Skip to main content

जय ´शम्भो´!


फागुन महिना, पशुपति परिसर। देश–विदेशबाट जम्मा भएका सन्तहरू माझमा रूखका मूढा दन्काउँदै डल्लो परेर बसेका छन्।

´जय शम्भो,´ गाँजा भरेको चिलिम तानेर बुङ्बुङ्ती धुँवा उडाउँदै एक सन्त केही चिचिला ठिटामाझ कुर्ले, ´आवो बेटा, बेठो खाओ।´ त्यति भएपछि उनीहरूलाई के चाहियो? मामाकै जन्त जान पाएझैं सन्तका समिप ढेप्पिन पुगिहाले।


´बाबाजीसँगै बसेर तुईतुई गाँजा तान्नुमा छुट्टै मज्जा,´ मुठ्ठीमा चिलिम कसेर, भुइँमा थुचुक्कै बसेका तीन ठिटामध्ये भक्तपुरका रविन गुरुङले गाँजाको सर्को तान्दै भने– ´वर्षमा एकपल्ट त हो नि।´


व्यवस्थापनमा स्नातक गरिरहेका गुरुङ हरेक शिवरात्रिका बेला पशुपति परिसरमा टहलिएका भेटिन्छन्। भारतबाट आएका सन्तसँग उनको निकै हिमचिम रहन्छ यो बेला। ´बाबासँग बसिएन भने बुटी (गाँजा) चाख्न कहाँ पाइन्छ र, हैन बाबा?,´ गरुरूङले यसो भनिरहँदा धुवाँको रङजस्तै दाह्री भएका बाबा ङिच्च हाँसे।

यो साल भने उनले लमजुङका विप्लव मगर र धनगढीका सुरेश अधिकारीलाई पनि यहाँसम्म डोर्‍याउन भ्याएछन्। उनका साथीहरू पहिलोपटक यहाँको तामझाम हेर्न आउन पाएकामा मख्ख छन्।

´केका लागि आउनु भो त?´

´यसो बुटी चाखौं भनेर,´ मगरले चिलिम समाउँदै ठट्यौली पारामा भने, ´जिन्दगीमा सबै कुराको टेस्ट लिनुपर्छ रे, सुसाइड (आत्महत्या) बाहेक।´

गाँजाको सर्को पहिलोचोटि तानेका उनलाई लहरे खोकीले झ्याप्प छोप्यो। हत्तपत्त चिलिम अधिकारीको हातमा थमाउँदै उनले भने, ´झण्डै मोरेको।´

उनीहरूमात्र हैनन्, शिवरात्रिका बेला पशुपतिमा गाँजाको स्वाद चाख्नकै लागि धेरै मान्छेको ओइरो लाग्छ। दुई/चार रुपैयाँ सन्तका हातमा थमाएर, चिलिम समाएर एक/दुई सर्कोमात्रै लगाउने पनि हजारौं भेटिन्छन् पशुपतिमा।

´कहाँबाट आउँछ गाँजा?´

नेपालका मकवानपुर, जुम्ला, डोल्पा, बझाङ, दार्चुला, बाग्लुङ, म्याग्दी जाजरकोटजस्ता जिल्लामा पनि गाँजा खेती हुन्छ। स्थानीयवासीको आम्दानीको प्रमुख स्रोत पनि यही बनेको छ कति स्थानमा। शिवरात्रिमा कडा निगरानी चिर्दै यी क्षेत्रबाट लुकिछिपी गाँजा राजधानी भित्रन्छन्। शिवरात्रि मनाउन आउने स्वदेशी तथा विदेशी सन्त, भक्तजनले पनि गाँजा भित्र्याउन थप योगदान गर्छन्।

भारतका विभिन्न सहरबाट काठमाडौं आउने कमैमात्र सन्त चरेश, भाङ र गाँजाको बन्दोबस्त नगरी पशुपति आउँछन्। ´हमारे पास खानेके लिए यही तो है,´ उत्तराञ्चल प्रदेशबाट एक साताअघि आएका अगरवीर दियानाथले निधार खुम्च्याए, ´इतने दिन हुए सरकार हमारे बन्दोबस्तमें कुछ नही कर रहा है।´

उनकै छेउ ढल्किएका छन् अर्का सन्त। आफूलाई अघोरी बाबा बताउने उनले गाँजा भरेको एक खिल्ली चुरोट बेचेबापत् २० देखि ५० रुपैयाँसम्म लिए।

´किउँ?´

पत्रकार भनेर चिनेछन् कि क्या हो, नाम सोध्नासाथ उनी चिढिए। ´अपनेको बुद्धिमान नासम्झो बेटे, तुम ज्ञानके गुरु हो तो हम इतिहासके गुरु हैं।´

अघोरी बाबाको घनघोर वचन सुनेपछि त्यहाँबाट पाइला उकालोतिर मोडियो।

रत्नपार्कमा हात हेर्ने पण्डितझैं, सन्तका लाम अन्तभन्दा स्लेश्मान्तकको उकालोमा ज्यादा थियो। गाँजा ख्वाउने र खाने काममा मस्त उनीहरू तन्नेरीलाई जीवन जगतबारे प्रवचन पनि दिइरहेका थिए। प्रवचन सुन्नेमा ठिटासँगै आएका ठिटी पनि भेटिन्थे कुनै स्थानमा। साधुका वरिपरि बाच्छी र गाईका खाइलाग्दा बडाबडा श्रीमान (साँढे) को ओहोरदोहर पनि चलेकै थियो। साधुका प्रवचन त सायदै बुझ्थे, गाँजाको गन्धले महादेव सम्झेर आएझैं प्रतित हुन्थ्यो उनीहरू। गाँजाको व्यापार पनि निक्कै फस्टाउँदो, बेच्ने विदेशी बाबा, किन्ने स्वदेशी युवा। टोल्या साथीहरूलाई पुग्नेगरी किन्ने युवा पनि कम थिएनन्।

ललितपुर भैंसेपाटी बस्ने सिन्धुपाल्चोकका बिक्रम (थर बताउन चाहेनन्) ले पनि एक सय ५० रुपैयाँ खर्चिसकेका रहेछन् गाँजा किन्न।

चिलिमको खोजीमा उनी भारतीय व्यापारीसँग ठोक्किन आइपुगे। रेगिस्तानबाट चिलिम बेच्नकै निम्ति पशुपति आइपुगेका ती व्यापारी वरपर बेलाबेला शाहीजस्तै युवाको झुण्ड लाग्थ्यो, फूलको रस चुस्न ओइरिएका मौंरीजस्तै।

श्लेश्मान्तक वनतिर उकालो लागेका जोकोही भुइँभरि छरिएका लामाछोटा तामा र माटाका आकर्षक चिलिममा आँखा नडुलाई सुख पाउँदैनथे। ´यो चिलिम भरेर पूरै सर्को हाल्ने हो भने दिनभर सुतिन्छ होला,´ त्यहाँ भएकामध्ये सबभन्दा ठूलो चिलिम हातमा समाउँदै शाहीले भने। त्यतिखेर रेगिस्तानी व्यापारी बुझेझैं बेस्कन हाँसे।

शाहीले गाँजा तानेको धेरै भएको छैन। ´पोहोर शिवरात्रिमा सिकेको,´ शाहीले मनभित्र लुकेको पश्चातापले हो कि किन हो मुन्टो झुकाउँदै भने, ´पाएसम्म खाने तलतलले छोड्दैन।´

उनलाई उनैका मामाले शिवजीको प्रसाद भनेर पोहोर गाँजा चखाएका रहेछन्। ´मामालाई पोहोरै छोड्यो, तर तपाईलाई अझै छोडेनछ है?,´ प्रश्न सुन्नेबित्तिकै उनले कलिला दाँत देखाए, तर उतिसाह्रो खुल्न सकेनन्।

शिवरात्रिमा गाँजा चाख्नकै लागि लाग्ने भिडले हरेक वर्ष धेरै युवालाई लतमा पार्ने गरेको छ। गाँजाबाट चुर भएका युवाले कहिलेकाहीँ परिसरमै उद्दण्ड मच्चाउँछन्। यही समस्यामा ध्यान दिंदै पशुपतिक्षेत्र विकास कोषले शिवरात्रिमा पशुपति परिसरलाई गाँजाचरेस निषेधित क्षेत्र घोषणा गरेको छ। तर घोषणा गरेरमात्र के हुन्छ? वातावरण उस्तै छ, ´शिवरात्रिको जात्रा, गाँजाको व्यापार।´

स्वास्थ्यका कुरा चटक्कै बिर्सने हो भने चाख्नेकै भनाइमा ´गाँजाले क्षणभरलाई आनन्द दिन्छ। हामीले आफ्नो स्वास्थ्य बिर्से पनि गाँजाले हाम्रो स्वास्थ्य बिगार्न बिर्संदैन।´

पशुपतिको रमझममा ´झ्याप´ हुन आउनेहरूलाई यो कुराको रत्तिभर हेक्का हुँदैन।

त्रिवि कीर्तिपुरमा अध्ययनरत महेश्वर ठाकुर तिनैमध्ये एक हुन्। चाडबाडमा केही समयलाई भए पनि पढाइको झन्झट भुल्न उनी पशुपतिमा बाबाजीसँगै मस्त थिए।

´आज पहिलोपटक हो,´ बल्लबल्ल तीन सर्को सकेका उनको मुखबाट गाँजाको हस्को छुट्दै थियो । ´पढ्दा–पढ्दा बोर भएर आएको, सधैं त काँ खाइन्छ होला र?,´ उनले धुँवाजस्तै धमिलिँदो आत्मविश्वास पोखे।

´सुरु गर्दा मागेर पाइने, बानी लागेपछि किनेर खाइने,´ लागू औषधको नियम उनमा पनि लागू नहोला भन्न सकिंदैनथ्यो। मन भन्दै थियो, अर्को शिवरात्रीमा ठाकुर पनि सिन्धुपाल्चोकका शाहीजस्तै चिलिम किन्दै गरेका नभेटिऊन्।

( भवसागर घिमिरे-2065)













Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...