पुस्तकमा बाल आँखा




भवसागर घिमिरे, काठमाडौं, माघ २९- दिनको १४ घण्टे लोडसेडिङमा बालबालिकाले टिभीमा कार्टुन हेर्न पाउने कुरै भएन। यही मौका हो पुस्तक पढ्न बानी बसाल्ने। यसका लागि पुस्तक खोज्न उपयुक्त अवसर दिएको छ राष्ट्रिय सभा गृहमा चलिरहेको साझा प्रकाशनको पुस्तक प्रदर्शनीले।

एलाएन्स एकेडेमीका प्रदीप घिमिरे यो मौका चुकाएनन्। उनी आइतबार र सोमबार लगातार पुस्तक प्रदर्शनीमा भेटिए नयाँ बाल पुस्तक खोज्दै।

´म बस्ने नजिकै हो, हिजो पनि आएको थिएँ,´ कक्षा ६ पढ्ने घिमिरेले काखीमा बाल पुस्तक च्याप्दै भने, ´भोलि पनि आउँछु।´

उनी अमित खड्का र अमिता खड्कालाई साथ लिएर आएका रहेछन्। ८ वर्षे अमिताले विजय चालिसेको ´हराएको मूर्ती´ बालकथा संग्रह समाउदै भनिन्, ´आज यो पढेर सक्छु।´

कोही भाइबहिनी एक्लै आएका थिए, कोही अभिभावकसँग। ´मैले त भकुल्लेको साथी किनें,´ सानी बैनी आनासुया राई आमातिर फर्केर हाँसिन।

स्विस विकास नियोग, काठमाडौंमा कार्यरत उनकी आमा विमलाले छोरीलाई मुसार्दै भनिन्, ´नानीले आफैं रोजेकी हो यो कथाको किताब।´


प्रदर्शनीमा किताबमात्र हैन, कम्प्युटरमा हेर्न र सुन्न मिल्ने किताबको सिडी पनि उपलब्ध छ। मिदास एजुकेसनले नर्सरीदेखि दश कक्षासम्मका विभिन्न पाठ्यक्रमका सिडी तयार पारेको छ। ´सि मा क्लिक गरे क्याटको चित्र देखिन्छ, डि मा डग,´ कम्पनीकी अञ्जु थापाले भनिन्, ´क्याट देखिंदा म्याउँ भन्छ, डग देखिंदा हाउँहाउँ।´

कम्प्युटरमा त्यस्तै दृश्य र आवाज सुनेर केटाकेटी झुम्मिन आइहाले। कम्पनीका नवराज चालिसेका अनुसार दुई सय पचास रूपैयाँ पर्ने यस्ता सिडी दैनिक ४० वटासम्म बिक्री हुन्छ। ´धेरैजसो भाइबहिनीले यो सिडी आमाबाबालाई किनिदिन आग्रह गर्ने गरेका छन्,´ थापाले भनिन्।

साना नानीदेखि बूढाबुढीसम्मको जमघट देखिन्थ्यो प्रदर्शनीमा। भाइबहिनीका लागि भनेर धेरैखालका सामग्री राखिएका थिए। क्षितिज न्यौपानेको गाउँखाने कथा, स्वर्गीय रमेश विकलको एउटा कथा भन्नुहोस न हजुरआमा, तेजप्रसाद श्रेष्ठको विश्व प्रसिद्ध बालकथाहरू, जनकप्रसाद हुमागाइँको मुरली वंशी जस्ता पुस्तक छन्। विश्वदीप अधिकारीको गौंथलीको गुँड, परशु प्रधानको नानीको कथामा बालबालिका बढी झुम्मिएका थिए।
ज्योती बस्नेत भने जानकारीमूलक पोष्टर चाहर्दै थिइन्। नेपालका प्रधानमन्त्री, फलफूलका नाम, विश्वका नेता, मानव अंग र तिनका नामजस्ता चित्रसहितका पोष्टरमा उनका आँखा डुल्दै थिए। ´घरमा लगेर टाँस्नुपर्‍यो के,´ काठमाडौंस्थित न्यू समिट हाइयर सेकेण्डरी स्कुल कक्षा ५ मा अध्ययनरत उनले हाँस्दै भनिन्।

मैतीदेवी बस्ने उनी आफ्ना बाबासँग त्यहाँ आएकी थिइन्। पञ्चतन्त्रका पाँच कथा, विश्व प्रसिद्ध कथा संग्रह पढिसकेकी उनले अब पढ्न रामप्रसाद ज्ञवालीको कालाजादुको कथा, शेष मानन्धरको शिरूकी बाख्री खरिद गरिन्।

शहरी क्षेत्रका भाइबहिनी फुर्सद पाउनासाथ प्रायः टेलिभिजन, कम्युटरमा झुम्मिन्छन्। यस्ता माध्यममा कम पहँुच हुने गाउँले भाइबहिनी बढी मात्रामा बाल साहित्यका पुस्तक हेर्छन्। यहाँ बाल साहित्यमै समर्पित थोरैमात्र लेखक छन्।

बाल साहित्यकार विनय कसजु बालबालिकाको भौतिक विकासमा राज्यले चासो दिए पनि मानसिक विकासमा कम चासो राखेकोमा दुखी छन्। ´विद्यालयले पनि विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरका ज्ञान दिने खालका पुस्तक पढ्न प्रेरित गर्नुपर्छ,´ कसजुले भने– ´यस्तो अभ्यास कम मात्रै देखिएको छ। पाठ्यक्रमसँगै बाह्य पुस्तक पनि पढ्ने बानीको विकासले भाइबहिनीलाई धेरै कुराको जानकारी दिन्छ।´

पढ्ने संस्कृति विकास गर्न र धेरै थरिका पुस्तक एकै ठाउँमा उपलब्ध गराउन यो पुस्तक प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनी फागुन २ सम्म रहनेछ।
2009-02-11 19:19:33

Comments