राउटे फर्कदै आफ्नै गाउँ

2009-01-02 20:09:55


भवसागर घिमिरे, काठमाडौं, पुस १८
´कुरा बुझ्यो पत्रकारज्यूहरू, पैसा भइयो भने चामल आइपुग्यो, खसी आइपुग्यो, जनता (आफ्ना समुदाय) को पेट भर्न भइयो´, अछामबाट ५ जनाको समुहमा राजधानी आइपुगेका राउटेका सह–मुखिया ऐनबहादुर शाहीले शुक्रबार निन्याउरो पारामा भने– ´जाने दिनमा पनि जनताका लागि केही हाता आइपुगिन भने नअइया नेपाल भनेर के न के?´
शिक्षा पत्रकार समूह, अनामनगरको सभाहलमा आयोजित ´राउटेका माझ पत्रकार´ नामक सम्मेलनमा राउटेहरू त्यति खुशी देखिएनन्। देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, स्थानीय विकास मन्त्री भेट्न भ्याएका उनीहरूलाई काठमाडौंले धेरै थकाइसकेको थियो।

´आइको पनि सातौं दिन भइसकिइयो भनेसी थकाई त लाग्ने नै भइयो नि। अब हातमा केइ परिको छैन, कुरा मातरइत हो´, राउटे दिलबहादुर शाहीले पगरी उचालेर कपाल कन्याउँदै भने– धेरै थकाई भो अब जान्छ।
काठमाडौं कस्तो लाग्यो? सह–मुखिया शाहीले निधार खुम्चाउँदै भने– ´खुशी त लायो, तपाईंले कुरा बुझ्या छ, क्याहो भन्छ भन्यादेखि तपाईंहरूले फोटो पनि खिच्यो, कुरा पनि भैसक्यो भन्या, अब याँ आउँदा पनि मेरो जनताले केइ पाइन भने पत्रकार पनि केइ हैन भन्दिन्छु।´
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाल र राउटेका क्षेत्रमा तीन वर्षअघिदेखि काम गर्दै आएको संस्था कन्टेम्पोररी भिजन प्रालिलगायत्को संयुक्त प्रयासबाट उनीहरूलाई काठमाडौं झकाइएको हो।
´सरकारसँग गइर यस्तो भयो, उस्तो भयो, अइलेलाई ठूलो उपहार पाइन भन्नुपर्‍यो नि। सरकारबाट धेरै उपहार पाइको भई अइले खसी हुन्थ्यो, चामल हुन्थ्यो त, नपाइसी के हुन्छ?´ कन्टेम्प्रोररीका अध्यक्ष हरि थापाका अनुसार पाटन संयुक्त क्याम्पस मानव तथा समाजशास्त्रका विद्यार्थीको ´आपसमा´ नामक समूहबाट ६ हजार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट १५ हजार, उनको आफ्नै संस्थाबाट २० हजार रूपैयाँ सहयोग राउटेले पाउने भएका छन्।
बिहीबारको भेटमा राउटेका लागि घर फर्कन प्लेन टिकटको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताइरहँदा ´बरू पिलेन टिकटको पैसा दिनुस्, हामीहरूलाई भात खान हुन्छ´ भन्ने आशय उनीहरूले व्यक्त गरेका थिए। प्लेन टिकटको बापत पाउने रकम कति दिनेबारे आज (शुक्रबार) बेलुकासम्म निर्णय हुने खबर आएको थापाले दैनिकीलाई बताए।
´सके आज बेलुका, नभए भोलि बिहानसम्म तपाईंको हातमा पैसा पर्छ भन्ने खबर आएको छ´, प्रधानमन्त्रीको कार्यालयबाट फोन आएको कुरा थापाले सुनाउँदा आफ्नै बस्ती फर्कन हत्तारिएका सह–मुखिया शाहीले भने– ´आजसम्म नपायो भने भोलि नकुर्ने, पैसा छोड्दिने।´ किनकि शनिबार बिहान उनीहरु आफ्नै थातथलो फर्कंदै छन्।
के भन्नुहुन्छ त जनतालाई गएर? पत्रकारको प्रश्नमा सह–मुखिया शाहीले थपे– ´सरकारसँग गइर यस्तो भयो, उस्तो भयो, अइलेलाई ठूलो उपहार पाइन भन्नुपर्‍यो नि। सरकारबाट धेरै उपहार पाइको भई अइले खसी हुन्थ्यो, चामल हुन्थ्यो त, नपाइसी के हुन्छ?´
भेटघाटका क्रममा सरकारका धेरैजसो पदाधिकारीबाट आवश्यक छलफलपछि मात्र निर्णय हुने भनिएपछि तत्कालै ठूलै उपहार लिएर जनतामाझ जाने उनीहरूको अपेक्षा पूरा हुन सकेन।
´अब ठूलै उपहार पाए त हातमा बोकेर पिलिनमा हुरूरू फराल्तिम नि´, सह–मुखिया शाहीले बोली फट्कार्दै भने– ´टिकटको पैसा ल्याउ गाडीमा गइए जाम्ला। जनताले भात खान पुग्ला किन भन्तथेम र?´
मासिक १ हजार भत्ता
राउटेहरूले यही आर्थिक वर्षबाट प्रतिव्यक्ति मासिक एक हजार भत्ता पाउने भएका छन्। आज (शनिबार) बिहान अर्थमन्त्री बाबुराम भट्टराईसँगको भेटमा मन्त्रीले उनीहरूलाई सो कुरा बताएका राउटेका क्षेत्रमा काम गर्दै आएको संस्था कन्टेम्पोररी भिजन प्रालिका हरि थापाले दैनिकीलाई जानकारी दिए।
सरकारले लोपोन्मुख जातिका लागि मासिक ५०० भत्ता दिने निर्णय गरेको भए तापनि नेपालको अन्तिम फिरन्ते लोपोन्मुख जाति भएकाले राउटेलाई ५०० रुपैयाँ बढी दिने आश्वासन अर्थमन्त्रीबाट उनीहरूले पाएका हुन। सँगैसँगै अर्थमन्त्रीले आफू पनि उनीहरूका बस्तीमा जाने आश्वासन दिएका थिए।
थापाका भनाईमा राउटे जातिको संस्कारअनुसार उनीहरूको जनसंख्या गन्न नमिल्ने भएकाले रकम दिने प्रक्रियाका लागि केही नीतिगत छलफल आवश्यक रहेको मन्त्रीले भेटमा बताएका थिए।
´सरकारले आवश्यक छलफल गरी छिट्टै निर्णय गर्नेछ´, भट्टराईलाई उदृत गर्दै थापाले भने। राउटेहरूले कम्तिमा मासिक दुई हजार भत्ता, जङ्गलमा बिनारोकतोक घुमफिर गर्न र कुकाठ (जङ्गलमा काम नलाग्ने) को प्रयोग गर्न पाउनुपर्ने तथा बेलाबेलामा सरकारले खाद्यान्न र उनीहरूको संस्कारअनुरूप बनाइएका लत्ताकपडा वितरण गर्नुपर्ने माग राखेका थिए।
भत्ताबारे भट्टराईले बोले पनि अरू मागमा सरकारले छलफल गरेर निर्णय गर्ने आश्वासन राउटेले पाएका छन्। सबैबाट धेरै आश्वासन पाइसकेका राउटेहरूले त्यसलाई व्यवहार लागू भएको हेर्न बाँकी रहेको बताएका छन्।

Comments