यात्रानुभूतिः लमजुङको लिपेलेक


काठमाडौंबाट हिंडेका हामी (भाइ असिम खनाल र म) दिनको १ बजे लमजुङको भोटेओडारमा ओर्लियौं । हामीलाई कुरिरहेका थिए, केबी गुरुङ । पोखराको पृथ्वीनारायण क्याम्पसबाट पत्रकारितामा स्नातक सिध्याएका इलमपोखरीका गुरुङ दूधपोखरी गाउँपालिकामा पर्ने लिपेलेक र सेरोफेरोलाई नयाँ पर्यटकीय क्षेत्र बनाउन प्रयासरत छन् ।


उनले शुभयात्राको खादा ओढाइदिए । आधा घण्टापछि हामी प्यारजुङ जाने बस चढ्यौं । लिपेलेक (लिपेडाँडा) पुग्न प्यारजुङ भञ्ज्याङ, गौंडा, जोर्ने, इलमपोखरी, राम्सै, च्यार्ने, म्याप्रोचेहुँदै चित्रेको उकालो कट्नुपथ्र्यो ।कच्ची सडकमा गाडीसँगै उकालिंदा हिमालहरू आफूतिरै तानिए झैं हुन्थ्यो । पहेंलपुरे खेतहरू, दशैंमा रंगिएका बस्तीहरूले मन इन्द्रेणी बनिरहेको थियो । प्यारजुङबाट हामी सरासर गौंडातर्फको उकालो लाग्यौं ।
बाटोमा लिपेलेकबाट झरेका भेडीगोठाले बा भेटिए । उनी आफूले ल्याएका निरमसी, कुड्की, जटामसी जस्ता जडीबुटी गाउँलेलाई देखाउँदै थिए । “तपाईंहरू मात्रै जानु भो भने त हराउनुहुन्छ, जंगलमा बाघ–भालुको धेरै डर छ” उनले भने, “भेडीगोठ पहिल्याउनुभयो भने पनि त्यहाँको कुकुरले नचिनेको मान्छेलाई बाँकी राख्दैन ।” मनमा चिसो पस्यो ।
गौंडा पुगेर हत्तपत्त गुरुङकै सुझाव अनुसार ‘श्याम सर’ को घर खोज्न थाल्यौं । इलमपोखरी संरक्षण समितिको पूर्व सचिव र वर्तमान सल्लाहकारसमेत रहेका अवकाशप्राप्त शिक्षक श्याम श्रेष्ठ पनि गौंडादेखि दूधपोखरी अनि गोरखासम्मको मार्गलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएका रहेछन् ।
भेटपछि सर पनि हामीसँगै म्याप्रोचेसम्म जाने भए । “स्वास्थ्यले साथ नदिए बाटोमा भेटिएका गाउँलेलाई गाइड बन्ने प्रस्ताव गरुँला”, उनले भने । बल्ल अलि ढुक्क भइयो ।
त्यस रातको बास गौंडास्थित ‘प्रेमशान्ति’ होटलमा भयो । रहु जातका माछाको स्वाद लिन र हिमशृंखला दृश्यपान गर्न एक रातको लागि घुमन्तेहरू गौंडासम्म आइपुग्दा रहेछन् । रहु माछाको स्वादिलो झोलसँगै भात खाँदा हाम्रो थकाइले मीठो विश्राम लियो ।
श्याम सरसँगै बिहान ८ बजे हिंडेका हामी एकघण्टाको उकालोपछि जोर्ने आइपुग्यौं । बाटोमा लेडेपला (रातो ऐंसेलु) का बोटहरूले लोभ्याए । मैले त चाखें पनि, हल्का अमिलो, पहेंलो ऐंसेलुभन्दा केही भिन्न स्वादको रहेछ । बुकी फूलहरू पनि छपक्कै थिए, आकाशका तारा जमीनमा छरिए झैं ।

छ्यापुन्टेदाइको छोटो बाटोजोर्नेको कुमारी गुरुङको होटलसम्म आइपुग्दा घाम चर्किसकेको थियो । लेकको चिसोमा तिल हालेको गोलभेंडाको चटनीसँग तात्तातो चिकेन मःम होटलको विशेष परिकार रहेछ । काठमाडौंमा एकदशक बढी कुक काम गरेर फर्केका जीतबहादुरले श्रीमती कुमारीसँग मिलेर होटल शुरु गरेका रहेछन् । होचो कदका पुन्टे भएकाले उनीलाई ‘छ्यापुन्टे’ अर्थात् गुरुङ भाषामा ‘सानोभाइ’ पनि भनिंदो रहेछ ।



हामीलाई ङार्कोसम्म पुर्‍याइदिने श्याम सरको प्रस्तावमा जीतबहादुर दाइ हौसिए । लगभग दुई हजार मिटर उँचाइमा रहेको जोर्नेबाट एकैदिनमा बढी उँचाइमा पुग्दा लेक लाग्ने सम्भावना हुन्थ्यो । त्यसैले त्यो दिन म्याप्रोचे नै बस्ने योजना बनायौं । 
दुई घण्टाको विश्रामपछि उकालो लाग्दै गर्दा बाटोभरि झुरुप्प ओल्चेका घारीहरूले वनै सुन्दर देखिए । गुरुङ भाषामा ओल्चेको अर्थ ‘रातो टीका’ रहेछ । यसको रुखबाट रातो चोप आउँछ । कालिज, ढुकुरजस्ता चरालाई ओल्चेको फल निकै मनपर्ने रहेछ ।
बस्ती परै छाडिसकिएको थियो । इलमपोखरी नजिकै बाईसे–चौबिसे राजाका पालाका बस्तीका केही भग्नावशेष पनि देखियो । यहाँ ६०० वर्ष अघिदेखि नै गुरुङ बस्ती रहेको विश्वास गरिन्छ । त्यसको केही माथि राम्सै नजिकै तामाङ बस्तीका भग्नावशेष रहेको श्याम सरले बताए । ऐतिहासिक यी ठाउँहरूको संरक्षण भने भएको थिएन ।
इलमपोखरीमा बाँध बाँधिएको थियो, विश्रामस्थल र दर्शनको लागि इलम देवीको मन्दिर पनि बनाइएको थियो । “थोरै बजेटले यतिसम्म गरेका छौं” श्याम सर भन्दैथिए, “दीर्घकालीन संरक्षणका लागि आर्थिक अभाव छ ।”पर्यटन सम्भावनाका कुरा गर्दै हामीले इलमपोखरीको मीठो पानीले घाँटी भिजायौं । अरु सबै अघि लागिसकेका थिए । मेरो पछाडि छ्यापुन्टेदाइ भारी बोकेर आउँदै थिए । बाटोमा हिलो जमेको थियो, टेक्नका लागि केही ढुंगा राखिएका थिए । जुत्ता चिप्लेर म नराम्ररी हिलोमा बजारिएँ । घुँडामा थोरै चोट लाग्यो । दाहिने हात र दाहिने खुट्टामा लपक्कै हिलो लाग्यो ।
छ्यापुन्टेदाइले जंगल काट्ने छोटो बाटो देखाए र त्यही बाटो जाने आग्रह गरे । ‘सबैसँग ऐले भेट भैहाल्छ’, उनले विश्वास दिलाए । म चूपचाप उनको पछिलागें । घनाजंगल, बाटो यस्तो थियो कि फेरेको सास र जुत्ताको आवाज मात्र सुनिन्थ्यो । बादलले आकाशमा चटक देखाउँदै थियो । बाटैमा पानी पर्‍यो भने अर्को फसाद ∕ ‘कहाँ भेटिन्छन् त साथीहरू ?’ 
‘च्यार्नेमा’ छ्यापुन्टेदाइले भने, ‘फटाफट एक घण्टा हिंड्नुपर्छ ।’ ‘हत्तेरी !’ बेकारमा अर्कै बाटो हिंडियो भन्ने लाग्यो । गोठाला हिंड्दैनथे भने शायद यो जंगलमा पैदलको घेरो पर्दैनथ्यो । हामी च्यार्ने पुग्दा लामो बाटो आउने साथीहरू पो पर्खिरहेका थिए । त्यहीं भेटिए, अर्का भेडीगोठाला पदम गुरुङ । पाचोकका गुरुङले भालुसँग भएका जम्काभेटका किस्साहरू सुनाए ।
त्यतिबेला यस्तो लाग्थ्यो, भालुसँग हाम्रै जम्काभेट भइरहेको छ ∕ म्याप्रोचे पुग्दा घाम डुबिसकेको थिएन । जोर्ने झर्दै गरेका गोठालाले माथि चित्रेमा पनि गोठ छ भन्ने सुनाए ।
ज्यान पसिनाले निथ्रुक्कै थियो । तर नयाँ दृश्य र मान्छे भेट्ने इच्छाले यात्रामा रोमाञ्च थपिरहेको थियो । परपर थुम्काहरू देखेपछि, त्यसभन्दा पर के होला भन्ने कौतुहलले पाइला स्वस्फूर्त लम्किंदो रहेछ ।
एक घण्टा हिंडेपछि साँझको साढेचार बजे हामी चित्रे पुग्यौं । हरियो मैदानमा एक हूल भेडा र बाख्राका बथान देखेपछि मनै हरर्र भयो । त्यहाँ सिमरूङका तामाङ बा थिए, दाह्री कपाल सेतै फुलेका । “मु त पानी लिन जान लाको, एक घण्टै लाग्छ” साना पाठापाठीलाई गोठमा हुल्दै बुढाले भने, “बस्ने भए बस ।” लिपेलेक र आसपासका क्षेत्रको पानीको संकट समाधान गर्न सके भेडीगोठलाई मात्र हैन, पर्यटकलाई पनि सहज हुने देखियो ।
ज्यान थकाइले सुस्ताउन खोज्दै थियो । “तर आजै लिपेलेकको फेद नै पुग्न सकियो भने भोलिको सूर्योदय हेर्न सजिलो हुन्छ । यहाँ बसियो भने बिहानको ३ बजे नै हिंड्नुपर्छ” श्यामसरको आवाज सुनियो, “जंगलको बाटो राति बाघभालु सक्रिय हुँदा डर पनि हुन्छ ।” म्याप्रोचेसम्म मात्र भनेर हिंडेका सर आफैं लिपेलेक पुग्न तम्सिरहेका थिए ।
लिपेलेकभन्दा अझ माथि ढुंगेसाँघु, ङार्को, नोटाजे, प्रोतुङभञ्ज्याङ, गैरीखर्कहुँदै समुद्री सतहबाट ४७०० मिटर उँचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल दूधपोखरी पुगिन्छ । जहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । सूर्योदय दर्शनको लोभले मनोबल उकास्यो । बाटोका लेकाली स्ट्रबेरीले पनि ऊर्जा थप्यो । तर, बिस्तारै लेक लागे झैं गरी टाउको दुख्न थाल्यो । टिमुर र लसुन मुखमा च्याप्दै बिस्तारै पाइला चालें ।
झण्डै दुई घण्टापछि हामी लिपे फेदी पुग्यौं । तर, डाँडाको टुप्पाबाट बडाबडा कुकुरहरूले अघि नबढ्न सचेत गराए । धन्न कुकुरधनी पनि सँगै रहेछन् र हाम्रो बाटो खुल्यो ।
र, त्यो सूर्योदयलिपे पुग्दा साँझको ६ बजेको थियो । फेदमा तीन वटा भेडीगोठ सँगसँगै जसो थिए । हस्तबहादुर तामाङ र उनका सालाका दुई र बलबहादुर घलेको एउटा । फुल्कै (फुलंगिरी) दूधपोखरीका उनीहरूसँग करीब ३०० भन्दा बढी भेडाबाख्रा थिए । ती बथान लिपेलेकको हरियो घाँसमा सूर्यास्त हेर्दै उघ्राइरहेका थिए । 
त्यसरात हामी हस्तबहादुरकै गोठमा बास बस्यौं । नेपाली सेनाका अवकाशप्राप्त सैनिक उनी गोठ बस्न थालेको डेढ दशक भइसकेछ । केही छिनको भलाकुसारी पछि हामीले लिएर गएको चामलको भात चूलोमा पाक्न थाल्यो । ६१ वर्षे तामाङ जंगली च्याउको सुकुटी केलाउन थाले । सुकुटीको सूपसँग खपाखप भात खाएर घुप्लुक्क निदायौं ।
‘जाउँ घाम उदाइहाल्छ फेरि’ बिहान ५ बजे श्यामसरले घच्घच्याए । लगभग ३५०० मिटर उँचाइको लिपेको काख यति धेरै चिसो र अँध्यारो कि मोबाइलको लाइट बाल्दासमेत हात काँपिरहेको थियो । आधा घण्टापछि बल्ल पूर्वी आकाशमा बिस्तारै रातो पोतिन थाल्यो ।
लिपेडाँडाको चुचुरोमा पुग्दा आकाश नै छोएको भान भयो । पूर्वमा लाङटाङ, उत्तरतर्फ मनास्लु हिमशृंखला अन्तर्गतको बौद्ध हिमाल, हिमचुली, मनास्लु पहिलो र दोस्रो, डाक्टर हर्क पिक । उत्तरपश्चिममा मनाङको कंगारु हिमाल, पश्चिमतर्फ अन्नपूर्ण हिमशृंखलाका माछापुच्छ्रे, अन्नपूर्ण पहिलो, दोस्रो, लमजुङलगायतका हिमाल काँध मिलाएर उभिएका थिए ।
विस्तारै घामले यसरी झुल्को फाल्यो कि जसरी भर्खरै पर्दा उघ्रिएको रंगमञ्चमा प्रकाशको आगमन हुन्छ । आकाशमै बसेजस्तो लाग्यो । खुला आकाशमा घामको किरणसँगै चराहरू बयली खेल्न थाले । मन चंगा भयो । हिजो दिनभरको हिंडाइ, बिहानैको थकाइ, हुस्सु हराए झैं कता हरायो कता !
यो त यात्राको शुरुआत मात्र थियो ।











http://himalkhabar.com/news/5938
लेखमाथि पछिल्लो अंकमा पाठक पत्र





















http://hamro-magazine.appspot.com/webapp/0695f9ed-e0cb-4da0-8dcb-142bccf0d066/3eb922ce-2a3f-406c-847c-51f25d5b4622

Comments