पाठकपत्रको प्रभाव


झापाकी पत्रकार कविता शर्माले स्थानीय एक गरिब तथा दलित परिवारको पीडा गत वैशाख २४ को पाठकमञ्चमार्फ पोखिन् । उनको पत्र पढेपछि स्वदेशबाट मात्र नभई विदेशबाट समेत त्यो परिवारले सहयोग पायो भने कविताले स्याबासी । यो खुसीलाई उनले गत जेठ २६ मा पत्रमार्फ पोखिन् ।

यस्तै जापानकी टुर कन्डक्टर अकिको तानाकाले नेपाल भित्रिनेबित्तिकै विमानस्थल हाताभित्र आफू यौन शोषणमा परेको दुःखेसो ०६४ पुस ६ को पाठकपत्रमार्फ पोखेपछि प्रहरीले उक्त अपराधको आरोपमा ११ जनालाई पक्राउ गर्‍यो र विमानस्थलको सुरक्षामा कडाइ गरियो ।


त्रिवि महिला छात्रावासका विद्यार्थीले आफूहरूलाई नयाँ छात्रावासमा सरुवा नगरेको र छात्रावासमा बस्न पाऊँ भनी निवेदन दिएका नयाँ छात्राको सूची प्रकाशनमा पनि ढिलाइ गरेकाले डेरा लिएर बस्न परेको गुनासो -०६४, साउन) मा प्रकाशित गरेपछि तीन महिनासम्म भएको ढिलासुस्तीले एक सातामै समाधान पायो ।

अर्को प्रसंग बाग्लुङका हरिनारायण शर्माले आफ्नो उपचारमा सहयोग गर्न भन्दै याचनापत्र प्रकाशित गरेपछि धेरैले उनलाई सहयोग गरे । उपचार गरी उनले नयाँ जीवन पाउन सकेकामा खुसी तथा धन्यवादपत्र ०६५ साउन २० मा प्रकाशित गरेका छन् । मलाई बचाउनुहोस् र सहयोगको याचना शिर्षकमा छापिएपछि थुप्रै बिरामीको उद्धार भएको छ ।

त्यस्तै केन्द्रीय पुस्तकालय त्रिवि किर्तिपुरको अस्तव्यस्ततासम्बन्धी सामग्री ०६४ असार ७ मा प्रकाशित भएपछि पुस्तकालयले सुधारका केही प्रयास गर्‍यो । त्यही पत्रलाई उद्धृत गर्दै सबैलाई अनुशासित र मर्यादित हुन पुस्तकालयका विभिन्न कक्षमा सूचना पनि टाँ
सेको थियो । ती सूचना पुस्तकालयमा अझै देख्न पाइन्छ ।

यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । पाठकपत्रले गरेका सकारात्मक काम बग्रेल्ती भेट्न सकिन्छ । वास्तवमै पाठकमञ्च एउटा यस्तो सशक्त तीर हो, जसले एक झड्कामै सयौंको सिकार गर्न सक्छ र सिकार बन्छन् सांस्कृतिक रूढिवाद, जातिभेद लिंगभेद आदि सामाजिक प्रदूषणहरू । सबको भलो सोच्नेहरूमाथि भने यो रामवाणले पुष्पवृष्टि गर्ने गरेको छ । यी पाठकपत्रले मै हुँ भन्ने लेखकलाई पनि चोटिला शब्दका बलले औंलो ठडाएका छन्, जिम्मेवार बन्न प्रेरित गरेका छन् ।

मीठा कुरा सधैं सानो पाकेटमा बेरिएर आउँछन् भनेझैं पाठकपत्रले थोरै शब्दमा धेरै आवाजविहीनका आवाज बोक्ने गरेका छन् । समाचार नबनेका र नबनाइएका धेरै चोइलीहरू पाठकका कलमले पस्कने गरेको सबैले स्पष्ट रूपमा देखेेकै छन् । यो स्थान लेखक र पाठकको घम्साघम्सी हुने ठाउँ मात्र नभएर आफ्नो जीवन बचाउन याचना गर्ने, कटाक्ष दिने र स्पष्टीकरण लिने ठाउँ पनि हो । अझ पाठक मञ्च पत्रिकामा प्रकाशित समाचार र लेखहरूको पुनरावलोकन गर्न पत्रिकाले आफू स्वयंलाइ हेर्ने ऐना हो भन्दा फरक नपर्ला । यही ऐनामा विभिन्न रूपका साथ प्रतिबिम्बित हुन पाउँदा हामी आफूले आफैंमा धेरै गर्वको अनुभूति गर्छौं ।

केही दिनदेखि कान्तिपुरले पाठकमञ्चको आकार घटाउँदा हामी खेल्ने र हुर्कने आँगन साँघुरिएको मात्र छैन, आम पाठकभित्रका पाठकीय रौनकता जरैदेखि हल्लिएको छ । हाम्रो आवाज यो मञ्चको आकार घटाउनुहुँदैन भन्ने हो ।

- भवसागर घिमिरे
पोखरा-३, नदीपुर
हालः अर्थशास्त्र विभाग त्रिवि किर्तिपुर

Comments