशित पुस्तक) को पनि बिगबिगी छ´ एक प्रकाशकले भने– ´नियम नमान्नेलाई कारबाही गर्ने परिपाटी फितलो भएर यस्तो भएको हो।´

साझाका न्यौपाने भने हाम्रो जस्तो अर्थतन्त्रमा पाइरेटेड बुक्स बढ्नु स्वाभाविक हो भन्छन्। अर्का एक प्रकाशकले भने पाइरेटेड बुक्सको बिगबिगीले आफूहरू मारमा परेको गुनासो गरे।

जे भए पनि प्रदर्शनीमा युवासँगै केटाकेटी र बूढाबुढीको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ। कोटेश्वरका ६६ वर्षे माधव पराजुलीको चाख भने धार्मिक पुस्तकतिर देखियो। ´खप्तडबाबाको विचारविज्ञान, गीता भर्खर पढेर सकेँ, अरू धर्मदर्शनसम्बन्धी किताब खोज्दैछु´ पराजुलीले चस्मा अल्लि माथि सार्दै भने। माघ २० बाट सुरु भएको प्रदर्शनी फागुन २ सम्म चल्नेछ।


पुस्तकतिर सोझिएका आँखा

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...