Skip to main content

नानीबाबुकी सुरक्षा

–भवसागर घिमिरे

´भर्खर प्लेग्रुपमा भर्ना भएका बच्चालाई मनाउन धौं धौं हुन्छ,´ साना केटाकेटी भुलाउन सिपालु मेरी पपिन्सकी सुरक्षा रजक, २४, ले भनिन्– ´मनाउँदै गए विस्तारै उनीहरू खुसी हुन थाल्छन् र हामी पनि।´
उनले प्रिस्कूलमा पढाउन थालेको एक वर्षमात्र पुगेको छ। त्यसअघि यसमा न उनको कुनै अभ्यास थियो, न सोच। सबैले तालिम लिए काम पाइन्छ भनेपछि उनी यसमा हौसिएकी थिइन्। मन्टेश्वरी टिचिङ्गको तालिम लिइन् र काम पनि पाइहालिन्।

´अहिले त यिनीहरूसँगै दिन जान्छ,´ पछाडिबाट ग्याप्प समाउन आइपुगेकी आर्सिया श्रेष्ठ, ३, लाई देखाउँदै उनले भनिन्।

प्लेग्रुप पढ्ने १८ महिनादेखि ३ वर्षसम्मका यी केटाकेटी सुरुसुरुमा त रोएर कराएर हैरान गर्थे रे। ´कपाल तान्दिथे, कोपर्थे, चिच्याएर रिसै उठाउँथे,´ उनले आर्सियाको गाला मुसार्दै भनिन्– ´तर आफ्नो रिस आफैंमा लुकाएर यिनीहरूलाइ हँसाउँदै फकाउँथें। त्यही भएर पो अहिले मैले भनेको मान्छन्, पछ्याइरहन्छन्।´

फरकफरक वातावरणबाट हुर्केर आएका सानासाना बालबालिकाले बोलेको बुझ्न धेरैलाइ हम्मे पर्नसक्छ। तर सुरक्षा भन्छिन्, ´उनीहरूसँग भिज्दै गएपछि विस्तारै बुझ्दै गइन्छ। कसैले पानीलाई पापा भन्छन्, कसैले खानालाई। अब कोही भने पापा जाने भन्दै रोइदिन्छन्। अब पापा भनेको के हो, उनकै बोलीबाट बुझ्नुपर्छ,´ सुरक्षाले हाँस्दै भनिन्।


नभन्दै सानिब्य पराजुली ´टिचर धर (घर) जाने´ भन्दै टुप्लुक्क आइपुगे। सुरक्षाले ´पापा आएपछि जाने ल´ भन्दै सम्झाइन्।

दिनमा धेरै खेल्न पाइयो भने बच्चाहरू घर जाने कुरा पनि भुल्छन् रे। खेल्दै सिक्न पाइने अक्षरमा पनि उनीहरूको उत्तिकै चाख छ। पढ्न सिकाउने तरिका पनि रमाइलो। सुरक्षाको भनाइमा भर्ना हुनेबित्तिकै एबीसीडी घोकाउनु भनेको बच्चामाथि बोझ थोपर्नु हो। यसले नानीबाबुमा पढाइप्रति वितृष्णा बढाउँछ।

´पहिला उनीहरूको कुरा सुन्नुपर्छ। मनोभाव बुझ्नुपर्छ,´ सर्जिन श्रेष्ठको हातमा बल थमाउँदै सुरक्षाले थपिन्, ´खेल्न, नाच्न जे गर्न मन पर्छ त्यही तरिकाले सिकाउँदै लाने हो।´

कलम समाउन सक्ने बनाउन बच्चालाई हातका औंलाहरूको विभिन्न अभ्यास गराइन्छ। यसका लागि रमाइला विधि छन्। ´विभिन्न रङ्गका कागज डल्लो बनाउने, लाम्चो बनाउने गर्दै उनीहरू औंला चलाउनमात्र सिक्दैनन् कि ती कागजलाई चित्र रङ्गाउन पनि प्रयोग गर्छन्,´ सुरक्षाले भनिन्, ´यसमा उनीहरूले कुन रङ्गको नाम के भन्ने पनि जान्छन्।´

यसरी रमाइला क्रियाकलापसँगै लेख्न तथा पढ्न जानेका अक्षरहरू नानीबाबुले धेरै सम्झन्छन्। सुरक्षा भन्छिन्, ´घोकन्ते तरिकाले पढेकोभन्दा यस्तोबाट उनीहरू टाठो भएर देखा पर्छन्।´

सधैं मायामात्र गर्दा मात्तिंदैनन् त? ´नाई, उनीहरूलाई मायाले नै सिकाउनुपर्छ।´ रमाइलो प्रसंग निकाल्दै सुरक्षाले भनिन्– ´कहिलेकाहीँ नमानेको बेला ग्रिन चिल्ली (हरियो खुर्सानी) ल्याउँछु भन्यो भने सबै ज्ञानी बन्छन्।´

नानीबाबुसँग भुल्दा उनलाई दिन बितेको पत्तो हुँदैन। भोलिका दिनमा बालबालिकालाई संसार चिनाउने अक्षर चिनाउन पाउँदा सुरक्षालाई गर्व लाग्छ। ´उनीहरू पनि मलाई धेरै माया गर्छन्। कसैले दिदी भनेर बोलाउँछन् त कसैले टिचर,´ खुशी हुँदै सुरक्षाले थपिन्– ´म कामप्रति धेरै सन्तुष्ट छु।´

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...