लेकसाइडमा 'च‌ंगा चैट' र 'हजुरबाको कथा'

किन हुर्किनुपर्छ बालसाहित्य? 
प्रश्न एउटा हो तर यसका उत्तर अनेक हुन सक्छन्।
बालबालिकाको कल्पनाशीलता बढाउन, पढ्ने बानी बसाउन, समाज र संस्कृति बुझाउन, भाषा विकास गराउन, बालसाहित्यले सघाइरहेको हुन्छ। लेखक हेमलता राई, भवसागर घिमिरे र पाठ्यक्रम निर्माणमा संलग्न शास्वत पराजुलीबीच नेपाल साहित्य महोत्सवको तेस्रो दिन पोखरामा यही विषयमा छलफल भयो।

विषयमा प्रवेश गर्नुअघि हेमलता राईको 'चङ्गा चैट' र भवसागर घिमिरेको 'हजुरबाको बगैंचा' किताब सार्वजनिक गरिएको थियो। किताब सार्वजनिक बालबालिकाकै हातबाट गराइएको थियो। मञ्चमा आधाभन्दा बढी स्रोता पनि स्कुले बालबालिका थिए।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको रचनात्मक विकासमा बालसाहित्यको ठूलो भूमिका हुने बताउँदै हामीकहाँ बालसाहित्य लेखन अझै फस्टाउन नसकेको चिन्ता व्यक्त गरे। यस क्षेत्रमा स्थापित लेखकहरूले बढीभन्दा बढी कलम चलाउनुपर्ने उनीहरूको जोड थियो।
छलफलमा अंग्रेजी भाषा पढेर हुर्केको यो पुस्ताले नेपालीमा पढ्न नसक्ने अवस्था नआओस् भन्न पनि बालसाहित्य लेखन बढाइनुपर्ने कुरामा जोड दिइयो।
शास्वतले भने, अहिले बालसाहित्य लेखिएन भने केही वर्षमै नेपाली साहित्य पढ्ने पाठक पाउन गाह्रो हुनेछ।
लेखक हेमलता र भवसागर दुवैले बालबालिकाका लागि लेखिएका किताबले सन्तान र अभिभावकलाई नजिक ल्याउन पुलको काम गर्ने भन्दै आफ्नै घरभित्रको अनुभव सुनाए।
भवसागरले भने, बालबालिकासँगै किताब पढ्दा अभिभावक र बालबालिकाबीच छलफल गर्ने ढोका खोल्छ।

हेमलताले भनिन्, 'छलफलभन्दा पनि अघि बच्चासँगै बसेर किताब पढ्दा अभिभावकले आफ्नो छोराछोरीको रूचि चिन्न र बुझ्ने मौका पाउँछन्।
उनले ठूलाको लागि जस्तै सानो उमेर समूहका लागि लेख्दा पनि उत्तिकै मेहनत लाग्ने बताउँदै बालसाहित्य लेख्ने कामलाई लेखक आफैंले पनि इज्जत दिनुपर्ने बताइन्।
प्रकाशित मिति: आईतबार, मंसिर २९, २०७६, १७:४१:००

Comments